भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ ।   नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले माथिल्लो...

पोखरा:   पोखरा महानगरपालिका–१ मोहरियाटोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।  ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस  विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको हो ।    वादविवाद कार्यक्रममा मा.वि.तहमा कक्षा १० की छात्रा अनिता बि.क. प्रथम, कक्षा ९ की छात्रा प्रशंसा कार्की द्वितीय, सोही कक्षाका छात्राहरु क्रमशः ममता गुरुङ तृतीय र अंशु भुजेल सान्त्वना भए ।  यस्तै आधारभुत (सिनियर) तर्फ कक्षा ७ की छात्रा उपासना रेग्मी प्रथम, कक्षा ६ की छात्रा सबिता सुनार द्वितीय र सोही कक्षाका छात्रहरुद्वय आदित्य लम्साल र पेरिस पौडेलले सान्त्वना स्थान प्राप्त गरे ।   यस्तै आधारभुत (जुनियर) तर्फको संवाद प्रतियोगितामा कक्षा ४ का छात्राहरु दिया क्षेत्री र युनिका खनाल प्रथम, कक्षा ३ का छात्राहरु सुजिता बाल्कोटी र सइसा तामाङ द्वितीय, कक्षा ५ का छात्राहरु आकृति पाण्डे र कृष्टन जोशी तृतीय र कक्षा २ का छात्राहरु एञ्जिला थापा र इभानी बास्तोलाले सान्त्वना स्थान गरे ।  विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाईतर्फ लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमले सहयोग हुने बताए ।   छुट्टाछुट्टै भएको यस कार्यक्रमको निर्णायक मण्डलमा शैक्षिक प्रमुख होमराज अधिकारी र नेपाली शिक्षिकाद्वय माया क्षेत्री तथा शर्मिला शर्मा थिए भने कार्यक्रमको सञ्चालन आधारभूत तहमा उर्मिला परियार र मा.वि. तहमा अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गरेका थिए । 

पोखरा:    पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरु विच पोखरा उद्योग बाणिज्य संघको सभाहलमा ग्राण्ड फिनाले हुने भएको हो  ।  प्रदेश स्तरीय प्रतियोगितामा  प्रथम हुने जिल्लाले नगद  ३५ हजार साथमा प्रमाण पत्र र दित्तिय हुने जिल्लाले २० हजार नगद र प्रमाण पत्र  तृतीय हुनेले १० हजार र  सान्तवनाले नगद पाँच हजार सहित प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक घनश्याम पाण्डेयले बताए  । कल्चर र एग्रिकल्चर संगसंगै अगाडि बढाउने उद्देश्य सहित अहिले आफुहरु सातौं संस्करण सम्म आइपुगेको पाण्डेले बताए ।    कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरूको गीत मार्फत प्रचार प्रसारमा योगदान पु¥याउन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।  प्रतियोगिताले कृषिको महत्व र यसको विविध पक्षहरूको बारेमा जनमानसलाई थप जानकारी दिन मद्दत गर्ने विश्वास गरिएको छ ।   किसानहरूको सफलतासँग सम्बन्धित प्रतियोगिताले अन्य किसानहरूलाई प्रेरितसँगै यसले नयाँ विधिहरू अपनाउन र कृषि उत्पादनमा सुधार ल्याउन उत्प्रेरित गर्ने कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले बताए ।  अहिले जिल्ला जिल्लामा टिम छनोट भइरहेको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिए ।  कृषि गीत प्रतियोगिताले जिल्ला जिल्लामा कृषक समुहहरुमा उत्साह थपेको उनको भनाई छ ।  प्रतियोगिता सन्देश  मुलक हुने भएकोले पनि जिल्लामा धेरै मेहनत गरेर टिम छनोट भइरहेको बताए ।   

