काठमाडौँ । तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरेर आफूले जीवनमा भोगेका पीडालाई गीतमार्फत् अभिव्यक्त गर्दै मनाउने गरिन्छ । तर तेस्रोलिङ्गी महिलाले भने आफन्तभन्दा पनि आफ्ना साथीभाइसँग मनाउने गर्छन् तीज । आफन्तको व्यवहारका कारण उनीहरु साथीभाइबीच भेटघाट गरी तीज मनाउने गरेका हुन् । “तीज पर्व आफन्तसँग मनाउन रमाइलो हुन्छ, आमा, दिदीबहिनी भेटघाट गर्दा छुट्टै आन्नद हुन्छ होला”, सिन्धुलीकी रुविना तामाङले भन्नुभयो, “घरपरिवार र समाजले मलाई सहजरुपमा स्वीकार गरेको छैनन्, पहिरन पनि मिल्दैन, सोच मिल्दैन ।” रुविनालाई परिवारसँग भेट्न नपाए पनि आफ्नो खुसीका लागि साथीसँग मिलेर तीज मनाउन राम्रो लाग्छ । “म व्रत बस्छु, पहिला त निराहार बस्थेँ, अहिले फलफूल खाएर बस्छु” उहाँले सुनाउनुभयो, “राम्रो पति मिलोस भनेर व्रत गरेको छु, विधिपूर्वक पूजा गर्छु ।” तेस्रोलिङ्गी महिला सबैले व्रत बस्दैनन् । व्रत बस्दा मन्दिरमा पूजा गर्न सहज पनि छैन । यी समुदायका महिला सुरुमा पुरुष भएर जन्मिएका हुन्छन् । बाबुआमाले छोराकैरुपमा हुर्काएका हुन्छन् । तर हुर्कने, बढ्ने क्रममा आफूलाई छोरीको महसुस गरेर छोरीकै पहिरन लगाउने, छोरीकै हाउभाउ देखाउने र व्यवहार गर्ने गर्दछन् । जन्मँदा छोरा भनेर परिवार र समाजले हेरिरहेको हुन्छ । पछि एकैपटक छोरीका रुपमा समाजले सहजरुपमा स्वीकार्न सक्दैन । “मलाई पनि तीजको दिन माइत जान, दर खान र व्रत बस्न मन लाग्छ, तर त्यो सम्भव छैन”, रुविनाले थप्नुभयो, “साथीभाई भेटघाट गर्न रहर लाग्छ, परिवारले स्वीकार गर्दैन, समाजमा अनेक कुरा गर्दछन्, यसकारण पनि हामी घरमा जादैनौँ ।” “म छोराका रुपमा जन्मिएको हो, पछि किशोर अवस्थामा हुर्कदै जाँदा छोरीको महसुस भयो”, रुविनाले आफ्नो बाल्यकालको कहानी सुनाउँदै भन्नुभयो, “मलाई पनि विवाह होस्, बच्चा होस्, श्रीमान् भन्न पाइयोस् जस्तो लाग्छ, तर सम्भव छैन ।” नेपालको संविधानमा यो समुदायलाई अन्य नागरिकका रुपमा नागरिकता दिने व्यवस्था गरिएको छ । तर कानुन बन्न नसक्दा प्रभावकारी रुपमा त्यो कार्यान्वयन भएको देखिँदैन । “संविधानमा लेखिएपछि निकै आफ्नै पहिचान हुन्छ भनेर खुसी लागेको थियो । तर संविधानमा सीमित भयो”, उहाँले जोड्नुभयो, “कागजमा लेखिएका कुरा कार्यान्वयन भएन ।” यो समुदायलाई तीज र अरु पर्व मनाउन सहरी क्षेत्रमा सहज भए पनि ग्रामीण भेगमा कठिन छ । समाजमा यो समुदायलाई जीवनयापन गर्न पनि कठिन छ । “आफ्नो दिमाग र मन मस्तिष्कले छोरी हो भन्ने महसुस भएपछि मलाई छोराका रुपमा परिवार र समाजमा बस्न मन लागेन”, रुविनाले जीवन कठिन मोडबाट अघि बढेको स्मरण गर्दै सुनाउनुभयो, “छोराले अचानक छोरीको पहिरन, व्यवहार, लजाउने स्वभाव देख्दा स्वीकार गर्न सहज भएन ।” तेस्रोलिङ्गी महिलाले तीज पर्व र अन्य पर्व पनि साथीभाइसँग मिलेर मनाउछन् । सहरी क्षेत्रमा एकाध स्वीकार गरिएको भए पनि धेरैको परिवारले स्वीकार गर्न नसकेको नै गुनासो छ । अधिकांश ग्रामीण भेग र परिवारमा यो समस्या छ । “म पनि आमाकै कोखबाट जन्मिएको हो, हामी छुट्टै ग्रहबाट आएको होइन, आकाश या धर्तीबाट आएको पनि होइन”, तीज पर्वका अवसरमा रुविनाले परिवार, समाज र राष्ट्रसँग आग्रह गर्दै भन्नुभयो, “हाम्रो भविष्य अनिश्चत छ, आफ्नो सन्तान जस्तै हो भनेर सबैले माया र सहयोग गर्न अनुरोध गर्छु ।” घरपरिवार र समाजमा सहज रुविनालाई मात्र होइन महोत्तरीकी नग्मा खानलाई मुस्लिम परिवारमा जन्मिएको भए पनि मस्जिदमा जान प्रतिबन्ध छ । त्यसैले उहाँले हिन्दू महिलाले मनाउने तीज पर्व मनाउनुहुन्छ । “मलाई नमाज पढ्न, रोजा बस्न दिइँदैन, मस्जिदमा जान अनुमति छैन”, उहाँले थप्नुभयो, “मन लाग्यो भने आफूले घरमै बसेर गर्छु, हिन्दू भएर मन्दिरमै गएर पूजा गर्छु ।” नग्माको