दाङ: राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का उम्मेदवार कुमार दशौदी विजयी हुनुभएको छ । खसेको कुल मतको मतभार ७ हजार ९ सय मध्ये ४ हजार २६ मत प्राप्त गरी दशौदी राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको हो । दशौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी जम्मा ४ हजार २६ मतभार प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गर्नुभयो। नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको छ । प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय १७ जनाले मतदान गर्नुभएको थियोे । प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख उपप्रमुख गरी ३०५ जना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी हुनु भएन । सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तह उपप्रमुखमा निर्वाचित हुनुभएको थियो। राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको थियो ।
काठमाडौं: सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको संघीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्याएको सहयोगको प्रशंसा गरे । भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे । चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिए । भेटमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले सभामुख घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए ।
काठमाडौं : नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले नयाँ संसद 'चुनावी सभा'जस्तो लागेको बताएका छन्। आफू पहिलो पटक संसद प्रवेश गरेको भन्दै त्यो संसद हो कि चुनावी सभा हो छुट्याउन गाह्रो भइरहेको उनको भनाइ छ। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा बोल्दै सांसद पौडेलले संसदमा सांसदहरूले सामान्य कुरामा समेत ख्याल नगरेको पाइएको बताए। 'विभिन्न पार्टीबाट सांसदहरू संसदमा आउने भएपनि सबैको उद्देश्य समग्र व्यथितिका विरूद्ध लड्ने होला सोचेको तर त्यो अनुमान फेल खायो त्यो निरासामा परिणत भयो,'उनले भने कुनै तथ्यमा आधारित भएर बोल्नुपर्दैन। सबैको नजर केन्द्रित भएको संसदमा झुटो बोल्नुहुँदैन,यसलाई खण्डन गरिनेछ। यसले मेरो व्यक्तित्वमा आँच आउनेछ भनेर कसैले महशुस गरेको देखिएन।' संसदजस्तो गरिमामय संस्थामा सांसदहरूले एकले अर्कोलाई गाली गर्ने,मर्यादा कायम नगरेको भन्दै आपत्ती जनाए। उनले भने,'एकले अर्कालाई गाली गर्ने। कुनै पनि मर्यादा कायम नगर्ने। म हुँदा सबै ठिक हुन्छ, म नहुँदा सबै बर्बाद भयो भन्ने तर्क तथ्यमा आधारित होइन दम्भ प्रस्तुत जुन खालको प्रवृत्ति देखिएको छ। यही संस्कारको विकास भयो भने लोकतन्त्रमाथि धेरै ठूलो खतरा हुने स्थिति छ।' उनले गणतन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसको ठूलो त्याग,तपस्या र योगदान रहेको बताए। संघर्षबाट थुप्रै उपलब्धि प्राप्त भएको भन्दै उनलेव्यवस्था परिवर्तन भएपनि अवस्थालाई अनुभूति गर्नेगरी परिवर्तन गर्न नसकिएको बताए। उनले भने,'गणतन्त्र प्राप्तिको आन्दोलनमा जंगलमा बसेर हतियार बोकेर नभइ नारायणीहिटी दरबारको नाकैमुनि बसेर तमाम बेथितिको अन्त्यका लागि आफूलाई जोखिमा राखेर संघर्ष गरेका थियौं। त्यो संघर्षबाट उपलब्धि भएनन् भन्ने होइन। थुप्रै उपलब्धी भए। तर,अनुभूति हुनेगरी स्थिति बनेन।' अहिलेको आवश्यकता शालिक व्युताउने नभइ देशलाई समृद्धि बनाउन रहेको उनको भनाइ छ।'आज फेरि भत्किएका, ढालिएका शालिकहरू व्युताउन खोजिएको छ। आजको आवश्यकता शालिक व्युताउने होइन देशलाई समृद्धि बनाउने हो।'
काठमाडौँ: भावी राष्ट्रपतिको विषयमा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो छलफल भएको छ । सोमबारयता प्रचण्ड र ओलीबीच दैनिक जसो भेटवार्ता भइरहेको छ । बुधवार एमाले अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीचको कुराकानीमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएर छलफल गर्न दुवै नेता सहमत भएका छन् । ‘उच्चस्तरीय संयन्त्रको बैठक बस्छ । त्यो बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ, सहमतिबाटै अघि बढ्ने प्रयास हुन्छ’, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिए । