पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्द्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन् । विशेष गरी स्थानीय पर्यटन व्यवसायीहरू सरोकार भएका निकायसँगको छलफल तथा प्रवर्द्धनात्मक उडानमार्फत नियमित र व्यावसायिक रूपमा सञ्चालनका लागि ध्यानाकर्षण गराइरहेका छन् । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग छलफल गर्दै प्रवद्र्धनात्मक उडानमार्फत पहल गरिरहेको छ । यसैबीच, पोखरामा हुन लागेको ड्रागन बोट रेसका लागि चीनको छेन्दुबाट बिहीबार चार्टर उडान गरिएको छ । उडानमा एक सय २९ खेलाडीसहित सिचुवान विमान पोखरा उत्रेको थियो । नाट्टाको पहलमा पोखराबाट उत्तिकै सङ्ख्यामा यात्रु बोकेर प्रवर्द्धनात्मक कार्यक्रमका लागि सो विमान काठमाडौँ अवतरण ग¥यो । यसमा पत्रकार, पर्यटन व्यवसायी र प्रदेशका पर्यटनमन्त्रीहरूको सहभागिता रहेको थियो । यस उडानले बढी भार बोकेर जहाज उडान र अवतरण हुन नसक्ने भन्ने भ्रमलाई तोड्न सफल भएको व्यवसायीको भनाइ छ । पूर्ण क्षमतामा उडान र अवतरण भएसँगै विमानस्थल पूर्ण सुरक्षित रहेको सन्देश पनि प्रवद्र्धनात्मक उडानले दिएको छ । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट उडान अवतरणमा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरा विमानस्थलले एयरबसजस्ता ठूला जहाज सहजै सञ्चालन गर्न सक्छ भन्ने प्रवर्द्धनात्मक उडानले पुष्टि गरेको छ । अब यो पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ ।” अधिकारीले विमानस्थलको प्रभावकारी उपयोगका लागि सरकारबाट नीतिगत सहयोग र निजी क्षेत्रबाट ठूलो लगानीको सदुपयोग गर्न अग्रसरता आवश्यक रहेकामा जोड दिनुभयो । नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र चलायमान बनाउन निकै समस्या भएको धारणा राख्नुभयो । “पर्यटनमा ठूलो लगानी छ तर नियमित उडान नहुँदा पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार हुनसकेको छैन, जसले लगानी जोखिममा परेको छ । अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश गएको छ”, उहाँले भन्नुभयो । यस विषयमा क्यानका पदाधिकारी र सम्बन्धित निकायहरूमा निरन्तर ध्यानाकर्षण गराउँदै प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिनुभयो । पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले विमानस्थलमा नियमित उडानको गर्नु राज्यको दायित्व भएको बताउनुभयो । “नागरिकको लगानी रहेको यो विमानस्थलमा उडान सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो । यात्रु खोज्ने काममा निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्छ र यसका लागि नागरिक तहबाट निरन्तर दबाब आवश्यक छ”, उहाँले भन्नुभयो,“अब विमानस्थलबारे गलत र भ्रमपूर्ण कुरा छर्न कुनै पनि सभ्य नागरिकलाई छुट छैन । सबैको सामूहिक सहकार्य र समन्वयको खाँचो छ ।” पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नियमित उडानका लागि पहल भइरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गर्नुभयो । “सञ्चालनको दुई वर्षसम्म चार्टर उडानमा सीमित विमानस्थललाई नियमित उडानमा लैजान पर्यटन सम्बद्ध सङ्घसंस्था, सञ्चारमाध्यम र नागरिक समाजले निरन्तर पहल गर्न आवश्यक छ । हामी आफ्नो तर्फबाट यसमा निरन्तर लागिरहेका छौँ । प्राविधिक र पूर्वाधारका चुनौतीहरू हट्दै गएकाले अब