पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

ललितपुर:    ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ ।  असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ ।       बाढीका कारण नख्खु खोला किनारामा थुप्रिएको धुलो उडेर बस्तीमा पुगेको र धुलो र गन्धले असर गरेको ललिलतपुर महानगरपालिका–४ का स्थानीय मिलन यसमाली मगरले दुखेसो पोख्नुभयो ।  उहाँले भन्नुभयो, “दिउँसो हावा चलेको बेला धुलोसँगै खोलाको गन्ध बस्तीमा पस्छ । जाडो समयमा यति धेरै धुलो र गन्धको समस्या छ पछि गर्मी सुरु भए झन् गाह्रो हुने सम्भावना छ ।”      बाढीले क्षति पुर्‍याएको क्षेत्रमा खानेपानी, यातायात र विद्युत्को समस्या हल गरिसकेको र अन्य समस्याहरूको समाधान गर्न ललितपुर महानगरपालिकाले पहल गरिरहेको ललितपुर महानगरपालिका–१३ का वडाअध्यक्ष गणेश केसीको भनाइ छ ।  “नख्खु करिडोरमा टिप्परका कारण बस्तीमा असर परेको छ । टिप्पर हिँड्नका लागि उचित व्यवस्थापन महानगरले गर्न सकेको छैन । टिप्परको कारण धुलोको समस्या झन् बढेको हो ।”      नख्खु र भैँसेपाटी जोड्ने नुख्खु खोला पुल र छेउछाउमा धुलोका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ । हरेक दिन नख्खु खोला पुल हुँदै भैँसेपाटी पुग्ने गरेका मोटरसाइकल यात्रु वीरेन्द्र तितुङले धुलो र खोलाको गन्धले आफूलाई दिक्क बनाएको बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “मेरो छोरी त्यही पुलको बाटो भएर स्कुल जान्छिन्, छोरीले धुलो र खोलाबाट निस्केको गन्धले आफूलाई दिक्क पारेको बताउँछिन् । धुलो र खोलाको गन्धको व्यवस्थापन जिम्मेवारी निकायले छिट्टै गर्नुपर्ने हो ।”      त्यसैगरी, बाढीले नख्खु करिडोर क्षेत्रमा क्षति पुर्‍याएपछि बाढीपीडितहरूले सरकारबाट पाउनुपर्ने राहत अझै नपाएको स्थानीय विश्वास थापा बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “चिसो बढेको छ । बाढीपीडतहरू मुस्किलले बसेका छन् । धुलो र गन्धले बस्तीमा असर गरेको छ । जिम्मेवारी निकायको ध्यान पुग्नुपर्ने हो तर पुगेको छैन । जाडो समयमा यति धेरै धुलो र गन्ध छ, गर्मीयाम सुरू भएपछि  दुर्गन्ध र धुलोले विकराल रूप लिने सम्भावना छ ।”

काठमाडौं:   गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।      ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।      ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।      पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

अछाम:    कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् ।       कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।  बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।      मासु खाँदा विकको घरमा थप तीनजना बिरामी भएका छन् । बिरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ ।  मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ । के कती कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।

