आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोडेकी हुन् । सहमतिमा राजपुतको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ । यस्तै, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको हो ।
तनहुँको व्यास नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रविष्टिका लागि आदिकवि भानुभक्त क्याम्पससँग सम्झौता गरेको छ । नगरपालिकाले १४ वटै वडामा दर्ता भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबसीको तथ्याङ्क प्रविष्टिका लागि व्यास–१ भादगाउँस्थित उक्त क्याम्पससँग द्विपक्षीय सम्झौता गरेको हो । नगरपालिकासँग जनशक्ति कम भएको र तथ्याङ्क प्रविष्टिका लागि धेरै समय लाग्ने भएकाले प्रविधिमैत्री जनशक्तिको प्रयोग गरी तथ्याङ्क प्रविष्टिका लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । नगरपालिकाले सबै वडामा निवेदन सङ्कलन गरेकामा व्यास १, २ र ३ निवेदन दर्ताको निस्सा वितरण भइसकेको छ । बाँकी वडाका करिब पाँच हजार पाँच सय तथ्याङ्क प्रविष्ट गर्न बाँकी रहेको छ । तथ्याङ्क प्रविष्टि गर्ने सङ्ख्या धेरै भएको र नगरपालिकासँग त्यसका लागि तीन जना मात्रै जनशक्ति भएकाले छिटो गर्नका लागि द्विपक्षीय सम्झौता गरी काम अगाडी बढाउन लागिएको उहाँले जानकारी दिनुभयो । “अहिलेको जनशक्तिले प्रति व्यक्ति दिनमा २०÷२५ वटा मात्रै प्रविष्टि हुने रहेछ, त्यसरी काम गर्दा कम्तीमा एक वर्ष लाग्ने देखियो”, उहाँले भन्नुभयो, “काम समयमा नसक्ने भएकाले छिटो प्रविष्टिको काम सक्न सम्झौता गरेर आदिकविको जनशक्ति प्रयोग गर्न लागिएको हो ।” आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीलाई प्रयोग गरी तथ्याङ्क प्रविष्टिको काम गर्ने भएको छ । एउटा फाइल प्रविष्टि गरेको नगरपालिकाले रु ४० दिने गरी सम्झौता भएको छ । “आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि पनि सहयोग पुग्ने देखियो”, प्रशासकीय अधिकृत नागिलाले भन्नुभयो, “एक जना विद्यार्थीले दैनिक ३०/३५ वटा अपलोड गर्न सक्छन् भन्ने छ ।” एक महिनाभित्र तथ्याङ्क प्रविष्टिको काम सम्पन्न गरी निस्सा वितरणपश्चात् छिटोभन्दा छिटो लालपुर्जा दिने उद्देश्य राखिएको नागिलाले जानकारी दिनुभयो । दुई पालिकामा भूमिहीनका लागि पुनः निवेदन दिन खुला तनहुँका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि पुनः निवेदन खुला गरिएको छ । राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि ३५ दिने सूचना जारी गरेको हो । शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरिएको हो । आयोगले सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ । शुक्लागण्डकी र आँबुखैरेनीले विभिन्न कारण देखाइ लगत सङ्कलनको काम सम्पन्न हुन नसकेको भनी आयोगमा पुनः सूचना प्रकाशनका लागि अनुरोध गरेको थियो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले यसअघि निवेदन दिन छुट भएकालाई लक्षित गरी पुनः निवेदन सङ्कलन गर्न लागिएको जानकारी दिनुभयो । दुई पालिकामा भदौ २ देखि ३५ दिनभित्र स्थानीय तहबाट वडामा तोकिएका स्थानमा खटिएका लगत सङ्कलकमार्फत पेश गर्न आग्रह गरिएको छ । यसअघि निवेदन परिसकेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले पुनः निवेदन दिनु नपर्ने तर निस्सा लिन सम्बन्धित वडामा सम्पर्क गर्न अनुरोध गरिएको छ । यसअघि जिल्लाका दशवटै पालिकामा