काठमाडौं:  नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नु भएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ।  शनिबार काठमाडौंमा बसेको पार्टीको नव निर्वाचित केन्द्रीय का...

काठमाडौँ:  प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुँदैछ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज र भोलि शुक्रवार ४ बजेसम्म अभिमुखीकरण कार्यक्रम तय गरिएको हो ।   अभिमुखीकरण कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र संविधानविद् तथा पूर्व सांसद राधेश्याम अधिकारीले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको प्रवक्ता गिरीले बताउनुभयो । कार्यक्रम बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तय गरिएको उहाँको भनाइ छ ।   संसद् भवन नयाँ बानेश्वरमा हुने अभिमुखीकरण कार्यक्रमले प्रतिनिधिसभामा आउनुभएका नयाँ सदस्यहरूका लागि उपलब्धिपूर्ण हुने विश्वास सचिवालयले गरेको छ । प्रवक्ता गिरीका अनुसार नयाँ सांसदहरूलाई संसदीय मूल्य, मान्यता र गतिविधिबारे जानकारी गराउन र संसदीय अनुशासनको परिपालनाका लागि अभिमुखीकरण कार्यक्रम तय गरिएको हो ।  

काठमाडौं:  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताएका छन् ।   आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले काठमाडौँमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तक्रियामा अर्थमन्त्री पौडेलले आगामी आवको बजेट निर्माणको काम सुरु भइसकेको र सरकारले नीतिगत फड्को (पोलिसी डिपार्चर) लाई केन्द्रमा राख्दै वास्तविकतामा आधारित बजेट ल्याउने बताए।   ‘आगामी आवको स्रोतको अनुमान र बजेटको आकार माथि छलफल सुरु भइसकेको छ । अहिलेकै अवस्थामा अघि बढ्ने नभई पोलिसी डिपार्चर आवश्यक छ भनेर विभिन्न क्षेत्रबाट सुझाव आइरहेका छन् । “त्यसमा विशेष ध्यान दिएर बजेटको आकारमा यथार्थपरकता खोज्नेछौँ’, उनले भने ।   सरकारले अहिले चालु खर्च कटौतीको नीति लिएको र यो पर्याप्त नरहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ । ‘हामी खर्च कटौतीमा लागिसकेका छौँ । धेरै ठाउँबाट काम नलाग्ने नीति र काम नलाग्ने संरचना हटाउन आवश्यक रहेको भनेर सुझाव आएको भए पनि के कस्ता नीति र संरचना हटाउने भनेर हामी स्पष्ट हुन जरुरी छ’, उनले भने।   बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलन पनि सरकारले लक्ष्य भेटाउन नसकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसको पनि गम्भीर समीक्षा गर्ने बताए ।   ‘राजस्व सङ्कलनमा यो वर्षको लक्ष्य भेटाउन नसकेको मात्र होइन गत वर्षको भन्दा न्यून राजस्व उठेको छ ।यसमा हामी नीतिगतरुपमा वा कार्यसम्पादन क्षमतामा चुकेका छौँ । औसत किसिमको प्रयासबाट मात्र यो समस्याको समाधान हुन सक्दैन”, उनले भने। त्यस्तै आगामी आवको बजेटमा पूर्वतयारी सकिएका आयोजनालाई मात्रै प्राथमिकता दिने पनि पौडेलले बताए ।

