काठमाडौं: सांसद कृष्णबहादुर रोेकायाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोन्दै उहाँले भन्नुभयो, “साउन ३२ गते दिउँसो करिब ११ः३० बजे आएको बाढीका कारण खुम्बु पासाङ लाह्मु गाउँपालिकामा २० घर, क्लिनिक, विद्यालयलगायत भवन बगाएको छ, थामेखोलाको उक्त बाढीमा एक जना बेपत्ता भएका छन् अन्य थुप्रै घर पुरिएका छन् ।” उहाँले बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार तत्काल गर्न सरकारसँग आग्रह गर्नुभयो । “हिमताल फुटेको भनिएको छ, हिमताल कसरी फुटे भन्नेबारे अनुसन्धान हुन जरुरी छ । थप ताल फुट्न सक्ने जोखिमका बारेमा सरकार संवेदनशील हुनुपर्छ”, सांसद रोकायाले भन्नुभयो । सांसद रुक्मीणी कोइरालाले भन्नुभयो, “कोशी प्रदेशको सोलुखुम्बुमा आएको आकस्मिक पहिरोले थुप्रै घरमा क्षति तथा केही व्यक्ति बेपत्ता भएका छन, दूधकोसीमा बाढी आएको छ, खतरा छ, हिमताल र बाढीको वास्तविक क्षतिको विवरण र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग माग गर्दछु, जलवायु परिवर्तनले भएको भन्ने छ यसमा ध्यानाकर्षण होस् ।” सांसद गोपीबहादुर सार्की अछामीले सोलुखुम्बुमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । “भौगोलिक हिसाबले कमजोर हिमाली क्षेत्रमा मनसुनी वर्षा निरन्तर आइरहेको र यस्ता ठाउँमा अत्यधिक क्षति हुने भएकाले अझै पनि अरू हिमताल जोखिममा छन भनिएको छ, पुनः निर्माण वा पुनःवासको व्यवस्था गर्नतर्फ सरकारले ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो । यसअघि आकस्मिक समयमा बोल्दै सांसद जयन्तीदेवी राईलगायत सांसदहरुले पनि खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बसोबास गर्ने बासिन्दालाई अन्यत्र सार्नुपर्नेमा जोड दिनुभएको थियो ।
नवलपुर: ठाउँठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । करिडोरको गैँडाकोट–राम्दी–पीपलडाँडा खण्डमा पहिरोले यात्रा जोखिमपूर्ण बनेको हो । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले करिडोरमा ठूला पहिरो खसेर यातायात सञ्चालनमै कठिनाइ भएको बताउनुभयो । “यो करिडोरले पहाडी क्षेत्रका बासिन्दाको यात्रालाई सहज भएको थियो । तर विभिन्न ठाउँमा खसेका पहिरोले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो पहिरो गैँडाकोट, बुलिङटारलगायतका क्षेत्रमा छन् ।” पहिरोले सडक अवरुद्ध हुँदा सामान्य रुपमा पहिरो हटाइए पनि पूरै सफा गर्न नसकिएको उहाँको भनाइ छ । “पहिरो आएर सडक रोकिन्छ, अलिअलि हटाउँदै यातायात सञ्चालन गरिँदै आएको छ,” उहाँले भन्नुभयो, “पहिरो पूर्णरुपमा नहटाउँदा सानो पानी पर्दा समेत माथिबाट पहिरो खसेर पुनः सडक अवरुद्ध हुने गरेको छ ।” पहिरोले सडकसमेत भासिएको तिवारीले जानकारी दिनुभयो । