काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काठमाडौं: महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।       बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहने कोषका सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।  सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।  कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न तथा महाशिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो ।          महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।  बुधबार बेलुकी करिब छ बजेदेखि सुरु भएको पहिलो प्रहर पूजा करिब पौने ९ बजे सकिएको र लगत्तै दोस्रो प्रहर पूजा सुरु भई करिब पौने १२ बजेसम्म चल्ने गरेको छ ।  लगत्तै तेस्रो प्रहरको पूजा सुरु भई पौने ३ बजे हाराहारीमासकिन्छ । त्यसपछि चौथो प्रहर पूजा सुरु भई बिहान ६ बजे सकिने प्रा डा भट्टराईले बताउनुभयो । जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ ।        महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा बुधबार बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा भइरहेको छ ।  प्रहर पूजाबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि हुने परम्परा रहिआएको छ ।      महाशिवरात्रिका अवसरमा बुधबार दिनभर पशुपतिनाथ मन्दिरसँगै गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर महादेव, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत स्थानमा पनि लाखौँ भक्तजनको उपस्थिति रहेको थियो ।

तनहुँ:  मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।  मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन ९डिपीआर०पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो । देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका स्थानीयले पटक–पटक उठाउँदै आएको माग सरकारले पूरा गरेको बताउनुभयो । मुग्लिन नारायणगढ सडकखण्डको विकल्पका रुपमा वैकल्पिक सडक निर्माणका लागि आवाज उठाउँदै आएकामा उक्त माग सुनुवाइ भएको उहाँको भनाइ छ ।  नवलपुरको गैँडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटो हुँदै दासढुङ्गादेखि मुग्लिनसम्म तनहुँतर्फ त्रिशूलीको किनारमा वैकल्पिक मार्ग आवश्यक भएको जनाउँदै सम्बन्धित निकायमा स्थानीयवासीले माग गरेका  थिए ।  उक्त वैकल्पिक सडकका लागि विगतमा सरकारको नीति तथा कार्यक्रममा समावेश भइ अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले उक्त योजना रद्द गरेको थियो । उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसका लागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो ।  हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैँडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरैभन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  हाल सञ्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर समस्या भोग्नुपरेकाले वैकल्पिक सडक अति आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।  देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले तनहुँतर्फ अर्को राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडि परेको देवघाट र आँबुखैरेनी गाउँपालिकाका धेरै बस्तीलाई विकासको मूलधारमा ल्याउन सकिने बताउनुभयो । वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ । 

गोरखा: बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१, स्थित चिस्याङमा स्काभेटर चालकको मृत्यु भएको छ ।  आज दिउँसो बा प्र ०६–००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुङगा खसेर लाग्दा चालकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । स्काभेटर चालक तनुहँको आँबुखैरेनी गाउँपालिका–६, घुमाउने घर भएका ४५ वर्षीय  रामबहादुर आलेमगरको मृत्यु भएको हो ।  कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुङ्गा खसेर स्काभेटर र चालकलाई लागेको थियो । चालक आलेमगरको घटनास्थलमै मृत्यु भएको हो । 