लगत सङ्कलन गरिसकिएको थियो । शुक्लागण्डकी र देवघाटका एक÷एक वडामा जग्गा नापीको कामसमेत सुरु भइसकेको छ । राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार शुक्लागण्डकी नगरपालिका–७ र देवघाट गाउँपालिका–५ मा जग्गा नापजाँचको काम जारी छ । हालसम्म बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका-१ र २, देवघाट गाउँपालिका-५, भानु नगरपालिका-१, व्यास नगरपालिका १, २, ३ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ । जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ को निवेदन दर्ता भएको छ ।
पोखरा । हिन्दु नारीहरुको चार्ड हरितालिका तीजको अवसरमा दीप युनाइटेडले खुल्ला रक्तदान आयोजना गर्ने भएको छ । ‘सद्भाव र सहकार्यका लागि एकता’ भन्ने नारासहित आगामी भदौ ११ गते (शनिबार) पोखरा १६ स्थित सुन्दरफिडमा १० औं संस्करणको खुल्ला रक्तदान आयोजना गर्ने कार्यक्रम संयोजक तारा बहादुर थापामगरले जानकारी दिए । उनका अनुसार रक्तदान बिहान ७ बजेदेखि सुरु हुनेछ । क्लबले खेलकुदको क्षेत्रमा मात्रै नभइ सामाजिक क्रियाकलापमा समेत विगत लामोसमयदेखि सक्रिय रुपमा भुमिका खेल्दै आएको छ। गत वर्ष आयोजना गरेको रक्तदानमा १ सय बढि युनिट संकलन भएको थियो ।
काठमाडौँ । चालक अनुमतिपत्र वितरणमा ढिलाइ भइरहँदा त्यसको विकल्पकारुपमा लिइएको परीक्षणकालीन अनुमतिपत्र सुरु गर्नेबारे अन्योल रहेको छ । सङ्घीय सरकारले अनुमतिपत्रको परीक्षा पास भएको एक वर्षपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र दिने भने पनि बागमती प्रदेश सरकारले भने त्यसमा चासो देखाएको पाइँदैन । सङ्घीय कानुनको व्यवस्थाअनुसार विभागले ‘स्मार्ट चालक अनुमतिपत्रको विकल्पमा जानुपर्ने भन्दै आएको छ । बागमती प्रदेश सरकारले परीक्षणकालीनभन्दा ‘स्मार्ट’ चालक अनुमतिपत्र नै चाँडो सेवाग्राहीको हातमा पुर्याइने बताउँदै आएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५१ मा ‘चालक अनुमतिपत्र सुरुमा एक वर्षका लागि परीक्षणकालमा रहने गरी दिइनेछ’ भन्ने व्यवस्था छ । प्रदेश सरकारले भने हाल विद्यमान क्षमतामा बिस्तार गरेर पनि चाँडो सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र नै दिइने योजना बनाएको छ । परीक्षणकालीन अनुमतिपत्र सुरु गर्नेभन्दा पनि सकेसम्म छिटो ‘स्मार्ट’ चालक अनुमतिपत्र नै दिनेगरी छलफल अघि बढेको बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले बताउनुभयो । सेवाग्राहीले दुई÷तीन महिनामा अनुमतिपत्र पाउँदा समस्या कम हुने उहाँको भनाइ छ । एउटै कामका लागि दाहोरो खर्च हुने देखिएकाले त्यसलाई तत्काल अघि नबढाइएको उहाँको भनाइ छ । प्रवक्ता पोखरेलले भन्नुभयो, “प्रदेशलाई नै सङ्घीय सरकारले प्रिन्टर दिँदा अझै चाँडो हुनसक्छ ।” यातायात व्यवस्था विभागले प्रदेशलाई प्रिन्टर हस्तान्तरण गर्ने कुरा गरेको प्रवक्ता पोखरेलले बताउनुभयो । प्रदेश सरकार आफैँले पनि उपकरण किन्ने विषयमा छलफल अघि बढाएको छ । पहिले सङ्घीय सरकारले ‘सिस्टम’सहित नै प्रिन्टर दिने विषयमा छलफल भइरहेको छ । एउटा छपाई उपकरण हस्तान्तरण गरेपछि प्रदेशले पनि किन्ने गरी छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “हस्तान्तरण भएपछि एउटाले पुग्दैन र आवश्यकताअनुसार खरिद गरिनेछ ।” चालक अनुमतिपत्र लिन उपत्यकाका चारै कार्यालयमा दैनिक सेवाग्राहीको