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाका प्रमुख कल्पना अधिकारीले सडकमा खसेको पहिरो र भासिएको सडक मनसुनपछि मर्मत गरिने बताउनुभयो । “अहिले पानी परिरहेको छ, पहिरो पूरै सफा ग¥यो भने फेरि उस्तै हुन्छ, अब मनसुन सकिएपछि राम्रोसँग सफा गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “भासिएको सडक पनि पानी पर्न रोकिएपछि निर्माण कम्पनीले बनाउने भनेको छ ।” करिडोरमा खसेको पहिरो रोकथामका लागि बजेट नभएको उहाँको भनाइ छ । “पहिरो नियन्त्रणका लागि धेरै बजेट लाग्छ, हामीले बजेटका लागि मन्त्रालयलाई पत्र लेखेका छौँ” उहाँले भन्नुभयो, “पहिरोको दीर्घकालीन समाधान नगरी सामान्य रुपमा हटाउने हो भने समय र पैसा खेर जान्छ ।” करिडोरको विभिन्न ठाउँमा एक किलोमिटर भन्दा लामो पहिरो गएको योजना प्रमुख अधिकारीले बताउनुभयो । करिडोरको पहिरो जोखिम क्षेत्रबाहेक सबै सडक कालोपत्र सकिएको उहाँको भनाइ छ । पहिरो नियन्त्रणका लागि छुट्टै ठेक्का आह्वान गरेर काम गरिने भए पनि सडक भासिएको ठाउँमा निर्माणको जिम्मा पाएकै व्यवसायीले सडक मर्मत गर्ने उहाँले बताउनुभयो । “गैँडाकोट–राम्दी–पीपलबोट खण्ड इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड काठमाडौँले बनाएको हो, गत वर्ष निर्माण सकिएको सडक आगामी मङ्सिरमा हस्तान्तरण गर्ने तयारी भइरहेको थियो,” उहाँले भन्नुभयो, “निर्माण सम्पन्न भएको एक वर्षभित्र सडक बिग्रिएमा भासिएमा निर्माण कम्पनीले बनाउनेगरी सम्झौता भएकाले अब सडक भासिएको ठाउँमा निर्माण कम्पनीले सडक बनाएर हस्तान्तरण गर्नुपर्छ ।” निर्माण कम्पनीलाई पूरा पैसा भुक्तानी नगरिएको भन्दै उहाँले सडक मर्मतपछि मात्रै भुक्तानी गरिने बताउनुभयो । बुलिङटार गाउँपालिका–१ को देउढा नजिकै करिब १५ मिटर सडक भासिएर कालीगण्डकी नदीमा पुगेको छभने विभिन्न ठाउँमा सडक चर्किएको छ । भासिएको ठाउँमा भित्ता काटेर सवारीसाधन एकतर्फी सञ्चालन गरिएको छ ।
सर्लाही: प्रसारणलाइन विस्तारमा अवरोध हुँदा सर्लाहीको हरिपुर्वालगायत क्षेत्रका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् । हरिपुर्वा नगरपालिका–२ स्थित सबस्टेशनसम्म ३३ केभिए प्रसारण लाइन जोड्न स्थानीयले अवरोध गरेपछि निर्माण सम्पन्न भइसकेको सबस्टेशन अलपत्र छ । निर्माण भएको लामो समयसम्म पनि सञ्चालन नहुँदा बत्ती बाल्न समस्या भएको हरिपुर्वा नगरपालिका–६ का विजयप्रसाद साहले गुनासो गर्नुभयो । प्राधिकरणले सबस्टेशनसम्म ३३ केभिए लाइन जोड्न विभिन्न रूट भएर पोल गाड्ने र तार तान्ने काम अधुरो रहेकाले समस्या भएको स्थानीय वडा नं ९ वसन्तपुर निवासी अवधेश साहको भनाइ छ । स्थानीयले प्राधिकरणले पोलका गाड्न गलत रूट प्रयोग गरेका कारण अवरोध भएको बताएका छन् । गाउँलाई क्षति नपुग्ने गरी विद्युत्को तार विस्तार गर्न स्थानीयको माग छ । सोही माग राखेर स्थानीयले पोल गाड्न नदिँदा यहाँ समस्या भएको हो । हरिपुर्वा सबस्टेशनका प्रमुख जगदीश यादवले स्थानीयको मागलाई मध्यनजर गरी प्रसारण केन्द्रसम्म विद्युत् लैजान विभिन्न चार रूट प्रयोग गर्दा पनि स्थानीयले अवरोध गरेका बताउनुभयो । “हामीले स्थानीयको सहजताका लागि नै विद्युतीय प्रसारणलाइन विस्तार गर्न खोजेका हौँ तर यहाँ विभिन्न स्वार्थका कारण स्थानीयले नै अवरोध गरिरहेका छन्, जसले गर्दा सबस्टेशन सञ्चालनमा समस्या भएको छ”, उहाँले भन्नुभयो । हरिपुर्वा, ईश्वरपुर नगरपालिका तथा पर्सा र ब्रह्मपुरी गाउँपालिकामा सेवा पुर्याउने उद्देश्यसहित दुई वर्षअघि नै सबस्टेशन निर्माण भएको थियो तर हालसम्म सञ्चालन हुनसकेको छैन । प्रयोग नहुँदा सबस्टेशनमा प्रयोग भएका उपकरण तथा निर्माण भएको भौतिक संरचना जीर्ण हुँदै गएको छ । यसरी निर्माण सम्पन्न संरचना अलपत्र पर्दा दोहोरो घाटा भएको छ । एकातिर लगानी खेर गइरहेको छभने अर्कातर्फ स्थानीयले गुणस्तरहीन सेवा प्रयोग गरिरहनुपरेको छ । पछिल्लो समय राजनीतिक खिचातानीको सिकार भएका कारण सबस्टेशन सञ्चालन चुनौतीपूर्ण बनेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहको भनाइ छ । सबस्टेशन सञ्चालन गरी गुणस्तरीय विद्युत् सेवा प्रवाहका लागि पहल गरिरहेको उहाँले बताउनुभयो । हरिपुर्वा नगरपालिका–१ र ५ का स्थानीयले ३३ केभिए प्रसारण लाइनका लागि एक किलोमिटर विद्युत् पोल गाड्न अवरोध गरेपछि सबस्टेशन अलपत्र बनेको नेपाल विद्युत् प्रधिकरण वितरण केन्द्र मलङ्गवाका प्रमुख उमेशकुमार यादवले बताउनुभयो । उक्त सबस्टेशन निर्माणका लागि रु १९ करोड ६० लाख लागतमा आर्थिक वर्ष २०७३/७४ मा ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले सबस्टेशनका लागि आवश्यक भौतिक संरचना निर्माण सम्पन्न गरिसकेको छ । हरिपुर्वा क्षेत्रमा लामो दूरी पार गराएर मलङ्गवा वितरण केन्द्रबाट विद्युत् आपूर्ति हुँदै आएको छ । यसरी आपूर्ति गर्दा अत्यधिक लोड हुने गरेको प्राधिकरण प्रमुख यादवले जानकारी दिनुभयो । “लामो दूरी कम्जोर लाइन विस्तार संरचनालगायत कारण स्थानीयले उखरमाउलो गर्मीमा पङ्खा प्रयोेग गर्न पाउँदैनन्”, उहाँले भन्नुभयो, “पटकपटक लाइन गइरहने समस्या झेल्दै आउनु परिरहेको छ ।”
तनहुँ: जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा चार हजार सात सय ८० जनामा खानेपानी सुविधा विस्तार गरेको इन्जिनियर विनु लोहनीले जानकारी दिनुभयो । सोही अवधिमा दुई हजार घरमा निजी धारा जडान गरिएको छ । हालसम्म जिल्लाका १५ हजार नौ सय ९४ घरमा निजी धारा जडान भएका छन् । उहाँले सशर्त, प्रादेशिक र विशेष खानेपानी योजनाबाट चार हजार सात सय ८० जना लाभान्वित भएका जानकारी दिनुभयो । उक्त आर्थिक वर्षमा सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाका लागि रु दुई करोड ७५ लाख, प्रादेशिक खानेपानी आयोजनाका लागि रु २१ करोड ९१ लाख, विशेष अनुदान खानेपानी आयोजनाका लागि रु एक करोड ४० लाख र खानेपानी सेवा विस्तार तथा पुन:स्थापनाका लागि रु दुई करोड ६६ लाख ८० हजार बजेट विनियोजन भएको थियो । कार्यालयले कार्यान्वयन गर्ने योजना सङ्ख्याको तुलनामा जनशक्तिको अभाव हुँदा समस्या भइरहेको