पोखरा महानगरपालिका वडा नं. २५ क्रान्तीटोलमा बसेर भूमि प्राप्तिको २७ वर्ष लामो सङ्घर्ष गरेकी सिता गुरुङ थापा आज निकै खुसी छिन् । सुकुम्वासी बनेर बिताएको २७ वर्ष सम्झँदा उनको मन अहिले पनि खसक्क हुने गरेको उनी सुनाउँछिन् । ‘यो हाम्रो लागि ठुलो उपलब्धि हो, उनले भनिन्, अव यो सेतो निस्सा छिट्टै नै रातो लालपुर्जामा परिणत हुने आशा गरेकी छु ।’ निकै कठिनता र सङ्घर्षका बिचबाट आफूहरूले प्राप्त गरेको सेतो निस्सासँग आफूसँगै आफ्ना सन्ततिहरूको भविष्य जोडिएको उनले बताइन । सङ्घर्षरत लामो प्रतीक्षापछि एउटा सपना साकार भएको अनुभूति उनले गरेकी छिन् । गुरुङको मात्र होइन, आज पोखरा महानगरपालिका वडा नं.२५ हेमजा आसपासमा रहेका २४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुको हृदय खुसीले गदगद भएको छ । पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीले संयुक्त रूपमा मङ्गलवार २४२ सुकुम्वासी परिवारलाई जग्गा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण गरे । स्थानीय तहको निर्वाचन ताका भूमिहीन समस्या समाधान गर्ने उद्घोष गर्नुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै हातले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण गर्न पाउँदा आफ्नो घोषणाले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । जनताका सामु आफूले गरेको बाचा आंशिक रूपमा पुरा भए पनि यसको सिलसिला सुरु भएको उहाँले बताउनुभयो । ‘हामीले चुनावी सभाको प्रारम्भ यही वडाबाट गरेका थियौँ, त्यस बेला भनेका थियौँ कि, भूमिहीन दलित तथा सुकुम्बासीहरुलाई निस्सा पनि यहीबाट वितरण गरिनेछ, आचार्यले भन्नुभयो, आज त्यो पुरा भएको छ, यस प्रक्रियामा सहयोग गर्ने सबै सरोकारवालाहरूलाई म धन्यवाद दिन चाहन्छु ।’ यो नियमित काम भएका कारण निर्वाचन आचारसंहिताले पनि नरोक्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकामा प्राप्त १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदनहरू उपर आवश्यक प्रक्रिया पुरा गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा व्यवस्थित गर्दै लैजाने क्रममा महानगरपालिका रहेको प्रमुख आचार्यले उल्लेख गर्नुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका भूमिहीन समस्याको दिगो समाधानको पक्षमा छ । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने काम कास्कीमा पनि प्रारम्भ भएको उद्घोष गर्नुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको जग्गाको निस्सा अव कसैले पनि खोस्न नसक्ने उहाँले विश्वास दिलाउनुभयो । अहिले बसिरहेको स्थान उपयुक्त नभए आयोगले अर्को स्थान खोजेर भए पनि उचित व्यवस्थापन गर्ने पोख्रेलले बताउनुभयो । पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष मोतीराज तिम्सिनाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको काम आफ्नै वडाबाट सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । वडा नं. २५ मा रहेका यस प्रकृतिका बसोबासीहरुको समस्याको दिगो समाधानमा जोड दिँदै उहाँले निस्सा वितरणको कामले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय भूमि आयोग कास्कीको तथ्याङ्क अनुसार पोखरा महानगरपालिकाका ३३ वटा वडाबाट हालसम्म १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदन सङ्कलन भएको छ । कास्की जिल्ला भर भने ३० हजारको हाराहारीमा यस प्रकृतिका परिवारहरूको बसोबास रहेको आयोगको अनुमान छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बस्नुभएको छ । कांग्रेसका पूर्वमहामन्त्री सिटौला आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकसमेत हुनुहुन्छ ।