यादव थरको पुरुषसँग विवाह भएको छ । नग्मा पनि छोरा भएर जन्मिएको हुनाले समाजले छोरीका रुपमा स्वीकार गर्न सकेको छैन । “म पतिका लागि तीजमा व्रत बस्छु, मेरो पति हाम्रो समुदायको होइन, जन्मजात नै पुरुष हो”, उहाँले पतिका बारेमा जानकारी दिँदै भन्नुभयो, “परिवारको आग्रहमा मेरो श्रीमान्ले केटीसँग विवाह गर्नुभएको छ, एक छोरा छ, हामीसँगै बस्छ”, नग्माले एउटा पारिवारिक जीवन बिताउँदै आउनुभएको छ । छोरा पनि साथमा भएकाले परिवार पूरा भएको महसुस उहाँलाई छ । “मलाई माइतीले स्वीकार गरेको छैन, तर श्रीमान्ले परिवारले स्वीकार गरेका छन्, जाने आउने सबै खालको सम्बन्ध छ”, उहाँले थप्नुभयो, “अर्को श्रीमती गाउँमा बस्नुहुन्छ, म सहरमा छु, सबै परिवारलाई जानकारी छ, श्रीमान्कै घरमा गएर बसेर चाडपर्व मनाउँछौँ ।” बेलाबेला उहाँका पतिलाई समाजले नराम्रो तरिकाले भन्ने गरेको सुनाउँदै उहाँ थप्नुहुन्छ, “गाउँमा समाजले तेरो छोरा हिजडासँग बसेको छ भनेर भनिरहन्छन्, त्यो सुनेर उहाँको मन पनि खिन्न हुँदो हो, हामी जुन समुदायमा हुर्किएका छौँ, त्यो समाजले अहिले पनि सहजरुपमा लिन सकेको छैन ।” नग्माको छोराकै नाममा नागरिकता छ । उहाँले एमएसम्म पढ्नुभएको छ । धेरैले बाबुआमाकै नाममा नागरिकता लिएर बसेका छन् । “आफ्नो पतिको लागि भनेर एकदिन व्रत बस्दा राम्रो लाग्छ”, उहाँले थप्नुभयो, “जिन्दगीमा जीवनसाथी महत्वपूर्ण छ, उसको लागि व्रत बस्दा असाध्यै राम्रो लाग्छ ।” नील हीरा समाजका अध्यक्ष पिङ्की गुरुङलाई तीज पर्व आफ्नो समुदायको अधिकारका लागि पनि लड्ने दिनजस्तो लाग्छ । “हरेक वर्ष तीज मनाउँछु, वर्ष दिनमा आउने पर्व परिवारसँग मनाउन पाइँदैन”, उहाँले परिवारको याद धेरै आउने गरेको सुनाउँदै भन्नुभयो, “घरपरिवारको तिर्सना मेटाउन साथी मिलेर मनाउछौँ, समाजले यो समुदायलाई सांस्कृतिरुपमै वञ्चित गरेको छ, यो भन्दा दुःख लाग्छ ।” उक्त समाजको तथ्याङ्कअनुसार नेपामा करिब नौ लाख लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय रहेका छन् । परिवार तथा समाजले सहजरुपमा स्वीकार गर्न नसकेका कारण उनीहरु खुलारुपमा बाहिर आउन नसकेको अध्यक्ष गुरुङको भनाइ छ । सो समाजका २५ जिल्लामा कार्यालय छन् । ती सबै कार्यालयमा तीज कार्यक्रम मनाउने तयारी छ । “हरेक वर्ष काठमाडौँमा कार्यालयमै तीज मनाउने गरिन्थ्यो, अहिले धेरै छौँ”, उहाँले थप्नुभयो, “यो वर्ष गैरीधारास्थित सिल्भर ओक भोजमा कार्यक्रम गर्ने तयारी छ ।” उहाँका अनुसार उक्त समुदायको तीज कार्यक्रममा उत्कृष्ट नृत्य, हास्य नृत्य, उत्कृष्ट पहिरन, उत्कृष्ट हिँडाइलाई पुरस्कार प्रदान गरिन्छ । अध्यक्ष गुरुङका अनुसार कसैलाई पनि पर्वमा परिवारको सम्झनामा पीर मानेर बस्नु नपरोस् भनेर कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त समदायले १७ वर्षदेखि तीज कार्यक्रम मनाउँदै आएको छ । नील हीरा समाजका कार्यक्रम निर्देशक सञ्जय शर्माका अनुसार जन्मँदै छोरा तर हुर्कदै बढ्दै जाँदा छोरीको महसुस गर्ने तेस्रो लिङ्गी महिलाले तीज पर्व मनाउनहुन्छ । जन्मँदा छोरी भएर जन्मने तर हुर्कने बढ्ने क्रममा छोरा व्यवहार देखिनेले व्रतबन्ध गर्ने, बाबुआमाको काजकिरिया गर्ने गर्नुहुन्छ । यो वर्ष तीज कार्यक्रममा उक्त समुदायका चार सय महिला सहभागी भएर तीज मनाउने कार्यक्रम छ । उक्त समाजले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि काम गर्दै आएको छ । नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिमा पनि विशेष गरी तेस्रोलिङ्गी वर्गको हकअधिकारका लागि काम गर्न स्थापना गरिएको हो । विविध लैङ्गिकता र यौनिकताका व्यक्तिविरूद्ध विद्यमान कानुनमा परिवर्तनको पक्षमा वकालत गर्न सन् २००१ मा स्थापित भएको थियो । समाजले विविध लैङ्गिक र यौनिकताका