नियमित उडान हुने आशा छ”, उहाँले भन्नुभयो । चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल नेपाल–चीन सहकार्यको उदाहरण मानिन्छ । करिब रु २२ अर्ब लागतमा निर्मित विमानस्थलको निर्माण कार्य चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले गरेको थियो । दुई दशमलव पाँच किलोमिटर लामो रनवे भएको यस विमानस्थलमा वाइडबडी जस्ता ठूला क्षमताका जहाजहरूलाई पनि सहज रूपमा अवतरण गर्न सकिन्छ । आधुनिक नेभिगेसन प्रणाली, अत्याधुनिक टर्मिनल भवन र दैनिक २० हजार यात्रुलाई सेवा दिने सक्ने यसका क्षमता रहेको प्राधिकरणले बताउने गरेको छ । गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा अवस्थित यस विमानस्थललाई अन्नपूर्ण सर्किट, मुक्तिनाथ र कैलाश मानसरोवरजस्ता विश्वप्रसिद्ध गन्तव्यमा जान सहज हुने अपेक्षा गरिएको छ ।
काठमाडौं: प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ । ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भएकामा रक्षामन्त्री राईको ध्यानाकर्षण गराउनुभयो । उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेको नेपाली सेनाले निर्माण गरिरहेको छ । उक्त भेटमा ऊर्जामन्त्री खड्काले सडकको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै उक्त सडक निर्माणमा संलग्न नेपाली सेनालाई चाँडो सडक सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । छलफलमा मन्त्री खड्काले खाँदबारी किमाथाङ्का सडक कोशी ल्हासा राजमार्गअन्तर्गत रहेको र उक्त खण्ड जोडिएपछि यो सडकले त्रिदेशीय पारवाहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । मन्त्री खड्काले यो त्रिदेशीय नाका जोड्ने सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका अलावा बङ्गलादेशले फाइदा लिनसक्ने उल्लेख गर्दै सडक सञ्चालनमा आएसँगै नेपालको आर्थिक क्षेत्रको विकासमा यो सडक कोशेढुङ्गा बन्नसक्ने बताउनुभयो । किमाथाङ्का क्षेत्र हुँदै नेपालको प्रसिद्ध नदी अरुणको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य धेरै जलविद्युत् आयोजना निर्माण गर्न सकिने र यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख उपलब्धि हासिल गर्न सकिने हुँदा यो सडक शीघ्र सञ्चालनको बहुआयमिक महत्व रहेको बताउनुभयो । भेटमा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्वपूर्ण पूर्वाधारका रुपमा रहने भएको हुँदा निर्माणमा संलग्न सेनालाई गुणस्तरीय रुपमा यथाशीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक निर्देशन दिनुभयो । दुई मन्त्रीको भेटमा रक्षामन्त्री राईले पूर्वको किमाथाङ्का नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो । भेटमा नेपाली सेनाका महासेनानी धर्मेन्द्रकुमार झाले खाँदबारी–किमाथाङ्का सडकखण्डको अतिविकट खण्डमा ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले उक्त सडकका लागि हाल छुट्याइएको बजेट अपर्याप्त रहेको र बजेटको सुनिश्चितता भएमा आगामी दुई महिनाभित्र सडक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने उहाँको भनाइ थियो । कोशी ल्हासा राजमार्गअन्तर्गतको जोगवनीदेखि सङ्खुवासभाको सदरमुकाम खाँदबारीसम्म यसअघि नै सडक कालोपत्र भई यातायात सञ्चालनमा रहेको अवस्था छ । खाँदबारीदेखि किमाथाङ्कासम्मको सडकखण्ड भने नेपाली सेनाले ट्रयाक खोल्ने तथा स्तरोन्नति गर्ने कार्य गरिरहेको छ । खाँदबारीदेखि किमाथाङ्कासम्मको दूरी १५८.