सोलुखुम्बु: अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहानबेलुका सबै एक ठाउँमा भेला भएर आगो ताप्छौँ ।” पछिल्लो तीन दिनयता यहाँ घाम लागेको छैन । चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेको छ । “बालबालिकाको पढनपाठन प्रभावित भएको छ भने वृद्धवृद्धालाई पनि समस्या बढेको छ”, उहाँले भन्नुभयो । चिसो बढेसँगै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप उच्च भएको अस्पतालले जनाएको छ । पछिल्लो एक सातायता अस्पतालका सबै शय्या श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले भरिभराउ बनेको अस्पताल प्रमुख डा प्रशान्त शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण बिरामी धेरै वृद्धि भएको छ, आकस्मिक कक्ष त्यत्तिकै भरिभराउ छभने शय्यासमेत खाली छैन, केही दिनअघि पनि शय्या अभावमा भुइँमा राखेर पनि बिरामीको उपचार गरिरहेका छौँ ।” चिसोको असर हिमाली क्षेत्र खुम्बुमा झनै बढी देखिएको स्थानीयले बताएका छन् । खुम्बुमा पछिलो समय न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल पुगेको छ । चिसोका कारण विद्यालय बन्द भएको लुक्लाका तोयाकुमार श्रेष्ठले बताउनुभयो । अधिकांश विद्यालय बन्द भएपछि बालबालिका आगो तापेर समय कटाउनु यहाँका नागरिकको बाध्यता भएको पिके माध्यमिक विद्यालय लोदिङका शिक्षक ल्हाक्पा शेर्पाले जानकारी दिनुभयो । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बु क्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् । उनीहरु बढीजसो काठमाडौँ र कतिपय तीर्थयात्रामा भारतको बुद्धगैयालगायत क्षेत्रमा जाने गरेका छन् । अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बु क्षेत्र सुनसान बनेको लुक्लाका अमृत मगरले बताउनुभयो । उहाँका अनुसार पर्यटकीय याम चलिरहँदा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका छन् । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चेका साथै गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायत ठाउँमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेपछि व्यवसायी घरेलु कामदारलाई होटल छाडेर अन्यत्र गएको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो । केही होटल पसल खुला भए पनि व्यवसायीको जनजीवन कष्टकर बन्दै गएको छ । यामको बेला दैनिक एक सयभन्दा बढी हवाई उडान हुने लुक्लामा अहिले दैनिक पाँच–छवटा मात्र उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय लुक्लाले जनाएको छ । भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडोयाममा यस भेगमा एकछिन पनि बस्न नसकिने र वर्षमा छ महिनामात्र बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ । पानी आपूर्तिमा समस्या जिल्ला सदरमुकामसहित खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमा पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो । दिउँसो घाम लागेका बेला पनि जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय माया शेर्पाले बताउनुभयो । यो क्षेत्रको तापक्रम घटेर माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको छ । चिसोका कारण विकास निर्माणका कामदेखि अन्य दैनिक क्रियाकलापसमेत प्रभावित बनेको छभने गाउँघरमा मानिसको चहलपहल न्यून हुँदै गएका छन् । धारा बन्द गरेर राख्दा पानी पाइपमा जम्ने भएकाले खुला नै छाड्ने गरेको स्थानीयले बताएका छन् । बेलुका धारा बन्द हुँदा रातको समयको चिसोमा जमेको पानी घाम नलागेसम्म नपग्लिने गरेको नाम्चेका नुरु शेर्पाले बताउनुभयो ।
दक्षिण कोरियामा भएको विमान दुर्घटना स्थलमा ८५ जनाको शव फेला परेको बीबीसीले जनाएको छ । आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको थियो । शव फेला पर्नेमा ३९ जना पुरुष र ४६ जना महिला रहेको बताइएको छ । यस अघि भने दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्हापले २ जना बाहेक सबै जनाको निधन भएको आशङ्का भनेको थियो । जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहँदा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए । यस घटनामा अहिलेसम्म दुई जनाको जीवितै उद्धार गरिएको दमकल विभागका अधिकारीहरूले बताएका छन् । उद्धार हुनेमा एक जना यात्रु र एक जना चालक दलका सदस्य भएको बताइएको छ । अहिलेसम्म दुर्घटनाको कारण थाहा हुन सकेको छैन । यो पनि पढ्नुहोस दक्षिण कोरिया विमान दुर्घटना: २ जना बाहेकको मृत्यु भएको आशंका
