दाङ: माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो । माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ सौडियारका विपना चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले थारु बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको छ । “माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसक्यो । पातको दुनाटपरी गास्ने काम गरिरहेका छौँ । ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउनेरपिसाउने काम सुरु भएको छ । खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्दछ”, विपनाले भन्नुभयो, “ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल (जाँड) र भातलगायत विशेष मिठामिठा परिकारको तयारीमा जुटेका छौँ ।” पुस महिनामा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । थारु समुदायले माघमा आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिइँदै आइएको घोराही–६ का मदन चौधरीले बताउनुभयो । वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने पर्वका रूपमा माघीलाई लिने उहाँले जानकारी दिनुभयो । मदनले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारु समुदायका लागि यो पर्व महत्वपूर्ण रहेको बताउनुभयो । थारु समुदायमा पुरुषहरू घर बाहिरको तयारीमा लागेका भन्दै महिलाहरू खानपिनको सामग्री जुटाउन लागेका छन् । दाउर, पात, चामल, पिठो, दुनाटपरीजस्ता सामग्री महिलाले तयारी गरिरहेका उहाँले उल्लेख गर्नुभयो । थारु समुदायका पुरुषहरूले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी वा खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आर्शिवाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइने गरिन्छ । “छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर ९कोसेली०का रूपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन छ”, महतवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले भन्नुभयो । माघीको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर ९थारु भाषामा जिता मार्ना० मारेर बराबरी बाँड्ने चलन छ । घोङ्गी, गँगटा र माछाको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको हुने घोराही–६ का रामचरण चौधरीले बताउनुभयो । “थारु समुदायमा माघ महिनालाई नयाँ वर्षका रूपमा लिने गरिन्छ, पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ, माघीमा परिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीसहित अन्य व्यवहारको नवीकरण गरिन्छ”, रामचरणले भन्नुभयो । माघ नजिकिएसँगै नाचगान र खानपीनको तयारी भइरहेको छ । माघ महोत्सवको तयारी थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस २० गते घोराही उपमहानगरपालिका–६ र १७ को आयोजनामा एकदिने माघ महोत्सव हुने भएको छ । थारु भाषा, साहित्य तथा लोक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा गत वर्षदेखि महोत्सव आयोजना गरिँदै आइएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं घोराही–१७ का अध्यक्ष रामलौटन चौधरीले जानकारी दिनुभयो । महोत्सवको थप तयारी तथा व्यवस्थापनका लागि समाजसेवी तथा थारु अगुवा घोराही–१७ ओखरा निवासी मोहनलाल चौधरीको संयोजकत्वमा ३५ सदस्यीय उपसमिति, वीरेन्द्र चौधरीको संयोजकत्वमा २१ सदस्यीय मञ्च व्यवस्थापन समिति, गोपी चौधरीको संयोजकत्वमा ३५ सदस्यीय स्वयंसेवक उपसमिति र अतिथि सत्कारका लागि ओखरा टोल विकास संस्थालाई जिम्मेवारी दिने निर्णय भएको महोत्सव मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिनुभयो । थारु समुदायको मौलिक कला, संस्कृति विकास गर्नमा थप सहयोग पुग्ने उद्देश्यले माघ महोत्सवको आयोजना हुन लागेको थारु कल्याण कारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीले बताउनुभयो । थारु समुदायको संस्कार र संस्कृति बोकेको पर्वका अवसरमा यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले माघ महोत्सव गर्न लागिएको उहाँले उल्लेख गर्नुभयमो । महोत्सवमा थारु परिकार, थारु समुदायको हस्तकला, थारु संस्कृति झल्कने भाषा, वेशभूषालगायत सामग्री प्रदर्शनीमा राखिने थारु कल्याणकारी सभाका सहसचिव श्रीप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँले थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताका लागि महोत्सवमा थारु समुदायको सशक्त उपस्थिति रहने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उहाँले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतलाई शपथ गराउनुभएको हो । राजदूत प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
मोरङ: जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आउनुभएको थियो । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिनुभयो । वनमा दाउरा काट्न जानुभएकी लिम्बू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमा मृत फेला परेकी उहाँले बताउनुभयो । नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बताउनुभयो । उहाँले हात्तीको त्रासका कारण यहाँका स्थानीय रातभर जाग्राम बस्न बाध्य रहेका उल्लेख गर्नुभयो । दुई साताअघि सुन्दरहरैँचा नगरपालिका–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएको बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो । यहाँको पालिकामा जङ्गली हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गर्दै आएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । उहाँले मोरङमा एक वर्षमा तीन वटा जङ्गली हात्ती मृत फेला परेका उल्लेख गर्नुभयो । जङ्गली हात्तीको बथानले झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिने गरेको स्थानीय बताउँछन् । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पु¥याउने गरिरहेको छ । हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीमा मानवीय क्षति बढेको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले उल्लेख गर्नुभयो ।
