पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजाग्रिती टोल बस्ने ४४ वर्षीय विश्वास गुरुङ र म्याग्दी मालिका गाउँपालिका ६ स्थायी घरभई हाल पोखरा ३१ मोहरिया बस्ने ४१ वर्षीय गंगा पुर्जा रहेका छन् । पोखरा ११ जनजागृती टोलमा लागुऔषध ब्राउनसुगर (खैरो हिरोईन) को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गत २६ गते पक्राउ गरेको हो । उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हिरोईन) २४.१५ ग्राम, डिजिटल तराजु १ थान, र नगद १ लाख ४२ हजार तथा विभिन्न कम्पनीका मोवाईल ४ थान बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।
बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत मोरङको यसअघिको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्च अदालतले उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप कैदको फैसला सुनाएको हो । उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले आइतबार राति यो फैसला सुनाएको हो । यसअघि जिल्ला अदालत मोरङले गोरेलाईकर्तव्य ज्यान मुद्दामा जन्मकैद (२० वर्ष) को सजाय सुनाएको भए पनि अपहरण तथा शरीर बन्धक मुद्दामा भने सजाय तोकेको थिएन । उच्च अदालतको नयाँ फैसलासँगै गोरेले अब अतिरिक्त थप १० वर्ष जेल सजाय भोग्नुपर्ने भएको छ । माघ २० गतेदेखि सुरु भएको निरन्तर सुनुवाइपछि अदालतले यस्तो ठहर गरेको हो । अदालतले जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका अन्य केही प्रतिवादीका हकमा भने सजाय घटाउने निर्णय गरेको छ । जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएका नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा उच्च अदालतले १०–१० वर्ष मात्र कैद सजाय हुने फैसला गरेको छ । त्यसैगरी कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न देखिएका मदन सिलवालका हकमा जिल्लाको फैसला उल्टिएको छ । जिल्लाले सिलवाललाई सफाइ दिएको थियो तर उच्च अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतको साबिककै फैसलालाई उच्चले सदर गरेको छ । यसैबिच बहुचर्चित करिब ३८ क्विन्टल सुन तस्करीसँग जोडिएको सङ्गठित अपराध र भन्सार चोरीनिकासीको मुद्दामा भने अदालतले सरकारी दाबी नपुग्ने ठहर गरेको छ ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै रकम ठगी गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको जनाएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पञ्चखाल नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३५ वर्षीय रुपेश लामिछाने रहेका छन् । उनले अस्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट नौ लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ । त्यस्तै धादिङको खनियाबास गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३५ वर्षीय हीरा तामाङ पक्राउ परेका छन् । उनले स्लोभाकिया पठाइदिने भन्दै एक जनाबाट आठ लाख ५० हजार रुपियाँ ठगी गरेको आरोप रहेको छ । दुवै जनालाई सम्बन्धित स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भारत घर भई हाल पोखरा–२, अर्चलबोट बस्ने वर्ष १८ को राज कुमारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पोखरा–२, भीमसेन टोलमा हतियार लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले सोमबार दुई जनालाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार हतियारसहित पक्राउ पर्नुभएका चौधरी र कुमारलाई मङ्गलबार कास्की जिल्ला अदालतबाट हातहतियार खरखजनासम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी अनुसन्धान जारी रहेको छ । बयानका क्रममा चौधरी र कुमारले गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा हतियार लुटी लगेको स्वीकारेको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय आन्दोलनकारीले
काठमाडौं: नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालक पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी रहेका छन् । पक्राउ परेका रिमाल र पाण्डे माउन्टेन रेस्क्यू सर्भिसमा, अधिकारी र थपलिया नेपाल चार्टर सर्भिस प्रालिमा र पाण्डे र कसी एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिमा आबद्ध रहेका थिए । पत्रकार सम्मेलनमा ब्यूरोका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० डा मनोज केसीले पक्राउ परेका छ जनामाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको बताउनुभयो । उहाँले माउन्टेन रेस्क्यू सर्भिस प्रालिले एक हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो । सोवापत उक्त कम्पनीले १० करोडभन्दा बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको ब्यूरोले जनाएको छ । यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । त्यसबाट उक्त कम्पनीले ८२ लाख डलर माग दाबी गरेको पाइएको छ । यसैगरी, एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शङ्कास्पद रेस्क्यु गरेको खुलेको छ । त्यसबाट उक्त कम्पनीले ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको ब्यूरोले जनाएको छ । ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताउनुभयो । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको खबरलाई लिएर अनुसन्धान सुरु गरेका थियौँ,” उहाँले भन्नुभयो,“साढे दुई महिनाको अनुसन्धान गर्दा फेक रेस्क्यूबारे धेरै पाटा खुलेको छन् । थप अनुसन्धान जारी छ ।”
तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । उक्त प्रकरणमा प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने प्रहरीले जनाएको छ । मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरका ५८ वर्षीया देउमाया थापाको सनाखत भएको छभने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेकामा दोलखाको मेलुङ गाउँपालिका–१ का वडाध्यक्ष ईश्वर कोइराला, तत्कालीन वडासचिव विनय उप्रेती र कार्यालय सहायक दलबहादुर थापा छन् । मेलुङ गाउँपालिका–१ का वडाध्यक्ष समेतले मृत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ताबापतको रकम निकाली हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा मेलुङ गाउँपालिका–१ बाट आर्थिक वर्ष २०७३÷७४ देखि २०७५÷७६ सम्ममा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेका १४ लाभग्राहीको सामाजिक सुरक्षा भत्ता उनीहरूले बुझेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं: आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी आर्थिक कारोबार गर्ने १९ वर्षीया क्रमिक उप्रेती पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनले वाइड–स्पेस इन्टरनेसनल प्रालिका नाममा जारी भएको प्यान नम्बर लगायतका कागजातको दुरुपयोग गरी ईसेवा मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानुनी रुपमा ईसेवा मचेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६०३ रुपियाँ र ईसेवाबाट ५६ लाख ३१ हजार ६०३ रुपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ । प्रहरीकाअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं। ७ स्थायी वतन भएका उप्रेतीलाई पक्राउ गरी बैकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ । उनीसँगै ल्यापटप एक थान, विभिन्न मोेडेलका मोबाइल दुई थान, एनसेल सिम कार्ड १६ थान, नमस्ते सिम कार्ड तीन थान, स्मार्ट सिम कार्ड एक थान, पेन ड्राइभ एक थान र मेमोरी कार्ड एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका छन् । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशंकर यादव र फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो । श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ मेसिनलगायत सामग्री नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई काठमाडौँ प्रहरीले आज सार्वजनिक गरेको छ । श्रीवास्तवले भारतको मोतिहारी लाला टोलको पतौनामा डेरा लिएर नक्कली नोट छाप्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले नेपालमै नक्कली नोट छाप्नका लागि आवश्यक सामग्री ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले श्रीवास्तवका साथबाट भारतीय रुपैयाँ ५०० दरका ३१७ थान, मोनिटर एक थान, रङ्गीन प्रिन्टर एक थानलगायत उपकरण बरामद गरेको छ ।

