६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन
नवलपरासी | भदौ १४, २०८१

नवलपरासी: बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो ।
तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गर्नुभयो ।
“अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ । भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ”, उहाँले भन्नुभयो ।
टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर नजिकै घर भएका स्थानीयवासी खुसी भएका थिए । तर भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुसीभन्दा पनि अहिले असुरक्षा बढेको रानाले बताउनुभयो ।
“भ्यूटावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको छ”, उहाँले भन्नुभयो, “अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ, कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सृजना भएको छ ।”
कावासोती –१ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यूटावर सञ्चालनमा नआए पनि दैनिक सयभन्दा धेरै आन्तरिक पर्यटक भ्यूटावर क्षेत्र घुम्न आउने गरेको बताउनुभयो ।
“तत्काल भ्यूटावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको छु”, उहाँले भन्नुभयो, “व्यवस्थित रूपमा भ्यूटावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको छभने रेखदेख नहुँदा त्यस क्षेत्रमा फोहरको थुप्रो लागेको छ ।”
भ्यूटावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९÷८० मा रु १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो । चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ । भ्यूटावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।
“यसै आवदेखि वडा कार्यालय र स्थानीयको रेखदेखमा सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले देखिएका केही समस्यालाई छिटोभन्दा छिटो सम्बोधन गर्नेछौँ ।” समुद्री सतहबाट झण्डै आठ सय मिटर उचाइमा रहेको भ्यूटावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दूरीमा रहेको छ । यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जानुहुँदैछ । यही साउन २० देखि २३ गतेसम्म (५ देखि...
पोखरा: नेपाल हिमालय र पदयात्राका लागि मात्र नभई, योग, ध्यान तथा पूर्वीय दर्शनका अभ्यासहरूबाट मानसिक शान्ति खोज्ने अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत एक प्रमुख आध्यात्मिक गन्तव्य बन्दै गएको एक अध्ययनले देखाएको छ...
पोखरा: नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखराका आमा समूहहरूको दौड सम्पन्न भएको छ । रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलोपटक आमा समुहको दौड आयोजना गरेको ...