भीड हुन्छ । अहिले मन्त्रालयले सबै कार्यालयलाई बिहानैदेखि साँझसम्म नै छापिएर आएका अनुमतिपत्र वितरण गर्नु भनेकाले सोहीअनुसार काम भइरहेको छ । नवीकरणमा पनि यहीअनुसार गर्न सकिने भए पनि कर्मचारीलाई खटाएपछि दिनुपर्ने सुविधाका विषयमा छलफल भइरहेको छ । कागजरहित सरकारको अवधारणाअनुसार अनलाइन माध्यमबाट फाराम लिन सुरु भए पनि यो पूर्णरुपमा लागू हुन सकेको छैन । अनुमतिपत्र नवीकरण र सवारीसाधन नवीकरणलाई अनलाइन माध्यममार्फत गर्न ‘सिस्टम’ का लागि टेण्डर गरिने उहाँले बताउनुभयो । पहिले ‘डिजिटलाइजेसन’ भइसकेका र गर्न बाँकी सिस्टममा लगिने मन्त्रालयको योजना छ । उहाँले भन्नुभयो, “सेवाग्राही कर तिर्न र नवीरकण गर्न कार्यालय आउनुपर्ने कुराको अन्त्य गरिनेछ ।” सङ्घीय सरकारसँग आवश्यक समन्वयमा समस्या नभएको र कसरी सेवालाई प्रभावकारी बनाउने भनी छलफल भइरहेको प्रवक्ता पोखरेलले बताउनुभयो । केही समय पहिले सङ्घको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सातै प्रदेशका यातायात मन्त्रालयसँगको बैठकमा ‘सिस्टम’ प्रदेशलाई दिन सकिने बताएको थियोे । केही समय पहिलेसम्म अनलाइन फारामको समस्या रहेकामा समन्वयमा हटाइएको छ । उहाँले भन्नुभयो, “छिटै नै प्रयोगात्मक परीक्षामा ७० प्रतिशतमा पास गरिने मापदण्ड लागू गरिनेछ ।” एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्रमा एउटा छपाई उपकरण छ । त्यही उपकरणको प्रयोग गरेर छपाई गरिने वा मन्त्रालयले परीक्षणकालीन अनुमतिपत्र छाप्न नयाँ उपकरण उपलब्ध गराउने भनी कुनै जानकारी नआएको कार्यालय प्रमुख नरेन्द्र महर्जनले बताउनुभयो । चालक अनुमतिपत्र सबैभन्दा बढी चाप एकान्तकुनास्थित कार्यालयमा छ । कार्यालयमा नयाँभन्दा नवीकरणको चाप बढी छ । विसं.२०६० भन्दा पहिले ट्राफिक प्रहरीले अनुमतिपत्र दिने गरेकामा त्यतिबेलादेखिका अनुमतिपत्रको रेकर्ड रहेको प्रमुख महर्जनले बताउनुभयो । काठमाडौँ उपत्यकामा अरु तीन कार्यालय खुल्नुभन्दा पहिलेको अनुमतिपत्र नवीकरण यहीँबाट हुने भएकाले त्यसको चाप बढी छ । सेवाग्राहीको चाप नयाँ दर्ताभन्दा नवीकरणमा भएकाले नयाँलाई कम प्राथमिकता दिइएको छ । उहाँले भन्नुभयो, “कुन कार्यालय कति कोटा भनी निर्धारण गर्दा यहाँभन्दा अरु तीन कार्यालयमा कोटा बढी छ ।” पुराना अनुमतिपत्रमा कतिपय सूचना पूरा नभएको लगायत नवीकरणमा धेरै समस्या रहेको प्रमुख महर्जनले बताउनुभयो । पुरानो विवरण अनलाइनमा राखिएको भए पनि ढड्डा र अनलाइनमा फरकफरक सूचना हुँदा समस्या आउने गरेको छ । पुरनो अनुमतिपत्रमा पास भएको फेल वा कुनै वर्ग छुट्ने, विवरण परिवर्तनलगायतका समस्या छ । अनुमतिपत्रमा कागजरहित सरकार शतप्रतिशत हुन नसकिएको पाइएको छ । राजस्व तिर्न अनलाइन माध्यमबाट सुरु भए पनि विभिन्न समस्याका कारण निरन्तरता नभएको उहाँको भनाइ छ । जेठको दोस्रो साता भौचर प्रिन्ट गर्न सुरु गर्न खोजिए पनि रोकिएको र पछि कोसिस गरे पनि नसकिएको थियो । अहिले अनलाइनमार्फत फाराम भरे पनि आवेदन दिनका लागि कार्यालयमा नै दिनभर लाग्ने अवस्था छ । नयाँ फाराम भरेपछि एउटा नागरिकताबाट एउटा ‘युजर’ बन्ने त्यसबाट आवेदन भरेर सिफारिस नम्बर आएपछि राजश्व भर्ने र मेडिकलका लागि कार्यालय जानुपर्ने उहाँले बताउनुभयो । अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षणका लागि विस्तृत नभए पनि आँखा र ध्वनिको जाँच हुने गरेको छ । अहिले तत्कालका लागि बिल मात्रैभन्दा परीक्षणकालीन अनुमतिपत्र दिँदा सेवाग्राहीलाई सजिलो हुने उहाँको भनाइ छ । यातायात व्यवस्था विभागबाट अहिले छापिएर सन् २०२२ को अनुमतिपत्र आउन बाँकी छ । दुई साता पहिले जम्मा ३३ हजार हाराहारीमा आएको कार्यालयले जनाएको छ । अगस्टको केही बाँकी छ भने डिसेम्वरको १५ हजार सम्मको आएर त्यसयताको छापिएर आउन बाँकी छ । अनुमतिपत्रको फाराम अनलाइनमार्फत भर्नेमा अझै कार्यालयमा सेवाग्राहीको घुइँचो कम भएको छैन । अहिले बिहानैदेखिको लाम देखिन्छ र त्यो दिनभर नै हुने गरेको छ । नागरिकले बिहान एकैपटक आउँदा मात्रै भीडभाड देखिएको प्रमुख महर्जनले बताउनुभयो । चार सयको कोटा हुँदा ती सबै बिहान आठ बजे एकै समय आइपुग्छन् । उहाँले भन्नुभयो, “दैनिक तीन सयदेखि चार सयसम्म सेवाग्राही दैनिक आउँदा बिहानैदेखि भीडभाड र दिउँसोसम्म भीड सकिएको पाइन्छ ।” कार्यालयमा नियमितरुपमा हुने भीडभाड व्यवस्थापन कसरी गर्ने भनी छलफल भइरहेको प्रमुख महर्जनले बताउनुभयो । अपराह्न वा त्यसपछि कार्यालयमा जाँदा एकैदिन काम नसकिने सेवाग्राहीमा चिन्ता रहेको पाइएकाले बिहानै कार्यालय पुग्ने गरेका हुन् । नवीकरणमा चालक अनुमतिपत्र र नागरिकता लिएर आउँदा एकैदिन काम सकिने उहाँले बताउनुभयो । सेवाग्राही एक दुईबजे आउँदा केही घण्टामा सकिन्छ । बिहान १० बजे लाममा बस्नेको दुई बजे पालो आउने र दुई बजे आउनेको पालो साढे दुईमा नै आएको हुनसक्छ । उहाँले भन्नुभयो, “पुरानो अनुमतिपत्रमा कुनै समस्या हुँदा एकैदिन समाधन नहुँदा अर्को दिन आउनपर्ने हुनसक्छ ।” विभागले अहिलेसम्म सन् २०२१ का धेरै अनुमतिपत्र छापिइसकिएको जनाएको छ । अहिले एक/दुई कार्यालयको मात्रै छाप्न बाँकी छ । सन् २०२२ देखिका कार्डमा एक वर्षसम्म परीक्षणकालीन अनुमतिपत्र पाउने व्यवस्था गरिएकाले त्यसपछिको मात्रै अनुमतिपत्र छापिने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताउनुभयो । अब नवीकरण मात्रै गर्ने हुँदा चाप कम हुने उहाँको भनाइ छ । सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीमा चालक अनुमतिपत्रलाई परीक्षा पास गरेपछि एक वर्षसम्म परीक्षणकालीन दिने व्यवस्था छ । उहाँले भन्नुभयो, “विभागले एक वर्षपछिको मात्रै स्मार्ट दिने भन्ने हो, कार्यालयले लागू गर्छन कि गर्दैनन् हेर्न बाँकी छ ।” विगतका वर्षमा कहिले कोरोनाका कारण त कहिले उपकरण र कहिले कार्ड अभावका कारणले नियमितरुपमा छपाइ नभएकाले छाप्न बाँकी बढीरहेको थियो । अहिले उपकरण नबिग्रिएमा र अरु कुनै किसिमको समस्या नआएमा यही अवस्थामा दुई/तीन महिनामा लाइसेन्स वितरण गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्योभन्दा कम समयमै दिने विषयमा सम्भव नहुने भन्ने होइन, हाल उपलब्ध साधनस्रोतका आधारमा दुई/तीन महिनामा सकिन्छ भन्ने लागेको छ ।”
कास्की । नव आदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा हरितालिका तीजको अवसरमा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमार्फत इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भदौ १२ देखि १४ गते सम्म महोत्सव हुने जानकारी दिइएको हो । सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीका अनुसार महोत्सवको मुख्य आकर्षणको रुपमा लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरिनेछ । उक्त