५१ किलोमिटर रहेको छ । उक्त दूरीमा पनि आंशिक रुपमा यातायातका साधान सञ्चालनमा रहेका छन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ । नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा नेतासिंहसँगको आफ्नो तस्बिर पनि प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभएको छ । “मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु”, फेसबुकमा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । यो पनि पढ्नुहोस भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाको शपथ लिनुभएको हो । प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गर्नुभयो । सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।
बलेवा: जैमिनी नगरपालिका–१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाउनुभयो । सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोरबाट पाल्पा हुँदै बुटवल जाँदा दूरी एक सय किमी छोटो भयो । यसले खर्च पनि जोगायो । करिडोर खुल्नुअघि त बुटवल जानुपरे सदरमुकाम आएर एक रात बस्नुपर्ने बाध्यता थियो । सदरमुकाम आउन रु चारसय भाडा तिरेपछि बागलुङबाट बुटवल जान थप रु एक हजार तीन सय ५० भाडा लाग्छ । बिहान छुट्ने बसले बेलुकी ६ बजे मात्रै प¥याउँछ । करिडोरबाट यात्रा गर्दा भाडा र समय कम खर्च भएको थापाले बताउनुभयो । करिडोर निर्माणाधिन नै छ । तर नियमित बस सञ्चालनमा आउन थालेका छन् । जैमिनीको बेलबगरदेखि त एक सय ५० किमी यात्रा गरेर मात्र पोखरा पुगिने बाध्यता अहिले हटेको छ । बरु त्यति दुरी पार गर्दा बुटवल पुग्न सकिन्छ । सहजै बुटवल पुग्न सकेपछि उनीहरुले उपचारदेखि व्यवसाय पनि गर्न पाएका छन् । बुटवलमा किनमेल सस्तो पर्ने गरेको जैमिनी–७ का प्रकाश ढुङ्गानाले बताउनुभयो । साथै बसाइ सरेर गएकाहरुपनि बुटवल, भैरहवा र कपिलबस्तुमा भेटिन्छन् । करिडोरको यात्रा गर्ने अधिकांशले आफन्तको नजिक पुग्नका लागि पनि यो बाटो तय गर्न थालेका छन् । कालीगण्डकी करिडोरले बुटवललाई यति छोटो दुरीमा पु¥याएपछि करिडोरको यात्रा गर्नेहरु बढेका छन् । अहिले त धेरै सजिलो भैसक्यो, बाटो सबै कालोपत्रे भयो भने बागलुङको जैमिनी, बलेवा र बरेङबासीको दैनिकी बुटवल र पाल्पातर्फ नजिक बन्नेछ । सडक निर्माणाधिन भएकोले धुलो भने बढी छ । त्रिदेशीय मार्गका रुपमा कालीगण्डकी करिडोर स्थापित भैसकेकाले भारतको सिमाना पुगेर व्यपार गर्न अब छोटो बाटो तय भैसकेको जैमिनी नगरपालिका १ की पुष्पा आचार्यले बताउनुभयो । करिडोरले बागलुङको जैमिनी मात्र हैन गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको बिहादी र फलेवास नगरपालिकाबासीका लागि पनि सहज बनाएको छ । “बुटवल पढ्न गएका छोरीहरु बिहानको खाना खानै आइपुग्छन्”, पर्वतको बिहादीका हरि न्यौपानेले भन्नुभयो, “करिडोरले सदरमुकाम र बुटवल उस्तै बनाएको छ ।” करिडोरले ४१७ किमीमा चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गरेको छ । करिडोरअन्र्तगत गुल्मी र बागलुङ खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो । अहिले १० किमी सडकमा कालोपत्रेका लागि ठेक्का लागेको छ । जैमिनी नगरपालिकाको वडा नंं १४ नारायणस्थानदेखि गुल्मीको हर्मीचौर ४५ किमी सडक