पोखरा:      कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको रु पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको हो ।  नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गर्नुभएको छ । दाताहरुको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । सेवा केन्द्रको सञ्चालन अब प्रतिष्ठानले गर्ने  प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताउनुभयो ।  सेवा केन्द्रका चार वटा भवन छन् । प्रतिष्ठानको पहलमा स्वीजरल्याण्डका दाताबाट सो सहयोग रकम प्राप्त भएको थियो ।  सेवा केन्द्रमा ६५ वर्ष उमेर माथिका असहाय, गरीब तथा विपन्न नागरिकहरुलाई आवासीय सुविधा सहित राखिने प्रतिष्ठानका संस्थापक दवाडीले बताउनुभयो ।  सेवा केन्द्रमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै भवन रहेका छन् । त्यसैगरी एउटा कर्मचारी र किचन तथा अर्को भवनमा क्लिनिक तथा पाहुनाका लागि व्यवस्था गरिएको छ । गरीव, विपन्न र असहायः वृद्धवृद्धाका लागि लक्ष्य गरिएपनि सेवा केन्द्रलाई आत्मनिर्भर बनाउनका लागि शुल्क तिरेरपनि वृद्धवृद्धा राख्न सकिने दवाडीले बताउनुभयो । सेवा केन्द्र सञ्चालनका लागि सुरुआती तीन वर्षको सम्पूर्ण खर्च इहमान फाउण्डेशनलेनै बेर्होने बताइन्छ ।  दवाडीले भन्नुभयो,“हामीले गरीव तथा असहाय र दिनदुखीका लागिनै आवासीय सेवा केन्द्र सञ्चालनमा ल्याएका हौँ । यसका साथै कसैले शुल्क तिरेर सेवा केन्द्रमा राख्न चाहनुहुन्छ भने पनि राख्न सकिन्छ । सेवा केन्द्रलाई आत्मनिर्भर बनाउन यसबाट मद्धत पुग्नेछ । नहुनेलाई सहयोग गर्ने र पैसा हुनेले तिरेर बस्ने हो । ” सेवा केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरुलाई क्लिनिक र फार्मेसी सहितको  नर्सिङ सेवा, परामर्श सुविधा,  पुस्तकालयको सुविधा रहेको छ । यसैगरी  अडियो–भिजुअल ल्याब, योग र ध्यान कार्यक्रम तथा एकल, डबल वा साझा कोठा, स्नान गृहको व्यवस्था गरिएको प्रतिष्ठानका सचिव सुवासचन्द्र लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन महिनाभित्रमा सेवा केन्द्र पूर्ण रुपमा सञ्चालनमा आउनेछ । “भवन पूर्ण रुपमा तयार भइसकेको छ । केहीमा झ्याल ढोकाको काम बाँकी छ भने किचनका सामानहरु किन्नुपर्ने र ज्येष्ठ नागरिक राख्नका लागि प्रक्रिया पूरा गर्दा सञ्चालनमा आउन तीन महिना समय लाग्छ ।” लम्सालले भन्नुभयो । सेवा केन्द्र निर्माणका लागि नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उहाँका परिवारजन कर्र्णबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र  छोरी शुकमाया गुरुङले चार रोपनी जमिन दान गर्नुभएको थियो । कार्यक्रममा जग्गादाता तथा एहमान फाउण्डेसनका प्रतिनिधि माथियाज मारिया डोल्डलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष दिननाथ लम्साल, प्रमुख संरक्षक रविलाल पोखरेल, सल्लाहकार सूर्यप्रसाद लम्साल लगायतले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकले लाभ लिने बताउनुभएको थियो । आमा स्मृति प्रतिष्ठानले घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ। जसमा विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म वृद्धवृद्धाहरु आएर बस्ने गरेका छन् । 

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताउनुभएको छ ।      नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताउनुभयो ।       “एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईंहरुको एमालेमा आउने छनोट सही छ । तपाईंहरु नमूना हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।”      प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्नपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवनयापन गर्न आग्रह गर्नुभयो ।       कार्यक्रममा नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गर्नुभएको थियो । सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत एमालेमा प्रवेश गर्नुभएको थियो ।  पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथि बन्ने उल्लेख गर्नुभयो ।      कार्यक्रममा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित हुनुहुन्थ्यो ।

चितवन:    गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन् ।        भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो ।  निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।       भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ । 