प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेशको टिमले भाग लिने क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिलो पटक हुने पुरुष भलिबलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिने छन् । महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ । तीजगीत प्रतियोगितामा प्रथमले ५० हजार १११, दोस्रोले ३० हजार १११, तेस्रोले २० हजार १११ र सान्त्वनाले १० हजार १११ पाउने छन् । अन्तरमावि लोक नृत्यतर्फ प्रथमले ४० हजार १११, दोस्रोले २५ हजार १११, तेस्रोले १५ हजार १११ र सान्त्वना तीन टिम र उत्कृष्ट भेषभुषालाई ५ हजार १११ दिइने २०५४ सालमा स्थापित संस्थाको रजत वर्ष पनि भएकोले कोरोनापछि महोत्सव भव्य बनाउन संस्थाका अध्यक्षताको मुल संयोजकत्वमा २६ वटा उपसमिति गठन गरिएको सचिव थिरबहादुर थापाले बताए । भदौ १२ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महोत्सव उद्घाटन गर्नेछन् भने समापनमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड आउने छन् । भदौ १३ मा संस्थाले निर्माण गरेको ब्याडमिन्टन कोर्टसहित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन प्रदेश सदस्य राजीव गुरुङले गर्ने आयोजकले जनाएको छ । यसैगरी, शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई आयोजकले विगतमा झैं सम्मान गर्ने संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् । भलिबल प्रतियोगिताअन्तर्गत उद्घाटनका खेल अघिल्लो दिन भदौ ११ देखि नै हुने छन् । महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने आयोजकको अनुमान छ । सामाजिक कार्यमा समेत क्रियाशील नवआदर्श सामुदायिक विकास समाजले महोत्सव संचालन गर्न स्थापना गरेको कोषमा २६ लाख संकलन भइसकेको र यसपालि डेढ लाख थप गर्ने लक्ष्य लिएको जनाएको छ । महोत्सवको मुख्य सहयोगी बानियाँ किराना स्टोर्स लामाचौर हो । देशविदेशमा गरी विभिन्न प्रायोजकले हालसम्म ४८ लाख रुपैयाँ सहयोगको बोलकबोल गरिसकेको आर्थिक संयोजक दिलबहादुर थापाले बताए ।
पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशको अध्यक्षमा निर्मल दियाली चयन भएका छन् । हिजो (शनिबार) पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय प्रथम सम्मेलनबाट मुक्ति समाज गण्डकीको अध्यक्षमा दियाली चयन भएका हुन् । साथै सम्पन्न सम्मेलनबाट दियालीको नेतृत्वमा ८५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सो समितिको प्रथम उपाध्यक्षमा डिना गोतामे,दास्रो उपध्याक्षमा होमबहादुर बिक, सचिवमा वमवहादुर बिक, प्रथम उपस–चिवमा बावुराम बिक, दास्रो उप–सचिवमा रुपा बिक र कोषाध्यक्षमा कमला सुनार रहेका छन् । त्यसैगरि सदस्यहरुमा बलबहादुर विक, खुमबहादुर किसान, खिममाया पटेल, विष्णृ बिक, रामकृष्ण रसाइली, बिरु बस्याल, विनोद कुमार बिक, रिता नेपाली, नरबहादुर बिक, अन्जन परियार, सन्त कुमारी नेपाली, भाइकाजी माइवुल, ठाकुर मगराती, आदिप नेपाली, विमला रोका, धनकुमारी सुनार लगायत ७६ जनाको सदस्यता रहेको छ । ‘१२१ जना सम्मको कार्यसमिति गठन गरिनुपर्ने भएत पनि यस प्रथम सम्मेलनबाट हामिले ८५ जनाको कार्यसमिति गठन गरका छौं, दियालीले भने ‘थप कार्यसमिति कहाँबाट कसरी राख्ने त्यो हामी भुगोल हेरी निर्धारण गर्ने छौँ । दियालीले आफ्नो कार्यकालमा आफ्नो क्षमताले भ्याएसम्म ११ वटै जिल्लाका उत्पीडित जनसमुदायलाई उनीहरुको आधारभुत अधिकारको पक्षमा सधै लडिरहने समेत प्रतिबद्वता जनाएका थिए ।
