माधव नेपाल वा अरूले उम्मेदवारी दिए पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, जित्छ: शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने र जित्ने बताएका छन्। संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा उम्मेदवारी दिने कोइरालाले बताए। तर अहिलेसम्म उम्मेदवार भने टुंगो नलागेको कोइरालाको भनाइ थियो। राष्ट्रपति चुनावका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ। ‘हिजोदेखि एउटा कुरा आएको छ- केपी ओलीजीले माधवकुमार नेपालजीलाई भेट्नुभयो भन्ने। उहाँहरू पहिले एउटै पार्टी (एमाले) मा हुनुहुन्थ्यो, २ वर्षजति भयो उहाँहरूले अर्को पार्टी (एकीकृत समाजवादी) बनाउनुभयो। त्यसरी जाँदा फेरि एकै ठाउँमा उभिने 'चान्स' हुन्छ भन्ने पनि होला, ठिकै हुन्छ,’ कोइरालाले मंगलबार सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘तर नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारले जित्छ। ढुक्क हुनुस्।’ एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटघाट भएका विषय बाहिर आउँदैमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी नदिई बस्ने भन्ने कुरा नआउने पनि कोइरालाले बताए। ‘माधव नेपालजी वा अरूको कुरा, ओलीले भेट्नुभयो भन्दैमा हामीले उम्मेदवार नदिने भन्ने सोच राख्या पनि छैन राख्दा पनि राख्दैनौं,’ उनले भने। उनले चुनावका बेला पाँचदलीय गठबन्धन गरे पनि यसबीचमा कांग्रेसका तर्फबाट केही कमीकमजोरी रहेको र त्यो स्वीकार गरिएको पनि बताए। उनले दलका नेताका नाममा राष्ट्रिय सहमति हुने अवस्था आफूले नदेखेको बताए। ‘संसदमा भएका दलका नेताका नाममा राष्ट्रिय सहमति हुनुपर्यो, भएन भने के गर्ने?,’ उनले भने, ‘राष्ट्रपति पार्टीभित्रबाट लिने कि बाहिरबाट भन्ने पनि छ। पार्टीभित्रबाट दिँदा कांग्रेस उम्मेदवारलाई अर्को पार्टीले स्वीकार नगर्न पनि सक्छ। माओवादीका उम्मेदवारलाई अर्को पार्टीले स्वीकार नगर्न सक्छ। यसरी त राष्ट्रिय सहमति बन्दैन। राष्ट्रिय सहमति बनाउन बाहिरबाट गयो भने बन्न सक्छ, यो मेरो व्यक्तिगत कुरा हो। नत्र गाह्रो हुन्छ। सबै राजनीतिक दलले स्वीकार गरेको व्यक्ति म चाहिँ देख्दिनँ।’
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास नहुने बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्। वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएको बताए। प्रधानमन्त्रीले भने,' अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ,जसले गर्दैन त्यो टिक्दैन ।' विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढनुपर्नेमा जोड दिए। आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । कृषि, शिक्षा,स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।
काठमाडौंः नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल विशेषका व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने बताएका छन्। पार्टीको पदाधिकारी बैठक बस्नु अघि पत्रकारसँग कुरा गर्दै गुरुङले संविधानमा दलको व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनानै नगरिएको बताए। गुरुङले भने, ‘दल विशेषलाई राष्ट्रपति बनाउन सकिँदैन। राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक हो। दलहरुको सिफारिस हुन्छ तर, साझा सहमति बन्न सक्ने व्यक्ति हुनुपर्छ। सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ। दलको क्यान्डिडेटलाई मान्न सकिँदैन।’
काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब संसदको ध्यान प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताएका छन्। राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अब प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ संसदको ध्यान दिनुपर्ने बताए। संसदको भूमिकालाई प्रभावकारी पार्नका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । सभामुख घिमिरेले सरकारलाई गतिशिल बनाउनका लागि प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि संसदप्रति उत्तरदायी नहुने छुट नरहेको धारणा राखे । उनले आयोगले सिमित स्रोत साधनका बाबजुत धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखा संसदीय समिति मात्रै नभइ फुल हाउसमा छलफल हुनुपर्ने धारणा राखे। विभिन्न संवैधानिक आयोगका प्रतिवेदन दर्ता गर्ने र राख्ने काम मात्रै भएकाले आयोगका कामहरूप्रति सरकार जवाफदेही हुने परिपाठी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए। त्यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले समावेशीताको बुझाइमा एकरुपता आवश्यक पर्ने बताए । मुलुकमा बस्ने प्रत्येक व्यक्तिहरु, समुदाय सबैलाई न्याय गर्न सक्ने परिकल्पना राज्यले गरेको अवस्थामा केहि समुदायको मात्रै प्रतिनिधित्वलाई समावेशिता भन्न नमिल्ने उनले बताए। कार्यक्रममा अन्य संवैधानिक आयोगका अध्यक्षहरूले विभिन्न आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि समन्वयात्मक भूमिका आवश्यक रहेको धारणा राखेका थिए । सामाजिक न्याय प्राप्तिका लागि सबै अवरोध हटाऔं र यसका अवसरहरूको उपयोग गरौं भन्ने नारासहित सोमबार राष्ट्रिय समावेशी आयोग दिवस मनाइएको हो ।
काठमाडौं: राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को बैठक बस्ने भएको छ। अपरान्ह साढे ४ बजे पार्टी केन्द्रीय कार्यालाय पेरिसडाँडामा बस्ने बैठकमा अहिलेसम्म भएका वार्ता र छलफलबारे रिपोर्टिङ हुने पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए। ‘अहिलेसम्म भइरहेका छलफलबारे रिपोर्टिङ हुन्छ। अब कसरी अघि बढ्ने भनेर म्यान्डेट लिने काम हुन्छ होला,’ उनले भने। अहिले प्रधानमन्त्री प्रचण्ड पोखरामा छन्। पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन उनी पोखरा गएका हुन्। पोखराबाट फर्किएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्नेछ। राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ। नेकपा माओवादी केन्द्रले सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएको छ। उसले सहमति नभए एमालेलाई साथ दिन नसक्ने स्पष्ट पारेको छ। एमालेले भने आफ्नो उम्मेदवार बाहेकमा सहमति हुन नसक्ने अडान राखेको छ।
गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीको प्रेस संयोजकमा सुशन घिमिरे नियुक्त भएका छन् । अनेरास्ववियुको विद्यार्थी राजनीतिमा ०६३ सालदेखि सक्रिय घिमिरे ०६६ मै जिल्ला कमिटीमा आबद्ध थिए । आमसञ्चार तथा पत्रकारितामा स्नातक तह उत्तीर्ण घिमिरेले व्यवस्थापनमासमेत स्नातक गरेका छन् ।
काठमाडौँ: ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाइएको छ । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको निर्वाचन खर्च कानूनबमोजिम विवरण समयमै बुझाउन उम्मेदवारहरूलाई अनुरोध गरे । प्रमुख आयुक्त थपलियाले भने, “आयोग निर्वाचन कानूनमा भएको व्यवस्थाअनुसार अघि बढ्छ, निर्वाचन कानूनको अवज्ञा क्षम्य हुँदैन ।” उनले अघिल्ला निर्वाचनहरूको तुलनामा यस वर्ष भएका निर्वाचनमा आयोगले केही नीतिगत सुधार गरी नवीनतम अभ्यास गरेको उल्लेख गर्दै यसलाई निरन्तर जारी राख्दै निर्वाचन व्यवस्थापनमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए । प्रमुख थपलियाले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेश गर्न लागिएको बताए । निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता र लैङ्गिक सहभागिताको विषय व्यापकरूपमा उठिरहेको हुँदा आयोगले यस विषयमा राजनीतिक दल, सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्ने