काठमाडौँ: स्ववियु परिषद्ले स्ववियु निर्वाचन गर्ने निर्णय छिटो गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ । परिषद्ले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि विभिन्न बहानामा स्ववियु निर्वाचनको मिति घोषणा गर्न आलटाल भएका भन्दै यस्ता गतिविधिले त्रिभुवन विश्वविद्यालयको चरित्र र नैतिकतामाथि प्रश्न उठेको जनाएको हो । परिषद्का अध्यक्ष निराजन नेपालद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल, स्ववियु निर्वाचनका लागि सदैव तयार रहेको भन्दै विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेर गरेको पत्राचारको अक्षरंश पालना गर्न त्रिविलाई ध्यानाकर्षण गराएको छ । स्ववियु चुनावको कार्यतालिका जारी अगावै स्नातक तहको परीक्षाको नतिजा प्रकाशित गर्न पनि परिषद्ले माग गरेको छ । स्ववियु निर्वाचनको कार्यतालिका यथाशीघ्र निकाल्न र निर्वाचन भव्य, सभ्य तरिकाले सम्पन्न गर्न पनि परिषद्ले त्रिविलाई आग्रह गरेको छ । त्रिवि शैक्षिक क्यालेन्डरमा २र२ वर्षमा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । तर, चैत २०६५ यता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु )को निर्वाचन गर्न प्रस्ताव गरेको छ । कार्यकारी परिषद्ले निर्वाचन मिति घोषणा गरेपछि क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन सम्पन्न गराउने व्यवस्था छ । २०७५ मा स्ववियु निर्वाचन तयारी थालिए पनि अन्तिम समयमा स्थगित हुन पुगेको थियो । २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएदेखि स्ववियु निर्वाचन बिथोलिँदै आएको छ ।
गोरखा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–नीजि क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिए। प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायका बारेमा गम्भीर छलफल भएको बताउँदै प्रचण्डले अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताए। आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभूति,सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसदमा समेत प्रतिबद्धता व्यक्त गरेको उनले स्मरण गरे। गोरखाका जनताले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले चुनावी प्रतिबद्धताअनुरूप जिल्लाको विकासका लागि प्रतिबद्ध रहनेसमेत बताए। कृषिको आधुनिकीकरण,भौतिक पूर्वाधारको विकास,पर्यटन,कला संस्कृतिको संरक्षण,साना घरेलु उद्योगको प्रवद्र्धन र ठूला उद्योग निर्माण र बुढीगण्डकी जलविद्युत आयोजना,बेनीघाट–आरुघाट–लार्के सडक,पालुङटार विमानस्थललगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखा जिल्लालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न आफू लागिपर्ने उनको भनाइ थियो। सिंगो संसदको विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएको बताउँदै उनले संसदमा प्राप्त विश्वासले नेपाल राष्ट्रको नेपाली जनताको र गोर्खाली जनताको समेत सम्मान भएको उल्लेख गरे।
बुटवल: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् । गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका थिए । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ ।
जनकपुर: जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले आज नै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । नेता यादवलाई नेकपा एमाले (२३), जसपा (१६), जनमत पार्टी (१३), माओवादी केन्द्र (आठ), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (एक÷एक)सहित दुई जना स्वतन्त्र सांसदको समर्थन रहेको छ । समर्थन गर्ने स्वतन्त्र सांसदहरुमा सुरिता कुमारी साह र अनिरुद्रकुमार सिंह रहनुभएको छ । मधेश प्रदेशसभामा छ जना स्वतन्त्र रहनुभएको छ । सरकार गठनको दाबी पेस गर्न बिहीबार दिउँसो ४ बजेसम्मको समयसीमा भए पनि प्रदेश प्रमुख मिश्रले यादवलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
बुटवल: नेकपा एमाले लुम्विनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले आज नयाँ सरकारका लागि दावी पेस गर्नुभएको छ । सत्ता साझेदार दलका नेताहरु आज दिउँसो लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दावी पेस गर्न प्रदेश प्रमुखको कार्यालय बुटवल जानुभएको हो । सत्ता साझेदार दलहरुले सात दलको समर्थमा ५८ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेस गरेका हुन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि बुधबार ४ बजेसम्मको समयसीमा दिनुभएको थियो । लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३–३ र नागरिक उन्मुक्तिसँग ४ सिट छन् । त्यसैगरी, स्वतन्त्र दुई सांसदले पनि सत्तारुढ दललाई समर्थन गरेका छन् । लोसपाका तीन सांसदले समेत नयाँ सरकार बनाउन हस्ताक्षर गरेपछि सांसदको संख्या ५८ पुगेको हो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।
विराटनगर: प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् । आइतबार ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनले पुस २९ गते विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले संसद सचिवालयलाई जानकारी गराइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । नेपालको संविधान २०७२ को धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम मिति २०७९ पुस २९ गते ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि सूचना दिएको मुख्यमन्त्रीका सहयोगी रवि खनालले जानकारी दिए ।
काठमाडौँ: जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन.आर.थम्पसनबीच भेटघाट भएको छ । शंखमुलस्थित जनमत पार्टी कार्यालयमा भएको भेटघाटमा प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको सफलताको लागि राजदूतले शुभकामना दिएका छन् । साथै भेटघाटमा दुई देशबीच विकास सहकार्यबारे पनि छलफल भएको बताइएको छ ।
गोरखाः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जानुहुने भएको छ । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँ प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड बुधबारबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लाग्नुभएको हो । खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै छ । यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा पनि बुधबार गोरखा जादै हुनुहुन्छ । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उहाँ गोरखा जान लाग्नुभएको हो । सोही अवसरमा नेपाली सेनाले परम्परागत पोसाकमा परेड प्रदर्शन र राष्ट्रनिर्माताप्रति सलामी अर्पण गर्ने कार्यक्रम छ । उहाँले गोरखा नगरपालिका र नेपाली सेनाको सहकार्यमा निर्माण गरिएको मनोग्राम उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । करिब २२ लाख रुपियाँको लगानीमा निर्माण गरिएको मनोग्राममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक, नेपालको नक्सा र राष्ट्रिय झन्डा राखिएको छ । सो मनोग्राममा अब हरेक साँझ–बिहान नेपाली सेनाले परेड प्रदर्शन गर्नुका साथै राष्ट्र निर्माताप्रति सलामीसमेत अर्पण गर्नेछ ।
काठमाडौं: प्रतिनिधि सभाका सभामुखको निर्वाचन माघ ५ गतेका लागि तोकिएको छ । प्रतिनिधि सभाका सभाध्यक्ष ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले माघ ५ गते बिहीबार सभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन् । उनले संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई माघ ३ गते निर्वाचनको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएका छन् । प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बिहीबार बिहान ११ बजे बस्नेगरी सकिएको छ ।