पोखरा: सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘वन उद्यम, विकास पर्यापर्यटन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक वर्ष डढेलोको प्रकोप बढ्ने गरेको बताउनुभयो । “हिउँदको मौसममा वन क्षेत्र सुक्खा हुने र पात पतिङ्गरमा छिटो आगोले टिप्ने हुँदा जोखिम बढ्ने गरेको हो”, उहाँले भन्नुभयो, “वन समूहका उपभोक्तामा सोत्तरलाई सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादन गर्न उद्योग ऐनले सामुदायिक वन उद्यम दर्ता रोकेको छ ।” उपभोक्ताले वनको संरक्षण सम्वर्द्धन र विकासमा योगदान गर्दै आएको बताउँदै उपयोगमा कतिपय कानुनी अड्चनले गर्दा उपयोगको पाटो कमजोर बन्दै गएकाले संरक्षणमा समेत जटिलता उत्पन्न भएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । “मानव वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा सुरक्षाको कारण स्थानीय बासिन्दा सहर केन्द्रित हुन बाध्य छन् । ग्रामीण क्षेत्रका अधिकांश जमिन बाँझिएको छ । तीनै तहका सरकारले वनको संरक्षणकर्ता उपभोक्तालाई सहयोग र सहकार्य गर्नु आवश्यक छ”, अध्यक्ष भण्डारीले भन्नुभयो । उहाँले वन कार्यायोजना विधानको परिधिभित्र रहेर कार्य सम्पादन गर्न उपभोक्ता समूहलाई आग्रह गर्नुभयो । वन क्षेत्रमा निर्माण गरिने प्रत्येक संरचनामा फलाम नभई काठ प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमाल, केन्द्रीय सदस्य हरि बास्तोला, दोवबहादुर कार्की, खुमप्रसाद सुवेदी, पशुपति ठकुरी, सीता गुरुङ, सीता खड्का, रत्ना घिमिरे डोलकुमारी सापकोटा, प्रदेश महासचिव आसु विक, सचिव केशवचन्द्र न्यौपानेलगायत वक्ताले वन क्षेत्रको महत्व र उपयोगका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा महासङ्घ प्रदेश कमिटीलगायत जिल्ला अध्यक्षहरूको सहभागिता थियो ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका प्रमुख र मुख्य सचेतक, सांसद, संसद् सेवाका कर्मचारीलगायतको उपस्थिति थियो । सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त सचिव राई लामो समय शिक्षक पेसामा आबद्ध रहनुका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा प्रशिक्षकका रूपमा काम गर्दै आउनुभएको थियो ।
म्याग्दी: मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो । कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८६ लाखमा निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीले बताउनुभयो । विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ । यसैबीच, बागलुङको गलकोटबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार बोक्से–सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ । दश किलोमिटर सडकमध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो । आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दश किमी कालोपत्र गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको हो ।
काठमाडौं: जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ । नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनुहुने जनाइएको छ ।
ढोरपाटन: परियार समुदायको पुख्र्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै पन्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् । युवा शक्ति विदेश पलायन भएपछि सङ्कटमा पर्न थालेको पन्चैबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ । अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन् । पन्चैबाजा बजाउने चलन लोप हुन थालेपछि महिलाहरु यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका–३ देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले बताउनुभयो । विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरुले बजाउन थालेको उहाँको भनाइ छ । पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उहाँले उल्लेख गर्नुभयो । थापाले भन्नुभयो, “अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ, नयाँ पुस्ता विद्यालय सकाएपछि विदेश नै जान हतारिन्छन्, बुढापाकाले बजाउन सक्दैनन्, टोल छिमेकमा कसैको बिहे, व्रतबन्ध, पास्नी हुँदा बाजा बजाउनै छोडेको हुँदा दिदीबहिनीहरु मिलेर पन्चैबाजा बजाउन थालेका हौँ, सुरुमा सिक्न केही समय लाग्यो अहिले सबैले सिकेपछि ठाउँ–ठाउँमा बजाउन जाने गरेका छौँ ।” दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाहरुले अहिले यसैबाट आम्दानीसमेत गर्न थालेका छन् । सुरुमा गाउँका पन्चैबाजा समूहबाट सिकेका उनीहरुले रु एक लाख ५० हजारमा बाजा सेट खरिद गरेर व्यावसायिक रुपमा बजाउन थालेका हुन् । एउटा विवाहबाट रु ३० हजारदेखि ५० हजारसम्म लिने गरेको पन्चैबाजा समूहकी सदस्य कला श्रीसले जानकारी दिनुभयो । विवाहको याममा बागलुङका ग्रामीण क्षेत्रदेखि ठूला–ठूला सहरसम्म बाजा बजाउन जाने गरेको उहाँको भनाइ छ । “सुरुमा बाजाको ताल सिक्न केही समय लाग्यो, अहिले ५० जनाभन्दा बढी दिदीबहिनीहरुले पन्चैबाजा बजाउने गर्छौँ”, उहाँले भन्नुभयो, “अब सिक्न चाहनेलाई पनि सिकाउन सकिन्छ, हामीलाई मङ्सिर र माघमा भ्याइनभ्याइ हुन्छ, यसबाट हाम्रो आम्दानी पनि राम्रो भएको छ ।”
सर्लाही: तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट ९बिओपी०मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा निजको मृत्यु भएको छ । गए राति बागमती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