पोखरा:  पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदै छ ।  बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ ।    ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्घाटन समारोह बिहान ११ बजे हुने आयोजकले जनाएको छ ।   नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले फेस्टिभलको उद्घाटन गर्नेछन् । संवाद सत्रहरू भने दिउँसो एक बजेदेखि सुरू हुनेछ ।  सत्र सुरू हुनुअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचन रहने फेस्टिभलका निर्देशक निरज भारीले जानकारी दिए ।  उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटीको प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।  उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए । उद्घाटन समारोहमा अनिल शाही र समूहको विशेष सांगीतिक प्रस्तुति पनि हुनेछ ।  उद्घाटन समारोहपछि दिउँसो १ बजेदेखि भूपी कक्षमा अध्यात्म र संघर्षमाथि ‘अलि अलि हार हो, अलि अलि जित जित !’ सत्रमा अभिनेत्री मनीषा कोइराला र लेखक एवम् पत्रकार विजय कुमारको संवाद हुनेछ ।  त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म ‘स्मृतिमा भूमी’ सत्रमा कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले संवाद गर्नेछन् । अलिमियाँ कक्षमा दिउँसो २ बजेदेखि ३ बजेसम्म सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङसँग विजय तिमल्सिनाले सञ्चार क्षेत्रमाथि केन्द्रीत संवाद गर्ने भारीले जानकारी दिए ।  भूपी कक्षमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भरत कोइरालाले प्रदेश सरकारका गतिविधि, अवसर र चुनौतीलगायत विषयमा संवाद गर्ने आयोजकले जनाएको छ । सोही समयमा अलिमियाँ कक्षमा ‘रैथाने ज्ञानको विज्ञान’ सत्रमा सीता मादेम्बाले सुभाष नेपाली, गीता चौधरी र सुरेश ढकालसँग संवाद गर्ने फेस्टिभलका कार्यकारी निर्देशक अजित बरालले जानकारी दिए ।  भूपी कक्षमा दिउँसो ४ बजेदेखि ५ बजेसम्म नेकपा (एमाले) नेता एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिका सुःख–दुःख सुनाउने छन् । उक्त सत्रको सहजकर्ता निर्मला शर्मा रहेकी छन् । अलिमियाँ कक्षमा सोही समयमा केशवशरण लामिछानेले प्रेम र साहित्यमाथि केन्द्रीत रहेर भावेश भुमरी र प्रणिता चाम्लिङसँग संवाद गर्नेछन् ।  भूपी कक्षमा साँझ ५ बजेदेखि ६ बजेसम्म ओमविक्रम विष्टको सांगीतिक प्रस्तुति रहने छ । त्यस्तै अलिमियाँ कक्षमा गौरी तमुले प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापासहित विष्णु सिञ्जाली र जुनाकुमारी गुरूङसँग गण्डकीका गुरूङ र मगर भाषाको विषयमा संवाद गर्नेछिन् ।  कलाकार लोक चित्रकारको पौभा चित्रकला प्रदर्शनी फेस्टिभलको मुख्य आकर्षण रहेको आयोजक समितिका सदस्य केशवशरण लामिछानेले जानकारी दिए । फेस्टिभलमा छुट लिएर स्टलबाट पुस्तक पनि खरिद गर्न सकिने छ ।  यसपटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् । एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुध्द एयरले संवद्र्धन गरेको छ ।  पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ । त्यस्तै उप–प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिएका छन् ।  फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ ।  परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ ।  काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरू भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय संगीतको समिश्रण सुन्न सकिन्छ । फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए ।  ८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ । फेस्टिभलले उपलब्ध गराएको मञ्च नयाँ पुस्ताका लेखक तथा विचारकहरू तयार पार्ने माध्यम बन्ने आयोकजक बुकवर्मको अपेक्षा छ ।  

काठमाडौं: भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत हुनुभएको छ ।       गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट मेयर पदमा मनोनीत हुनुभएको हो ।  लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जनाका उन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उहाँ मेयरमा मनोनीत हुनुभएको हो । यहाँ यसअघि उपमेयर चुनिनुभएको थियो । अब  आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उहाँले मेयर नियुक्त भई पदभार ग्रहण गर्नुहुनेछ ।      बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाकोतर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनीत हुनु गर्वको कुरा भएको भन्दै उपमेयर सारूले भन्नुभयो, “औपचारिक रूपमा मेयरको शपथ मे मा हुन्छ । खुसीको क्षण हो बेलायतमा गार्खाहरूको योगदानलाई थप उचाइमा पु¥याउने अवसर मिलेको छ ।” काउन्सिल इतिहासमा उहाँ पहिलो गोर्खा मेयर बन्न लाग्नुभएको हो । सारू चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय हुनुहुन्छ ।       मेयर हुने पक्का भएपछि उहाँले भन्नुभयो, “नेपाली भएर पनि बेलायतमा राजपरिवारकोतर्फबाट आफ्नो बरोमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको छु ।”  झण्डै तीनदशक ब्रिटिश आर्मीमा सेवा गर्नुभएका मगर हाल ब्रिटिश गोर्खा भेट्रान्स एशोसिएसनका अध्यक्षसमेत हुनुहुन्छ । सारू, रोयल इञ्जिनियर्सको ग्यारिजन इञ्जिनियरका रूपमा सेवानिवृत्त हुनुभएको हो ।       बेलायतमा सन् २०१७ देखि सारू इम्ब्रोइडरी नामक व्यवसाय चलाइरहनुभएका सारू पाल्पामा जन्मिनुभएको हो ।

