काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

गलकोट:   सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियो ।  २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन्भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् ।  फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको छ ।  चार करोड ५९ लाख ३४ हजारको लागतमा छ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ ।  काठेखोला गाउँपालिकाले जग्गा टुङ्गो लगाउन सकेको छैन । ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो ।  काठमाडौँको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा  प्रवाह गरिरहेका छन् । 

काठमाडौं: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।  साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।  महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।  कर्णालीका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।  यसैगरी, आज राति सुदूरपश्चिम  र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ ।  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार गण्डकी, सुदूरपश्चिम  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।  आगामी २४ घण्टामा कर्णाली साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने जनाउँदै ती सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौं:  प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो ।  समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाउनुभयो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उहाँले दिनुभयो ।  विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।  

पोखरा: पोखरामा आज ४३ औं मगर स्थापना ४३औँ मगर सङ्घ स्थापना दिवस मनाइएको छ । नेपाल मगर संघ कास्कीको आयोजनामा आज पोखरामा विभिन्न कार्यक्रम गरेर ४३ औं मगर स्थापना दिवस मनाइएको हो ।  मगर दिवसको अवसमा पोखराको मानवअधिकारबाट मगर भेषभुषामा झाँकी ¥याली चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै पोखरा रंगशालामा गएर औपचारिक कार्यक्रममा सुरु भएको थियो ।  विसं २०३९ फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार सङ्घको स्थापना भएको थियो । सोही दिनलाई मगर सङ्घले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।    विसं २०३९ मा मगर सङ्घको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढङ्गले सङ्गठित हुँदै आएका थिए ।   विसं २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीचमा हजारौँ मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो ।   विसं २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर सङ्घ’ मा रूपान्तरण गरेको थियो ।                

गण्डकी:  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताउनुभएको छ । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उहाँले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताउनुभयो ।  भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चारमन्त्री गुरूङले बताउनुभयो । उहाँले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताउनुभयो । “यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायतका विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ”, सञ्चारमन्त्री गुरूङले भन्नुभयो, “यो अन्यभन्दा नितान्त नौलो र सिर्जनशील कार्यक्रम हो ।” उहाँले नयाँ पुस्तालाई अनुसन्धान र सिर्जनशीलतातर्फ आकर्षित गर्नुपर्ने बताउनुभयो ।  सञ्चारमन्त्री गुरूङले पुस्तक पढ्ने संस्कृतिलाई बढाउनुपर्ने बताउनुभयो । पोखरामा पर्यटकीय गतिविधि बढाउन यस्ता मेला–महोत्सवबाट सघाउ पुग्ने उहाँको भनाइ थियो ।  फेवाताल किनारको बाराहीघाट मैदानमा चार दिनसम्म चल्ने उक्त साहित्य महोत्सवको उद्घाटनसत्रमा प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले प्रवचन दिनुभएको थियो ।  महोत्सवमा नेपाल तथा अन्य मुलुकका गरी दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकारलगायतको उपस्थिति रहनेछ ।  पचासभन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि यसमा समावेश छन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, चलचित्रलगायत क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुने बताइएको छ ।

काभ्रेपलाञ्चोक:  सुक्खा पहिरो जाँदा यहाँको नमोबुद्ध नगरपालिका–१ कानाकोटमा आज एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।  वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिल्लर ढलेर किच्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।  हराएको पाँच महिनामा कङ्काल फेला  यसैबीच हराएको करिब पाँच महिनापछि मण्डनदेउपुर नपा–११ को ३८ वर्षीया निशा लामाको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा भेटिएको छ । लामाको हत्या अभियोगमा प्रहरीले आज धुलिखेल नपा–६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । लामा गत असोज १५ गतेदेखि हराउनुभएको थियो ।  सोही दिन लामा औषधि खरिदका लागि घरबाट तामाघाट जान्छु भनेर हिँडेको र घर नफर्केपछि उनका श्रीमान राइफल लामाले प्रहरीमा खोजविनका लागि निवेदन दिनुभएको थियो ।  निशाको कङ्काल बुधबार दिउँसो २ बजे पाँचखालको काफ्लेडिही नजिकको जङ्गलमा फेलापरेको थियो । निशाको कङ्कालसँगै ब्याग, चप्पल र व्यागभित्र निशा लामा लेखिएको बिल फेला परेका कारण उक्त कङ्काल श्रीमती निशाकै भएको भनी लामाले सनाखत गर्नुभएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार निशाका श्रीमान् लामाले रन्जितकार विरुद्ध आज जाहेरीसमेत दर्ता गर्नुभएको छ ।  प्रहरीका अनुसार जाहेरीमा पक्राउ परेका सुनिल रञ्जितकारले निशालाई काभ्रेपलाञ्चोककै बनेपामा भेटी ललाइफकाइ गरी झुक्याएर काफ्लेडिहीको जङ्गलमा लगेको र हत्या गरेको आरोप छ ।  रञ्जितकारले भने निशाले आफूलाई ‘जबरजस्तीकरणीको अभियोग’ मा फसाइदिन्छु भनेकाले आवेशमा आएर धारिलो हतियार र ढुङ्गाले टाउको तथा संवेदनशिल अङ्गमा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । निशाका दुई छोरा र एक छोरी छन् ।   

काभ्रेपलाञ्चोक: सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ ।   आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको मङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको थियो ।   जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन ।   पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्पप्राय नै थियो ।   सडक उपभोक्ताले पटकपटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो । सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लेपटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।   कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो । “अब प्रक्रिया पु¥याएर पुनः एक दुई हप्तामै पुनःठेक्का खोल्नेछौँ, भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत हुनेछ”, कार्यालयका प्रमुख सुमन योगेशले भन्नुभयो ।   उहाँका अनुसार हालसम्म २५ प्रतिशत वित्तिय प्रगति भएको छ । हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम गरिएको छ भने जिपलाइनदेखि तल खावासम्मको करिव सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ ।   गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि बर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो । समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ ।   सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।   उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको थियो ।   अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाकाअर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो । 

मुगु: यहाँस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका  छन् ।  आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पु¥याएको  जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।   आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पु¥याएको थियो ।  प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकि रहेको छ । 

काठमाडौं:  कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ ।  जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख÷प्रतिनिधिले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा खगेन्द्र बममार्फत सहसचिव डा बुढाथोकीलाई सङ्घीय सरकारले तत्काल समन्वय एवं समाधान गरिनुपर्ने कामका बारेमा जानकारी गराएको हो ।  जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा स्थलगत अनुगमन गर्न त्यहाँ पुग्नुभएका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा बुढाथोकीले धनगढी उपमहानगरपालिकाद्वारा हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ तथा नसर्ने रोगको ‘स्क्रिनिङ’का अनुगमन समेत गर्नुभएको थियो ।  सो अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरपालिकाद्वारा सम्पादित स्वास्थ्य सेवा प्रवाहका बारेमा जानकारी गराउँदै हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ थालनी गरिएको र सङ्घीय सरकारले उपमहानगरपालिकालाई थप स्वास्थ्य क्षेत्रमा थप लगानी बढाउन आग्रह गर्नुभएको थियो ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ नवीनतम एव अनुकरणीय कार्य रहेको चर्चा गर्दै स्वास्थ्य मन्त्रालयबाट थप समन्वय र सहयोग हुने जानकारी दिनुभएको थियो ।    सोही अवसरमा प्रवक्ता डा बुढाथोकीले करागार कार्यालय कैलालीमा रहेका कैदीबन्दीलाई प्रदान भइराखेको स्वास्थ्य सेवाका बारेमा समेत जानकारी लिनुभएको थियो ।