काठमाडौं:     चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ ।  काठमाडौँ महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गर्नुभएको छ ।       “महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरु हेरफेर गर्न जरुरी देखिएको छ”, उपप्रमुख डंगोलले भन्नुभयो, “विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेश गर्नुपरेको हो ।”      संशोधन बजेट प्रस्ताव गर्दा विषय विज्ञ, महानगरपालिकाका विषयगत समिति एवं अन्य विभिन्न समितिहरुमा छलफल तथा विश्लेषण गरी बजेट तथा कार्यक्रम तर्जुमा समिति र कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पास गरी नगरसभामा पेस गरिएको उपप्रमुख डङ्गोलले बताउनुभयो ।  आर्थिक वर्षका लागि विनियोजित कूल बजेट रकम, चालुगत तथा पुँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेस गरेको नगरसभामा उहाँले स्पष्ट पार्नुभयो ।      संशोधित प्रस्ताव अनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर रू ७२ करोड ४३ लाख ७१ हजार बजेट कायम गर्न लागिएको छ । सो क्षेत्रमा यस अघि रू ७२ करोड ९९ लाख ७१ हजार विनियोजन भएको थियो ।      कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा रू तीन अर्ब ७० करोड ५३ लाख ८ हजार विनियोजन भएकोमा त्यसलाई बढाएर रू तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार कायम गर्ने प्रस्ताव गरिएको छ ।        त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमा रू १२ अर्ब एक करोड ९३ लाख ९१ हजार पाँच सय बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर रू ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।      सामाजिक विकासका क्षेत्रमा यसअघि रू पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार पाँच सय विनियोजन भएकोमा त्यसलाई घटाएर रू पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।      त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि रू दुई अर्ब २२ करोड ६५ लाख ८५ हजार बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ । उक्त क्षेत्रमा यस अघि रू दुई अर्ब ९६ करोड २९ लाख ८५ हजार विनियोजन भएको थियो । पाँच महिनामा १६ प्रतिशत बजेट खर्च        महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा भने कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले रू २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म रू चार अर्ब एक करोड चार लाख ५६ हजार बराबर खर्च भएको उपप्रमुख डङ्गोलले नगरसभालाई जानकारी गराउनुभयो । हालसम्मको बजेट खर्च कूल विनियोजनको १६ दशमलव १० प्रतिशत हो ।       महानगरपालिकाले हालसम्म चालु शीर्षकमा २३ दशमलव ५८ प्रतिशत र पुँजीगत खर्च १० दशमलव ९२ प्रतिशत खर्च भएको छ ।      “हालसम्म पूर्वाधार विकासमा १२ दशमलव १३ प्रतिशत, आर्थिक विकासमा २४ दशमलव १८ प्रतिशत, सामाजिक विकासमा १२ दशमलव २३ प्रतिशत खर्च भएको छ”, उपप्रमुख डङ्गोलले भन्नुभयो, “त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात दशमलव ९२ प्रतिशत खर्च भएको देखिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा वढी ३६ दशमलव ५४ प्रतिशत खर्च भएको देखिन्छ ।”      महानगरपालिकाले चालु आर्थिक वर्षमा रू १२ अर्ब ९० करोड ६३ लाख २५ हजार बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । यही पुस ११ गतेसम्म कुल रू चार अर्ब नौ करोड ८९ लाख ३६ हजार बराबर राजस्व प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।  जसमा आन्तरिक राजस्वतर्फ कुल रू दुई अर्ब ६१ करोड ५५ लाख ४३ हजार सङ्कलन भएको छ भने राजस्व बाँडफाँडबाट रू ५९ करोड ८९ लाख ४१ हजार र सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रू ८८ करोड ४४ लाख ५१ हजार रहेको छ । हालसम्मको कुल राजश्व सङ्कलन वार्षिक लक्ष्यको ३१ दशमलव ०७ प्रतिशत हुन आउँछ भने आन्तरिकतर्फ कुल लक्ष्यको ३२ दशमलव ५५ प्रतिशत प्रगति भएको देखिन्छ ।      स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२ दशमलव ७५ अङ्क प्राप्त गरेको पनि उपप्रमुख डङ्गोलले बताउनुभयो । यो अङ्क काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च अङ्क हो ।  

पर्सा:    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।      नेकपा (एमाले)को पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौँनीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताउनुभयो ।      “हामी क्रान्तिकारी हौँ । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुश गर्नु होइन, अब नागरिकको जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “मधेसका केन्द्रित राजनीतिक दलका नेताले संविधानकै धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ ।”      मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई आफूहरुले जोड दिएको उहाँको भनाइ थियो ।  “यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइएसकेको छ  । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।”      प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको र अब पुनः ती कामले गति लिने बताउनुभयो ।       उहाँले स्थानीयको मागबमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नति गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने विश्वास दिलाउनुभयो ।      प्रधानमन्त्री ओलीले बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिला दिदीबहिनीहरुलाई सामाजिक र राजनीतिकरुपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गर्दै महिला र युवालाई अत्यधिकरुपमा परिचालन नगरेसम्म जनतामा भिजेको बलियो पार्टी बनाउन नसकिने भएकाले त्यस अनुसार काम गर्न स्थानीय पार्टी नेतृत्वलाई सुझाव दिनुभयो ।      कार्यक्रममा सो गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायत विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नुभएको थियो । 

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गर्नुभएको हो ।       “राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा  सरकारले उक्त अध्यादेश ल्याएको हो ।