म्याग्दी । म्याग्दी को मालिका गाउँपालिका–४ च्युरिबोटका युवाको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर बाटो मर्मत गरिएको छ । च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको हो । वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सासम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिनुभयो । अविरल वर्षात्सँगै आएको पहिराले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने सडक भत्काएपछि यातायात अवरुद्ध भएको थियो । उहाँका अनुसार क्लबको नेतृत्वमा शनिबार करिब दुई किलोमिटर सडक मर्मत गरिएको छ । क्लबमा आवद्ध युवासहित सामाजिक अगुवाले समेत श्रमदान गरेका हुन् । सडक अवरुद्ध हुँदा वडा कार्यालय र स्वास्थ्यचौकीमा सेवा लिन आउने सेवाग्राहीसहित ढुवानीमा समेत समस्या भएको थियो । पहिरो पन्छ्यएर सडक मर्मत गरेपछि स्थानीयवासी, बटुवा, विद्यार्थीलगायत सर्वसाधारणलाई सहज भएको छ ।
काठमाडौँ । काठमाडौँस्थित नेपाल स्पाइनलकर्ड इञ्जुरी खेलकुद सङ्घले काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक आयोजना गरेको बास्केटबल प्रतियोगितामा महिलातर्फ सेतो र पुरुष समूहतर्फ पहेँलो समूह प्रथम भएका छन् । स्पाइनल कर्ड इञ्जुरी भएकालाई आत्मनिर्भर र दक्ष बनाउनाका साथै अपाङ्गतासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा महिलातर्फ पहेँलो समूह दोस्रो भएको छ भने पुरुषतर्फ सेतो समूह दोस्रो र रातो समूह तेस्रो भएको सङ्घले जनाएको छ । सङ्घका महासचिव दीलिप सापकोटाका अनुसार प्रतियोगितामा महिलातर्फ दूई र पुरुषतर्फका तीन गरी पाँच समूहको सहभागिता थियो । बनेपा नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको सहयोगमा भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई नेपाल–भुटान रोटरी ह्विलचियर वितरण समितिका अध्यक्ष अशोक श्रेष्ठले क्रमशः रु दश हजार, रु नौ हजार र रु आठ हजारका दरले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिता शुभारम्भ गर्दै बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले अवसर पाएको खण्डमा अपाङ्गता भएका व्यक्ति पनि सपाङ्ग व्यक्तिभन्दा कम नहुने बताउनुभयो । “हामीले अवसर प्रदान गर्न सक्यौँ भने विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति पनि सक्षम बन्नेछन् ।” उहाँले भन्नुभयो, “बनेपा नगरपालिकाले १८ वर्षभन्दा मुनिका अपाङ्गता भएका बालबालिकालाई अपाङ्गता पुनःस्थापना केन्द्र र नगरपालिकासँगको समन्वयमा निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाइएको र नगरपालिकाले प्रत्येक महिनाको ६ गते अपाङ्गता परिचयपत्र वितरण गर्दै शिक्षा र स्वास्थ्यमा पनि सहयोग गर्दै आएको छ । ”
लहान । “आब ककरा बाबु कहबै, के कर साहारामे रहबै” (अब कसलाई बुबा भन्नु कसको साहारमा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरुले पनि आँसु थाम्न सकेनन् । समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँशु रोकिएको छैन । “आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु”, जितनीदेवीले भन्नुभयो, “अब कसलाई बुवा भन्नेर बोलाउने ? समस्या पर्दा कसलाई सुनाउने ? अब कोही रहेन, बेसारा जस्तै भएकी छु ।” भारतको नयाँ दिल्लीमा उपचार गराउन जाने क्रममा