कालीका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । आगामी २०८२ को मंसिर मसान्तसम्म सकिनुपर्ने कामको अधिकांश खण्ड कालोपत्रेको तयारी छ । कतिपय खण्ड कालोपत्रे भैसकेको छ करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले बताउनुभयो । अहिलेकै गतिमा काम भए समय अघिनै सकिने उहाँले बताउनुभयो । रु तीन अर्ब ३३ करोडमा लगाइएको ठेक्काको खण्डमा नाली, पर्खाल, पुल र कजवे बनेका छन् । बलेवा खण्डमा काम भएको छ भने रिडी खण्डमा कालोपत्रे भैसकेको छ । पाँच वर्ष अघिसम्म सडक संजालले जोड्नै कठिन जैदी, छिस्ती, अजे्र्रवालगायतका बासिन्दा अहिले सहजै यात्रा गर्न पाएका छन् । सडक खुलेपछि सदरमुकाम र पाल्पा, बुटवल जाने सवारी पनि सहजै पाउन थालिएको जैमिनी ८ का ओमकार थापाले बताउनुभयो । “अहिले त बाइक चढेर सदरमुकाम भन्दा बुटवल पहिला पुग्छु”, थापाले भन्नुभयो, “सहज आउजाउ भएपछि पाल्पा र बुटवल झरेर पढ्नेहरुपनि बढेका छन् ।” समयमा बुटवल पुग्दा पूर्वपश्चिम जानुपर्ने यात्रीले पनि करिडोरको यात्रा गर्न खोजेका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकाका सुमित्रा पाण्डेले ठूलो परिवर्तन आएको बताउनुभयो । “घरमै गाडि आउला भन्ने सोचेका थिएनौं, घर छेवैमा सडक आएपछि बारीको तरकारी बिहानै बुटवल पठाउन पाएका छौं”, उहाँले भन्नुभयो । बागलुङको बुर्तिवाङतर्फका सवारी पनि रिडीदेखि पाल्पाको अर्गली, तानसेन हुँदै बुटवल जाने गर्छन् । यसरी यात्रा गर्दा सामान खरिदका लागि बुटवल जाने र उपचारका लागि पाल्पा जानेलाई सहज भएको हो । पश्चिम बागलुङ बासीले पनि रिडीमा करिडोर भेट्छन् । विसं २०४४ सालमा यो सडक ट्रयाकको परिकल्पना गरेपनि २०७१ पछि मात्रै करिडोरको ट्रयाक खोल्न सुरु भएको हो । करिडोर बनेकोले हर्मीचौरदेखि शान्तिपुर र बरेङतर्फ जाने सडक पनि बनेका छन् । नेपाली सेनाले हर्मीचौरदेखि रुद्रवेणीको बिकल्पमा स्याङजातर्फ पनि सडक बनाइदिएको छ । “करिडोरको बाटो हुँदै मिर्मी पुग्न सहज रहेछ, त्यसैले व्यावसायिक भ्रमण पनि गरियो”, होटल सञ्चालक तालबहादुर कुँवरले भन्नुभयो, “छोटो बाटो बनेकाले अब त सहज भयो ।” करिडोरमा नेपाली सेनाले विभिन्न स्थनमा बेलीब्रिज बनाएको छ । ती पुल बिस्थापित गर्न करिडोर आयोजनाले विभिन्न स्थानमा ठेक्का समेत लगाएको छ ।
पोखरा: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ । अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानकारी दिनुभयो । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने अधिकारीले बताउनुभयो । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
हुम्ला: सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु ९ को नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जानु परेको छ । नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताउनुभयो । केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठूलो खर्च भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँभन्दा पालिका केन्द्र टाढा छ । अनुदानमा रु नौ पर्ने नुन लिन जान रु पच्चीस सय खर्च लाग्छ ।” एक दिनको पैदलयात्रामा पुगिने ठाउँमा गाडीमा आवतजावत गर्दा रु २५ सय लाग्ने गरेको रतन रावतले बताउनुभयो । साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा तुम्चका ९५ घरधुरीलाई समस्या हुने गरेको रावतको भनाइ छ । गाउँपालिका केन्द्र टाढा रहेकाले गाउँपालिकाबाट पाउने अन्य सेवा सुविधाबाट समेत बञ्चित भइ वडा कार्यालय जान समेत तीन घण्टा पैदल हिँड्नु पर्ने बाध्याता रहेको रावतले सुनाउनुभयो । वडा कार्यालय जैरमा भएकाले तीन घण्टाको उकालो हिँडेर विभिन्न सिफारिस लिनुपर्ने अवस्था छ । तुम्च गाउँका नागरीकले नुन सर्केगाड नपुर्याइ बालुकुना क्षेत्रबाट वितरण गर्दा आफूहरुलाई सहज र खर्च पनि बच्ने उनीहरुको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा हुम्लाका प्रमुख राजबहादुर लामा भने दक्षिण भेगका चारवटा गाउँपालिकाका लागि सहज पहुँच पुग्ने गरी बिक्री केन्द्रबाट वितरण हुँदै आएको बताउनुभयो । एक दुई पटक यहाँका नागरिकको समस्यालाई हेरी तुम्चका लागि बालुकुना मै वितरण भएको उहाँको भनाइ छ । अहिले चंखेली र सर्केगाडका लागि सर्केगाड बिक्री केन्द्र र अदानचुली र ताँजकोटका लागि अदानचुलीको श्रीनगरसम्म पुर्याउने सम्झौता भएको लामाले बताउनुभयो । ती चारवटा गाउँपालिकाका लागि चालु आर्थिक वर्षमा १८ सय क्विइन्टल नुन पु¥याइनेछ । सर्केगाडका लागि पाँचसय, चंखेली चारसय, अदानचुली पाँचसय, ताँजकोट गाउँपालिकाका लागि चारसय क्विइन्टल नुन ढुवानी हुने भएको छ । अहिले दक्षिण भेगमा नुन ढुवानी भइरहेको बताइएको छ ।
झापा: कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताउनुभयो । “पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उहाँले दुर्घटनाको कारण बताउँदै भन्नुभयो, “तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति धेरै भएको छ ।” सवारी दुर्घटनामा परी सो अवधिमा एक सय ९१ जनाको मृत्यु भएको छ भने तीन सय २७ जना गम्भीर घाइते भएका छन् ।
उदयपुर: कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ । “अहिले पनि केन्द्रमा दुईवटा निलगाई, चार मृगको उपचार गरेर राखिएको छ”, उहाँले भन्नुभयो, “कटारी–१४ बाट ल्याइएको सालक, गाईघाटबाट ल्याएको दुईवटा निलगाईलाई बचाउन सकेनौँ ।” कटारी डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले मदन भण्डारी राजमार्ग र आसपास जिल्लामा फेलापरेका घाइते वन्यजन्तुको उद्धारका लागि केन्द्र स्थापन गरिएको हो । “घाइते र टुहुरा वन्यजन्तुको उद्धार गरी वनमै छाड्ने वा अन्यत्र राष्ट्रिय निकुञ्जमा पुर्याउने उद्देश्य हो”, अधिकृत साहले यस क्षेत्रका सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङ आसपासका जिल्लामा केन्द्र नरहेकाले यही केन्द्र प्रयोगमा ल्याइएको बताउनुभयो । यस केन्द्रलाई क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको प्रमुख साहको भनाइ छ । “यसको विकासका लागि एक जनालाई जावलाखेलको चिडियाखानामा तालिम दिएर दक्ष उपचारकर्ता राख्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “अहिले भेटेनरीका डाक्टरबाट उपचार गराउने गरिएको छ, त्यसले मात्रै पनि पशुपक्षी बचाउन सकिएको छैन ।” पर्यटकीय क्षेत्र रहेको सिमसार क्षेत्रमा वन्यजन्तु राखिएकाले यसले पर्यटकलाई समेत आकर्षित गर्ने गरेको वडाध्यक्ष मोहन तामाङले बताउनुभयो । वन कार्यालयको सहयोगमा केन्द्र स्थापना गरेपछि यसले पर्यटनको विकासमा पनि साथ पुगेको वडाध्यक्ष तामाङको भनाइ छ । सिसाघारी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा स्थापित सिमसार यस क्षेत्रकै पर्यटकीयस्थल पनि हो ।