काठमाडौं:  महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।   पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ ।”   पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमाण्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको छ । भक्तजनको सुविधाका लागि विकास कोषले बिहान २ बजेदेखि पशुतिनाथका चारवटै ढोका खोलिएको र कम्तीमा १० मिनेटमा भक्तजनलाई दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिनुभयो ।  

सुनसरी:   जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ ।       जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो ।  प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे विस्तृतमा जानकारी प्राप्त हुने बताउनुभयो ।       घटना पश्चात् आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गरेपछि घटनास्थल पुग्नुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताउनुभयो । उहाँले घटनामा कोही दोषी देखिएमा निजलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो । 

काठमाडौं:   महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ ।  नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनुसार आज ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोशेढुङ्गा’ चलचित्रको छायाङ्कन सुरु भएको छ । अभिनेता बुद्धि तामाङ निर्माता बन्नुभएको चलचित्र ‘कुस्ती’को छायाङ्कन काठमाडौँबाट सुरु भएको छ । सो चलचित्रको मुहुर्त गरेसँगै अभिनेता धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरु गरिएको अभिनेता तामाङले बताउनुभयो । “हामीले फागुनदेखि छायाङ्कन सुरु गर्ने भनेपछि शिवरात्रिकै अवसर पारेका हौँ । कलाकारितामा सङ्गालेको अनुभवलाई प्रयोग गरेर चलचित्र निर्माण सुरु गरेको छु । यही पेसाले परिचय दिएकाले मैले नाटकपछि चलचित्र निर्माणमा पनि हात हालेको हुँ । राम्रो समूह र मन पर्ने कथा पाएकाले योजनाभन्दा अगाडि नै निर्माता बन्दैछु”, अभिनेता तामाङले भन्नुभयो । आ–आफ्नो स्वभावले एकैसाथ रहन कठिनाइको सामना गरिरहेका छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा ‘कुस्ती’मा देख्न पाइने चलचित्रका लेखक तथा निर्देशक अनिल योञ्जन बताउनुहुन्छ । उहाँका अनुसार चलचित्रमा सहरको कथा भएकाले काठमाडौँ आसपासमा ४५ दिन छायाङ्कन गरिने छ । चलचित्रमा अभिनेता धीरज मगर, मिरुना मगर, बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारले अभिनय गर्दै हुनुहुन्छ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा उमङ्ग शाहीले छायाङ्कन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहले सङ्गीत सृजना, शिशिर खातीले नृत्य निर्देशन गर्नुहुने छ । यस्तै, आजै मुहुर्त गरिएको चलचित्र ‘हर्ष’ को छायाङ्कन आउँदो सातादेखि चितवनमा हुने निर्देशक एकता पौडेलले जानकारी दिनुभयो । न्युयोर्क फिल्म एकेडेमीबाट चलचित्रसम्बन्धी अध्ययन गरेर चलचित्र निर्माणमा जुट्नुभएकी निर्देशक पौडेलले ३५ दिनको तालिका बनाएर छायाङ्कन सुरु गरिने बताउनुभयोे । “आफूले पढेको र सिकेको अनुभवलाई प्रयोग गरेर निर्देशन गर्दैछु । मैले तयार गरेको पटकथालाई पूर्ण रूपमा पर्दामा ल्याउन कोसिस गर्नेछु”, निर्देशक पौडेलले भन्नुभयो । यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापालगायत कलाकारले अभिनय गर्नुहुने छ । ‘माग्ने बुढो’को उपनामले परिचित कलाकार