झापा । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०:१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ।
काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताउनुभएको छ ।बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री चौधरीले संंविधानविरोधी तत्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गर्नुभयो । नेकपा(एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका उहाँले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार आज पहिलो दिन प्रतिनिधिसभातर्फ २९, प्रदेश नं. १ मा २५, मधेस प्रदेशमा २७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २३ दल दर्ता भएका छन् । यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालय आयोगको कार्यालयमा तोकेको छ । आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधिसभातर्फ पहिलो हुने, निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ ।
काठमाडौं । आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९मा सहभागी हुने दलको सङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिएको छ । निर्वाचन प्रयोजनका लागि मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलका आधारमा सो प्रदेशमा बढी देखिएको हो ।आयोगबाट भएको राजनीतिक दल दर्ता, निर्वाचन चिह्न प्रदान र निर्वाचन चिह्नको क्रम निर्धारणअनुसार सो प्रदेशमा ६७ दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ७५ कायम भएको छ । यसैगरी प्रदेश नं १ मा ६२ दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी ७०, बागमती प्रदेशमा ६४ दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ७२ हुने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । यस्तै गण्डकी प्रदेशमा ५८ निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ६६, लुम्बिनी प्रदेशमा ६० दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ६८, कर्णाली प्रदेशमा ५६ दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ६४ रहने गरी आयोगले बिहीबार निर्णय गरेको छ । आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि चार निवेदन गरी जम्मा ८४ (चौरासी) वटा निवेदन प्राप्त हुन आएकोमा राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातको अध्ययन र जाँचबुझ गर्दा जम्मा ७९ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ८७ कायम गरेको छ ।
महोत्तरी । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहान महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित नेपाल र भारतको दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद गरेको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–६ स्थित चाँदनी चोकभन्दा पाँच सय मिटर दक्षिण नेपाल र भारतको दशगजा क्षेत्रमा नेपालतर्फ वेवारिसे अवस्थामा ६० बोरा चिनी प्रहरीले बरामद गरेको हो । रातिको मौका छोपी भारतबाट नेपाल भित्र्याउनका लागि दशगजा क्षेत्रमा जम्मा गरेको ६० वटा बोरामा ३० क्विन्टल चिनी तस्करले गन्तव्यमा पुर्याउन सफल हुन नसक्दा आज बिहान सीमा सुरक्षा गस्तीमा गएका संयुक्त प्रहरी टोलीले उक्त चिनी बरामद गर्न सफल भएको प्रहरीको भनाइ थियो ।