काठमाडौं: काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिनुभयो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गर्नुभयो । उपप्रमुख डङ्गोलले भन्नुभयो, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गर्नुभयो ।
कैलाली: कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका–८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेशा उत्पादन गरी रेशाबाट बनाइएका सामग्रीको माग बढ्दै गएको सहकारीले जनाएको छ । एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेशा उत्पादन गरेर त्यसबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाईलगायतका सामग्री निर्माण गर्ने गरिएको छ । सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार एक वर्षदेखि उद्योगले केराको थाम कृषकबाट निःशुल्क ल्याउने गरेको छ । “दैनिक १० वटा जति थामबाट एक केजी रेशा उत्पादन हुने गरेको छ”, उहाँले भन्नुभयो, “एक केजी रेशाबाट १५ वटासम्म टोपी बनाउन सकिन्छ । सहकारीले प्रतिटोपी मूल्य रु एक हजार, पेन होल्डर रु तीन सयमा बिक्री गर्ने गरेको छ ।” सहकारीलाई उत्पादित सामग्री बिक्रीका लागि बजारको अभाव छैन । सहकारीले बजारको मागअनुसार उत्पादन गर्न भ्याएकोे छैन । “उत्पादित सामग्री र रेशा काठमाडौँबाट धेरै माग भइरहेको छ । काठमाडौँका उद्योगले कच्चा पदार्थ जति सकिन्छ पठाउनु भनिरहेका छन्”, चौधरीले भन्नुभयो, “हामीले मागअनुसार दिन सकिरहेका छैनौँ ।” सहकारीको उद्योगमा १० महिला काम गरिरहेका जसमा पाँच जना केराको रेशाबाट हाते सामग्री नियमित काम गरिरहेका छन् । उनीहरुले घर सजावट तथा प्रयोगमा ल्याउन सकिने विभिन्न सामग्री बनाउने गरेका छन् । यसरी निर्माण गरिएका सामग्रीको खपत कैलालीमै भइरहेको छ । यहाँ लाग्ने मेला महोत्सवमा समेत उद्योगले उत्पादन गरेका सामग्री प्रदर्शनमा राखिदिन माग आउने गरेको सहकारीले जनाएको छ । केराको रेशा उत्पादनपछि खेर जाने सामग्री मलका रुपमा प्रयोग गर्न सकेमा अझ राम्रो हुने स्थानीय बताउँछन् । “सहकारी अब कपडा बनाउन धागो उत्पादन गर्न खोजिरहेको छ”, वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भन्नुभयो, “धागो बनाउन सकेमा राम्रो फाइदा लिन सकिन्छ ।” टीकापुर –६ का वडाध्यक्ष बलिराम चौधरी आफूले पनि झोला किनेको बताउँदै कच्चा पदार्थ प्रसस्त पाइने भएकाले यसलाई विस्तार गर्नुपर्ने बताउनुहुन्छ । “टीकापुर केराको पकेट क्षेत्र भएकाले केराको थाम किन्न पर्दैन, निःशुल्क पाइन्छ”, उहाँले भन्नुभयो, “खेर गइरहेको केराको थामबाट धेरै सामग्री बनाउन सकिने रहेछ । यसलाई थप लगानी गरी विस्तार गर्नुपर्छ ।” सरकारले एक सहकारी, एक उद्योगको नीति लिएका बेला सहकारीले स्थापना गरेको उद्योगमार्फत किसान तथा महिला किसानलाई रोजगारीसँग जोड्ने कार्यलाई थप व्यवस्थापन गर्नुपर्ने दिगो विकास समाज भजनीका अधिकृत विनोद शाहले बताउनुभयो । “यो क्षेत्र केराको पटेक क्षेत्र भएकाले केराबाट महिला सदस्य तथा किसानलाई फाइदा भएको छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमै पाइने कच्चा पदार्थ प्रयोग गरी सहकारीका शेयर सदस्यले रोजगारीका अवसर पाउनु राम्रो उपलब्धि हो ।”
काठमाडौं: यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसपटक हामीले दुई सेकेन्डमा दश जनालाई दर्शन गर्नसक्ने गरी प्रबन्ध मिलाएका छौँ । यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने हाम्रो प्रयास रहेको छ । अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ ।” उहाँले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन÷तीन र पूर्व र दक्षिण ढोकामा दुई÷दुई वटा लाइन रहने जानकारी दिनुभयो । संयोजक खत्रीले पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोहीअनुरुप बुझिदिन आग्रह गर्नुभयो । “हामीले फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गर्नेछौँ । यस समयावधिमा पाँच लाख बढीले प्रत्यक्ष दर्शन गर्नुहुने हाम्रो अनुमान छ । यसबाहेक मन्दिर परिसरमा मात्र आउनेको सङ्ख्या जोड्दा त्यो बढ्ने छ”, संयोजक खत्रीले भन्नुभयो । उहाँले शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ । सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताउनुभयो । सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने संयोजक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमा धुनीको व्यवस्था गरिएको छ । महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ ।