इन्जिनियर लोहनीले बताउनुभयो । अठारजनाको दरबन्दी रहेकामा हाल १२ जना कार्यरत छन् । उक्तआर्थिक वर्षमा न्यून बजेटका कारण म्याग्दे–७ स्थित झाप्रेखोला कैडले खानेपानी योजना, भानु नगरपालिका–२ स्थित भकुन्थोक बेलटार खानेपानी योजना, बन्दीपुर गाउँपालिका–६ स्थित साराङघाट खानेपानी योजना, समादी खानेपानी योजना, व्यास नगरपालिका–११ स्थित केशरी खानेपानी आयोजना र बेल्टारी डिप बोरिङ खानेपानी योजना सञ्चालन गर्न नसकिएको इन्जिनियर लोहनीले बताउनुभयो ।
बागलुङ: भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ । लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । अवरद्ध सडक खोल्ने प्रयास जारी छ ।
महोत्तरी: महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेको जानकारी दिए । श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बागलुङ (ढोरपाटन): हरेक वर्ष जनैपूर्णिमामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ठूलो धार्मिक मेला लाख्छ । यस वर्ष पनि मेला सुरु भएको छ । देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन् । एक दशक अगाडिसम्म बुर्तिबाङ बजारदेखि भक्तजन हिँडेरै ढोरपाटन पुग्ने गर्थे भने अहिले सडक पुगेको छ । विसं २०७१ सालमा ढोरपाटन सडकले जोडिएपछि अहिले धेरै जसो गाडीमै जाने गर्छ । ढोरपाटन जोडिएको सडक राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन सडक’ पर्छ । रुपन्देहीको सालझण्डीदेखि नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोडिएको यो सडक एक दशक अगाडि ट्रयाक खले पनि स्तरोन्नती नहुँदा यात्राका लागि जोखिमयुक्त भएको हो । बागलुङको बुर्तिबाङदेखि ढोरपाटन उपत्यकासम्मको करिब ३२ किलोमिटर सडकको अवस्था झनै खराब बनेको छ । जनैपूर्णिमाका बेला एकै दिन दसौँ हजार भक्तजन पुग्ने हुँदा सवारी साधानको पनि चाप निकै हुन्छ । मनोकांक्षा पूरा हुने जनविश्वासले ढोरपाटन आउने भक्तजन सडकका कारण सास्ती खेप्न बाध्य छन् । सडकको दुरावस्थाको कारण कयौँको गाडी बीच सडकमै बिग्रिने हुँदा ढोरपाटन पुग्न समस्या हुने गरेको छ । सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा करिब ६१ किलोमिटर सडक पर्छ । त्यसमध्ये अहिलेसम्म कुनै पनि स्थानमा स्तरोन्नती हुन सकेको छैन । तीन वर्ष अगाडि बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतीका लागि ठेक्का लगाए पनि निर्माण कम्पनीले काम नगर्दा सडकको दुरावस्था छ । मेलामा आउने भक्तजन र पर्यटकलाई लक्षित गरि ढोरपाटन नगरपालिकाले दुई दिनदेखि मेसिन र मजदुर लगाएर सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको छ । चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीले सडकको धेरै स्थानमा क्षति पु¥याएको छ । ती स्थानमा अहिले सामान्य मर्मत गरेर सकसपूर्ण रुपमा सवारी साधान ओहोरदोहोर गर्छन् । जनैपूर्णिमामा ढोरपाटन जाने भक्तजनको सहजताका लागि अप्ठ्यारो