बरामद गरिएको चिनी जिल्लाको भिट्ठामोडस्थित मूल भन्सार कार्यालयमा बुझाइएको छ ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’मा उहाँले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको भन्दै यस्ता घटनालाई कम गर्न विद्यालयका पाठ्यक्रममा साइबर अपराधसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने बताउनुभएको हो । “सूचना प्रविधिलाई आपराधिक समूहले पनि दुरुपयोग गरिरहेको छ, यसलाई रोक्नका लागि सरकारले छुट्टै सेल निर्माण गरी काम गरिरहेको छ”, गृहमन्त्री खाणले भन्नुभयो ।उहाँले जनताको जीवनरक्षा गर्ने सरकारको मुख्य दायित्व भएको भएको र उनीहरुको जीवनरक्षाको सिलसिलामा कहिलेकाहीँ राष्ट्रका सामु ठूलो समस्या आउने गरेको उल्लेख गर्नुभयो । “तापक्रम वृद्धि, जनसङ्ख्या वृद्धि, भाइरसको उत्पत्तिले विश्वमा ठूलो चुनौती थपिँदै गएको छ”, गृहमन्त्री खाणले भन्नुभयो । कांग्रेसका नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले कोरोना महामारीको समयमा जनताको रक्षाका लागि यस केन्द्रलगायत सामाजिक सङ्घसंस्थाले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताउनुभयो । उक्त केन्द्रका सल्लाहकार भरत ढकालले न्यून स्रोत र साधन भएर पनि आफूहरुले सक्दो सेवा पुर्याउँदै आएकोे जानकारी दिनुभयो। विसं २०७० मा स्थापना भएको सो केन्द्रले देशका विभिन्न भागमा तीन सयभन्दा बढी स्वास्थ्य शिविर, १७ पटक रक्तदान कार्यक्रम, दुई दर्जनभन्दा बढी उद्घोषण तथा विभिन्न किसिमका तालिम प्रदान गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले उल्लेख गर्नुभयो ।कार्यक्रममा नेपाल प्रहरी साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक दिपेश जोशीले साइबर अपराधसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
बेनी । हरियाली लेकाली खर्क । आँखै अगाडि ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा ससाना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरन क्षेत्रमा सेताम्मे देखिन्छन् भेडाका बथान । अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा देखिने यो दृश्य निकै रमाइलो र लोभलाग्दो देखिन्छ । खोप्रा–खयर पदमार्गअन्तर्गत पर्यटक आश्रय लिएर बस्ने खयरखोला क्षेत्रमा व्यावसायिक भेडापालन पनि हुँदै आएको छ । यिनै गोठमा भेटिनुहुन्छ ७८ वर्षीय लालवीर तिलिजा । पाउद्वार गाउँका बासिन्दा रहनुभएका तिलिजाले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताउनुभयो । उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर तिलिजाको जाँगर घटेको छैन । भेडीगोठसँगको उहाँको सामिप्यता उस्तै छ । गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाउनुभएका तिलिजा बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाक्नुभएको छैन । बेंशीका फाँटदेखि पहाडका पाखा पखेरा हुँदै हिमालका बुकीसम्म भेडीगोठ राख्ने र भेडा चराउने काममा तिलिजाको जीवनको करिब ७० वर्ष बढी समय बित्यो । छ वर्षको उमेरदेखि नै बुबा आमासँग गोठ बस्नुभएका तिलिजालाई औपचारिक शिक्षा लिने अवसर मिलेन । बुबा आमासँग गोठमा बस्दै गर्दा आफूलाई समेत गोठप्रतिकै लगाब बढेपछि बाबुले गरेकै पेसालाई जीवनभर अँगालेको तिलिजाले बताउनुभयो । “मैले थाहा पाएसम्म हाम्रो जिजु, बाजे, बुबा हुँदै मसम्म आइपुग्दा चार पुस्ताले नै भेडापालन गर्यौँ, मैले भेडापालनबाटै परिवार धाने, छोराछोरीलाई पढाएँ, उनीहरुको रहरअनुसारको देशमा रोजगारको लागि पठाएँ, गोठमै बसेर गरेको आम्दानीबाट सन्तुष्ट छु”, तिलिजाले भन्नुभयो । भेडापालनबाटै कमाएको पैसाले साइला छोरा जापान, जेठा छोरा बेलायत पठाएको तिलिजाले सुनाउनुभयो । “चार