काठमाडौं: सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । सो दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो । दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ ।
म्याग्दी: म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो । पूर्वाधार विकास कार्यालयले म्याग्दीका प्रमुख विष्णु पौडेलले मङ्गला गाउँपालिका–३ पखेरदेखि बरङ्जाखण्डको सडक स्तरोन्नति गर्न सञ्चालन गरेको योजना निर्माण सुरु भएको तीन महिनामा ४० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । “गत मङ्सिर महिनादेखि कार्यक्षेत्रमा परिचालित भएको निर्माण कम्पनीले यस वर्ष विनियोजन भएको रु एक करोड ६० लाख बजेट बराबरको काम तीन महिनामै गरेको छ”, उहाँले भन्नुभयो, “विनियोजित बजेट सकिएपछि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव गरेका छौँ ।” पखेरदेखि खर्कटोलसम्म तीन किलोमिटर पाँच सय मिटर सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण गरिरहेको छ । खर्कटोलका बासिन्दा वीरबहादुर पौडेलका अनुसार तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो कच्चि सडकको घुम्ती, ग्रेड नमिलेको, साँघुरो सडक जोखिमयुक्त थियो । सडक स्तरोन्नति भएपछि यात्रा सहज हुने अपेक्षा गरेको उहाँले बताउनुभयो । ग्रेड र घुम्ती सुधार, नाली र पर्खाल निर्माण सकेपछि ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना छ । निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बजेट अभावका कारण धमाधम भइरहेको सडक निर्माणको काम रोक्नुपर्ने अवस्था आएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले रु १० करोड बजेट व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीले २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेक्काको अवधि १८ महिनाको हो । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गत वर्ष रु दुई करोड विनियोजन गरेर आर्थिक मामिला मन्त्रालयबाट स्रोत सुनिश्चितता गराई ठेक्का लगाएको योजनामा यसपालि बजेट कटौती गर्दा निर्माण प्रभावित भएको बताउनुभयो । “प्रदेश सरकारबाट पखेर–बरङ्जासहित म्याग्दीमा एकैसाथ सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता भएको थियो”, उहाँले भन्नुभयो, “रु पाँच करोड बजेट चाहिने योजनाका लागि दुई करोड र एक करोड ६० लाखका दरले बजेट विनियोजन गरेकाले निर्माण कार्य प्रभावित भएको हो ।” बजेट अभावका कारण म्याग्दीका सडक र मोटरेबल पुल निर्माण आयोजना प्रभावित भएका विषयमा गत हप्ताको प्रदेशसभाको बैठकको शून्य समयमा जुग्जालीले सरकारको ध्यानाकर्षण गराउँदै विभागीयमन्त्रीको जवाफ माग्नुभएको थियो ।
ढोरपाटन: बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु लिएर वडा नं १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप आज साँझ दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षिया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो । जीप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओत लगाउने क्रममा ब्याक भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा बडिगाड–९ बस्ने ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनाको सनाखत हुन सकेको छैन । घाइतेमध्ये तेजकुमारी बुढालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको यादवले बताउनुभयो । दुर्घटनामा परेकाहरूको प्रहरी र स्थानीय बासिन्दालगायतले उद्धार गरेका थिए । जिपमा १२ जना सवार रहे पनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन् । दलितका लागि दलित अभियानको संयोजनमा विभिन्न दलित अधिकारवादी संघसंस्थाको सहभागितामा आज भएको प्रदर्शनका क्रममा माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालिएको थियो । दलित हिंसा गर्नेमाथि कारबाही गर, अन्तरजातिय विवाह गर्नेहरूमाथि हुने हिंसा बन्द गर, दलितलाई खै रु लगायतका नारासहित प्रदर्शन गरिएको अभियानका संयोजक खगेन्द्र सुनारले जानकारी दिनुभयो । दलित अधिकारकर्मीहरूले अन्तरजातीय विवाहपछि प्रहरीले पटक–पटक पक्राउ गरी दुःख दिएको भनिएका सिरहाका सत्येन्द्र राम र नेहा रौनियारको जोडीका बारेमा आवाज उठाउँदै आएका छन् । दलितका लागि दलित अभियानले राज्यका हरेक तहमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व, देशका विभिन्न भूभागमा जातीय विभेद, हत्या, छुवाछूतलगायतका विषय सम्बोधनको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ ।
कञ्चनपुर: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाह र दैजिछेला औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु हुने बताउनुभएको छ । महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उहाँले बन्दरगाह निर्माण र औद्योगिक क्षेत्रको काम अगाडि बढाउन आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो । “सुख्खा बन्दरगाह निर्माणका लागि सबै प्रक्रिया पूरा गरेर रुख कटानको तयारी भइरहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “भारतीय लगानीमा बन्ने बन्दरगाह निमार्णका लागि एक महिनाअघि भारतीय पक्षले बोलपत्र आह्वान गरिसकेको छ ।” उहाँले एक महिनाभित्र बन्दरगाह निमार्ण सुरु हुने र त्यसले पूर्णता पाए तेस्रो मुलुकसँग व्यापारको ढोका खुल्ने धारणा राख्नुभयो । “भारतीय पक्षले सुख्खा बन्दरगाहसम्म रेल सञ्चालन गर्ने गरी छलफल भएको छ । हामीले सबैभन्दा छोटो दुरीमा गुजरातको मुन्द्रापोर्टसम्म पहुँच पाएमा समयका हिसाबले १५ दिनको ट्रान्सपोर्ट समय घट्ने छ, यसले ढुवानी लागतमा समेत निकै फरक पर्नेछ”, मन्त्री भण्डारीले भन्नुभयो । यस्तै, वेदकोट नगरपालिकास्थित प्रस्तावित दैजीछेला औद्योगिक क्षेत्र निर्माणका लागि वनको प्रक्रियागत काम भइरहेकाले छिट्टै काम सुरु हुने उहाँले बताउनुभयो । मन्त्री भण्डारीले नौ अर्बको लागतमा बन्ने उक्त औद्योगिक क्षेत्र सुदूरपश्चिमका लागि महत्वपूर्ण रहेकाले सरकारले सोहीअनुसार निर्माण गरी स्वदेशी तथा विदेशी लगानीकर्ता भित्र्याउन आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्रिदेशीय नाकाको रूपमा विकास गर्ने गरी महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरी सम्पन्न गर्न सरकारले आवश्यक बन्दोबस्त गर्ने उहाँको भनाइ थियो ।
काठमाडौं: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ८९ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ६० पैसा र बिक्रीदर एक सय चार रूपैयाँ पाँच पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ २७ पैसा र बिक्रीदर नौ रूपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १५ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४७ पैसा तोकिएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ र बिक्रीदर १३ रूपैयाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४२ पैसा र बिक्री दर १९ रूपैयाँ ५० पैसा निर्धारण भएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १७ रूपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रूपैयाँ ७८ पैसा र बिक्रीदर चार सय ५० रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ८३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ ६४ पैसा तय गरिएको छ । त्यसैगरी भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।

