काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सुरू भएको बैठकमा गृहमन्त्रालय,सरकारमा बस्ने कि नबस्नेलगायत विषयमा छलफल हुने बताइएको छ। रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूलाई गृहमन्त्री नबनाए आफ्नो पार्टीकै व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने बताउँदै आएका छन्। तर प्रचण्ड गृहमन्त्रालय रास्वपालाई नदिने मुडमा छन्। आजको बैठक यसै विषयमा केन्द्रित हुने रास्वपाले बताएको छ।
गण्डकी: गण्डकी प्रदेश सभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । आज (बिहीबार) बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो । बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले अध्यादेशलाई स्वीकृत गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो । बैठकको शून्य समयमा प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले पृथ्वीराजमार्गको पोखरा मुग्लिन सडकखण्ड निर्माण भइरहेका अवस्थामा बाटोमा पर्ने बिजुलीका पोलले समस्या पारेको भन्दै उक्त पोल चाँडो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का सदस्य कुसुम बुढा पुनले मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र अवस्थामा रहेको र पटक–पटक म्याद थप हुने र काममा ढिलासुस्ती हुने गरेको जनगुनासो बढेको बताउनुभयो । शून्य समयमा सदस्य चम्पादेवी खड्का, जीतप्रकाश आले मगर, दोर्णकुमार कुँवर, फणीन्द्र देवकोटा, विकल शेरचन, विमला गौचन, सरस्वती अर्याल तिवारी र सुधीरकुमार पौडेलले समसामयिक विभिन्न विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य सरस्वती गुरुङले आफ्नै आम्दानीमा प्रदेश चल्ने किसिमको वातावरण निर्माणका लागि सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अर्का सदस्य जीतबहादुर शेरचनले प्रदेशमा उत्पादनमा जोड दिँदै समृद्धि हासिल गर्नेतर्फ लाग्नु जरुरी रहेको बताउनुभयो । महेश भट्टराईले जनचाहना अनुरूप आर्थिक समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विशेष समयमा सदस्य भक्तबहादुर कुँवरले नन्दप्रसाद न्यौपाने, सुशीला सिम्खडा, विन्दु अधिकारी पहाडी, भोजराज अर्याल, गणेशमान गुरुङ, दमयन्ती रुचाल र दिलमाया पौवीले बोल्नुभएको थियो । अर्को बैठक माघ २० गते दिनको १ बजे बस्नेछ ।
काठमाडौं: उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताउनुभएको छ । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले उपसभामुखलाई 'उप/चुप' जस्ता वाक्यांश प्रयोग गरेर हेप्ने गरेको बताउनुभयो । आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट सो कुराबारे जानकारी पाएको उहाँको भनाइ छ । उहाँले उपसभामुख अब चुप नभई (उपर) अर्थात् झनैमाथि जाने भएको बताउनुभयो । उहाँले संसद्मा महिला सांसदले जनताका समस्यालाई गुञ्जायमान गर्नुपर्ने धारणा राख्नुभयो । उपसभामुख रानाले सांसद काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेट्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मैले केही गाउँ भिजिट गरेँ । उपसभामुख भइसकेपछि उहाँहरूका लागि आवश्यक सामग्रीको उपलब्धता छैन, यस्ता विषय सदनमा गुन्जियोस्, सांसदले यी कुरामा ध्यान दिनुहुनेछ । उपसभामुखलाई उप, चुप भन्ने कुरा छ । मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु । महिला सांसद हुनुहुन्छ, उहाँहरूले विभिन्न समस्या भोग्नुभएको छ, सांसदले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन् ।’’ उपसभामुख रानाले सांसदले स्थलगत अवलोकन गरेर त्यहाँका समस्या संसद्मा उठाउनुपर्ने बताउनुभयो ।