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । प्रदेश नं १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तर दिशामा अवस्थित छ । रातको समयमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहनेछ भने प्रदेश नं १ र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव चार डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री र सबैभन्दा बढी विराटनगरको ३६ दशमलव चार डिग्री सेल्सियस छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । यहाँ आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो । नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो ।” झण्डै छ/सात लाख नेपाली आमाबावु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन् । त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो ।”
सङ्घीयतापश्चात स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ । पर्वतमा पाँच जिल्ला हेर्ने भू–तथा जलाधार व्यवस्थापन कार्यालय न्यून बजेट र सीमित कर्मचारीका भरमा चलिरहेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले फिल्डमा पुगेर काम गर्न कठिनाइ भोग्दै आएको छ । कार्यालयमा कर्मचारी कम र कार्यक्षेत्र ठूलो रहेको सूचना अधिकारी भीमप्रसाद अर्यालले बताउनुभयो । कार्यालयले सबै जिल्लामा काम गरे पनि चाहेअनुसारको जलाधारीय स्रोत संरक्षण, व्यवस्थापन र विकासका कार्य गर्न सकिरहेको छैन । समयमा टाढाका कार्यक्षेत्रमा पुग्न नसकेका कारण उपभोक्ता व्यवस्थापनमा ढिलाइ भएको अर्यालले बताउनुभयो । यस कार्यालयको जिम्मेवारीमा पर्वतसहित मुस्ताङ, म्याग्दी, बागलुङ, र स्याङ्जा पर्छन् । पहिलो वर्ष जनशक्ति र बजेट पर्याप्त थियो । समय घर्किँदै गयो । कर्मचारी र बजेट पनि कटौती हुँदै जान थाल्यो । कार्यालयका अनुसार एक उपसचिवसहित १७ कर्मचारीको दरबन्दी कायम गरिए पनि हाल ११ मात्रै कार्यरत छन् । वरिष्ठ जलाधार अधिकृत दिवाकर पौडेलका अनुसार हाल कार्यालयमा एक–एक पशु तथा बाली अधिकृत, वन अधिकृत (सातौँ तह), रेन्जर, सबइञ्जीनियर र हलुका सवारी चालकको दरबन्दी रिक्त छ । पर्वतस्थित जलाधार कार्यालयले ती जिल्लाभित्र कुवापोखरी, विद्युतीय आयोजना, स्थानीयसँगको समन्वय, आकस्मिक पहिरो, नदी–किनार, सडकसँग भू-संरक्षणलगायतमा काम गर्नुपर्ने जिम्मेवारी छ । विनियोजित बजेटले प्राकृतिक विपद्मा परेका बस्तीमा दुई–चार थान जाली वितरण गर्नसमेत बजेट नपुग्ने कर्मचारी बताउँछन् । कार्यालयका अनुसार पहिलो वर्ष रु २२ करोड बजेट विनियोजन गरेको प्रदेशले दोस्रो वर्ष रु १२ करोडमात्रै बजेट छुट्टयाएको थियो । अघिल्लो वर्ष रु सात करोड बजेट विनियोजन भएको थियो । यस वर्ष रु सात करोड मात्रै विनियोजन गरिएको छ । बजेटसँगै खुम्चिएको जनशक्तिका कारण पनि कार्यालयलाई काम गर्न समस्या परेको पौडेलले बताउनुभयो । पर्वतको भू-तथा जलाधार कार्यालयको जस्तो समस्या बागलुङमा