ठाउँमा सडक मर्मत सम्भारको काम गरिरहेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो । यो सिजनमा भक्तजनसहित बुकी चढ्न हजारौँ पर्यटक आउने हुँदा सडकको दुरावस्थाका कारण दुःख पाउने गरेको उहाँको भनाइ छ । उपप्रमुख कायतले भन्नुभयो – “यो सडक संघीय सरकार मतहतको आयोजना हुँदा नगरपालिकाले काम गर्न नमिल्ने रैछ, धेरै पटक बन्द हुँदा खुलाउने काम भने गर्दै आएका छौँ, अहिले पनि मेसिन लगाएर सडक संचालन हुने गराएका छौँ, तर निर्माण कम्पनीले काम पोहोर सालनै सक्नु पर्ने हो तर कत्ति पनि काम गर्न सकेको छैन, यसले पर्यटकलाई सास्ती बनाएको छ, जनैपूर्णिमामा ढोरपाटन आउने भक्तजनलाई सहजताको लागि ठाउँ ठाउँमा सडक मर्मत गरेका छौँ, केही अप्ठ्यारो नपरो भनेर ठाउँ–ठाउँमा मेसिन ‘स्ट्याण्ड बाई’ राखेका छौँ ।” सडकको धेरै ठाउँमा खाल्डाखुल्डी र बीचमा ठूला–ठूला ढुङ्गा हुँदा गाडी बिग्रिएर पर्यटक बीच बाटोमा अलपत्र पर्ने गरेका छन् । बिग्रिएको गाडी बनाउनका लागि नजिकमा ग्यारेजसमेत नहुँदा पर्यटक निरास बनेर फर्किने गरेको ढोरपाटन नगरपालिका–९ का स्थानीय गुनबहादुर विक बताउनुहुन्छ । उहाँले बर्खाले गर्दा धेरै ठाउँमा सडक बिग्रिएको हुँदा यात्रा गर्न किनै कठिन हुने बताउनुभयो । यति बेला धेरै भक्तजनहरु पैदल यात्रा गरेरै ढोरपाटन जाने गरेको उहाँको भनाइ छ । “धेरै वर्ष भयो यो बाटो बिग्रिएको, अहिलेसम्म मर्मत भएको छैन, हिउँदमा यस्तैमा पनि गाडीहरु चल्छन्, बर्खामा धेरै गाडी ठाउँ–ठाउँमा बिग्रिन्छन्, ढोरपाटन धेरै सुन्दर छ, त्यही देखेर मान्छेहरु घुम्न आउँछन् तर बाटो देखे भने अर्को पटक आउन धेरै सोच्छन्” उहाँले भन्नुभयो – “ढोरपाटन पुग्ने बाटोमा राम्रो होटलहरु पनि छैनन्, गाडी बिग्रिएर बीच बाटोमा पर्यटक रोकिए भने बास पाउन पनि गाह्रो हुन्छ, सरकारले यो बाटोलाई गम्भीर रुपमा लिएर स्तरोन्नती नगरे धेरैले दुःख पाउँछन् ।” तराई र पहाडलाई जोड्ने गरि रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोड्ने यो सडकको बागलुङ खण्ड वि.सं. २०७१ सालमा ट्रयाक खुलेको थियो । बडिगाडको गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतीका लागि तीन वर्ष अगाडि कार्तिकमा ठेक्का सम्झौता भएको थियो ।
गण्डकी: बागलुङको बडिगाड गाउँपालिका–९ र १० का पहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), बागलुङ र उक्त दलसम्बद्ध जनसङ्गठनहरूको पहलमा सङ्कलित रु दुई लाख १६ हजार आज पहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो । माओवादी केन्द्रका केन्द्रीय सचिव एवं बागलुङ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको उपस्थितिमा पहिरो प्रभावितलाई राहत रकम वितरण गरिएको हो । पहिरोमा परी मृत्यु भएका ११ जनाका परिवार र बेपत्ताका एक परिवारलाई जनही रु १३ हजार, सख्त घाइते दुईजनाका परिवारलाई जनही रु १० हजार र घर पूर्ण रूपमा क्षति भएका चार परिवारलाई जनही रु १० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको उक्त दलका जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिनुभयो । पहिरो प्रभावितको राहतका लागि माओवादी केन्द्रको जिल्ला समन्वय समिति, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, अखिल नेपाल स्वास्थ्यकर्मी सङ्घ, राष्ट्रिय कर्मचारी सङ्गठनलगायतले राहत रकम सङ्कलन गरेका थिए । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङले पहिरो प्रभावित परिवारका लागि गत साउन २५ देखि २९ गतेसम्म बागलुङ बजारका व्यवसायीबाट रु ५० हजार राहत रकम सङ्कलन गरेको सङ्गठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । गत साउन २२ गते राति परेको अविरल वर्षापछिको पहिरोमा परी बडिगाड–९ बलघाँस र १० आरुपाटामा ११ जनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था अझै अज्ञात छ । पहिरामा चार घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको र ६२ परिवार पहिरोबाट प्रभावित भएका छन् । विस्थापित परिवारले गाउँको विद्यालय भवन र छिमेकीकोमा आश्रय लिइरहेको जनाइएको छ । राहत वितरणका क्रममा प्रतिनिधिसभा सदस्य पौडेलले बाढी प्रभावित परिवारको राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सक्दो पहल गर्ने बताउनुभयो ।
काठमाडौं: सरकारले मनसुनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी)कोआर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत तारपोलिन, ब्ल्याङ्केट, म्याट्रेस, त्रिपाल, सरसफाइ किट, कपडा, स्लिपिङ ब्याग जस्ता गैरखाद्यन्न सामग्री वितरण गरिएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले मनसुनको दुई महिनामा अहिलेसम्म रेडक्रसमार्फत तारपोलिन २ हजार ५० थान , ब्ल्याङ्केट १ हजार ३० थान , म्याट्रेस ६१०, भाँडाकुँडा ५५५, झुल १५०, सरसफाई किट २२५, कपडा ३ हजार २४५ मिटर, ब्याग ५० थान वितरण भएको जानकारी दिनुभयो । यस्तै गृह मन्त्रालयबाट त्रिपाल १ हजार २० थान, टेन्ट १२० थान, ब्यांकेट ३०० थान, म्याट्रेस १०० थान र स्लिपिङ ब्याग ५० र झुल २०० थान वितरण भएको उहाँले बताउनुभयो । उहाँका अनुसार माग अनुसार राहत सामग्री वितरणको काम जारी छ । प्राधिकरणका अनुसार मनसुनपछिको अहिलेसम्म १३ जिल्लाका विपद व्यवस्थापन कोषमा एक करोड ७६ लाख पठाइसकिएको छ । मनसुन प्रभावित परिवारका लागि तत्काल राहत स्वरुप १५ देखि २० हजार पनि सहयोग गरिएको प्राधिकरणले जानकारी दिएको छ । सङ्कटासन्न परिवारलाई मानवीय सहयोग जारी रहेको आइएफआरसीले जनाएको छ । प्रभावितहरुलाई स्थानीय तहलगायत संघ संस्थाको पहलमा अस्थायी आश्रयस्थलमा राखी खाद्यान्न व्यवस्थापन गरिएको छ । अहिलेसम्म यो दुई महिनामा सबै प्रकृतिका विपदमा परेर २११ ज्नाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । मनसुनी विपद्मा मात्रै परेर १७६ जनाको मृत्यु भइसकेको छ । ३ हजार बढी परिवार प्रभावित भएका छन् ।

