काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भई बनेपा बस्ने ३८ वर्षीय अनिलकुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ घर भई काठमाडौँ गौशाला बस्ने ३१ वर्षीय सुरेश तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कमला गौतमले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री गत साउन २१ गते बिहान लोकन्थलीको बस स्टपमा अपरिचित व्यक्तिले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा हाम्रो टोली र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले निज तीनजनालाई भक्तपुरको कौशलटारबाट पक्राउ गरेको हो ।” पक्राउ परेका अनिलकुमारमाथि यसअघि विसं २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेशमाथि प्रहरी वृत्त नयाँ बानेश्वरबाट तीनपटक र सुरेशमाथि प्रहरी वृत्त बौद्धबाट एकपटक तथा प्रहरी वृत्त गौशालाबाट तीनपटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको सूचना अधिकारी आचार्यले बताउनुभयो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौँ: नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ । स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ नेपाली सेना घटनास्थल पुगेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जनकपुरधाम: गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउँनुभएकाे छ । उहाँले ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकामा जोड दिनुभएको छ । आज जनकपुर विमानस्थलमा पत्रकारहरूसँग आज बिहान भएको सङ्क्षिप्त कुराकानीमा उहाँले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको सङ्गठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताउनुभयो । गृहमन्त्रीले भन्नुभयो, “नेपाल प्रहरीको ऐन ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जनक आवश्यक छ । नयाँ कानुन निर्माण तथा सङ्गठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ । नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थपनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको छ ।”
मकवानपुर: मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो । “मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ”, उहाँले भन्नुभयो । शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।
कैलाली: चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् । कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो । ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।” गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेका भएपनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्टले बताउनुभयो । चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताउनुभयो ।
म्याग्दी: मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुलो वितरण गरिएको छ । उहाँले भन्नुभयो “दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हौं ।” अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहित वडाका जनप्रतिनिधिले बुधबार सम्बन्धित वडामा पुगेर चुलो वितरण गर्नुभएको हो । विद्युतीय चुलो खरिदका लागि गत वर्ष रु आठ लाख विनियोजन गरेको लोमान्थाङ गाउँपालिकाले यस वर्ष पनि बजेट व्यवस्था गरेको र सोबाट खरिद गरेर बाँकी तीनवटा वडाका सबै परिवारलाई वितरण गरिने जनाएको छ ।
बागलुङ (ढोरपाटन): नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशविरुद्धमा नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छलेर अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुका र ढुङ्गाको परिणाम मूल्याङ्कन गरी नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइएको बताउनुभयो । “अहिले कालीगण्डकीबाट बालुवा निकाल्ल पाइँदैन, तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ”, जिसस प्रमुख थापाले भन्नुभयो । जिल्ला समन्वय समिति र बागलुङ नगरपालिकासहितको अनुगमनबाट १५ स्थानमा सङ्कलन गरिएको बालुवा तथा ढुङ्गाको दण्ड तथा जरिवाना सङ्कलनकर्तालाई तिराउनेगरी नापजाँच भइरहेको छ ।” बागलुङ नगरपालिका राजस्व शाखा प्रमुख काशिराम शर्माका अनुसार१३ स्थानमा सङ्कलन गरेको बालुवा तथा ढुङ्गाको राजस्व सङ्कलनका लागि मूल्याङ्कन भइरहेको छ । आरएस कन्ट्रक्सनले बागलुङ नगरपालिकालाई अग्रिम आयकरवापत रु १८ हजार चार सय ६३, मूल्य अभिवृद्धि करवापत रु एक लाख ६० हजार पाँच र दण्ड तथा जरिवानावापत रु १२ लाख ५५ हजार आठ सय छ गरी रु १४ लाख ३४ हजार दुई सय ७४ र विष्णु चोखालमार्फत रु एक लाख ८७ हजार नौ सय ४४ दण्ड जरिवाना तिरेको छ । जिल्ला समन्वय समितिको रोहबरमा नगरपालिका क्षेत्रका १३ स्थानमा अवैध रूपमा उत्खनन गरिएको बालुवा तथा ढुङ्गा सङ्कलनकर्तालाई जरिवाना तिराउन मूल्याङ्कन भइरहेको नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।
काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने तथा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
इलाम: देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन् । देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गरेको हो । देउमाईले आर्थिक वर्ष २०७९/८० मा नगरक्षेत्रका दुई सय सातजना एकल पुरुषलाई रु २४ लाख ८४ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो । देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिनुभयो । त्यसैगरी, आव २०८०/८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई रु १० लाख ८९ हजार सामाजिक सुरक्षा भत्ता प्रदान भएको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत मासिक रु एक हजारका दरले भत्ता प्रदान गरिएको हो । आव २०७९÷८० मा देउमाईका ८८ जनाले रु १० लाख ५६ हजार भत्ता पाएका थिए । तेस्रो लिङ्गीका लागि मासिक रु पाँच सय भत्ता उपलब्ध गराउने व्यवस्था रहे पनि कोही नआएको लेखा अधिकृत एक्तेनले बताउनुभयो । ‘ग’ वर्ग अपाङ्तागता भएका ९२ जनालाई रु पाँच लाख ४५ हजार पाँच सय र आर्व २०८०/८१ मा ‘ग’ वर्ग अपाङ्गता भएका ९२ जनाले रु पाँच लाख ४५ हजार पाँच सय भत्ता पाएका छन् । यसैबीच, देउमाई नगरपालिकाले चालु आव २०८१/८२ का लागि नगरको तर्फबाट वितरण गर्दै आएको ‘सामाजिक सुरक्षा कार्यक्रम’ स्थगन गरेको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), तेस्रो लिङ्गी भत्ता, ‘ग’ वर्ग अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो । सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको नगरप्रमुख पोख्रेलले बताउनुभयो । देउमाईले सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ । सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत रु पाँच हजारका दरले दुई पटकसम्म, दाहसंस्कारमा रु पाँच हजार र दीर्घरोगीलाई एकपटक रु पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