वीरगञ्ज: तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ । पुरातात्विक सम्पदामा स्थानीय, प्रदेश र सङ्घीय तीनवटै सरकारको ध्यान नपुग्दा स्थानीयको अतिक्रमणमा परेको हो । पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जङ्गल क्षेत्र स्थानीय जनताले कब्जा गरेर आफ्नो नाममा ल्याएको बताए । “ऐतिहासिक पर्सागढीको ५० बिघाभन्दा अधिक क्षेत्रफलमा वन फैलिएको थियो”, उनले भने , “स्थानीयको अतिक्रमणले हाल एक बिघा दुई कट्ठामा सीमित भएको छ ।” अध्यक्ष चौधरीले जग्गा फिर्ता ल्याउने कोसिस गरे पनि त्यसमा सफल नभएको बताए । उनले आफ्ना सातौँ पुस्ताका अग्रज रञ्जित चौधरीले गोर्खाली सेनासँग मिलेर ब्रिटिस फौजसँग युद्ध जितेको ऐतिहासिकस्थल भावी पुस्ताका निम्ति संरक्षण गर्नुपर्नेमा जोड दिए । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले ऐतिहासिक युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउने तयारीमा जुटेको जानकारी दिए । “ पर्सागढीको जग्गा फिर्ता ल्याउनका लागि आवश्यक पहलकदमी भइरहेको छ”, उनले भने, “आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जग्गा फिर्ता लिनेछौँ”, पर्सागढीको बृहत्तर गुरुयोजना बनाएर व्यवस्थित गर्न जरुरी भएको उहाँले बताए । यस्तो छ इतिहास विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो । अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने, नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको बताइन्छ । साविक गाउँ जिगना, पचरुखी, चैनपुर, वागीश्वरी, वागवान, हरपुर, बिरुवा, बकनेर्वाका स्थानीय बासिन्दाले ठूलो सङ्ख्यामा स्थानीय हातहतियारसहित भैँसी तथा राँगाको सिङमा मसाल बाँधी दुवै खोलाको मुहान र दोभान छाडी गोर्खाली फौजको ठूलो सङ्ख्या आएको भान पारी अङ्ग्रेजलाई त्यहाँबाट भगाएको कथन छ । के छ पर्सागढीमा ? पर्सागढीको युद्धमा सक्रिय भूमिका निर्वाह गरेका रञ्जित चौधरीका कूलदेवता वन्हरबाबाको मन्दिर निर्माण गरिएको छ । पर्सागढी मन्दिर परिसरमा धर्मशाला पनि सञ्चालनमा छ । समितिका अध्यक्ष चौधरीले पुराना हतियार पनि सङ्ग्रह गरिए पनि सङ्ग्रहालय निर्माण गर्न नसकिएको बताए । यसरी मनाइँदैछ २१० औँ विजय महोत्सव ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ । यस वर्ष पनि उक्त दिनको स्मरण गर्दै यही पुस १९ गते पर्सागढी २१० औँ विजय महोत्सव आयोजना हुँदैछ । पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजङ्ग गण, पर्सागढी नगरपालिकाको सहकार्यमा महोत्सव हुनेछ ।
काठमाडौं : दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको भएको आशंका गरिएकाे छ। योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ। १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो। १ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७–८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो। विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए। आपत्कालिन सेवाका अधिकारीहरूले उद्धार गरिएका बाहेक सबैको ज्यान गएको जनाएको छ। सामाजिक सञ्जालमा सार्वजिनक दृष्यहरूमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ। त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ। दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन। तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको छ।
