काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

स्याङ्जा: स्याङ्जामा गएराति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।       गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी घाइते भएका चालकको गएराति गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।       बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु ३ च नम्बरको भ्यान सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो । भ्यानमा चालकसहित चार जना सवार थिए । सहचालक पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने २३ वर्षीय राधेश्याम बस्यालको पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।      दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

तनहुँ: जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।  म्याग्दे गाउँपालिका–२ का १८ वर्षीय अपाङ्गता भएका सुजन रानाभाटलाई प्रशासन कार्यालयले मङ्गलबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।  प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अपाङ्गता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको बताउनुभयो । विसं २०६३ पुस १० गते जन्मिनुभएका सुजन जन्मजात अपाङ्गता हुनुहुन्छ । 

धादिङ:   गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको  ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको  मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो । गजुरी गाउँपालिका–६ का १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौँ पठाइएको छ । आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि ल्याउने क्रममा दुर्घटना भएको हो । मृतकसहित चार जना ट्याङ्करमा चढेका थिए ।  ट्याक्टर चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा: हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौँ । आफूलाई मनपर्ने परिकार बनाउन पनि इन्टरनेटमा रेसिपी हेर्ने चलन छ । तर मकवानपुरका एक ३५ वर्षीय युवकले भने इन्टरनेटमा हेरेर केराको खम्बाबाट कागज उत्पादन सुरु गर्नुभएको छ । वैदेशिक रोजगारीका क्रममा सात वर्ष साउदी अरबमा काम गर्नुभएका मकवानपुरगढी गाउँपालिका–३ बाबियोडाँडाका प्रेमप्रसाद तिमल्सिनाले इन्टरनेटमा भिडियो हेरेकै भरमा केराको खम्बाबाट कागज उत्पादन गरिरहनुभएको छ । साउदी अरबमा छँदा गाडी चलाउनुभएका उहाँले नेपाल फर्केपछि केही समय काठमाडौँमा ट्याक्सी चलाउनुभयो । ट्याक्सी चलाएर भनेजस्तो कमाई नभएपछि उहाँ गाउँ फर्कनुभयो ।  गाउँमा पशु प्राविधिकसम्बन्धी तालिम लिएर बाख्रापालनसमेत गर्नुभएका तिमल्सिनाले आफूलाई मोबाइलमा केराको खम्माबाट कागज बनाइरहेको भिडियोले हौस्याएको बताउनुहुन्छ । मोबाइलमा भिडियो हेरेकै भरमा उहाँले खेर गइरहेको कच्चा पदार्थबाट केही गरौँ भन्ने सोचका साथ हाते कागज उद्योग स्थापना गरेको उल्लेख गर्नुभयो ।  तिमल्सिनाले हाते रु आठ लाख लगानी गर्नुभएको छ । उहाँले यस प्रयासले केराखेती गरिरहेको किसान र बेरोजगार युवालाई प्रेरणा मिलिरहेको छ । मकवानपुरमा पहिलोपटक सुरु भएको यस उद्योगले यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ ।  उहाँले उद्योग सुरु गर्दा पहिलो महिनामा जम्मा रु ५० हजारको कागज बिक्री भएको थियो । उक्त कागज धूपका लागि हेटौँडा बजारमा बिक्री गरिएको उहाँले बताउनुभयो । विशेष गरेर लोक्ताबाट बनाइने नेपाली हाते कागज केराको खम्बाबाट परीक्षण उत्पादन गर्दा सफल भएको र उत्पादनलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।  लोक्ताबाट नेपाली हाते कागज उत्पादन हुन्छ भन्ने सुनेको र आफ्नो गाउँमा खेर गइरहेकाले बनाउने उत्सुकताले उत्पादनको थालनी गरेको तिमल्सिनाले बताउनुभयो ।  उहाँले भन्नुभयो, “हाम्रो गाउँ केराको पकेट क्षेत्र हो, यहाँ केराको खम्बा खेर गइरहेको थियो, केराको रेसाबाट कागज बन्छ जस्तो लाग्यो, अनि इन्टरनेटको माध्यमबाट खोजी गर्दै कागज उत्पादन गर्न सुरु गरेको हुँ ।”  काठमाडौँबाट रु एक लाख ५० हजारमा फाइबर निकाल्ने मेसिन ल्याएर कागज उत्पादन सुरु गर्नुभएका उहाँलाई अहिले भ्याइनभ्याई छ । मकवानपुरगढी गाउँपालिकाले पालिकाका लागि आवश्यक नेपाली कागज उहाँसँगै खरिद गर्ने भएपछि पहिलो मागका रूपमा पाँच हजार प्रतिकागज उत्पादनमा उहाँ लाग्नुभएको छ ।  पहिलो चरणमा दुई सयवटा फ्रेमबाट कागज उत्पादन गरिरहनुभएका तिमल्सिना यतिबेला लगानी बढाएर पाँच सयभन्दा बढी फ्रेमबाट कागज उत्पादन गर्ने सोचमा हुनुहुन्छ । एउटा केराको बोटबाट औसतमा आधा किलो फाइबर निकाल्न सकिन्छ । त्यसबाट २५ वटासम्म कागज बनाउन सकिन्छ । हाल दैनिक पातलो र बाक्लो गरी एक कुरी (दुई सय पिस) कागज उत्पादन भइरहेको उहाँको भनाइ छ । केराको पकेट क्षेत्र भएकाले भविष्यमा यहाँको केराको खम्बा मूल्य निर्धारण गरेर खरिद गर्ने सोच उहाँले बनाउनुभएको छ । यसरी उत्पादन भएको कागजको बजारका लागि भने समस्या छैन । उत्पादन भएका कागज स्थानीयस्तरमै खपत भइरहेको छ । स्थानीय सरकार र प्रदेश सरकारले प्राविधिक र मेसिनरी सहयोग गरेको अवस्थामा स्थानीयस्तरमा खेर गइरहेको केराको खम्बाबाट मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।  सुरुमा केराको खम्बा र डन्ठा जम्मा गरिन्छ । त्यसपछि त्यसलाई मेसिनमा हालेर फाइवर निकालिन्छ र सुकाइन्छ । फाइवरलाई कास्टिङ सोडामा हालेर बाबियोसहित पाँच घण्टा जति पकाएपछि त्यसलाई तीन–चारपटक पानीले धुनुपर्छ ।  त्यसपछि त्यसलाई कुटेर, मेसिनमा हालेर मसिनो हुनेगरी लेदो बनाउनुपर्छ र कागज सुकाउने काठको जालीसहितको फ्रेममा आवश्यक कच्चा पदार्थ हालेर पानीबाट छानेर घाममा सुकाउनु पर्दछ । घाम लागेको बेला करिब दुई–तीन घण्टामा सुकेपछि कागज तयार हुन्छ । 

