हेटौंडा: बागमती प्रदेशका नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । ८ जना मन्त्रीले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री,कुमारी मोक्तान सामाजि विकास मन्त्री र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् । नेकपा एमालेबाट केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री,रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री भएका छन् । राप्रपाबाट यसअघि नै मन्त्री नियुक्त भइसकेका उद्धव थापाले खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाबाट डम्बर तामाङ पर्यटन उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री भएका छन् । उनीहरुले पद तथा गोपनीयताको शपथसँगै आजै पदभार ग्रहण गरेका छन् । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित ११ सदस्यीय मन्त्रिपरिषद बनेको छ । यो सरकारलाई समर्थन गरेका नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले भने सरकारमा सहभागिता जनाउने अवसर पाएनन् ।
पोखराः नेपाली कांग्रेस समर्थक राष्ट्रिय मगर संघ गण्डकी प्रदेशका दोस्रो अधिवेशन माघ १४ गते पोखरामा हुने भएको छ । पटक पटक मिति घोषणा भएर पनि स्थगित हुँदै आएको राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको दोस्रो अधिवेशन माघ १४ गते हुने प्रदेश सभापति पदमबहादुर पुनले जानकारी दिए । ‘पटक पटक मिति घोषणा भए पनि स्थगित हुँदै आएको प्रदेश अधिवेशन माघ १४ गते मिति तय गरेका छौं, पुनले भने, ‘अधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति शेरबहादुर देउवासँगै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।’ उनका अनुसार अधिवेशनमा नेपाली कांग्रेसका शंकर भण्डारी, नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायत कास्की जिल्लाका नेताहरुले सम्बोधन गर्नेछन् । अधिवेशन अगाडी संघले लखन चोकमा नेपालका प्रथम शहिद लखन थापामगरको शालिकमा माल्यार्पण गर्दै झाँकी ¥यालीसहित नयाँबजारको प्रदर्शनी हलमा कार्यक्रम गर्ने संघका सभापति पुनले जानकारी दिए । अधिवेशनमा गण्डकी प्रदेशका १० जिल्लाका प्रत्येक गाउँपालिकाबाट १ जना महिला, २ जना पुरुष र नगरपालिकाबाट २ जना महिला र ३ जना पुरुष प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।
रुपन्देही: लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि आज बुधबार उपनिर्वाचन हुँदैछ । रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा माघ २५ गते उपनिर्वाचन गर्न प्रदेश निर्वाचन कार्यालयले मिति तय गरे अनुसार आज ११ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । एक वर्ष अवधि रहेको राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले)ले उम्मेदवार सिफारिस गरिसकेका छन् । कांग्रेसले दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश रठौरको नाम सिफारिस गरेको कांग्रेस नेता शंकर डाँगीले बताए । तीमध्ये एकजनालाई उम्मेदवार बनाउन सहमति भएको छ । एमालेले भने रोल्पाका कुमार दशौदीलाई उम्मेदवार बनाउने लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले जानकारी दिए । दशौदी एमालेका केन्द्रीय सदस्य हुन् । नेकपा एमालेबाट उनको मात्रै नाम सिफारिस भएको छ । आज मनोनयन दर्तापछि माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र माघ १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरिने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । माघ १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ । राष्ट्रिय सभा सदस्य छनोट गर्न प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । लुम्बिनीमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख, उप्रमुख गरेर जम्मा ३०५ जना मतदाता छन् ।