ढोरपाटन: नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो । अघिल्लो वर्षदेखि नै विकट गाउँमा केन्द्रीय प्रसारण लाइन जोड्न थालिएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको अधिकांश ठाउँ केन्द्रीय लाइन पुगेको छ । बडिगाड ४० र ताराखोलामा ६० प्रतिशत बस्तीमा लाइन पुगिरहेको उहाँको भनाइ छ । जिल्लाका ६५ प्रतिशत नागरिकले केन्द्रीय प्रसारण लाइन बाल्न पाएको भन्दै अन्यले स्थानीय लघु जलविद्युत्को प्रयोग गर्दै आएको प्रमुख पौडेल बताउनुहुन्छ । बागलुङको निसेलढोरबाहेक सबै ठाउँमा विद्युत्को पहुँच पुगेको छ । चालु आर्थिक वर्षमा बागलुङ जिल्लाभर केन्द्रीय विद्युत् विस्तारका लागि रु १४ करोड लागतमा नौवटा ठेक्का लगाएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रमुख पौडले भन्नुभयो, “बागलुङ जिल्लालाई चालु आर्थिक वर्षभित्रै पूर्ण विद्युतीकरण गर्ने गरी काम गरिरहेका छौँ, अहिले पश्चिम बागलुङलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ, ढोरपाटन सिकार आरक्षदेखि निसीखोलाको माथिल्लो क्षेत्रसम्म लाइन विस्तार गर्ने काम भएको छ, त्योसँगै यस वर्ष घर, जङ्गलको नजिक रहेका ठाउँमा नाङ्गो तार हटाएर कालो ताल हाल्ने, जैमिनी नगरपालिकालाई छुट्टै फिडर बनाएर लाइन दिने काम भइरहेको छ ।” जिल्लामा ९८ वटा लघु जलविद्युत् आयोजना छन् । जसबाट धेरै नागरिक लाभाम्वित भए पनि निसीखोला गाउँपालिका–६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् र केन्द्रीय प्रसारण लाइन कुनै पनि पुग्न सकेको छैन । विद्युत्को सुविधा नहुँदा अहिले यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य रहेको स्थानीय सम्झना रसाइलीले बताउनुभयो । विद्युत् नहुँदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र साना तथा मझौला उद्यग सञ्चालन गर्न नपाएको उहाँले गुनासो पोख्नुभयो । “सबै ठाउँमा बिजुली बत्यो, हाम्रो गाउँमा अहिलेसम्म पनि लाइन आएको छैन, एउटा मोबाइल चार्ज गर्नका लागि दुईरतीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्छ”, रसाइलीले भन्नुभयो, “अहिले पनि दियालो र टुकी बालेर रात कटाउनुपर्छ, लाइन ल्याउनका लागि पोल त गाडेका छन् तर कहिले आउने हो अत्तोपत्तो छैन ।”
काठमाडौं: नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल युएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । त्यस्तै, जापानी येन, साउथ कोरियन वनको भने मूल्य घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ , युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा निर्धारण भएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ १२ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
काठमाडौं: यस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो । पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेट जादा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ । विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो । विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको सम्वद्ध जानकारको भनाइ छ ।
पोखरा: त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को विद्यार्थी कल्याणकारी समितिले विविएस प्रथम बर्षका विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका विच स्वागत गरेको छ । नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गुणस्तरिय शिक्षा उपलब्ध गराएर विद्यार्थी पलायन रोक्नु पर्नेमा जोड दिए । विद्यार्थीहरुका लागि विविएसको अध्ययन सकिएपछि संभावनाका चौतर्फी ढोका खुल्ने उल्लेख गर्दै, इन्टर्न पछि रोजगारीका लागि अवसरहरु सिर्जना गर्न आग्रह गरे । उनले व्यवस्थापन र लेखाको क्षेत्रमा जनशक्तिको अभाव रहेको उल्लेख गर्दै, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीका लागि अवसरहरु प्रसस्त रहेको बताए । अध्यक्ष गुरुङ्गले त्रिवेणी इन्टरनेशनल लेखनाथको नीजि क्षेत्रबाट संचालित उत्कृष्ट कलेज रहेको उल्लेख गरे । संचालक समितिका अध्यक्ष सुमन भट्टराईले कलेजबाट उत्पादित जनशक्तिले राज्यका विभिन्न निकायको प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गरे । अध्यक्ष भट्टराईले गुणस्तरिय शिक्षाले विद्यार्थीको कलेज छाड्ने दरमा नियन्त्रण आउने उल्लेख गरे । कलेज प्रमुख यदुराज आचार्यले प्रविधिसँग अभ्यस्त बनाई व्यवस्थापन बिषयको अध्यापनका कारण स्नाकोत्तरसम्मको अध्ययनमा विद्यार्थीहरुको उल्लेख्य संख्या रहेको बताए । कलेजका एकेडेमिक सल्लाहकार प्रा.