व्यक्तिको निम्ति मैत्रीपूर्ण यौन स्वास्थ्यसम्बन्धी शिक्षा दिने, सरकारसँग वकालत गर्ने, युवाको कलात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्ने र हिंसाको अभिलेख राख्ने उद्देश्य रोखेको छ । यो समुदायबाट सुनिलबाबु पन्त र भूमिका श्रेष्ठले कानुन बनाउने निकायमा समेत नेतृत्व गरिसक्नुभएको छ । सर्वोच्च अदालतमा यौनिक तथा अल्पसङ्ख्य समुदायका सदस्यलाई भेद्भाव हुने गरी बनाएका कानुन खारेज गर्न आदेश दिएको थियो । नेपालको संविधानको धारा १२ मा वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता प्रदान गर्ने व्यवस्था गरेको थियो । तर त्यसअनुरुप कानुन बन्न सकेको छैन । एकाध व्यक्तिले बाहेक अरुले नागरिकता प्राप्त गर्न सकेका छैनन् । उनीहरुमाथि हुने असमान व्यवहार र दुव्र्यवहारमा भने कमी नभएको उक्त समुदायका सदस्यको भनाइ छ । तीज पर्व यो समुदायका महिलाको हक अधिकारका लागि पनि मनाइने गरिन्छ । आफूले भोग्नुपरेका समस्यालाई चिर्दै अधिकार प्राप्तिको अभियानसँगै जोडेर मनाउने गरेको समाजकी अध्यक्ष गुरुङको भनाइ छ । “तीजपर्व सशक्तीकरण र नारी आवाजलाई बुलन्द गरी मनाउने पर्व हो”, समाजकी अध्यक्ष गुरुङले भन्नुभयो, “हाम्रो समुदायको अधिकार प्राप्तिका लागि खबरदारी अभियानका रुपमा हामीले मनाउने गरेका छौँ ।” अध्यक्ष गुरुङ पनि जन्मँदा पुरुष भएर जन्मिएर हुर्कंदै बढ्दै जाने क्रममा छोरी हुनुभएको हो । “हुर्कंदै÷बढ्दै जाँदा मलाई महिलाको अनुभव हुन थाल्यो, आफ्नै उमेरका केटी तीजको व्रत बस्थे, म शारीरिकरुपमा केटाजस्तो देखिन्थे”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “मेरो भावनालाई समाजले बुझ्दैनथ्यो, अहिले म निर्धक्क व्रत बस्छु, केटीकै कपडा लगाएर हिँड्छु ।”
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् । केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए । बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।
काठमाडौँ । हिन्दू धर्मावलम्बी नारीको महान् पर्व हरितालिका तीजमा कैयौँ महिलाले रमाइलो गरिरहँदा देशका लागि पसिना बगाउने कतिपय खेलाडी भने यतिबेला प्रशिक्षणमा व्यस्त छन् । घरपरिवार, इष्टमित्र, साथीसङ्गीसँग रमाउने रहर हुँदाहुँदै पनि देशको प्रतिष्ठा जोगाउनकै लागि पनि यतिबेला खेलाडी हरेक दिन मेहनत गरिरहेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विगतका केही वर्ष तीज मनाउन नपाएका खेलाडीका लागि यसपटकको तीज पनि यस्तैयस्तै हुन पुगेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्री भण्डारी (साम्बा) ले तीज पर्वमात्रै नभइ चाडपर्व नै बिर्सिसकेको बताउनुभयो । “खेल क्षेत्रमा आएको सुरुसुरुको वर्षमा परिवार साथीसङ्गी निकै मिस हुन्थ्यो तर अब त इज टु भइसकेको छ, खेलाडीका लागि चाडपर्वभन्दा पनि खेल नै ठूलो हो”, भण्डारीले भन्नुभयो । फुटबलका प्रायः सबै खेलाडीको भनाइ यस्तै नै रहेको छ । चाडपर्वभन्दा पनि उनीहरुको मुख्य प्राथमिकता खेल नै रहेको देखिन्छ । राष्ट्रिय फुटबल टोलीका टिम म्यानेजर विन्द्रा देवानले खेलाडी क्लोज क्याम्पमा भएका कारण यसपटकको तीजमा महिला खेलाडीलाई घर पठाउन सम्भव नभएको बताउनुभयो । उहाँले नजिकिँदै गरेको महिला साफ च्यापियनसिपका कारण पनि खेलाडीलाई तीज मनाउनकै लागि भनेर घरमा पठाउन नसकिएको बताउनुभयो । “नेपाली महिलाको महान् पर्व तीज हो, हामी प्रशिक्षणकै दौरानमा खेलाडीसँग शुभकामना आदान प्रदान गर्नेछौँ, खेलाडीमात्र नभई महिला प्रशिक्षकलाई पनि तीज पर्वले छोएको छैन”, उहाँले भन्नुभयो । तीज पर्वभन्दा पनि खेल क्षेत्रबाट नेपालको नाम कसरी उच्च बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित रहेको नेपाली राष्ट्रिय फुटबल टोलीकी सहायक प्रशिक्षक कमला