छोरा, पाँच छोरी छन्, उनीहरु सबैलाई विद्यालय तहको शिक्षा दिएँ, उनीहरुकै इच्छाअनुसार कतिपयलाई लाखौँ खर्च गरेर विदेश पनि पठाएँ, उनीहरुले र मैले कमाएको पैसाबाट पोखरामा घर पनि जोडेको छु, श्रीमती र कान्छा छोरा अहिले पोखरा बस्छन्, माइला छोराले वडाध्यक्ष जितेर गाउँको नेतृत्व सम्हालेका छन्”, उहाँले पारिवारिक अवस्था सुनाउनुभयो । तिलिजाको गोठमा अहिले करिब तीन सय भेडा छन् । गोठको खर्च र हेरालुको ज्याला कटाउँदा वर्षमा रु १० देखि ११ लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उत्पादन गर्न सके बिक्रीका लागि बजारको अभाव नभएको उहाँको भनाइ छ । “जनैपूर्णिमालगायतका पर्वमा पूजाका लागि साँडहरु किन्न ग्राहक गोठमै आउँछन्, चाडपर्वको लागि मासु खानका लागि पनि गोठबाटै भेडा किन्न गाउँले आइपुग्छन्, बरु किन्नेले खोजेजति बिक्री गर्ने भेडा उत्पादन गर्न नै सक्दैनौँ”, तिलिजाले भन्नुभयो । गोठका उकाली ओरालीमा सात दशक समय बिताउनुभएका तिलिजालाई भेडीगोठ बस्ने धित अझै मरेको छैन् । भर्ती हुने र लाहुर जाने सपनामा केही वर्ष भेडीगोठबाट बाहिरिए पनि सफल नभएपछि पुनःभेडापालनमै फर्किएको उहाँले बताउनुभयो । “एक गोठको भेडाको पैसा दलालले खाइदियो, त्यतिबेला रु ८६ हजारमा भेडीगोठ बेचेको थिएँ, बम्बइसम्म पुर्र्याएर दलालले सबै पैसा खाइदियो, १० महिना त्यहाँ बस्दा पनि विदेश पठाउने निधो नभएपछि फेरि गाउँ फर्किएँ र भेडापालनकै इलममा लागेँ”, तिलिजाले आफ्नो सङ्घर्षका उतारचढाव सुनाउनुभयो । विदेशमा रहेका छोराछोरीले गोठबाट विश्राम लिएर आरामदायी जीवनयापन गर्न सुझाव दिने गरेको बताउँदै उहाँले आफ्नो हातपाखुरा चल्दासम्म गोठ छाड्न मन नलागेको बताउनुभयो । तिलिजाले बर्खायाममा खयरखोला हुँदै अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको फेदीसम्मै भेडीगोठ पुर्याउने भएपनि हिउँदयाममा खोप्राडाँडा हुँदै पाउद्वार र पर्वतको लेसपारका बेंशीका फाँटसम्म गोठ झार्ने गर्नुभएको छ । “बाघ र चट्याङको डर भेडीगोठमा भइरहन्छ, केही वर्षअघि चट्याङ लागेर एकैपटक ६२ वटा भेडा मरे, बाघले वर्षमा एक÷दुई वटा भेडा खान्छ, भेडीगोठको सुरक्षामा हामी गोठालासँगै कुकुर हेरालुकै भूमिकामा हुन्छन्”, उहाँले भन्नुभयो । चार पुस्ताले गर्दै आएको भेडापालन आफूपछिको पुस्ताले छाड्ने चिन्ता तिलिजामा छ । तर अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्षसमेत रहनुभएका तिलिजाका छोरा राजेश तिलिजाले बुबाले गर्दै आएको भेडापालनलाई आफूले पनि निरन्तरता दिने सोच बनाएको बताउनुभयो । “अघिल्लोपटक वडा सदस्य र कार्यवाहक वडाध्यक्ष भएर काम गरेँ, यो कार्यकालमा वडाध्यक्षमा निर्वाचित भएर काम गरिरहेको छु, जनप्रतिनिधिको भूमिकाबाट बाहिर आएपछि भेडापालनलाई नै अगाडि बढाउने योजना बनाएको छु”, वडाध्यक्ष तिलिजाले भन्नुभयो । बुबालाई भेडापालनबाट विश्राम लिन सुझाव दिए पनि उहाँले भेडीगोठमै आफूलाई आनन्द रहेको बताउँदै पारिवारिक आग्रहलाई इन्कार गर्ने गरेको उहाँले बताउनुभयो । पहिलेको तुलनामा भेडापालन घट्दो र भेडाको माग बढ्दो क्रममा रहेको बताउँदै उहाँले युवापुस्ताले गोठ बस्न नरुचाउने भएकाले भेडापालनको पेसा पुस्तान्तरण हुन नसक्ने अवस्थामा पुगेको अनुभव सुनाउनुभयो । खयर क्षेत्रमा भेडापालनको सम्भावना रहेको बताउँदै वडाध्यक्ष तिलिजाले पछिल्लो समय केही युवा यस पेसामा आबद्ध हुन थालेको जानकारी दिनुभयो । पाउद्वार गाउँका २१ वर्षीय युवा प्रकाश पुन एक वर्षदेखि भेडापालनका लागि