केदार घिमिरेको शीर्ष भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को मुहुर्त गर्दै आजदेखि नै काभ्रेबाट छायाङ्कन सुरु गरिएको छ । काभ्रेमा १० दिन र बाँकी छायाङ्कन काठमाडौँमा गरिने लेखक समीप्याराज तिमल्सेनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एउटा निम्नस्तरको व्यक्तिको धनी बन्ने मोहलाई विषय बनाइएको चलचित्र सामाजिक विभेदसँगै विकृतिलाई व्यङ्ग्य गर्छ । यो पूर्ण रूपमा मनोरञ्जनले भरिपूर्ण चलचित्र बन्नेछ तर यसले उठान गरेको विषय गम्भीर र सोचनीय छ भन्ने हामीलाई लागेको छ ।” चलचित्रमा अभिनेता घिमिरेसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देललगायत कलाकारले अभिनय गर्नुहुने छ । ऋषि लामिछानेको निर्देशनमा तयार भइरहेको ‘माग्ने राजा’ चलचित्र आगामी वर्ष विसं २०८२ को हरितालिका तीजमा प्रदर्शन हुने कलाकार घिमिरेले जानकारी दिनुभयो । किशोर अनुरागको निर्माण र ‘पूर्णबहादुरको सारङ्गी’का सरोज पौडेलको निर्देशनमा ‘कोशेढुङ्गा’ को  पनि आज छायाङ्कन सुरु भएको छ । किशोर अनुराग र प्रेविल कँडेलले निर्माण गर्ने सो चलचित्रको कार्यकारी निर्माताको भूमिकामा दिनेश खड्का हुनुहुन्छ । चलचित्रसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा आज च्यासलस्थित सेटमा मुहूर्त सटसँगै सो चलचित्रको छायाङ्कन सुरु भएको निर्माता अनुरागले जानकारी दिनुभयो । करिब एक हप्ता काठमाडौँमा छायाङ्कन गरेपछि चलचित्रको बाँकी काम स्याङ्जामा हुने छ ।  निर्देशक पौडेलका अनुसार चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईँ, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतले अभिनय गर्नुहुने छ । चलचित्रमा निर्माता अनुरागले ‘क्रिएटिभ डाइरेक्टर’को भूमिकासमेत निर्वाह गर्नुहुने बताइएको छ । “दर्शकको अपेक्षा बढेको मैले महसुस गरेको छ, सोहीअनुसार विषयवस्तु तयार गरेको छु । दर्शकको मन छुने चलचित्र तयार गर्न कुनै सम्झौता गर्ने छैन”, निर्देशक पौडेलले भन्नुभयो । महिला प्रधान रहने यस चलचित्रमा सुरक्षा पन्तको मुख्य भूमिका रहने छ । नरदेवी फिल्मस्को प्रस्तुति रहेको उक्त चलचित्रमा बाबु श्रेष्ठको ‘डिओपी’ र सुरेन्द्र पौडेलको सम्पादन रहने छ । रिदम कँडेल र आशिष अविरलको सङ्गीत रहने  सो चलचित्रमा ‘कास्टिङ डिरेक्टर’ को भूमिका सुवलमणि सापकोटाको हुनेछ । निर्देशक पौडेलका अनुसार कोशेढुङ्गा चलचित्र २०८२ सालमा ‘रिलिज’ हुनेछ ।

म्याग्दी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।  बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङ तर्फ जादै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।  दुर्घटनामा परि सो भ्यानका चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताउनुभयो ।   उहाँले दुर्घटनामा सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको बताउनुभयो । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ ।  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान थालेको छ । दुर्घटनाका कारण अन्नपूर्ण –४ नारच्याङमा बुधबारदेखि शुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित भएको छ ।  तरुणदल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले कार्यक्रम स्थल नजिकै भएको दुर्घटनामा स्थानीय व्यक्तिको निधन र घाइते भएकाले खेलकुद प्रतियोगिताको बुधबारका कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।