मुस्ताङ:   मुस्ताङको साङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको छ । हिमपहिरोले बोक्से खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।  दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको प्रमुख जिल्ला अधिकारी पन्तको भनाइ छ। ‘तल खोला बन्द भाको कारणले के कारणले बन्द भयो भनेर आउँदा माथि हिमपहिरो खसेको रहेछ’, उनले भने। हिमपहिरो खसेकै ठाउँमा भने पुग्न नसकेको उनले सुनाए। हिमपहिरो खसेपछि बोक्से खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। पहिरोस्थल जोमसोमबाट झन्डै १७ किलोमिटर पर रहेको उनले जानकारी दिए।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमा इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।            केही समयअघि बङ्गलादेशमा आएको असहज परिस्थितिका कारण स्वदेश फर्केका विद्यार्थीसँग आज भएको भेटमा अध्यक्ष दाहालले विशेष परिस्थितिका कारण एकपटकका लागि नेपालमा इन्टर्नको व्यवस्था गर्न सकिने भएकाले आफूले सरकारसँग छलफल गर्ने बताउनुभयो ।  उहाँले यसबारेमा सरकारसँग छलफल गर्ने र विशेष परिस्थितिका कारण एकपटकलाई मुलुकमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।            भेटमा विद्यार्थीहरुले बङ्गलादेशमा असहज अवस्था आएपछि इन्टर्न छाडेर आएको र विशेष परिस्थितिमा नेपालमा इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए ।            सोही क्रममा अध्यक्ष दाहालले मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी सोसम्बन्धमा जानकारी लिनुभएको थियो । रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालयले विशेष परिस्थितिका कारण एकपटकका लागि इन्टर्न गर्न दिने निर्णय गरिसकेको उल्लेख गर्दै र मन्त्रिपरिषद्बाट निर्णय भएको खण्डमा यो व्यवस्था मिलाउन सकिने जानकारी गराउनुभएको थियो ।

इलाम:    छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुएको छ ।            त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उहाँ इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुनुहुन्छ ।            पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उहाँले गाडी चलाउन थाल्नुभएको हो । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उहाँ बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानुहुन्छ । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्नुहुन्छ ।            उहाँको बुवा पहिलेदेखि सवारी चालकको काम गर्नुहुन्थ्यो । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उहाँ बताउनुहुन्छ । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उहाँले विस्तारै राम्रोसँग चलाउन थाल्नुभयो । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताउनुभयो ।       “मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु”, उहाँले भन्नुभयो । छेकीले गाडी चलाउँदा केही यात्रुहरुले सुरुमा विश्वास गर्दैनथे । उहाँले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उहाँले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् ।       उहाँले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गर्नुभएको छ । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उहाँको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् ।            कक्षा १२ सम्म अध्ययन गर्नुभएकी उहाँले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उहाँले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देख्नुभएको छ । “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेसिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिनुभएको छ छेकीले ।           जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले  उहाँको गाडी रोज्ने गरेको बताउँछन् । “केही पुरुष चालकहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ”, स्थानीय यात्रु दावा शेर्पाले भन्नुभयो, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।” 

तनहुँ:    तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र थप उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो । भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो ।   यो पनि पढ्नुहोस   काठमाडौं जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खस्यो

धादिङ:    काठमाण्डौंबाट पोखरा जाँदै गरेको गरेको इभी माईक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको हो । सो माईक्रो बस सडकमा पल्टिएको छ । माइक्रो बस दुर्घटनाका घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं:    नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।  भर्ना छनोट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।  फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्न आह्वान गरिएको छ ।  आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।  

कैलाली:    जमिनको भोगाधिकार विवाद समाधान नहुँदा घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ । घोडाघोडी नगपालिका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम गर्न नभएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिँदै सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।  जमिनको स्वामित्व निक्र्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गर्नुभएको थियो । सोही अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो ।  नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग गरिएको थियो । कम्पनीले रु नौ करोड ८६ लाख पाँच हजार पाँच सय ७० मा दुई वर्षभित्र भवन निर्माण गर्न २०७८ वैशाख २९ गते सम्झौता गरेको थियो । अस्पताल भवन निर्माण अलपत्र परेपछि पालिकाले स्वास्थ्यचौकीको भवनमा नगर अस्पताल सञ्चालन गरेको छ ।