रहेका कार्यालयमा पनि छ । बागलुङ र पर्वत हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा एक प्रमुख, दुई इञ्जीनियर र अन्य केही प्राविधिकमात्रै छन् । वर्षमा एक सय बढी योजना हेर्नुपर्ने र भौगोलिकरूपमा पनि टाढा हुँदा प्राविधिक हैरानीमा पर्छन् । बागलुङमै रहेको सडक डिभिजन, सिँचाइ डिभिजन, भेटेरेनरी अस्पताल, आयुर्वेदिक औषधालयलगायत कार्यालयले पनि दुईदेखि चार जिल्ला हेर्नुपर्छ । काम प्रभावकारी नभएको कर्मचारीबाटै गुनासो आउने गरेको छ ।
मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताउनुभयो । “यसपाली वर्षा र रोगकीराको समस्या कम भएकाले उत्पादकत्व बढेको छ,” उहाँले भन्नुभयो “स्याउका लागि वर्षात् कम भएको मौसम अनुकूल मानिन्छ । नयाँ बोटमा फल लाग्न थालेकाले उत्पादन वृिद्धमा सहयोग पुगेको हो ।” रङ चढेको र गुलियो पसेर खानयोग्य भएको उच्च घनत्वको गाला जातको स्याउ टिप्न थालिएको छ । स्थानीय जातका स्याउ भने भदौ २५ गतेपछि मात्र टिप्ने किसान प्रतिनिधि, स्थानीय तह, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोनले निर्णय गरेका छन् । नपाक्दै काँचो स्याउ बजारमा पु¥याउँदा स्वादिलो नहुने र गुणस्तरमा प्रश्न उठेपछि स्याउ टिप्ने समय तालिका बनाएका हुन् । थासाङ गाउँपालिका–२ कोवाङका वसन्त शेरचनले स्याउमा लाग्ने रोगको सङ्क्रमण नदेखिएको र फल राम्रो लागेको बताउनुभयो । “मौसम राम्रो भयो, रोगकीरा देखिएको छैन,” उहाँले भन्नुभयो “राम्रो फल लागेको छ । पाक्न थालेको छ ।” थासाङ–१ टुकुचेको आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले व्यापारीले अग्रिम पेश्की दिएर बोटमै स्याउ खरिद गरिसकेका बताउनुभयो । तुलाचनले कृषि ज्ञान केन्द्रको रु पाँच लाख र व्यक्तिगत १५ लाखमा विसं २०७६ मा १४ रोपनी ११ आना क्षेत्रफल जग्गामा एक हजार बिरुवा उच्च घनत्व प्रविधिको स्याउ खेती गर्नुभएको थियो । “बगैँचा नै ठेक्कामा लिएका व्यापारीले पाकेको स्याउ टिपेर बजारमा लैजाने तयारी गरेका छन्,” उहाँले भन्नुभयो “व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या छैन ।” म्याग्दी, पोखरा, धादिङ, काठमाडौँ, चितवनका ब्यापारी बगैँचानै ठेक्कामा लिएर स्याउ खरिद गर्न मुस्ताङ पुगेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा ३८ हेक्टरमा उच्च घनत्व प्रविधिकोसहित कूल एक हजार ५७५ हेक्टर जमिनमा स्याउ खेती भएको छ । छिटो र धेरै उत्पादन दिने भएकाले उच्च घनत्वको स्याउ खेतीमा आकर्षण बढेको छ । यहाँका ५८० हेक्टरमा रहेका बोटले मात्र उत्पादन दिन्छन् । उच्च घनत्व प्रविधिमा आधारित गाला, फुजी, किङरुट, गोल्डेन डेलिसियस र जोना प्रिन्स गरी पाँच जातका स्याउ बिरुवा रोपिएको छ । गण्डकी प्रदेशको कृषि निर्देशनालयले मुस्ताङमा इटालीबाट आयात गरिएका ९८ हजार ५०० गोटा उच्च घनत्वका स्याउ बिरुवा ७५ प्रतिशत अनुदानमा वितरण गरिसकेको छ । स्याउ जोन मुस्ताङले १८ हजार ५०० गोटा उच्च प्रविधिको स्याउको बिरुवा पचास प्रतिशत अनुदानमा वितरण गरेको छ । स्याउ भण्डारण गरेर बेमौसममा बजार पठाउन छ वटा चिस्यानगृह बनाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताउनुभयो । समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर अग्लो उचाइ भन्दामाथि स्याउखेती गरिन्छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती भएको छ । उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तीर्थयात्रीले स्याउ कोसेलीका रुपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई किसानले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने छ वटा उद्योग छन् ।
