काठमाडौं: अविरल वर्षासँगै खसेको पहिरोको कारण त्रिभुवन राजपथको नौविसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको छ । केहीवेर अघि सो सडक खण्डको पिपला मोड नजिकै सडक भन्दा माथिल्लो भागको डाँडा खस्दा सडक अवरुद्ध भएको हो । अवरुद्ध सडकका कारण संघीय राजधानी प्रवेशका लागि तराईका जिल्लाहरुबाट आएका सवारी साधन र राजधानीबाट बाहिरिने सवारी साधनहरु दुबैतर्फ ठप्प रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भएको छ । सो सडक खुलाउने प्रयास भइरहेको तर पानी परिरहेको र पहिरो जाने क्रम नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ ।
दाङ: दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो । बिहान करिव १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनिहरु अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । लगत्तै दमारगाउँ प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उनीहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ सुरक्षाकर्मी परिचालन गरिएका थिए । त्यसपछि नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले विक र नेपालीलाई इनारबाट बाहिर निकालेको थियो । दुवै जनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ । ‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभयो । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड दिनुभयो । यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले केही ठग तत्वहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गर्नुभयो । “हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लैजानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौं । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।” उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागी रहेको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने बताइएको छ ।
तनहुँ: बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो । केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार दुई सय ७३ ग्राहकले बक्यौतावापतको रकम बुझाएका छन् । एक हजार चार सय ३६ ग्राहकबाट रु तीन करोड ५० लाख ५६ हजार छ सय ७४ बक्यौता उठ्नुपर्ने थियो तर, ७६ दशमलव ५७ प्रतिशत बक्यौता असुली भएको छ । आर्थिक वर्ष २०७९/८० मा कार्यालयले नौ सय १८ ग्राहकको लाइन काटेकामा रु एक करोड ८४ लाख ६५ हजार चार सय ५२ बक्यौता सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिबेला रु तीन करोड ६४ लाख ५७ हजार छ सय ८२ बक्यौता उठ्नुपर्ने थियो । केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा रु ५३ करोड ९४ लाख ३१ हजार छ सय १३ बराबरको विद्युत बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा रु ५४ करोड २० लाख ६० हजार दुई सय ७८ विद्युत रकम सङ्कलन भएको थियो । केन्द्रले त्यस वर्ष सात दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो । विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताउनुभयो ।
जुम्ला: अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो खस्दा आज बिहानदेखि उक्त राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले बताउनुभयो । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ सूचना अधिकारी जिटीले बताउनुभयो । पानी पर्नेबित्तिकै कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो खस्ने गरेको छ ।
हुम्ला: हुम्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ । चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य र छ । दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् । बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२ का मायादेवी शाही सामान्य घाइते भएका छन् । दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो । गौरीसल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताउनुभएको छ । सो सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले मानवीय सेवाको कार्य सबैभन्दा पवित्र भएको र प्रहरी सङ्गठनको गरिमा कायम राख्न प्रहरी र तिनका परिवारको उत्तिकै भूमिका हुने बताउउनुभयो । जुनसुकै समयमा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मानका हकदार भएको उहाँको भनाइ थियो । “प्रहरी श्रीमानहरुलाई अगाडि बढाउन श्रीमतीहरुको महत्वपूर्ण योगदान हुुन्छ । त्यस्तै महिला प्रहरीहरुलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुन्छ । एकापसमा सहयोग आदान–प्रदानबाट नै मानवीय सेवाबाट प्रहरीले उत्कृष्टता प्रदर्शन गर्न सक्छ”, प्रथम महिला शाक्यले भन्नुभयो, “प्रधानमन्त्री ओली गृहमन्त्री भएदेखि नै आफू र प्रहरी सङ्गठन तथा प्रहरी परिवारसँग भावनात्मक सम्बन्ध रहँदै आएको छ । वास्तवमा प्रहरीलाई राष्ट्रको जिम्मेवारीलाई बुझेर संयम, शान्ति र धैर्यका साथ कार्यक्षेत्रमा लाग्न परिवारको अहम् रहेको हुन्छ । यो भूमिकाको निरन्तरता रहोस् भन्ने शुभकामना दिन चाहान्छु ।” उहाँले सङ्घमा जवानहरुका श्रीमतीलाई पनि जोडेर मानवीय सेवामा लाग्ने थप अवसर दिन आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत सहभागी कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सफल हुने प्रहरी परिवारका छोराछोरीलाई सम्मान गरिएको थियो ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागले भारी वर्षाको सम्भावना रहेका स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम रहेकाले सम्भावित क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दे उहाँले भन्नुभयो, “कृषि मन्त्रालयले पछिल्लो पाँच÷सात वर्षमा अर्बौ रुपैयाँ अनुदान दिएको रहेछ । सबै विवरण सार्वजनिक गर्नुपर्छ भनिसकेको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ ।” आफूले मन्त्रालय सम्हाल्दा कर्मचारी आन्दोलनदेखिका यावत समस्या रहेको चर्चा गर्दै उहाँले दुग्ध किसानको वक्यौतादेखि उखु किसानको पैसा दिने गरी काम गरिरहेको बताउनुभयो । मन्त्री अधिकारीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रु २५ करोड दूग्ध किसानको हातमा गइसकेको जानकारी दिनुभयो । डेढ अर्ब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाउँदै उहाँले भन्नुभयो, “बाँकी रकम पनि निकासका लागि प्रयास भइरहेको छ । उखु किसानलाई गत वर्षको भुक्तानी दिन नसक्ने हो भने दसैँको बेलामा जुलुस निस्कँदैछ । त्यो पनि जानकारी छ । रकम निकासका लागि प्रयास गरिरहेको छु ।” मन्त्री अधिकारीले कृषि मन्त्रालय र असली किसानको बीचमा ठूलो खाडल रहेको र त्यसलाई कसरी पुर्ने भनेर आफू लागि परेको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले राजनीतिक दलप्रति जनताको वितृष्णा रहेको स्वीकार्दै नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्तमान गठबन्धनले जनतामा उत्साह जगाउने गरी काम गर्नुपर्ने र गर्ने बताउनुभयो । “राज्यप्रति जनताको भरोसा टुटेको छ, त्यसमा उत्साह जगाउन सबैले भूमिका खेल्नुपर्ने छ”, उहाँले भन्नुभयो, “जिम्मेवारीबाट भाग्न सकिने अवस्था छैन । भागिदैन ।” आफूबाट कुनै गल्ती गरे र भए सञ्चारमाध्यम र सञ्चारकर्मीले औँल्याइदिन आग्रह गर्दै मन्त्री अधिकारीले त्यसलाई आफूले सकारात्मक रुपमा ग्रहण गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