खरेलले बताउनुभयो । उहाँले यसअघिका वर्षमा भने तीज मनाउँदै आउनुभएको थियो तर यसपटक भने उहाँको तीज खेलाडीसँग बित्नेछ । “अघिल्ला वर्षमा परिवार साथीसँग जमघट गरेर तीज मनाउँदै आउने गरेको थिएँ तर यसपटक साफ च्याम्पियनसिपमा नेपालले कसरी गोल्डमेडल भित्र्याउन सक्छ भने विषयमा नै मेरो ध्यान छ”, उहाँले भन्नुभयो । उहाँले साफ च्याम्पियनसिपमा प्रायः दोस्रो बन्दै आएको नेपाललाई यसपटक भने पहिलो बनाउने उदेश्यका साथ अभ्यास गरिरहेको बताउनुभयो । तीज पर्वभन्दा पनि घरेलु मैदानमा लगातार दोस्रोपटक आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने उदेश्यका साथ महिला खेलाडी प्रशिक्षणमा व्यस्त देखिन्छन् । सन् २०१९ मा भएको अघिल्लो संस्करणको साफ नेपालले विराटनगरमा आयोजना गरेको थियो । त्यतिबेला पनि नेपाल दोस्रो नै भएको थियो । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले यही भदौ २१ देखि असोज ३ गतेसम्म साफ च्याम्पियनसिप खेल्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्यापियनसिपमा आयोजक नेपालसहित भूटान, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भारत र माल्दिभ्सको टोली सहभागी हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउन भूटानी टोली भने नेपाल आइपुगिसकेको छ । नेपाली टोलिमा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर र उषानाथ छन् । डिफेन्डरमा हीराकुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्घामगर, निशा थोकर, समीक्षा घिमिरे र विमला विक छनोट भएका छन् । मिडफिल्डरमा विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत र अनिता केसी छन् भने फरवार्डमा सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल र रश्मिकुमारी घिसिङ छन् । फुटबल मात्र नभइ अन्य खेलका महिला खेलाडीलाई पनि तीज लागेको छैन । उनीहरुले तीज पर्वभन्दा पनि खेल पर्व नै ठूलो मानिरहेको देखिन्छ । अहिले विभिन्न खेलका महिला खेलाडी नवौँ राष्ट्रिय खेलको तयारीमा जुटिरहेका छन् । सागमा लगातार दुई स्वर्ण पदक हात पार्ने उसु खेलाडी निमा घर्तीमगर तीज मनाउनुभन्दा पनि प्रतियोगितामा कसरी स्वर्ण जित्न सकिन्छ त्यसतर्फ उहाँको ध्यान केन्द्रित भएको देखिन्छ । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलका लागि उहाँ अहिले बिहान बेलुका नभनि तालिममा व्यस्त हुनुहुन्छ । तीजको खासै चासो नराख्ने उहाँलाई तीज कसरी मनाइन्छ भन्ने थाह नै छैन र हालसम्म उहाँले तीज मनाउने गर्नु नै भएको छैन । तीज पर्वमा खासै चासो नरहेको उहाँले हरेक खेलमा आफ्नो पफमेन्स कसरी राम्रो गर्न सकिन्छ भन्नेमा आफनो ध्यान केन्द्रित रहने बताउनुभयो । बाह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा १६ वर्षकै उमेरमा उहाँले नेपाललाई स्वर्णपदक दिलाएर नेपाली खेलप्रेमीलाई खुसी प्रदान गर्नुभएको थियो । उसुमा दुई स्वर्ण जित्ने निमा हालसम्म एक्ली खेलाडी हुनुहुन्छ । नेपालमा नै आयोजना भएको तेह्रौँ सागमा उहाँले उसुको नानछ्वानमा कुल २० मा १८ दशमलव ९१ अङ्क स्कोर गर्नुभएको थियो । १२ औँ सागमा स्वर्ण जित्दा उहाँको स्कोर १६ दशमलव ९१ थियो । निमाले भन्नुभयो, “फेरि पनि आफनो इफोर्ट स्वर्ण पदकै लागि हुनेछ ।” नजिकिँदै गरेको नवौँ राष्ट्रिय खेलको तयारीका लागि चेस खेलाडीले पनि जमघट गरेर तिज मनाउन पाएनन् । चेस खेलमा सर्वाधिक सफलता हासिल गर्नुभएकी खेलाडी मोनालिसा खम्बुले पनि औपचारिकरुपमा तीज पर्व मनाउने गर्नुभएको छैन । आफू किरात समुदायमा रहेकाले औपचारिक तीज नमनाए पनि विभिन्न सङ्घसंस्थाले मनाउने गरेको तीज कार्यक्रममा भने उहाँले सहभागिता जनाउने गर्नुभएको छ । तीजमा स्पेसली खाने र नाच्ने कार्यक्रममा मात्र नभइ महिला सशक्तीकरणमा सबैले जोड दिन आवश्यक रहेको चेस खेलाडी मोनालिसाले बताउनुभयो । त्रिभुवन आर्मी क्लबमा चेस खेलको व्यवस्थापकको जिम्मेवारी सम्माल्नुभएको उहाँले यसपटकको तीजमा खेलाडीलाई तिजको लागि भनेर घर नपठाएको बताउनुभयो । उहाँका अनुसार आर्मीले केही दिनअघिमात्र औपचारिक कार्यक्रमको आयोजना गरेर महिला खेलाडीलाई दर खुवाएको थियो । मोनालिसा नेपालको पहिलो राष्ट्रिय महिला चेस च्याम्पियनका साथै अन्तर्राष्ट्रिय चेसमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो महिला खेलाडीसमेत हुनुहुन्छ । उहाँ चेस सङ्घको सचिवका साथै नेपालको पहिलो महिला अन्तर्राष्ट्रिय चेस आर्विटसमेत हुनुहुन्छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण अधिकांश खेलका महिला खेलाडी क्लोज क्याम्म नै व्यस्त छन् । तीज पर्वभन्दा पनि आफ्नो टोलीलाई कसरी पहिलो बनाउन सकिन्छ र खेलमा राष्ट्रिय कीर्तिमान कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा खेलाडीको ध्यान केन्द्रित भएको छ । फेरि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले एशियाली खेलकुद (एसियाड) मा सहभागिताको मौका पाउने हुँदा पनि खेलाडीलाई चाडपर्वभन्दा पनि आफनो पफमेन्स नै महत्वपूर्ण रहेको छ ।
चितवन । तीज आउन एक महिनाअघिदेखि गाउँघरदेखि सहरसम्म दर खाँदै रमाइलो गरिरहेका छन् आमा दिदी बहिनी । नारायगढ बजार आसपासका सहरी क्षेत्रका होटल रेष्टुरेन्टमा तीजका कार्यक्रम धुमधाम चलिरहेका बेला नजिकै रहेको देवघाटधामको वृद्धाश्रममा रहेका आमा भने तीज सम्झेर मात्रै बसिरहनुभएको छ । अरु समयमा भन्दा ती आमाहरुलाई तीजले निरास बनाउने गर्छ । तीजमा घरमा चेलिबेटी बोलाएर रमाइलो गरेको र आफैँ पनि माइत गएको स्मरण उहाँहरुलाई भईनै रहन्छ । आज दरखाने दिन विगत सम्झँदै उहाँहरुलाई थप भावुक बनाउने गर्दछ । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाजकल्याण केन्द्र (वृद्धाश्रम) मा आश्रित भइरहनुभएकी मकवानपुर भीमफेदीकी ८८ वर्षीया सुभद्रा पुडासैनीले अरु बेलाभन्दा चाडपर्वका बेला बढी पोल्ने गरेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “दुःख पर्दा र चाडपर्व आउँदा आफन्त कोही हुँदैन । सम्झेर मात्रै बस्ने हो”, पहिले पहिले छोरी र इष्टमित्रलाई बोलाएर दर खुवाएको सम्झँदै उहाँले भन्नुभयो, “अहिले त मलाई तीज सुन्दा पनि नरमाइलो लाग्छ ।” कान सुने पनि आँखा नदेख्ने भएकाले संसार अँध्यारो भए जस्तै लाग्ने उहाँको भनाइ छ । दुखेसो गर्दै पुडासैनीले भन्नुभयो, “अब मैले जे भोगिरहेको छु, मेरा सन्तानले यस्तो भोग्न नपरोस् ।” एक छोरी मात्रै भएकी पुडासैनीका श्रीमान् पहिल्यै बितेपछि रेखदेख नपाएर उहाँ वृद्धाश्रममा आइपुग्नुभएको हो । छोरी र नातिनातिनाले भेट्ने त कुरै छोडौँ फोनसमेत नगर्ने दुखेसो उहाँको छ । सोही वृद्धाश्रममा रहनुभएकी सिन्धुलीकी ७२ वर्षीया लक्ष्मीमाया श्रेष्ठ विगत नौ वर्षदेखि चाडपर्व आउँदा निरास भएर यही बसिरहनुभएको छ । उहाँले विगतको स्मरण गर्दै भन्नुभयो, “हाम्रो जातिले तीज नमनाउने भए पनि रमाइलो हेर्न गइन्थ्यो ।” खानपिनमा रमाउने गरेको विगतलाई सम्झँदै उहाँले अहिले कारागारमा बसेजस्तै भएको गुनासो गर्नुभयो । उहाँले थप्नुभयो, “अरु बेला जेनतेन ठिकै हुन्छ, चाडपर्वमा निकै नरमाइलो लाग्छ ।” श्रीमान् सानैमा बितेपछि दाजुभाउजुले नहेरेर विरक्तिँदै वृद्धाश्रम आइपुग्नुभएकी श्रेष्ठ तीजसँगै पर्व आउने भएकाले अबका दिनले घर सम्झाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ जे छ, त्यसैमा रमाउनुबाहेक केही छैन ।” लमजुङकी ७१ वर्षीया शान्ति घिमिरे श्रीमान्सँगै आश्रममा बस्दै आउनुभएको छ । सन्तान नभएका उहाँहरुको बुढेसकालसँगै वृद्धाश्रममा बितिरहेको छ । उहाँले भन्नुभयो, “हरेराम भन्दै भगवान्को नाम