लामो र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ । बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । उक्त पुल रु सात करोड लागतमा निर्माण हुन जनाइएको छ । दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाँैसँग हिमशिखर कन्ट्रक्शन निर्माण कम्पनीबीच सम्झौता भएर काम अगाढि बढाइएको छ । बागलुङ–१ रामरेखाबाट पर्वतको कुश्मा –१ अदुवाबारी जोड्ने पाँच सरय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि पुनः बागलुङ र पर्वत जोड्ने अर्को लामो झोलुङ्गे पुल निर्माण थालिएको हो । उक्त पुल विश्वकै एकल स्पानमध्ये लामो भएको बागलुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदनसमेत दिएको छ । बागलुङको गौरीधामबाट पर्वत जिल्लाको जलजलास्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको पुल निर्माणको बागलुङ तर्फबाट जग खन्ने कार्यको थालनी गरिएको हो । बागलुङ –४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बागलुङ बजारलाई पर्वतको जलजला गाउँपालिकासँग जोड्दा बागलुङ बजारको व्यापार– व्यवसाय बढ्ने र जलजलावासीहरू घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले पुल निर्माणका लागि बागलुङतर्फ निःशुल्क जग्गा दिने जग्गादातालाई धन्यवाद दिनुभयो । “जलजलाका नागरिक प्रशासनिक कामका लागि सदरमुकाम कुश्मा गए पनि व्यापारिक कामका लागि बागलुङ आउने गर्दछन्, पुल बनाएपछि एक-डेढ घण्टाको बाटो छोट्टियो”, वडाध्यक्ष खड्काले भन्नुभयो, “पुल निर्माणसँगै बागलुङ र पर्वत जिल्लाको पर्यटन क्षेत्रको समेत विकास हुनेछ ।” पुल निर्माणका लागि विसं २०७९ जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । पुल निर्माणका लागि बागलुङतर्फको झण्डै छ आना जग्गा निःशुल्क दिएका जग्गादाता राजेन्द्रबहादुर जिसीले जानकारी दिनुभयो । “विकासका लागि बाधक बन्नु हुँदैन भन्ने लाग्यो मैले आफ्नो जग्गाबाट पुल बनाउन दिएँ”, पुल निर्माणपछि यहाँको पर्यटन व्यवसाय फस्टाउने उहाँले भन्नुभयो, “आफूले व्यावसायिक केराखेती मासेर पुल बनाउन जग्गा दिएको छु, पुल निर्माणपछि बागलुङको व्यवसाय थप फस्टाउनेछ ।”
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताउनुभएको छ । मंगलबार आयोजित पत्रकार भेटघाटमा सांसद श्रेष्ठले तनहुँ क्षेत्र नं १ मा उम्मेदवारीका विषय धेरै चर्चा भएकाले सहमतिमै गठबन्धनबाट उम्मेदवार तय गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दलबीच पहिला भएको सहमति अनुसार ज-जसले जहाँबाट जितेको छ त्यहीँबाट उम्मेदवारी दिने भनिएकाले तनहुँ-१ मा मेरो दाबी स्वभाविक हो ।” आफू पार्टीको इमानदार सिपाही भएकाले पार्टीले भनेको मान्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “पार्टीले कञ्चनपुर, बारा, झापा गएर निर्वाचन लड्न भने पनि तयार नै छु ।” उहाँले गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “धेरै त्याग तपस्या गरेर गठबन्धन बनायौँ, यसलाई निरन्तर अगाडि लैजानुछ ।