काठमाडौं:  रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वधार विकास आयोजनालाई वस्तुगत यथार्थका आधारमा अघि बढाएमा मात्र समयमै सम्पन्न गर्न सकिने बताउनुभएको छ । रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उहाँले लगानीअनुरुपको परिणाम र उपलब्धि हासिल गर्न सकिएन भने थप आर्थिक भार पर्न सक्नेतर्फ सबै निकायले समयमै ध्यान पुर्‍याउनुपर्छ भन्नुभयो ।   रक्षामन्त्री उप्रेतीले भन्नुभयो, “काठमाडौं तराई–मधेश द्रुतमार्ग मुलुक र जनताको आर्थिक समृद्धिका लागि सुनौलो आयोजना हो, यस्ता आयोजनालाई अघि बढाउने सन्दर्भमा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न आवश्यक छ ।”   मुलुक आत्मनिर्भर हुन नसक्दा अनेकौँ समस्या झेल्नु परेको अवस्थालाई बुझेर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,“सेनाको व्यवस्थापनमा अघि बढेका आयोजना समयमै पूरा हुन्छ भन्ने आमजनताको बुझाइले निरन्तता पाओस, विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन ।”   राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकता र जनताको अपेक्षाअनुरुप सेनालाई सुरक्षामा मात्र नभइ सडक पूर्वाधार विकासमा संलग्न गराइएको हुँदा आयोजना अघि बढाउने सिलसिलामा आएका चुनौतीलाई नयाँ शिराबाट सम्बोधन गर्न थप प्रयास र प्रयत्न गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सेनालाई सुरक्षा र विकाससँगै रोजगारी र कृषि उत्पादन वृद्धि गर्नेतर्फ संलग्न गराउनुपर्छ, कोभिड–१९ सङ्क्रमणका सन्दर्भमा सीमा नाका नजिक निर्माण गरिएका होल्डिङ सेन्टर त्यसको तालिमका लागि उपयोग गर्न सकिन्छ ।”   प्रधानसेनापति प्रभुराम शर्माले नियम, कानुन, अदालत र निर्माण व्यवसायीले उठाएका विषय बस्तु यथासक्य सम्बोधन गर्दै द्रुतमार्गको काम अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हुम्लामा यसैवर्ष राष्ट्रिय सडक सञ्जाल जोड्न जिम्मेवारी बोधका साथ सक्दो कोसिस भइरहेको छ, द्रुतमार्गका सन्दर्भमा पनि खोकनावासीले उठाएका संवेदनशील पक्षलाई राज्यले आवश्यक ध्यान दिनुपर्छ ।”   रक्षा सचिव किरणराज शर्माले मन्त्रालय र मातहतका निकायबाट सम्पादन भएको त्रैमासिक कार्यप्रगति कम देखिए पनि कतिपय संवेदनशील विषयमा उच्चस्तरको कार्य सम्पादन भएको बताउनुभयो । कार्यजिम्मेवारीअनुरुप विगतमा राष्ट्रिय सुरक्षा र खाद्य संकट सम्वन्धी कार्यक्रम गरिएझै राष्ट्रिय सुरक्षासँगै साइवर सेक्युरिटी र वातावरणसँग सम्वन्धीत विषयलाई पनि गहनरुपमा अघि बढाउनुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।   प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष बालानन्द शर्माले विश्वविद्यालय निर्माण सम्बन्धी विस्तृत आयोजना प्रतिवेदन तयार भएकाले बार्षिकरुपमा करिव रु  ३० देखि ४० करोड उपलब्ध हुने सुनिश्चितता आवश्यक रहेको बताउनुभयो । समिक्षा बैठकमा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले मन्त्रालय मातहत सञ्चालन भएका आयोजनाको प्रगति विवरण, समस्या, समाधनका लागि चालिएका कदम, विकल्पको खोजी र गरिएका सिफारिशबारे विस्तृत जानकारी गराउनुभयो ।   बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउने सन्दर्भमा कुनै चूनौति देखिए आ–आफनो मन्त्रालयको कार्यजिम्मेवारीका क्षेत्रमा सहजिकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।   बैठकमा  आब २०७९/८० को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेखित कार्यक्रम, विकास समितिको पछिल्ला बैठकका निर्णय, बजेट विनियोजन र खर्चको स्थिति, सम्पादित मुख्य काम, आयोजनाको प्रगति, बेरुजुको स्थिति र फछर्योट विवरण, समस्य समाधानकालागि गरिएका प्रयास र उपायलगायतका विषयमा गहन छलफल भयो ।   रक्षा मन्त्रालय मातहत सञ्चालनमा रहेको मुलुककै प्रमुख प्राथमिकतामा रहेको राष्टिय गौरवको आयोजना द्रुतमार्गको चालुआर्थिक वर्षको त्रैमासिक भौतिक प्रगति १३.६ र वित्तीय प्रगति १२.९३ रहेको सो अवसरमा जानकारी दिइयो । उक्त मन्त्रालय मातहत राष्ट्रिय गौरवका तीन वटा कोरिडोर, राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम, प्रतिरक्षा विश्वविद्यालय र बङ्करदेखि व्यारेकसम्मजस्ता आयोजना सञ्चालनमा छन् ।

काठमाडाैँ:  नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गर्नुभएको छ ।    ऊर्जा, जलस्राे तथा सिंचाइ मन्त्रालयमा आज बुधबार भएको भेटमा उहाँहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो ।   भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रसारण र व्यापार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयाेग रहने विश्वास व्यक्त गर्नुभयो ।   उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो  ।   विगत लामो समयदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै राजदूतले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।   पूर्वाधार, विकासको मेरुदण्ड भएकाले सरकारको प्राथमिकता पनि पूर्वाधार विकासमै रहेकाले त्यसमा सहकार्य गर्न इच्छुक रहेको उपप्रधानमन्त्री लिङ्देनले बताउनुभयो ।   केही सरकारी नीति नियमको कारण विदेशी लगानीमा समस्या आएको देखिए पनि त्यसलाई समयसापेक्ष बनाउँदै लगिने उहाँको भनाइ थियो ।    