जपेर चाडपर्व मनाउँछौँ । आफन्त कोही छैनन्”, उहाँले थप्नुभयो, “तीजमा रमाइलो गर्ने र रमाइलो हेर्ने हाम्रा दिन गए ।” पाल्ने मान्छे नभएर वृद्धाश्रम आएका आफूहरुलाई पर्वको खासै मतलब नहुने गरेको उहाँको भनाइ छ । सँगसँगै रहेका एकअर्काले विगतका पीडालाई साटासाट गरेर चित्त बुझाउने गरेको उहाँ बताउनुहुन्छ । पोखराकी दुर्गा लामिछाने अहिले ७३ वर्षमा हिँडिरहनुभएको छ । परिवारमा कोही नभएपछि आठ वर्षदेखि उहाँ यहाँ हुनुहुन्छ । अविवाहित लामिछानेको बुबाआमा बितेपछि साहाराविहीन भएर यहाँ आइपुग्नुभएको हो । उहाँले गहँभरि आँसु पारेर भन्नुभयो, “तीज भन्नेबित्तिकै आमा, आफन्तलाई सम्झना हुन्छ”, उहाँले थप्नुभयो “अब त मीठोचोखो खान पनि स्वास्थ्यले साथ दिदैन, चाडपर्व नआइदिए हुन्थ्यो भन्ने लाग्छ ।” वृद्धाश्रममा ३३ वृद्धवृद्धा छन् । सरकारले सञ्चालन गरेको भए पनि वृद्धाश्रममा रहेकालाई वर्षभरि नै दाताहरुले विभिन्न अवसरमा सहयोग गर्ने गरेका छन् । जन्मदिन, विवाहको दिन, पुण्य तिथि पारेर खान खुवाउने, कपडा दिने गरेका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरे पर्वका अवसरमा घर सम्झना नआउने गरी विशेष खानपानको व्यवस्था गर्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वृद्धवृद्धाको स्वास्थ्यलाई हेरेर पर्वमा विशेष खानाको व्यवस्था गर्दछौँ ।” यहाँ जतिसुकै राम्रो गरे पनि तीजमा आमाहरुलाई घर र माइतीको सम्झना भने आई नै रहने गरेको उहाँको भनाइ छ ।
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभएको छ । सभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भन्नुभयो, “आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय नागरिक मत हाल्नबाट बञ्चित भएका छन् त्यसको उचित व्यवस्थापन गर्नुपर्छ सरकारले ।” सांसद डा डिला सङ्ग्रौला पन्तले महिला प्रत्यक्ष निर्वाचन लड्न सक्षम भएको भन्दै राजनीतिक दलले महिलालाई निर्वाचनका लागि टिकटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद दीलकुमारीले नागरिकताका विषयलाई जतिसक्दो चाँडो टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो । सांसद दीपक प्रकाश भट्टले शैक्षिक क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्ने माग गर्नुभयो । सांसद नारायणप्रसाद खतिवडाले पासाङल्हामु राजमार्गलगायत मुलुकका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पार्वतीकुमारी विसङ्खेले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचन पूर्ण समानुपातिक हुनुपर्नेमा जोड दिनुभयो । सांसद प्रेम सुवालले त्रिभुवन विश्वविद्यालयमा तीन वर्षयता तीन सय दिन तालाबन्दी भएको उल्लेख गर्दै समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले निर्वाचन घोषणा भइसकेपछि पनि संसद् सञ्चालन गर्न नहुने भन्दै संसद्को अन्त्य गरिनुपर्ने माग गर्नुभयो । सांसद डा विजय सुब्बाले साझा प्रकाशनलाई व्यवस्थित गर्दै अगाडि बढाउनेबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा पुष्पाकुमारी कर्ण कायस्त, पार्वता डिसी चौधरी, नवराज सिलवाल, दलबहादुर राना, दिव्यमणि राज भण्डारीले महँगी र भष्टाचारलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि कास्की जिल्ला भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट सम्पन्न गरेको छ । कास्की जिल्ला भलिबल संघले महिला र पुरुषतर्फ ९–९ जना खेलाडीसहित ४–४ जना बैकल्पिक खेलाडी रहेका छन् । छनोट खेलमा पुरुषतर्फ ३२ र महिलातर्फ २१ खेलाडीको सहभागिता रहेको संघका अध्यक्ष विष्णु गुरुङले जनाएका छन् । पुरुषतर्फ छनोट हुन सफल खेलाडीमा बलराम गुरुङ, विवेक सुनार, रमेश गुरुङ, आकाश घमाल, अमिश गुरुङ, पारसमान गुरुङ, सचिन नेपाली, सन्जोक गुरुङ र ज्ञानु परियार