विराटनगर: नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिन अदालतको पूर्ण पाठ खोजिरहनु नपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग बिहीबार कुरा गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । सत्ता गठबन्धन हुँदा भएको सहमतिअनुसार रास्वपाले गृहमन्त्री पाउनु पर्ने उहाँको भनाइ छ । ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ खोजिरहनु पर्दैन’ अध्यक्ष ओलीले भन्नुभयो, ‘को गृह मन्त्री बन्छ भन्ने कुरा पनि रास्वपाले नै जिम्मेवारी लिने हो ।’ गृह मन्त्री रास्वपालाई दिने भनेपछि गृहमन्त्री को बन्छ भन्ने जिम्मेवारी पनि सोही पार्टीकै हुने उहाँको भनाइ छ । अध्यक्ष ओलीले नेपाली कांग्रेस सरकारमा आउन आतुर रहेको बताउनुभयो । जस्तोसुकै स्थितिमा सरकार चाहिएको कांग्रेसलाई राज्यमन्त्री नै दिँदा पनि मान्ने दाबी उहाँले गर्नुभयो । कांग्रेसले राष्ट्रपति हुन खोज्नु अनौठो कुरा भएको बताउँदै अध्यक्ष ओलीले राष्ट्रपति सत्ता पक्षबाटै हुने बताउनुभयो । नयाँ समीकरणको उम्मेदवार नै राष्ट्रपति बन्ने उहाँले प्रष्ट पार्नुभयो । सरकार गठन हुँदाताका के सहमति भएको हो सबैलाई थाहा भएको उहाँले बताउनुभयो । सहमति अनुसार नै राष्ट्रपतिको टुङ्गो लाग्ने उहाँले बताउनुभयो । प्रणालीमै सरकारको अस्थिरता देखिएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले राजनीतिक अस्थिरता निम्त्याउन शक्तिहरू सक्रिय रहेको बताउनुभयो । लोकतन्त्र मुख्य कुरा भएकाले यसलाई संस्थागत र सुदृढ बनाउनमा ध्यान दिनुपर्छ उहाँले भन्नुभयो । “संविधान संशोधन गरिहाल्न बेला भएको छैन, भर्खर चुनाव सम्पन्न भएको छ, भर्खर सरकारको न्यूनतम कार्यक्रम जारी गरिएको छ” उहाँले भन्नुभयो ।
नागरिकता विवादबाट गृहमन्त्री खुस्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः पदमा पुग्न बालुवाटार र बालकोटको फेरो लगाउन व्यस्त छन् । सबैभन्दा बढी सोमबार र मंगलबार गरेको दौडधुपपछि पनि गृहमन्त्रीमा पुनर्बहाली नभएपछि उनले सामाजिक सञ्जालमा आफु ‘अभिमन्यू’ नभएको बताएका छन् । महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहमा परी मारिएका पात्र हुन्, अभिमन्यू । सोही पात्रलाई प्रस्तुत गर्दै सञ्जालमा लामिछानेले रनाहा पोखेका छन् । उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अष्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार आज (बिहीबार) भएको भेटमा प्रधानमन्त्री प्रचण्डलाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अष्ट्रेलिया लैजाने विषयमा अवगत गराउनुभएको थियो । भेटपछि महासचिव अधिकारीले भन्नुभयो, “अष्ट्रेलियास्थित नेपाली राजदूतावासमा जनशक्ति कम हुँदा नेपालीहरुले समस्या भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएँ । प्रधानमन्त्रीले समस्या समाधानमा पहल गर्छु भन्नुभएको छ ।” नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल तथा नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोकसँग पनि महासचिव अधिकारीले छुट्टैछुट्टै भेटवार्ता गर्नुभएको थियो । भेटमा महासचिव अधिकारीेले महासङ्घले उठाएका विभिन्न विषयमा उहाँहरुलाई जानकारी गराउनुभएको थियो । भेटमा महासचिव अधिकारीले अर्धदक्ष श्रमिक अष्ट्रेलिया लैजाने विषयमा प्रक्रिया अघि बढाउँदा उपयुक्त हुने सुझाव दिनुभएको थियो । अष्ट्रेलियामा रहेका केही नेपाली विद्यार्थीहरुमा मनोवैज्ञानिक समस्या देखिएको भन्दै समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । भेटमा नेपालमा अष्ट्रेलियाबाट पर्यटक ल्याउने विषयमा पनि छलफल भएको थियो । सन् २०२२ मा अष्ट्रेलियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएका छन् । साथै थप पर्यटक भित्र्याउनका लागि महासङ्घले पहल गरिराखेको जनाइएको छ ।
काठमाडाैँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताएका छन् । आज ललितकला गुठी काठमाडौँको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताए । उनले प्रतिष्ठानले देशमा मात्र नभई ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताए । उनले ललितकला प्रतिष्ठानले संस्थागत स्वरूप ग्रहण गरेकोमा खुसी व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौती भए लिखित रूपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवर्द्धनका लागि आवश्यक पहल गर्ने बताए ।
काठमाडौं: राष्ट्रिय सूचना आयोगले सार्वजनिक पद धारण गर्दा गोपनीयताको शपथ खाने व्यवस्था हटाउन सरकारलाई सुझाव दिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको वार्षिक प्रतिवेदन २०७८/७९ मा आयोगले उक्त सुझाव दिएको हो । आयोगको प्रतिवेदनमा लेखिएको छ, ‘शासन पद्धतिमा भइरहेको विकास र सुशासनको आवश्यकतालाई ध्यानमा राखी गोपनीयताको शपथ गराउन सान्दर्भिक हुन सक्दैन । तसर्थ सार्वजनिक पद ग्रहण गर्नेका लागि शपथमा रहेको गोपनीयता शब्द पूर्णरुपमा हटाउनुपर्छ ।’ आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले एकातिर खुला, पारदर्शिता र सुशासनको कुरा गर्ने र अर्कोतिर गोपनीयताको कसम खाने कुरा आपसमा बाझिएको बताए । ‘त्यसैले सार्वजनिक पद धारण गरेका व्यक्तिले शपथ ग्रहण गर्दा प्रयोग गर्ने गोपनीयता कायम गर्ने भन्ने सन्दर्भ हटाउन सुझाव दिएका हौं,’ मैनालीले भने । पुराना कानुन संशोधन गर्नुपर्ने र अब बन्ने नयाँ कानुनमा पनि गोपनीयताको शपथ खाने व्यवस्था हटाउनुपर्ने उनको भनाइ छ । कुनै पनि नियुक्ति वा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले कार्यभार सम्हाल्नुअघि गोपनीयता कायम गर्ने व्यवहोराको शपथ लिने गर्दछन् । जबकि कानुनमै कुन सूचना गोप्य राख्ने र कुन सार्वजनिक गर्ने भन्ने छुट्टै व्यवस्था छ । आयुक्त मैनालीले गोपनीयता कायम गर्ने भनेर शपथ खाने प्रचलनले सूचनाको हकलाई कुण्ठित गर्ने बताए । सार्वजनिक निकायबाट हुने निर्णय पारदर्शी हुँदा र त्यसको जानकारी सेवाग्राहीले सहज ढंगले पाउँदा लोकतन्त्र पनि बलियो बन्ने आयोगको ठहर छ । आयोगले सार्वजनिक निकायहरुले गरेका अध्ययन, अनुसन्धान र छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न, सार्वजनिक खरिदलाई पारदर्शी बनाउन तथा कम्पनी, प्रतिष्ठान, संगठन, समिति, संस्था आदिमा भएका लगानी र आबद्ध व्यक्तिहरुको विवरण पारदर्शी बनाउन पनि सुझाव दिएको छ ।
काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बिहान बसेको संदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदावारी दिने निर्णय गरेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। बैठकपछि लेखकले भने,'राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय भएको छ। यसबारे अन्य दलहरूसँग छलफल गरेर अघि बढ्छौं।' राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ। यस्तै, बैठकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बोलाउने निर्णय गरेको छ।