प्रमुख आयुक्त थपलियाले बताए । मतदाता नामावलीको शुद्धीकरणका लागि आयोगको सूचना प्रविधि प्रणालीलाई परिष्कृत बनाउँदै लगिने उनको भनाइ थियो । आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण योगदान दिने सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए । उक्त अवसरमा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका आयोगका कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा उपसचिव (कानुन) लक्ष्मी शर्मा, लेखा अधिकृत विष्णुप्रसाद न्यौपाने, कम्प्युटर इन्जिनियर अर्जुन पौडेल, नायब सुब्बा गोविन्दप्रसाद भट्टराई, नायब सुब्बा राजेन्द्र मरासिनी, कम्प्युटर अपरेटर सुमेश श्रेष्ठ, खरिदार पूर्णकली थापा, हलुका सवारी चालक भीमबहादुर श्रेष्ठ, नायब सुब्बा श्री दिव्यधरी जोशी (भोजपुर), कम्प्युटर अपरेटर प्रेमप्रसाद न्यौपाने (झापा), हालुका सवारी चालक इन्दल हजरा दुसाद (बारा) रहेका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झा (पर्सा), जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्की (चितवन), लेखापाल कृष्णप्रसाद पन्थी (भक्तपुर), नायब सुब्बा जिवाखर शर्मा (लमजुङ), कम्प्युटर अपरेटर अनन्त सुवेदी (मनाङ), कम्प्युटर अपरेटर गेहेन्द्र कुँवर (दाङ), नायब सुब्बा इन्दिरा अधिकारी आचार्य (रोल्पा), कम्प्युटर अपरेटर तेजेन्दकुमार चन्द (सल्यान), नायब सुब्बा श्यामबहादुर राना (हुम्ला), जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामी (दार्चुला) र कार्यालय सहयोगी टेकबहादुर चन्द (कैलाली) पनि पुरस्कृत भएका छन् ।
सुर्खेत: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा कांग्रेसकै उम्मेदवार चयन हुने दाबी गर्नुभएको छ । आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले सो कुरा बताउनुभएको हो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शीतल निवासमा कांग्रेसकै नेतृत्व देखिने उहाँको दाबी छ । निर्वाचनको समयमा रहेको गठबन्धन बमोजिमकै राष्ट्रपति निर्वाचनमा पनि तालमेल हुने भएकाले कांग्रेस उम्मेदवार नै राष्ट्रपति हुने उहाँको आशय छ । पुस १० गते अघिकै गठबन्धन ब्युँतिने सङ्केत गर्दै महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पदमा कांग्रेस अग्रसर हुनु स्वाभाविक रहेको बताउनुभयो । गठबन्धन ब्युँताउन आवश्यक परेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै पाँच वर्ष पूर्ण कार्यकाल कायम राख्नेगरी भए पनि काङ्ग्रेसले सहमति जनाउन सक्ने उहाँले बताउनुभयो । ‘कांग्रेसले आफू प्रधानमन्त्री हुनेभन्दा पनि संविधानको रक्षा र प्रणालीलाई सफल बनाउन पाँच वर्ष पूरै कार्यकाल वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै दिन सकिन्छ ।’ उहाँले कांग्रेसबाट राष्ट्रपति उम्मेदवारीका रूपमा सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, कृष्ण श्रेष्ठ, गोपालमान श्रेष्ठ र मनबहादुर विश्वकर्मासहितको चर्चा छ ।
पोखरा: नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमि बाहिरको राष्ट्रपति अस्वीकार्य हुने बताएका छन् । पोखरामा आज (आइतबार) पत्रकारसँग बोल्दै महासचिव गुरुङले ‘ राजनीतिक पृष्ठभूमि भन्दा बाहिरको स्वीकार्य गर्दैनौ, राष्ट्रपति राज्यसँग जोडिएको विषय हो, राजनैतिक पृष्ठभूमिबाट आएको व्यक्ति राष्ट्रपति हुन्छ, राजनीतिक पृष्ठभूमि भन्दा बाहिरको परिकल्पना गरेका छैनौं ।’ महासचिव गुरुङले जुनसुकै राजनीतिक दलले प्रस्ताव गरेपनि सबै दलले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुने दावी गरे । ‘राष्ट्रिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने छौं, सबै राजनीतिक दलले समर्थन गर्ने व्यक्ति नै राष्ट्रपति हुन्छ ।’ उनले भने ।