छन । पुरुष वैकल्पिकतर्फ बेल बहादुर परियार, विश्वास विक, मिलन विक र निरज घमाल रहेका छन् । त्यसै गरी महिलातर्फ ममता डंगौरा, सम्पदा गुरुङ, गंगा गुरुङ, क्रिश्चल बराम, जमुना गुरुङ, निशा भुजेल, सविना पौडेल, प्रमिला अधिकारी र अन्शु थापा रहेका छन् । महिलातर्फ वैकल्पिक खेलाडीमा रमिला नेपाली, विपना नेपाली, अनिशा हर्मेल र सलिना गुरुङ रहेका छन् । छनोट हुन सफल खेलाडीहरुले भदौ १६ गतेबाट पोखरा रंगशालामा सञ्चालन हुने प्रदेशस्तरिय छनोट प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुदकी कोषाध्यक्ष कन्चन थापाले जनाएकी छन् । कास्कीमा छनोट प्रक्रिया यहि १४ गते सम्पन्न हुनेछ । यति बेला विभिन्न खेलकुदको छनोट प्रक्रिया जारी रहेको जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा चुनावी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानललाई नव आदर्श सामुदायिक विकास समाजले सहयोग गर्ने भएको छ । घरदैलो कार्यक्रम अन्तर्गत समाजको आयोजनामा चलिरहेको लामाचौर तीज मेलामा पुगेको पोखरेल प्यानल टिमलाई सहयोग गर्ने जनाएको हो । पोखरेलको प्यानललाई जिताउन नव आदर्शबाट हुने सहयोगमा कुनै कन्ज्यूसाई नगर्ने समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले जानकारी दिईन् । ‘यो प्यानललाई जिताउन हामीले हाम्रो संस्थाले सक्दो सहयोग गर्नेछौं,’ उनले भने, ‘हाम्रो समाजमा आवद्ध उद्योग वाणिज्यका सदस्यहरुलाई सहयोगका लागि भन्नेछौं ।’ समाजका पूर्वअध्यक्ष नविन भण्डारीले आफूहरुको आयोजनामा मेला भईरहेकाले सँगसँगै हिड्न नसकेपनि नैतिक रुपमा समर्थन रहने बताए । निर्वाचनमा आफूहरुले साथ दिएजस्तै जितिसकेपछि पनि लामाचौरका उद्योगी व्यावसायीहरुको समस्यामा साथै रहन उनको आग्रह थियो । लामाचौर क्षेत्रमा ट्रान्सपोर्टको समस्या रहेको उनले सनाए । साथै पछि मनोनीत सदस्य राख्ने बेलमा भेग हेरेर राख्न उनको सुझाव थियो । लामाचौर र बाटुलेचौरको घरदैलो कार्यक्रम सकेर टोली पोखरा ट्रेड मल पुगेको थियो । मलका प्रवन्ध निर्देशक मिनराज काफ्लेले पोखरा उद्योग वाणिज्य संघको समस्या सम्बन्धीत ठाउँमा निर्धक्क राख्न सक्ने खुबी भएका पोखरेल प्यानलमा रहेको बताए । यसले गर्दा उद्योगी व्यावसायीको समस्या छिटो समाधान हुन सक्ने उनको आंकलन थियो । नयाँ र पुराना पुस्तालाई समेट्दै जानस सक्ने खुवी पनि पोखरेल प्यानलमा देखेको उनले बताए । दैनिक जीवनमा आइपर्ने समस्यालाई नीतिगत रुपमै समाधान गर्ने गरी कर प्रणालीमा सुधार गर्दै संस्था चलाउनुपर्ने उनको सुझाव थियो । पोखरा ट्रेड मलको चुनावी कार्यक्रम सकेर पोखरेलको प्यानल सिमपानी, हरिचोक, ट्याक्सीचोक, हनुमान गल्लि पुगेको थियो । सबै ठाउँका मतदाताले युवाको नेतृत्वमा सबै उमेर समुहलाई समेटेको परिपक्व टिम भएकाले जित्ने निश्चित रहेको प्रतिक्रिया दिएका थिए । सभेन स्टार स्काई इन्टरनेशल प्रालिका निर्देशक पोखरेलको टिम सक्षम रहेको प्रतिक्रिया दिए । ‘यो टिममा नयाँ तथा पुराना सक्षम व्याक्तिहरु छन्,’ उनले भने, ‘सबै भोटका कुरा हुन् तर सक्षम मतदाताहरुले सक्षम व्याक्तिहरुलाई रोज्छन भन्नेमा ढुक्क छु ।’
पोखरा । पोखराको लामाचौरमा जारी तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि गण्डकी प्रदेशले रोमाञ्चक जित निकालेको छ । गण्डकी प्रदेशले लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको हो । गण्डकीले आर्मीमाथि ३–२ को रोमाञ्चक सेटमा जित निकाल्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हार बावजुत आर्मी समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । गण्डकीले आर्मीमाथि झन्डै दुई वर्षपछि जित निकालेको हो । गण्डकीले आर्मीलाई पछिल्लोपटक २०७७ मा पोखरामा भएको टाइगर कप भलिबलको फाइनलमा हराउँदै