पोखरा: गण्डकी प्रदेशमा नेकपा एमालेबाट रोशनबहादुर गाहा थापा र वेदबहादुर गुरुङ मन्त्री बन्ने भएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले दुवैलाई सरकारमा लैजाने निर्णय गर्दै शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा जानकारी गराएका छन् । वेदबहादुर कास्की १ (२) र रोशन नवलपुर १ (२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । मुख्यमन्त्री अधिकारीले सोमबार काठमाडौं गएर अध्यक्ष केपी ओलीलाई भेटेका थिए । भेटेर फर्केपछि उनले सरकारमा सहभागी हुने दुई जनाको नाम टुंगो लगाएका हुन् । माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान मन्त्री बनिसकेका छन् । अब रेशमबहादुर जुग्जाली मन्त्री बन्ने छन् । राप्रपाबाट संसदीय दलका नेता पञ्चराम गुरुङ बिनाविभागीय मन्त्री छन् । एमालेबाट आउने दुई र माओवादीबाट आउने एक जनाको शपथ भएपछि सबैको मन्त्रालय टुंगो लगाइने छ । एमालेका दुई र माओवादीका एक गरेर तीन जनाको शपथ आज साँझ गराउने तयारी छ
काठमाडौं: राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहिन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताउनुभयो । उहाँले यस्तो गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै सम्बन्धित निकायले औषधिको चेकजाँच गर्नुपर्ने औंल्याउनुभयो । गुणस्तरहिन औषधिलाई विक्री वितरण रोक्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘अहिले बजारमा गुणस्तरहिन औषधि उत्पादन तथा बिक्री वितरण भइरहेको भन्नेकुरा सुन्नमा आइरहेको छ । यो खालको गतिविधिले आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा सम्बन्धित निकायले औषधिको चेकजाँच गर्ने, यस्ता खालका औषधिलाई बिक्री वितरणमा रोक लगाउनतर्फ आवश्यक पहलको लागि ध्यानाकर्षण गर्न चाहान्छु ।’’ राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले महिला र बालबालिकाहरुमाथि नराम्रो व्यवहारका घटनाहरु घटिराखेको भन्दै उनीहरुमा सुरक्षा जोखिम बढेको बताउनुभयो । उहाँले महिला र बालबालिकाको शान्ति सुरक्षामा ध्यान दिन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘महिला र बालकालिकामाथि नराम्रो व्यवहार भएको घटनाहरु घटिराखेको छ । सुरक्षाको जोखिम बढीराखेको हो कि भन्ने देखिइराखेको छ । शान्ति सुरक्षाको व्यवस्था कायम गरियोस् भन्ने माग गर्न चाहन्छु ।’’ राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले बञ्चरेडाँडाँमा फोहोर व्यवस्थापनको समस्या बल्झिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले समन्वय गरेर बञ्चरे डाँडामा जुन फोहोरको व्यवस्थापन गरेको थियो । यो समस्या फेरी बल्झिने समस्या आइरहेको छ । त्यसकारण बेलैमा यसतर्फ सोचियोस् र हिजोजस्तो जनता र सुरक्षाकर्मीका बीचमा झडप नहोस् ।’’ राष्ट्रिय सभा सदस्य भवगती न्यौपानेले सरकारी अस्पतालको स्तरन्नोती गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले आम नागरिकले सरकारी अस्पतालमा बेड पाउन समेत नसक्ने भन्दै यसलाई सहज गराउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘सरकारी अस्पतालमा बेड पाउन सकिएन । प्राइभेट अस्पतालमा उपचार गर्ने आर्थिक हैसियत छैन । भन्ने समस्या छ । सरकारी अस्पतालमा वर्षौंदेखिको स्तरोन्नति हुन सकेको छैन । बेड उपलब्ध हुन सक्दैन । सस्तो सुलभ सहज रुपले देशले उपचार गर्नसक्छ भनेर एउटा गरिबले महशुस कहिले गर्ने ? राज्यले यस विषयमा सोच्नु जरुरी छ । राज्यको ध्यान जाओस् ।’’ राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रश्तुत भएका विधेयकहरु निस्क्रिय हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले नदिने गरेको भन्दै यसको जवाफ दिन मन्त्रीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘यहाँका विधेयकहरु निस्क्रिय हुन्छन् । जिरोमा जान्छन् । यसको मान्यता कमजोर छ । राष्ट्रिय सभामा उठाएका जवाफहरु मन्त्रीहरुले दिनुपर्दैन । जनतासँग यसको सरोकार रहँदैन । यसको कुरा के हो मन्त्रीहरुले जवाफ दिनुपर्छ ।’’ राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले देशभर शितलहर चलेका कारण जनजीवन प्रभावित भएको भन्दै गरिब, निमुखा र जेष्ठ नागरिकलाई न्यानो कपडा राहतको रुपमा दिन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले देशैभर शितलहर चलिरहेको छ । यस जाडोमा गरिब, निमुखा, ज्येष्ठ नागरिक, बालबच्चाहरु अत्यन्तै पीडित छन् । तिनीहरुलाई खाना, न्यानो लुगा कपडाको राहत दिन अध्यक्षज्युमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’ राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले घुस रकमसहित पक्राउ परेका त्रिभुवन विमानस्थलका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘त्रिभुवन विमानस्थलमा भर्खरै कर्मचारीले आठ लाख र केही रक्सीका बोतलहरुसहित पक्राउ परेको कुराहरु समाचारमा आइराखेको छ । यस्ता भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्न चाहन्छु ।’’ राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल भइरहेको छ ।
पोखराः गण्डकी प्रदेशमा मन्त्रालयको संख्या सातमात्र बनाउने खबर सार्वजनिक भएपछि वाहवाही कमाएका मुख्यमन्त्री खगराज अधिकारीलाई भागबण्डा लगाउन भने सकस भएको छ । सोमबार बेलुकासम्म मुख्यमन्त्रीसहित नेकपा एमालेको भागमा चार, नेकपा माओवादी केन्द्रलाई २ र राप्रपालाई १ मन्त्रालय छुट्याइने विषयमा सहमति भएको हल्ला चलेपनि यसको आधिकारिकता भने पुष्टी भएन । यही विषयमा गण्डकी सरकारकी प्रवक्ता सीता सुन्दासले पनि प्रारम्भिक खाका भएको जनाइन् । यता, नेकपा माओवादीले २ मन्त्रालयमा चित्त बुझाउन नसक्ने प्रतिक्रिया जनाइसकेको छ । माओवादीबाट मन्त्री भइसकेका हरिबहादुर चुमानले पनि २ मन्त्रालयमा असहमति प्रकट गरेका छन् । सत्ता घटकमा रहेका ३ दललाई सात मन्त्रालयमा चित्त बुझाउन गाह्रो परेपछि मुख्यमन्त्री अधिकारी काठमाण्डौं पुगेका छन् । अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग उनकै निवासमा मन्त्रालय भागबण्डाको गाँठो फुकाउन प्रधानमन्त्री दाहालसँग भेट गरेको बताइएको छ । मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री दाहालबीच समसामयिक राजनीतिक घटनाक्रम, गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेकपा एमाले प्रदेश संसदीय दल नेता अधिकारी सत्ता साझेदार दलहरूको समर्थनमा मुख्यमन्त्री भएका थिए।गण्डकीमा सत्ता साझेदार दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाका गरी ३१ जना सांसदले मुख्यमन्त्रीलाई समर्थन गरेका थिए।गण्डकीमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरूङ मन्त्री नियुक्त भइसकेका छन्। अब गण्डकीमा तीन जना मात्र मन्त्री थपिनेछन्। यी तीन मन्त्रीमा कुन दलले कति पाउने भन्ने भागबण्डा मिलेको छैन। गण्डकीमा मन्त्रालय संख्या समेत घटाइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । मंगलबार बिहान ओली राष्ट्रपति निर्वाचन, प्रदेश सरकार बिस्तार लगायतका विषयमा छलफल गर्न बालुवाटार पुगेको बताइएको छ ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ । भेटका क्रममा उहाँले प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन व्यवस्थित र मर्यादित बनाउन ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष डा शिवलाल भुसालको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजक त्रिविका रजिष्ट्रार प्रा। डा। पेशल दाहाल र समितिका सदस्यसचिवमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी रहेका छन् । समितिले निर्वाचन आचारसंहिता बनाउने, निर्देशिका तथा कार्यविधि बनाउने सदस्य—सचिव अधिकारीले जानकारी दिए । त्रिविले गत पुस २८ गते आङ्गिक क्याम्पसलाई पत्र र सम्बन्धन प्राप्त क्याम्पसलाई सूचना जारी गर्दै स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न निर्देशन दिएको छ । त्रिविले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । प्रत्येक दुईरदुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा आङ्गिक रुपमा केही क्याम्पसमा मात्र भएको थियो । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।