द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस् सिष्टम’ ले काम गर्दैन, सङ्क्रमणकालीन न्याय नै चाहिन्छ: कानुनमन्त्री
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले कुनै पनि मुलुकमा द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस सिष्टम’ले काम नगर्ने भएकाले सङ्क्रमणकालीन न्याय प्रणाली नै आवश्यक हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विरोधको सूचना प्रस्तुत गर्नुहुने सांसद प्रेम सुवालले उठाएका प्रश्नको जवाफमा कानुनमन्त्री शर्माले उक्त अभ्यास नेपालमा मात्रै नभइ विश्वमै रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले सङ्क्रमणकालीन न्याय र अपराधसम्बन्धी न्यायको परिभाषा फरक हुने पनि बताउनुभयो । मन्त्री कोइरालाले भन्नुभयो, “सामन्य अपराधमा ‘क्रिमिनल जष्टिस् सिष्टम’ले नै सम्बोधन गर्छ, सत्य, न्याय, परिपुरण र संस्थागत सुधार यी चार पिल्लरको अधारमा सङ्क्रमणकालीन न्याय अघि बढाउनुपर्छ ।” उहाँले सत्य निरुपण आयोगले द्वन्द्व किन भयो भनी त्यसका कारण र उल्लङ्घनका घटना पत्ता लगाइसकेपछि केही गम्भीर प्रकृतिका मुद्दा ‘ट्रायल’मा लिएर जाने र अरु मुद्दामा मेलमिलाप गराउने कुरा संसारमै प्रचलनमा रहेको जानकारी सदनलाई गराउनुभयो । “यसमा सरकारक वा कानुनमन्त्री चुकेको होइन, यही संसद्मा उठेका विषय, शान्ति सम्झौतापछिको छलफल र ती चारै पिल्लरको आधारमा गम्भीर अपराधमा सजाय पनि हुनसक्ने र अन्य कुरा परिपुणै वा मेलमिलापको आधारमा टुङ्ग्याउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । सांसद सुवालको सातै प्रदेशबाट ल्याइएको छलफलको प्रतिवेदन सार्वजनिक नभएको भन्ने जिज्ञासाका सन्दर्भमा मन्त्री कोइरालाले केन्द्रस्तरमा कार्यक्रम गरेरै सार्वजनिक गरिएको जानकारी गराउनुभयो । त्यसैको आधारमा विधेयक ल्याइएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले सदनमा दफाबार छलफलमा जाँदा केही कुरा छलफल गर्न सकिने जानकारी गराउनुभयो । जबसम्म कानुन संशोधन हुँदैन तवसम्म सङ्क्रमणकालीन न्याय टुङ्गिदोरहेनछ भन्ने कुुरा देखिएको उहाँले अनुभव सुनाउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिले मन्त्री कोइरालाले उक्त विधेयक सभासमपक्ष प्रस्तुत गर्नुभएको छ । त्यसअघि सांसद प्रेम सुवालले सदनमा उक्त विधेयकमाथि विरोधको प्रस्ताव प्रस्तुत गर्दै कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रतिबद्धता जनाए पनि पीडितलाई न्याय दिनुको साटो पीडकलाई उन्मुक्ति दिने गरी विधेयक आएको भनी प्रश्न गर्नुभएको थियो । सङ्क्रमणकालीन न्याय विधेयकले मात्रै पूर्णता नपाउने उहाँको भनाइ थियो । उहाँले मानवअधिकारको गम्भीर उल्लङ्घनको विषयलाई सम्बोधन नगरिएको जिकिर गर्दै मानवअधिकार उल्लङ्घनमा मेलमिलाप हुनै नसक्ने बताउनुभयो । सुवालले भन्नुभयो, “सशस्त्र द्वन्द्वको लक्ष्य के हो, के का लागि भएको हो, अनुसूचीमा लेख्नुपर्ने जरुरी हुन्छ, त्यसका प्रमुख व्यक्ति कोको हुन्, के कति क्षति भएको हो, उल्लेख हुनुपर्छ ।” सांसद सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचना सदनको बहुमतले अस्विकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १३ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

