काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा बढी मत प्राप्त गर्नुभएको छ। सदनमा बैठकको अध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान अनुसार प्रधानमन्त्री प्रचण्डले सदनबाट विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो । प्रधानमन्त्री प्रचण्डलाई २६८ सदस्यको समर्थन रहेको छ । उहाँको विपक्षमा दुई मत परेको छ भने शून्य छ । २०७९ मङ्सिर ४ गते सम्पन्न संघीय निर्वाचनपछि पुस १० गते उहाँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको पक्षमा मत दिने बताउनुभएको छ । त्यसैगरी जनता समाजवादी पार्टी (जसपा)का सांसदद्वय अशोककुमार राई र सर्वेन्द्रनाथ शुक्ला, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका सांसद अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सन्जिता श्रेष्ठलेसमेत सरकारको पक्षमा रहेको बताउनुभएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने सरकारको विपक्षमा मतदान गर्ने बताउनुभएको छ । तीन जना स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डललेसमेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनुभयो । प्रधानमन्त्रीलाई विश्वासको मततदान कार्यक्रममा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरा, सांसद मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत सहभागी हुनु भएन । प्रतिनिधि सभामा कायम कुल सदस्य– २७५ प्रतिनिधि सभामा उपस्थित कुल सदस्य– २७० मतदानमा सहभागी सांसद सङ्ख्या– २७० मतदानमा विश्वासको पक्षमा परेको मत– २६८ मतदानमा विश्वासको विपक्षमा परेको मत– २ मतदानमा तटस्थ रहेको मत– शून्य
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासामु प्रस्तुत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको रुपमा विश्वासको मत माग्नुभएपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलले विश्वासको मत दिने निर्णय गर्दै गरेको समर्थनले आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘विश्वासको मत सत्ता साझेदार दलले सुरुमै राष्ट्रपतिकहाँ हस्ताक्षर बुझाउनुभएकाले त्यो मत प्राप्त हुने निश्चित थियो । तर नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा छोडेर सबैको समर्थन हुने कुरा सोचिएको थियो । यसले आगामी दिनमा जनतासामु प्रस्तुत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गरेको छु ।’’ विकास निर्माणसँग सम्बन्धित सुझाव र टिप्पणी सकारात्मक रहेको उहाँको भनाइ छ । रेशम चौधरीको विषयमा उठेको सवाललाई सदनले गम्भीरताका साथ लिएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यो सवालमा रेशम चौधरी संलग्न नभएको कुरा पटकपटक बताएको दोहोर्याउनुभएको छ । उहाँले रेशम चौधरीलाई न्याय दिनुपर्ने विषयमा नेपाल सरकारले गरेका सहमति अनुसार अध्यादेश बनाएर भए पनि छुटाउनुपर्छ भनेर पहलकदमी लिइएको हो । त्यो सफल भएन । अब यही सदनबाट निर्दोष सबै नेता कार्यकर्तालाई छुटाउने पहल हुन्छ ।’’
पोखराः पोखरा महानगरपालिकाको १२ औं नगरसभा अवरुद्ध भएको छ । नगरसभाको उद्घाटनपछि नगरसभाको विषयवस्तु भन्दा बाहिर एमालेले विषय उठाएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जारी सभा बहिष्कार गरेको हो । उद्घाटनसत्र पछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सभामा सम्बोधन गरेपछि नगरसभाको उद्घाटन सत्र सकिएको छ । मुख्यमन्त्रीले सम्बोधन गर्ने क्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाहिरिएका थिए । पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कारवाहीको माग गर्दै नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेका थिए । जातीय विभेदका आरोपित वडाध्यक्षलाई कारवाही माग गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर सभामा विरोध गरेका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयमा असहमति जनाएका छन् । केन्द्रीय कार्यसमपादन समितिबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएपछि त्यसलाई अनुमोदन गर्न बसेको संसदीय दलको बैठकमा पौडेलले आफ्नो असमति प्रकट गरेका हुन् । ‘मत दिइसकेपछि राजनीतिक र नैतिक रुपमा प्रतिपक्षमा बस्न मिल्दैन। कानुनी जटिलताहरु छन् भनेर मैले असहमति जनाएको हुँ’, पौडेलले भने। यसअघि आजै बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि चार नेताले असहमति जनाएका थिए ।
