मोबाइलमा नेटवर्क खोज्दै हिँड्नुपर्ने लमजुङका स्थानीयको बाध्यता

लमजुङ | भदौ १३, २०८१

मोबाइलमा नेटवर्क खोज्दै हिँड्नुपर्ने लमजुङका स्थानीयको बाध्यता तस्बिर फाइल

लमजुङ:    लमजुङको उत्तरी क्षेत्रका छ गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातिर धाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । 


क्व्होलासोथर गाउँपालिकाअन्तर्गत वडा नं ३ का घलेगाउँ, बङ्गुम, खगुम, फुल्म्रौ, वडा नं ५ स्थित सानो सिङ्दी र ठूलो सिङ्दी क्षेत्रका स्थानीयलाई यस्तो समस्या भएको हो । 


वडा नं ५ का अध्यक्ष तथा तल्लो सिङ्दीका स्थानीय गीतबहादुर गुरुङले यहाँ टावरले राम्रोसँग काम नगर्दा आफन्तसँग कुराकानी गर्न डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 


आफूले पनि कार्यालयको काम परेमा घरबाट पाँच/दश मिनेट हिँडेर चौतारी डाँडामा पुगेर फोन गर्नु परिरहेको उहाँले दुःखेसो पोख्नुभयो । “दिउँसोको समयमा हिँडेर त्यहाँ गए पनि रातिको समयमा आकस्मिक कामपर्दा आफन्तलाई फोन गर्न समस्या हुन्छ”, उहाँले भन्नुभयो, “वडामा मोबाइलको टावर छैन, वडा नं ६ पसगाउँमा राखिएको नेपाल टेलिकमको टावरले यहाँ राम्रोसँग काम गर्दैन । वडा कार्यालयभित्र मोबाइल फोन राम्रोसँग नटिप्नेदेखि वाइफाइसमेत नचल्ने समस्या छ ।”


नेपाल टेलिकम लमजुङ शाखा कार्यालयमा पसगाउँमा टावर क्षमता थपेर वा सिङ्दीमा टावर राखेर समस्या समाधान गर्नेबारे ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको वडाध्यक्ष गुरुङले बताउनुभयो । 


“स्थानीय टेलिकम कार्यालयलाई मात्रै होइन यहाँको समस्याबारे जानकारी गराइ टावर राख्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत जानकारी गराएका थियौँ तर पनि समस्या समाधान भएको छैन”, उहाँले भन्नुभयो । 


ठूलो सिङ्दीका स्थानीय तथा वडा महिला सदस्य वर्तामाया गुरुङले फोन गर्नु पर्दा घरबाहिर निस्कनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । “यहाँ कुनै  आकस्मिक घटना, दुर्घटना भएमा वा कसैलाई केही खबर गर्नुपरेमा निकै समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो । 


वडा दलित महिला सदस्य पार्वती सुनार विकले पनि वडाको बङ्गुम गाउँमा सबैभन्दा बढी समस्या रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घलेगाउँमा मोबाइलमा टावर देखाउँछ तर राम्रोसँग आवाज नै सुनिदैन, तलतलका गाउँमा त झ्न बढी समस्या हुने नै भयो”, उहाँले भन्नुभयो,“नेपाल टेलिकमको टावर राख्ने कुरा भइरहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको गृह पालिका पनि रहेकाले अब समस्या समाधान हुने आशा छ ।”


नेपाल टेलिकम (दूर सञ्चार) कार्यालय लमजुङका प्रमुख किरण पौडेलले सबै ठाउँमा टावर राख्न नसकिएको र भौगौलिक कारणले पनि फोन नलाग्ने गरेको बताउनुभयो । उहाँले समस्या रहेका ठाउँ पहिचान गरी टावर थप्न सम्बन्धित निकायमा जानकारी गराइएको बताउनुभयो । 

विराटनगर:   कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरी घटना प्रकरणमा १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी कार्यालय विराटनगरमा मङ्गलबार ट्रान्सफर्मर चोरी घटनामा संलग्न ७ जन...

थप पढ्नुहोस्

काठमाडौं:   सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भिमनगर बोर्डर पोस्टबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सप्तरीको हनुमान क्रंकालिनी नागरपालिका&nd...

थप पढ्नुहोस्