गोरखपुर:   भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिलाको गोरखपुरमा पूजाआजा गरिएको छ । शिला पूजामा गोरखनाथ मन्दिरका साधुसन्तलगायत सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित अयोध्या प्रस्थान गरेको शिला मङ्गलबार राति गोरखपुर पुर्‍याइएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ १६ गते नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसहितका नेपाली देवशिलासहित अयोध्या हिँडेका हुन् । शिला आज (बुधबार) अयोध्या पुयाएर विशेष समारोहका बीच पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएको कांग्रेस नेता निधिले मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हिन्दू धर्मावलम्बीले भगवान विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान रामको बालस्वरुपसहितको मूर्ति बनाइने भएपछि भारतका लाखौँ श्रद्धालु बाटोमा निस्केर मध्यरातिसम्म दर्शन तथा अभिनन्दन गरेका थिए । नेता निधिले देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन अतुलनीय योगदान पुगेको बताउनुहुन्छ । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पुर्‍याइएका थिए । जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपाली छन् ।

काठमाडौं:  सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने हुने सम्भावित कार्यसूची रछ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेश गर्नुहुने जानकारी दिनुभयो । त्यसैगरी, सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्यसूची छ ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।     नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक विषय तथा गृह मन्त्रालयको जिम्मेवारीका विषयमा केन्द्रित भएर छलफल भइरहेको सचिवालयको भनाइ छ । अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बुधबार बिहान १०ः३० बजे बालुवाटार पुग्नुभएको शर्माले बताउनुभयो । छलफलमा राष्ट्रपति तथा उपराष्ट्रपतिकोे निर्वाचन बारेमा पनि दुई अध्यक्षबीच परामर्श हुनसक्ने सचिवालयका सदस्यको बुझाइ छ । पूर्व गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी आफ्नै दलले पाउनुपर्ने माग गर्दै सो विषयमा उहाँले मङ्गलबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँग अलग अलग छलफल गर्नुभएको थियो । सो मन्त्रालय आफ्नो दलले नपाए सत्ता साझेदार दलसँग अलग हुन सक्ने चेतावनी पनि उहाँले दिनुभएको छ । 

काठमाडौँ:   नेकपा (माओवादी केन्द्र)का निवर्तमान भक्तपुर जिल्ला संयोजक देवीप्रसाद (डीपी) ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त हुनुभएको छ । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले राज्यमन्त्री सरहको सुविधासहित उहाँलाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरिएको बागमती प्रदेशका सदस्य देवन्द्र श्रेष्ठले जानकारी दिनुभएको हो ।      माओवादी केन्द्रका नेता वर्षमान पुन अर्थमन्त्री हुँदा उहाँसँग स्वकीय सचिव रही मन्त्रालय हाकेको अनुभव समेत छ । अखिल (क्रान्तिकारी)को नेतृत्व गर्नुभएका ढकाल जेलजीवन बिताउन बाध्य हुनुभएको थियो । भक्तपुर जिल्लाको विकाशमा टेवा पुग्ने विश्वास लिइएको छ।  उहाँलाई नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिले सिफारिस गरेको अर्का बागमती प्रदेश सदस्य सरल सहयात्रीले जानकारी दिनुभयो ।                                        

काठमाडौं:  नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले नेपाली विश्व विद्यालयहरुमा स्वायत्तताको विषय ठुलो बनेको बताए । उनले विश्वविद्यालयहरु दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको बताए ।  उनले विश्वविद्यालयहरु दलीयकरण हुँदा विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको बताए । उनले उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दक्षिण एशियाली विद्यार्थीहरुसँग पनि प्रतिष्पर्धामा पछि परिरहेको बताए । उनले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।   समितिको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की राष्ट्रिय सभा सांसद गंगाकुमार बेल्वासेले शिक्षामा सार्क राष्ट्रहरुमध्ये नेपाललाई आकर्षणको केन्द्र बनाउनुपर्ने बताइन् । उनले विद्यार्थीहरुमा सानैदेखि विदेश पढ्न जाने मानसिकता विकास भइरहेको भन्दै त्यसलाई रोक्नेगरी अघि बढ्नुपर्ने बताइन् ।