स्याङ्जा: पुतलीबजार नगरपालिकाबाट गण्डकी प्रदेश सरकारमा दुई मन्त्री बन्नुभएको छ । एक मुख्यमन्त्रीसहित चार जनाको मन्त्रिमण्डल गठन हुँदा स्याङ्जाको एकै नगरपालिकाका दुई मन्त्री बन्नुभएको हो । पुतलीबजार वडा नं १ की नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य सीताकुमारी सुन्दास र वडा नं ५ का राप्रपाको गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ विना विभागीय मन्त्री बन्नुभएको हो । सुन्दास र गुरुङले मन्त्री भएसँगै सोमबार राति प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पद तथा गोपनीयताको शपथ खानुभएको थियो । ठुलाडिहीमा जन्मनुभएकी सुन्दास सानै उमेरमा आमाको प्रेरणामा विद्यार्थी राजनीतिमा होमिनुभएको थियो । विद्यार्थी, महिला सङ्घ, जनसांस्कृतिक मञ्च, जातीय मुक्ति समाज, पार्टी तल्लो तह हुँदै एमालेको नवौं र दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको थियो । वि.सं. २०७४ सालमा जिल्ला समन्वय समितिको पहिलो महिला प्रमुख भएकी सुन्दास गत मङ्सिर ४ गते निर्वाचनमा क्षेत्र नं १ ९क० बाट जनयुद्धकी कमाण्डर अमृता थापामगरलाई पराजित गर्दै प्रदेश सांसद बन्नुभएको थियो । सुन्दासले एक हजार ४२४ मतले थापामगरलाई पराजित गर्दै देशकै एक मात्र दलित महिला निर्वाचित हुनुभएको थियो । आमाको प्रेरणा र सहयोगमा राजनीतिमा होमिएको स्मरण गर्दै सुन्दासले आमाको छोरी मन्त्री बनाउने सपना पूरा भए पनि हेर्न नपाएकोमा दुःख व्यक्त गर्नुभयो । मन्त्री सुन्दासकी आमा चित्रकुमारी सुन्दासको मङ्सिर ४ गते निर्वाचनको दिनमा ९० वर्षको उमेरमा निधन भएको थियो । यस्तै, विद्यार्थीमा कम्युनिष्ट राजनीतिमा हुर्किनुभएका मन्त्री पञ्चराम गुरुङ वैदेशिक रोजगारीबाट फर्केसँगै राप्रपाको राजनीतिमा लाग्नुभएको थियो । १९ वर्ष वैदेशिक रोजगारीमा रहनुभएका गुरुङ दश वर्ष पहिला राप्रपामा तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको प्रेरणामा राजनीतिमा सक्रिय हुनुभएको थियो । एक वर्ष पहिला गण्डकी प्रदेश अध्यक्ष बन्नुभएका गुरुङ राप्रपाबाट समानुपातिक सांसद हुँदै मन्त्री बन्नुभएको हो । कुनै समय बुबा टोपबहादुर गुरुङ एमालेबाट वडा अध्यक्ष भएको र बाबासँगै राजनीति सिकेको मन्त्री गुरुङको भनाइ थियो ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभामा बोल्नुहुँदै राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको हो । उहाँले सरकारले न्यूनतम साझा कार्यक्रममा सरकारले गरेका बाचा पूरा गर्नुपर्ने बताउनु भयो । अध्यक्ष लिङ्देनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हीनताबोध गर्नु नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले देशका गौरवशाली इतिहासको सम्मान गर्ने कुरा पछि फर्किएको नहुने बताउनुभयो । पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभई सबै देशको भएको अध्यक्ष लिङ्देनको भनाइ छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटी मण्डपमा भोलि ९बुधवार० चियापान कार्यक्रम गर्ने भएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितमा काम गर्ने विश्वासका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभएको छ। मंगलबार संसदमा प्रधानमन्त्रीको विश्वासको मतका विषयमा भएको छलफलमा बोल्नुहुँदै देउवाले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डको आग्रह अनुसार संविधानको रक्षाको पक्षमा उहाँ उभिने विश्वास लिँदै उहाँले राख्नुभएको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने निर्णय भएको उहाँको भनाइ छ। कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘‘प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गर्नु भए अनुसार संविधानको रक्षाको पक्षमा उहाँ उभिनु हुनेछ भन्ने विश्वास गर्दै मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नु भएको प्रस्तावको पक्षमा नेपाली काँग्रेस मतदान गर्नेछ।’’
कास्की: गण्डकी प्रदेश सरकारको मंगलबार बसेको दोस्रो मन्त्रिपरिषद्को वैठकमा विश्वासको मत लिने विषयमा छलफल गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ मा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेस गर्ने निर्णय भएको बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले बताए । ‘हामीले प्रदेशसभासमक्ष प्रस्ताव पेस गर्ने हो बाँकी निर्णय प्रदेशसभाबाटै हुन्छ,’ उनले भने । विश्वासको मत लिने समय एक महिना भए पनि छिट्टै नै विश्वासको मत लिने तयारीमा सरकार रहेको छ । ३३ सांसदको समर्थनमा सोमबार अधिकारी मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार नै चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । सोमबार मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै ६ वटा निर्णय गरिएका थिए ।
काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले सुनाएका हुन् । यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । ‘अध्यक्षज्युले विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय लिनुभएको छ’ भण्डारीले अनलाइनखबरसँग भने । प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगावै लोसपाले आफ्नो निर्णय सुनाएको हो ।