लुम्बिनी: स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने करोडौंका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने समूहका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।  बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले स्वदेशमा  उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने ढक्कन तथा मदिराका सिसीमा प्रयोग हुने अन्य सामग्री भारतबाट भन्सार छली नेपाल भित्र्याउने समूहमा संलग्न दुई जना व्यक्तिविरुद्ध  रु पाँच करोड २१ लाख बिगो र जरिवानासहित मङ्गलबार मुद्दा दायर गरिएको हो ।  उक्त कार्यालयका प्रमुख विवेक घिमिरेका अनुसार नेपालमा उत्पादन नहुने मदिराका ढक्कन र अन्य सामग्रीसहित पक्राउ परेका सिद्धार्थनगर नगरपालिका–१, बेलहियाका शशाङ्क खनाल र काभ्रपलाञ्चोक, चौरीदेउराली गाउँपाकिा– ४ का रमेश गौतमविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको हो ।  प्रतिवादीमध्ये खनालले चोरीपैठारी गरेका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कलगायत राजस्व चुहावटमा अनुसन्धान गर्दा पुष्टि हुन आएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ, १) बमोजिम दुवै जनालाई प्रतिव्यक्ति बिगो रु एक करोड ३० लाख २७ हजार २९० तथा र बिगोको शतप्रतिशत रकम जरिवानासहित रु पाँच करोड २१ लाख नौ हजार १६० र सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्म कैद सजाय हुन मागदाबी गरिएको छ । 

