भाद्रकृष्ण अष्टमी: मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडाैं | भदौ १०, २०८१

भाद्रकृष्ण अष्टमी: मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं:    वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

    
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

    
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । 

    
कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

    
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । 

    
यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।


बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको श्रीकृष्ण मन्दिरमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा झुलनोत्सव कार्यक्रम आयोजना गरिएको छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । 


यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि मङ्गलबार निकाल्ने गरिन्छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।


श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सामुदायिक एवं संस्थागत विद्यालयले बालबालिकालाई श्रीकृष्ण एवं राधाका रुपमा शृङ्गार गरेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यसबाट बालबालिकामा यस पर्वको महत्व बुझ्न सहयोग पुग्ने गरेको छ ।

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्