भेडीगोठ बस्न थाल्नुभएको छ । शिख माविबाट कक्षा १२ उत्तीर्ण गरेपछि दुई वर्ष भैँसीपालन गर्नुभएका पुनले एक वर्षदेखि साझेदारीमा भेडापालन गर्न थाल्नुभएको हो । स्थानीय कमल तिलिजा र कुमार पाइजासँग पुनले खयर क्षेत्रमा साझेदारीमा भेडापालन गर्नुभएको छ । “हाम्रो गोठमा तीन सय भेडा छन्, भेडा र साँड उत्पादन गर्न सके जति पनि बिक्री हुन्छ, म भर्खरै यो पेसामा लागेको हुँ, अझै आम्दानी गर्ने अवस्था आइपुगेको छैन, अरु साथीहरुले एकै पटकमा तीन÷चार लाख रुपैयाँको भेडा बिक्री गर्नुहुन्छ”, पुनले भन्नुभयो । पुनका साथि कमलले नौ वर्षदेखि र कुमारले तीन वर्षदेखि भेडापालन गर्दै आएका छन् । अरुको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउन मन लागेर भेडापालनमा लागेको पुनले बताउनुभयो । अहिले खयर क्षेत्रमा तीन वटा ठूला गोठ छन् । ती भेडीगोठमा करिब एक दर्जन घरपरिवारले साझेदारीमा भेडापालन गर्छन् । एक हजार पाँच सयवटा भेडापालन हुँदै आएको खयर क्षेत्रमा भेडापालन गर्दै आएका स्थानीयले जनैपूर्णिमाको अवसरमा मात्रै १० देखि ७० वटासम्म भेडा र साँड बिक्री गर्दै आएका छन् । यसपटकको जनैपूर्णिमा मेलामा मात्रै स्थानीय भेडापालक कृषकले दुई सय ५० बढी भेडाका साँडको बिक्री गरेका थिए । खयर क्षेत्रमा अन्नपूर्ण गाउँपालिका–१ दोबाका धन पुर्जालेसमेत वैदेशिक रोजगारलाई त्योगेर भेडापालन सुरु गर्नुभएको छ । बाह्र वर्षसम्म विदेशमा पसिना बगाउनुभएका पुर्जाले तीन महिनादेखि १७२ वटा भेडा खरिद गरेर व्यावसायिक भेडापालन सुरु गर्नुभएको हो । ‘‘पहिले पनि गाउँमा पुख्र्यौली भेडापालन गर्थे, भेडीगोठ बेचेर साउदी गएँ, त्यहाँबाट फर्किएपछि मलेसियामा पनि गएँ, तर सोचेजस्तो कमाइ भएन, बरु यतै केही गरौँ भनेर भेडापालन पेसामै फर्किएको पुर्जाले भन्नुभयो । हिमाली क्षेत्रमा पालन गरिएका भेडाको खरिदका लागि सहरी र ग्रामीण क्षेत्रका उपभोक्ता गोठसम्म पुग्ने गरेका छन् । विभिन्न पूजाआजामा बलि दिन र मासुका लागि भेडीगोठ नै पुग्ने गरेको अन्नपूर्ण गाउँपालिका–८ नाँगीका हेमबहादुर तिलिजा पुनले बताउनुभयो । यस क्षेत्रमा घुम्ती गोठकारुपमा भेडापालन हुँदै आएको छ । खासगरी लेकाली क्षेत्रको चरनमा हुर्कने भएकाले मासुका लागि भेगीगोठका भेडाको माग अत्यधिक हुने गरेको छ । परम्परागतरुपमा हुँदै आएको भेडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिका र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलेसमेत अनुदान, तालिम र परामर्श सेवाका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ । प्रहरी महानिरीक्षक धीरजप्रताव सिंहले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनःअर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यकपर्ने जानकारी दिनुभयो । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको जानकारी दिनुभयो । गत स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएकामा यसपटक एक लाख २० हजार भर्नाका लागि तालकु गृहमन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । उहाँले सङ्घ र प्रदेश निर्वाचनमा कैदीबन्दीसहित पाँच लाख मतदाता बढ्ने र मतदान केन्द्रसमेत थप हुने अनुमान गरिएअनुसार सुरक्षाकर्मी बढाइएको हो । गृहमन्त्रालयबाट प्रस्ताव पारित भएर आएपछि मात्रै अन्य औपचारिक काम अघि बढ्ने जनाउँदै उहाँले अहिले आन्तरिक तयारीका काम चलिरहेको जानकारी दिनुभयो । नेपाल प्रहरीले यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाका नेतृत्वमा प्रहरीको केन्द्रीय निर्वाचन सेल र मातहतका कार्यालय, प्रदेश तथा जिल्लामा आवश्यकतानुसार सेल गठन गरी आवश्यक कार्य प्रक्रिया अघि बढाइएको छ । प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ । “उम्मेदवार सङ्ख्या, निर्वाचन कार्यालय, मतदान केन्द्र, निर्वाचन सामग्री, मतपेटिका, मतदानस्थल तथा रुट सबै प्रारम्भिकरुपमा यकिन गरेर आवश्यक सुरक्षा तयारी गरिएको छ”, प्रवक्ता राईले रासससँग भन्नुभयो, “माथिबाट निर्णय भएर आएपछि बाँकी काम अघि बढ्छ ।” प्रहरीले सामान्य, संवेदनशील र अतिसंवेदनशील छुट्याएर मतदानस्थलको पहिचानसँगै सोहीअनुसार प्रहरी कर्मचारी खटाउने गरी योजना बनाएको छ । प्रहरीले यसअघि नै मङ्सिर ४ को सङ्घ र प्रदेश निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारी साधन, सात सय बढी सञ्चार सेट आवश्यक रहेको भनी मन्त्रालयमा लेखेर पठाइसकेको छ । पेश गरिएको प्रस्तावमा आवश्यक हातहतियारको पनि माग गरिएको छ । उहाँले हतियार अपुग भएमा नेपाली सेनाबाट बहालगिरीमा ल्याएर प्रयोग गरिने जानकारी दिनुभयो । सञ्चार सेट सम्भव भएन भने प्रहरीका मोबाइललाई सञ्चार सेटका रुपमा प्रयोग गरी उनीहरु लाई रिचार्ज कार्ड उपलब्ध गराउने योजना बनाइएको छ । प्रवक्ता राईले भन्नुभयो, “स्थानीय तहको झैँ सङ्घीय र प्रदेश निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न नेपाल प्रहरीलाई अवसर आएको छ, यो अवसर जो कोहीलाई आउँदैन, त्यसकारण नेपाल प्रहरीका जवानदेखि अधिकृत उत्साहित छन्, निर्वाचनलाई शान्तिपूर्ण बनाउन आतुर छन् ।” प्रहरी कर्मचारीबाट भने निर्वाचनमा खटिने अन्य सबै कर्मचारी बराबरको खाजा भत्ता दिएमा थप उत्साहित हुने जनाइएको छ । केन्द्रीय सुरक्षा योजना बन्दै गृहमन्त्रालयले पनि आफ्नो निर्वाचन सुरक्षाको तयारीलाई तीव्र पारेको छ । गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरी तीव्ररुपमा कार्य अघि बढाइएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेले जानकारी दिनुभयो । उहाँले सोहीअनुसार प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल गठन गरिएको जानकारी दिनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमाण्ड पोष्ट गठन गरिएको छ । यस्तै केन्द्रीय सुरक्षा योजना पनि बन्दै गरेको उहाँले जानकारी दिनुभयो । सुरक्षाकर्मीलगायतको स्रोतसाधन जनशक्तिलगायतमा विषयमा अर्थ मन्त्रालयमा लेखेर पठाएको जानकारी दिँदै उहाँले स्वीकृत भएर आएलगत्तै औपचारिकरुपमा काम अघि बढ्ने जानकारी दिनुभयो । “गाडी भत्ता, अन्य बन्दोेबस्तीका सामान, म्यादी प्रहरी, सञ्चार सेट सबै लेखेर पठाएका छौँ”, प्रवक्ता पोखरेलले भन्नुभयो ।
महेन्द्रनगर । कञ्चनपुरका अधिवक्ता गजेन्द्र रावलले केही वर्षअघि छाडा पशु व्यवस्थापनमा ध्यान नदिएको जनाउँदै यहाँका चार पालिकाविरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा मुद्दा दायर गर्नुभयो । सार्वजनिक सरोकारको विषयमा पालिकाको छाडा पशु व्यवस्थापनमा ध्यान नदिँदा पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना बढेको र किसानको खेतीबाली नोक्सान पुगेको जनाउँदै दायरा गरेको मुद्दामा अदालतले अन्तरिक आदेश जारी गर्दै व्यवस्थापनमा ध्यान दिन पालिकालाई आदेश दियो । यहाँ न अदालतको आदेश कार्यान्वयन भयो नत पालिकाले पशु व्यवस्थापन नै गर्न सके । छाडा पशु व्यवस्थापनका नाउँमा भीमदत्त नगरपालिकादेखि यहाँका अन्य पालिकाले करोड रकम खर्च गरे तर राजमार्गबाट