काठमाडौं: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशलगायत  अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ । तराईका केही भागमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले हिमपात र वर्षाबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन ती क्षेत्रका सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

काठमाडौं:   त्रिभुवन विश्वविद्यालय (टियू) ले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।       त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले जारी गर्नुभएको विज्ञप्तिमा भारतको केआइआइटी विश्वविद्यालयमा सिर्जना भएको समस्याको कारणले स्वदेशमा फिर्ता भएका विद्यार्थीलाई त्रिविको ‘क्रेडिट ट्रान्सफर’ नीतिअनुसार भर्ना हुने व्यवस्था गरिएको जानकारी गराउनुभएको छ  ।       “भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,” उहाँले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।       त्रिविले विद्यार्थी तथा अभिभावकलाई  [email protected][email protected] मा सम्र्पक गर्न आग्रह गरेको छ ।  गत केही दिनअघि केआइआइटीको छात्रावासमा प्रकृति लम्सालको रहस्यम तरिकाले मृत्यु भएको थियो । त्यसपछि असुरक्षा भएपछि नेपाली विद्यार्थीबीचमा नै पढाइ छाडेर नेपाल फर्किएका छन् । 

काठमाडौं:  भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।  फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।  माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।       व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।  यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा      राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । आज बेलुकी करिब छ बजेदेखि पशुपतिनाथ मन्दिरमा प्रहर पूजा सुरु हुन्छ । पहिलो प्रहर पूजा करिब पौने नौ बजे सकिन्छ । नौ बजेको हाराहारीमा दोस्रो प्रहर पूजा सुरु हुन्छ । यो करिब पौने १२ बजे सकिन्छ । करिब १२ बजेको हाराहारीमा तेस्रो प्रहर पूजा सुरु हुन्छ । पौने तीन बजे हाराहारीमा यो सकिन्छ । चौथो प्रहर पूजा करिब तीन बजेको हाराहारीमा सुरु भई बिहान छ बजेको हाराहारीमा सकिन्छ । जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ ।   महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ । यसबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि चार प्रहर पूजा गर्ने परम्परा रहिआएको छ । यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताउनुभयो । सात वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानुनी कारबाही गर्ने उहाँले बताउनुभयो । निषेध गरिएका चिजबीज बेचबिखन गर्न नदिई शान्ति सुरक्षा कायम गर्न आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ । बिहान दुई बजे नै पशुपतिका चार ढोका खुल्ने    महाशिवरात्रिका अवसरमा बुधबार बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेबमोजिम फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । बेलुकी पशुपति क्षेत्र जाँदा आकर्षक हुनेगरी फूल र बत्तीले सजाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।     यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख ईश्वर भण्डारीले बताउनुभयो । सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरी कोषले तयारी गरेको छ ।  मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि आशुतोष भगवान् शिवको धुमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

नवलपरासी:  पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार धवलको रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा उपचारका क्रममा मङ्गलबार साँझ मृत्यु भएको हो । झडपमा परी घाइते भएका मोहरम पावारिया र ४५ वर्षीय बैजनाथप्रसाद लोनियको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको छ । पावारियाको अवस्था जटिल रहेकाले उनको सघन उपचार कक्षमा उपचार भइरहेको छभने लोनियको दुवै खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको उपरीक्षक फुयाँलले बताउनुभयो । मङ्गलबार बिहान १० बजे सामान्य विवादमा दुई पक्षबीच झडप भएको थियो । झडपमा १९ जना घाइते भएका थिए । झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको (जनपद) बा१झ ७४४८ नम्बरको गाडीमा आगजनी गरिएको थियो । घाइते हुनेमा नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना रहेका छन् । प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि पाँच राउण्ड अश्रुग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो । अहिले झडप भएको स्थानमा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।