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ एमाले र कांग्रेसले आआफ्नै उम्मेदवार उठाउने तयारी गरेका छन् । एमाले र कांग्रेसले फरक फरक उम्मेदवार उठाउने भएपछि सत्तारुढ दल एमाले र माओवादीको राष्ट्रपतिबारे फरक फरक धारणा सार्वजनिक भइरहेका छन् । नेकपा एमालेले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेको हुने बताउँदै आएको छ भने प्रधानमन्त्री प्रचण्डले सकभर राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका उम्मेदवारमा राष्ट्रिय सहमति हुन नसक्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमा जोड दिएपछि एमाले अध्यक्ष ओलीले एमालेलाई पाखा लगाएर कांग्रेससँग सहकार्य गर्न खोजिएको आशंका गरिरहेका छन् । यस्तोमा सत्ता गठबन्धनभित्रै ‘खटपट’ को अवस्था देखिएको छ । यहीं बेला राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बहिरिएपछि राजनीतिक समीकरणमा फेरबदल हुनसक्ने अनुमान गर्न थालिएको छ ।
काठमाडौं: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन्। प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रदेशसभाका सचिव देवबहादुर बोगटीले आज अपराह्न बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिएका छन्। ६३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमतका लागि २७ मत आवश्यक पर्छ । नेकपा एमाले संसदीय दलका नेता रावललले पुसको २७ गते नेकपा एमालेका १० सांसद,माओवादी केन्द्रका ११ सांसद,नागरिक उन्मुक्ति पार्टीका ७ सांसद र राप्रपाका एक जना गरी २९ सांसदको बहुमतमा शपथ लिएका थिए। सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिनेबारे हालसम्म टुंगो लगाएको छैन। नागरिक उन्मुक्ति पार्टीले आफूलाई विश्वासको मत दिनेमा मुख्यमन्त्री रावल विश्वस्त छन्। उन्मुक्तिले जेलमा रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाईको माग गर्दै आएको छ। विश्वासको मत लिन नसकेकै कारण अहिलेसम्म प्रदेश सरकार विस्तार हुन सकेको थिएन। रावलको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले आजसम्म पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्री खगराज भट्ट र सन्तोषी थापा शर्माको मन्त्रालय पनि तोकिएको छैन । प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका १०,नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०,नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सदस्य छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९,नेकपा एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सदस्य छन्।
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्च अदा्लतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ। सो रिट निवेदनको पेशी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ। कांग्रेस संसदीय दलको नेता देउवा हुन नसक्ने दावीसहित मंगलबार रिट दर्ता भएको थियो। रिटमा उत्प्रेषणको आदेशद्वारा विपक्षी दलको नेता नबनाउन माग गरिएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा विश्वासको मत दिएकाले देउवा प्रमुख विपक्षी दलको नेता बन्न नसक्ने भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। रिटमा संसद सचिवलाय,प्रतिनिधिसभा सभामुख,संवैधानिक परिषद र नेपाली कांग्रेस संसदीय दल सिंहदरबारलाई प्रतिवादी बनाइएको छ। नेमकिपाका नेता प्रेम सुवालले सरकारलाई समर्थन नगरेकाले प्रतिनिधिसभाको विपक्षी दलको नेता आफूलाई बनाउन माग गरेका छन्।
काठमाठौं : राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन्। पदभार लिनुअघि उपाध्यक्ष अर्यालले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। पदभार गरेलगत्तै उपाध्यक्ष अर्यालले संघीय संसदमा महिला सांसदहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेको संघीय सचिवालयले जनाएको छ। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य रहेकी अर्याल सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्।
काठमाडौं: राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् । माओवादीबाट राष्ट्रिय सभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
काठमाडौं : २९ माघमा बोलाएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । तर सोमबार केन्द्रीय सदस्यहरुलाई बैठक स्थगित भएको सूचना पठाइएको छ । २९ माघदेखि १ फागुनसम्म तय भएको केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न २६ फागुनमा सचिवालय बैठक बोलाइएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