छाडा पशुको बसाईं अन्त अझै सरेको देखिँदैन । अधिवक्ता रावलले अदालतले तत्काल यहाँको भीमदत्त , बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका नाममा आदेश जारी गरेको बताउनुभयो । “अदालतको आदेशपछि छाडा पशु व्यवस्थापनका नाममा करोडौँ खर्च गरेको सुनियो तर व्यवस्थापन भएन”, उहाँले भन्नुभयो, “ तर अहिले राजमार्गमा छाडा पशुका कारण दिनहुँजसो सवारी दुर्घटना भइरहेको अवस्था छ ।” उहाँले सार्वजनिक सरोकारका विषय भएकाले पूर्वपश्चिम राजमार्गमा पर्ने पालिकालाई विपक्षी बनाएर मुद्दा दायर गरेको जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले छाडापशु चौपायाका कारण यहाँ भइरहेको सवारी दुर्घटनाको डरलाग्दो रुप सुनाउनुभयो । उहाँले बितेको सात महिनाको अवधिमा छाडा पशुकै कारण सवारी दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएको बताउनुभयो । “सात महिनामा छाडापशु राजमार्ग र सडकमा हुँदा ९४ वटा सवारी दुर्घटना भएको तथ्याङ्क छ ।” प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो, “जसमा १८÷१९ जना घाइते भएर अपाङ्गता भएको स्थिति छ ।” दुर्घटनामा दर्जनौँ छाडा पशुसमेत मरेको प्रहरीको भनाइ छ । “सडक पूर्वाधार भनेको विकासको सूचक हो, तर यहाँ गड्डचौकीदेखि मोहना पुलसम्मद दर्जनौँ ठाउँमा छाडा पशु राजमार्गमै भेटिन्छन्”, उहाँले भन्नुभयो, “जसका कारण सवारी दुर्घटना हुँदा मान्छेले जीवनभरि पनि अपाङ्गता भएर बस्नुपर्ने अवस्था आयो ।” उहाँले छाडा पशु व्यवस्थापनमा स्थानीय सरकारसँगै पशुपालक किसान स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । “दूध खाने दिन छाडेपछि छाडा छोड्ने प्रवृत्ति राम्रो भएन”, अधिवक्ता रावलले भन्नुभयो, “ व्यवस्थापनमा सबैको हातेमालो जरुरी छ ।” यहाँस्थित महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका अध्यक्ष डम्बर पन्तले अहिले दुर्घटनाका कारण छाडापशु चौपाया भइरहेको बताउनुभयो । “उहिले सडकलगायत अन्य कारणले दुर्घटना हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले महेन्द्रनगरदेखि कैलालीको चिसापानीसम्म सबैभन्दा बढी दुर्घटना छाडापशुकै कारण भइरहेको छ ।” छाडा पशु राजमार्गमा सर्वत्र हुँदा साँझको समयमा बढी दुर्घटना हुने गरेको उहाँको भनाइ छ । “साँझपछि रातिको समयमा गाईगोरुको रङ पनि कालो सडक पनि कालोपत्र हुँदा बढी दुर्घटना भएका घटना छन्”, उहाँले भन्नुभयो, “कञ्चनपुरमा छाडा पशुको व्यवस्थापन चुनौती बनिरह्यो ।” उहाँले सम्बन्धित पालिकाले अभिलेख राखेर छाडा छोड्ने किसानलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । “दूध खाएर पशु छोड्नेलाई पालिकामा जरिवाना गर्नेदेखि सुविधा कटौतीसम्मको नीति ल्याउनुपर्छ ।” छाडापशुसित मोटरसाइकल दुर्घटना बढी सङ्ख्यामा भएको देखिन्छ ।” कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा वडाध्यक्ष रमेश ऐरले भने यहाँको विन्द्रावन सामुदायिक वनको छेउछाउमा रहेको फाँटमा छाडा पशु व्यवस्थापन गरिरहेका छन् । “हामीले व्यवस्थापन गरेपछि पनि राजमार्गमा पूर्णरुपमा न्यूनीकरण भएको छैन”, उहाँले भन्नुभयो, “अहिले नगरपालिकाकै सहयोगले पशु व्यवस्थापनमा १२ जना मजदुर राखेर खटिएको छु ।” उहाँले सबै पालिकाले प्रयास नगरेसम्म कञ्चनपुरका छाडा पशु व्यवस्थापन हुन नसक्ने जिकिर गर्नुभयो । “अहिले हाम्रो काञ्जी घरमा साढे चार सयजति छाडा पशु व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि ४० बिघा जमिन ओगटेका छौँ ।”