डा. इन्द्रप्रसाद तिवारीले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी जनशक्ति उत्पादनमा जोड दिए । उनले विविएसको अध्ययनपछि विद्यार्थी व्यापार देखी रोजगारका हरेक क्षेत्रमा अब्बल रहन सक्ने बताए । संचारकर्मी नवराज सापकोटाले +२ पछि विद्यार्थीहरुको बिदेशमा अध्ययनको मोह बढेको उल्लेख गर्दै, विद्यार्थीहरुलाई नेपालमै आकर्षण गर्न सक्ने समय अनुसारको पाठ्यक्रम र एकेडेमिक कोर्ष राख्नु पर्नेमा जोड दिए । विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कलेजमा विविएस तर्फ पहिलो बर्ष एकसय पचास भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त उक्त कलेज लेखनाथ क्षेत्रकै अग्रणी शैक्षिक क्षेत्रका रुपमा रहेको छ ।
गण्डकी: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशमा ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती’ सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले गुनासो नआउने तवरले प्रभावकारी सेवा प्रवाह हुनुपर्ने बताउनुभयो । सबैको एकताबद्ध प्रयासबाट दूरसञ्चारको कामलाई गुणस्तरीय बनाउन सकिने उहाँले बताउनुुभयो । राजमार्ग क्षेत्रमा दूरसञ्चार सेवाका सम्बन्धमा गुनासो आउने गरेको उल्लेख गर्दै मन्त्री गुरुङले पृथ्वी राजमार्गसहित अन्य राजमार्गमा स्तरीय सेवा दिनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘सेटलाइट’का माध्यमबाट ‘फोरजी’ सेवालाई घरघरमा पुु¥याउनुुपर्ने उहाँले बताउनुुभयो । सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले पब्लिक सर्भिस बोर्ड (पिएसबी) मार्फत नेपाल टेलिभिजन र रेडियो नेपाललाई एक ठाउँमा ल्याएको जिकिर गर्दै उहाँले प्रिन्ट मिडियालाई पनि एक ठाउँमा ल्याउन पिएसपी ल्याउने योजना रहेको बताउनुभयो । पछिल्लो समयमा ‘अनलाइन मिडिया’मा अराजकता देखिएको उल्लेख गर्दै मन्त्री गुुरुङले प्रेस स्वतन्त्रता एवम् जनताका हक अधिकारलाई कुण्ठित नगर्ने गरी अनलाइन मिडियालाई व्यवस्थित गरिने जानकारी दिनुभयो । साइबर अपराध बढ्दो अवस्थामा रहेका कारण यसको नियन्त्रणका लागि सरकारले साइबर सेक्युुरिटी ऐन ल्याउने तयारी गरेको उहाँले बताउनुुभयो । नेपाल टेलिकमलाई जनउत्तरदायी बनाउनाका साथै नागरिक निगरानी बढाउनका लागि यसको पब्लिक शेयर वृद्धि गर्दै २५ देखि ३० प्रतिशत बनाउनुपर्छ भन्ने विषय छलफलका क्रममा रहेको मन्त्री गुरुङको भनाइ थियो । ई गभर्नेन्स वर्तमानको आवश्यकता भएको बताउँदै उहाँले जनतासँग जोडिएको सिंहदरबारका रुपमा रहेका प्रत्येक वडामा ई गभर्नेन्स सुरु गर्दै हाम्रो काम कारबाहीलाई छिटोछरितोसँगै खर्चमा समेत कम गर्न सकिने बताउनुभयो । संविधान संशोधन बहुमतका आधारमा गर्ने पक्षमा सरकार नरहेको उल्लेख गर्दै मन्त्री गुरुङले संशोधनको आवश्यकतालाई दृष्टिगत गरी सत्तारूढ प्रमुख दुई दलमा आपसी छलफल गर्दै अन्य दलसँग छलफल बढाउने बताउनुभयो । सङ्घीयता, समानुपातिक समावेशिताका सम्बन्धमा प्रश्न नउठ्ने तर यसको प्रयोग कसरी गर्ने सम्बन्धमा छलफल हुन सक्ने उहाँले बताउनुभयो । प्रदेशको औचित्यलाई पुष्टि गर्नेगरी प्रदेश सरकारहरूले काम गर्नुुपर्ने बताउँदै उहाँले प्रदेश तथा स्थानीय तहले पहिले पाउने गरेको बजेट सात प्रतिशतबाट घटेर तीन प्रतिशत हुँदा पनि सातवटै प्रदेशबाट बजेट कम भयो भन्ने गरेको आफूले नसुनेको उहाँले बताउनुुभयो । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले दूरसञ्चार सेवालाई सबैले समान सुविधा पाउनेगरी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गाउँपालिका महासङ्घ, गण्डकी प्रदेशका अध्यक्ष नवराज ओझाले विकास निर्माणका क्रममा सम्बन्धित निकायहरूमा समन्वय नहुँदा हुने गरेका कमजोरी हटाउनुुपर्नेमा जोड दिनुभयो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दुरसञ्चार सेवाका क्षेत्रमा भइरहेको प्रयास एवम् वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