उहाँले जितनी म उताबाट आएपछि तिम्रो सबै समस्या सुनिदिन्छु भनेर जानुभएको सम्झँदै जितनीदेवीले भन्नुभयो, “आश्वासन दिएर जानु भएको प्रदीप बाबु अब मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानुभयो । अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरी जस्तै भएकी छु”, जितनीले बिलौना गर्नुभयो । “कुनैबेला पेसाको समस्या पर्दा प्रदीप बाबुले कहिले मसँग छैन, दिन्न भन्नु भएन”, जितनीले भन्नुभयो, “उहाँ कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नु हुन्थ्यो ।” अब ती सबै कुराहरु सम्झनामा आइरहन्छ, उहाँको भनाइ छ । जहिले पनि पढ्नुपर्छ, दलितहरु पनि ठूलो मान्छे बन्नुपर्छ भन्ने प्ररेणा दिने व्यक्तिका रुपमा रहनुभएका प्रदीप ठूलो बुवाको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियार पनि शोकमा हुनुहुन्छ । “आश्रममा जहिले आउँदा मेरो पढाइका बारेमा सोध्नुहुन्थ्यो, अनि पढ्ने नयाँनयाँ कुरा सिकाउनुहुन्थ्यो”, लहानस्थित जेएस मुरारका क्याम्पसको कक्षा १२ मा अध्ययनरत परियारले भन्नुभयो, “उहाँको प्रेरणाका कारण मेरो पढ्ने, वातावरण बन्यो मेरो पढाइमा उहाँको ठूलो योगदान छ ।” अब उहाँ जस्तो व्यक्तित्व पाउन मुस्किल रहेको उहाँको भनाइ थियो । “प्रदीप बाबु असाध्यै सरल, भावुक स्वभावका व्यक्ति हुनुहुन्थ्यो”, बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले भन्नुभयो, “उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा थियो, उहाँको निधनले हामी अभिभावकविहीन भएका छौँ, उहाँको निधनले हामी शोकाकूल भएका छौँ, हामी असल र स्वाभिमानी नेता गुमाएका छौँ”, उहाँको कथन छ । जितनी, दीप र चेतबहादुर मात्र होइन, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधन भएपछि यतिबेला बस्ती गाउँ नै शोकमा डुबेको छ । गाउँलेहरु नेता गिरीको पुर्खौली घर अगाडि भेला भएर शोक मनाइरहेका छन् भने कतिपयले गिरीलाई सम्झेर आँशु बगाइरहेका छन् । “सरल स्वभावका प्रदीप बाबुसँग चुनावका बेला सँगै घुमेँ”, बस्तीपुरका ५६ वर्षीय महेन्द्र साहले भन्नुभयो, “उहाँले जहिले पनि गाउँको विकास र समाज सुधारका विषयमा कुरा गर्नुहुन्थ्यो, उहाँबाट समाजले थुपै्र सुधारको अनुभूति गरेको छ । उहाँसँग हिँड्दा कहिले पनि बिरानो जस्तो अनुभूति पाइनन्”, उहाँको भनाइ छ । यसैबीच नेता गिरीले कक्षा १ देखि १० सम्म अध्ययन गर्नुभएको बस्तीपुर माविमा पनि आज व्यक्त गरिएको छ । “उहाँ यस विद्यालयमा अध्ययन गर्नुका साथै विद्यालयको विकासका लागि योगदान गर्नुभएको छ”, विद्यालयका लेखापाल सिन्धुप्रसाद साहले भन्नुभयो, “उहाँ यस विद्यालयका पूर्वविद्यार्थीका साथै अभिभावक पनि हुनुहुन्थ्यो, त्यही भएर हामी उहाँको शोक मनाएका छौँ ।” समाजवादी नेता गिरीले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । उहाँ गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले अशल अभिभावक गुमाएकाले शोकमा बिदा दिने निर्णय भएको नगरप्रमुख महेश चौधरीले बताउनुभयो । आफूहरुले मत दिएर जिताएका आफ्ना नेता एवं अभिभावक गिरीको उपचार काठामाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा पनि शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि गाउँमा भजनकीर्तन गरेका थिए । गएराति नै उहाँको निधन भएको खबर सुनेपछि उहाँको जन्मस्थल र जिल्लाका स्थानीय शोकमग्न भएका छन् ।

