पोखरा:  दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ ।  पोखराको इभेण्ट म्यानेज...

मुस्ताङ:   मुस्ताङको साङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको छ । हिमपहिरोले बोक्से खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।  दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको प्रमुख जिल्ला अधिकारी पन्तको भनाइ छ। ‘तल खोला बन्द भाको कारणले के कारणले बन्द भयो भनेर आउँदा माथि हिमपहिरो खसेको रहेछ’, उनले भने। हिमपहिरो खसेकै ठाउँमा भने पुग्न नसकेको उनले सुनाए। हिमपहिरो खसेपछि बोक्से खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। पहिरोस्थल जोमसोमबाट झन्डै १७ किलोमिटर पर रहेको उनले जानकारी दिए।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमा इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।            केही समयअघि बङ्गलादेशमा आएको असहज परिस्थितिका कारण स्वदेश फर्केका विद्यार्थीसँग आज भएको भेटमा अध्यक्ष दाहालले विशेष परिस्थितिका कारण एकपटकका लागि नेपालमा इन्टर्नको व्यवस्था गर्न सकिने भएकाले आफूले सरकारसँग छलफल गर्ने बताउनुभयो ।  उहाँले यसबारेमा सरकारसँग छलफल गर्ने र विशेष परिस्थितिका कारण एकपटकलाई मुलुकमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।            भेटमा विद्यार्थीहरुले बङ्गलादेशमा असहज अवस्था आएपछि इन्टर्न छाडेर आएको र विशेष परिस्थितिमा नेपालमा इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए ।            सोही क्रममा अध्यक्ष दाहालले मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी सोसम्बन्धमा जानकारी लिनुभएको थियो । रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालयले विशेष परिस्थितिका कारण एकपटकका लागि इन्टर्न गर्न दिने निर्णय गरिसकेको उल्लेख गर्दै र मन्त्रिपरिषद्बाट निर्णय भएको खण्डमा यो व्यवस्था मिलाउन सकिने जानकारी गराउनुभएको थियो ।

इलाम:    छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुएको छ ।            त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उहाँ इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुनुहुन्छ ।            पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उहाँले गाडी चलाउन थाल्नुभएको हो । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उहाँ बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानुहुन्छ । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्नुहुन्छ ।            उहाँको बुवा पहिलेदेखि सवारी चालकको काम गर्नुहुन्थ्यो । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उहाँ बताउनुहुन्छ । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उहाँले विस्तारै राम्रोसँग चलाउन थाल्नुभयो । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताउनुभयो ।       “मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु”, उहाँले भन्नुभयो । छेकीले गाडी चलाउँदा केही यात्रुहरुले सुरुमा विश्वास गर्दैनथे । उहाँले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उहाँले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् ।       उहाँले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गर्नुभएको छ । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उहाँको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् ।            कक्षा १२ सम्म अध्ययन गर्नुभएकी उहाँले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उहाँले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देख्नुभएको छ । “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेसिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिनुभएको छ छेकीले ।           जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले  उहाँको गाडी रोज्ने गरेको बताउँछन् । “केही पुरुष चालकहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ”, स्थानीय यात्रु दावा शेर्पाले भन्नुभयो, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।” 

तनहुँ:    तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र थप उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो । भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो ।   यो पनि पढ्नुहोस   काठमाडौं जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खस्यो

धादिङ:    काठमाण्डौंबाट पोखरा जाँदै गरेको गरेको इभी माईक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको हो । सो माईक्रो बस सडकमा पल्टिएको छ । माइक्रो बस दुर्घटनाका घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं:    नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।  भर्ना छनोट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।  फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्न आह्वान गरिएको छ ।  आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।  

कैलाली:    जमिनको भोगाधिकार विवाद समाधान नहुँदा घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ । घोडाघोडी नगपालिका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम गर्न नभएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिँदै सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।  जमिनको स्वामित्व निक्र्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गर्नुभएको थियो । सोही अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो ।  नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग गरिएको थियो । कम्पनीले रु नौ करोड ८६ लाख पाँच हजार पाँच सय ७० मा दुई वर्षभित्र भवन निर्माण गर्न २०७८ वैशाख २९ गते सम्झौता गरेको थियो । अस्पताल भवन निर्माण अलपत्र परेपछि पालिकाले स्वास्थ्यचौकीको भवनमा नगर अस्पताल सञ्चालन गरेको छ । 

तनहुँ:      पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मर्स्याङ्दी नदीमा खसेको हो ।       पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन ।       अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

काठमाडौं:    संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालका दुवै सदनबाट पारित भएकामा त्यसको स्वागत गर्दै विधेयकको कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । शान्ति सम्झौता भएको १८ वर्षपछि पारित भएको उक्त विधेयक नेपालमा दिगो शान्ति स्थापनामा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उहाँले सत्य निरुपण र मेलमिलापसम्बन्धी सबै मुद्दा निरुपण गर्न सहज हुने बताउनुभएको छ । बिहीबार राति जेनेभामा जारी गर्नुभएको वक्तव्यमा उच्चायुक्त टर्कले पारदर्शी ढङ्गले स्वतन्त्र व्यक्तिहरू दुवै आयोगमा पदाधिकारीहरू नियुक्त हुनुपर्नेमा जोड दिनुभएको छ ।  शान्ति प्रक्रियालाई सफलतापूर्वक तार्किक निष्कर्षमा पुर्याउने उदाहरणीय मुलुकका रुपमा नेपाल क्षेत्रीय एवं अन्तरराष्ट्रिय जगत्मा स्थापित भएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियाको यो महत्त्वपूर्ण चरणमा नेपाल सरकारलाई हरतरहले सहयोग गर्न आयोग तत्पर रहेको बताउनुभएको छ ।