उपाधि जितेको थियो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पहिलो सेट गण्डकीले १९–२५ ले गुमाएको थियो । दोस्रो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पारेपछि गण्डकी खेलमा फर्किने संकेत दिएको थियो । तेस्रो सेट २०–२५ ले गुमाएको गण्डकीले त्यसपछिको दुवै सेटमा २५–२३ र १७–१५ ले जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा गण्डकीले २०–२३ को स्थिति उल्ट्याएर लगातार ५ अंक जोड्दै जित निकाल्न सफल भएको थियो । निर्णायक तथा पाँचौ सेटमा गण्डकीले एक समय ८–४ को आरामदायी अग्रता लिएपनि आर्मीले पूनरागमन गर्दा खेल रोमाञ्चक बन्न पुग्दा तीन पटकको सेट प्वाइन्टमा जित निकाल्न सफल भयो । गण्डकीका घनश्याम चौधरी प्लेयर अफ दि म्याच घोषित भए । आर्मी र गण्डकीबीचको खेल शनिबार नै हुनुपर्ने भएपनि वर्षाले प्रभावित बन्दा शनिबार र आइतबार एक–एक सेटपछि लाइट प्रोटेस्टका कारण खेल स्थगित भएको थियो । शनिबार आर्मीले ३१–२९ को सेटमा जित निकाल्दा आइतबार गण्डकीले २५–१९ को सहज जित निकालेको थियो ।
बझाङ । सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’ । यी लेखिएका शब्द पनि मुश्किलले पढ्न सकिन्छ । शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । अझभन्दा ध्रुमपान सेवनकर्ताको खुला डस्बिन नै । शौचालयको अगाडिपट्टि झुण्याइएको ऐना धमिलिएको छ । हेरिहाले पनि अनुहारै नदेखिने । ‘शौचालय फोहोर नगरौँ’ लेखिएका पोष्टर झुण्डिएको देख्न सकिन्छ । छ वर्षभन्दा अघि जयपृथ्वी नगरपालिकाले बनाएको सार्वजनिक शौचालय यस्तो अवस्था छ । नागरिक सैनिक सहयोग (सीआइएमआइसी) कार्यक्रमअन्तर्गत नेपाली सेना, शत्रुमर्दन गुल्म र जयपृथ्वी नगरपालिकाको संयुक्त लगानीमा २०७३ जेठ १० गते सो शौचालयको शुभारम्भ गरिएको थियो । सुरुआती समयमा शौचालय निर्माणले निकै श्रेय बटुलेको थियो । नगरपालिकाले शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफै फोहर बनेको हो । शौचालय भवन नजिकै पसल सञ्चालन गरेका एक पसले भन्नुहुन्छ, “नगरपालिकाले सुरुसुरुमा त शौचालयको रमझम नै गरेको थियो । अहिले भने वार्षिकरुपमा पनि खुल्छ कि खुल्दैन । थाहै हुँदैन । जहिल्यै बन्द देखिन्छ । शौच गर्न खोज्ने खाजा खाने बहाना गर्दै होटलको शौचालय प्रयोग गर्छन् ।” सो नगरपालिकाले सिमखेतसहित अन्य दुई ठाउँमा शौचालय निर्माण गरेको छ । बाहुलीगाडको छेउमा नयाँ बन्न लागेको बसपार्कमा र चैनपुरको खुलामञ्चमा सार्वजनिक शौचालय निर्माण गरेको हो । चैनपुरस्थित खुलामञ्चमा रहेको शौचालय वरिपरि त शौच गरेर हिँड्नै नसकिने अवस्था छ । “शौचालय खोज्ने तथा घुम्न जाने पनि शौचालयको पछाडिपट्टि शौच गर्छन्”, खप्तडछान्नाका कुलप्रसाद जोशी भन्नुहुन्छ, “कहिलेकाहीँ साँझपख खुलामञ्चतिर घुम्न गइन्थ्यो । अहिले त त्यहाँ नजिक दुर्गन्धले जानै सकिन्न ।” उहाँले नगरपालिकाले कसैको जिम्मामा दिएर शौचालय प्रयोगको शुल्कसहित तोकेर सञ्चालन गर्न सकिने बताउनुभयो । “नगरपालिकाले चाह्यो भने कसैको जिम्मा दिएर पनि चलाउन सक्थ्यो तर, त्यतातिर ध्यान गएको देखिँदैन ।” उहाँले भन्नुभयो । नगरपालिकाले बनाएको शौचालय प्रयोगविहीन अवस्थामा छन् । सुरुमा उद्घाटन गर्दासम्म निकै प्रचार हुने तर त्यो प्रचार लामो समयसम्म टिक्दैन । जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल भने नगरले बनाएका सार्वजनिक शौचालयको बारे जानकार हुनुहुन्न । उहाँले भन्नुभयो, “शौचालय अहिले कुन ठाउँमा कस्तो अवस्थामा छन् भन्ने मलाई यकिन जानकारी छैन । यो विषयमा केही दिनपछि अध्ययन गरेर मात्रै भन्न सक्छु ।” नगरपालिकाका सूचना अधिकारी लालबहादुर थापा नगरपालिकाले बनाएका सार्वजनिक शौचालय प्रयोगमा रहेको दाबी गर्नुहुन्छ । “नगरपालिकामा भएका सबै शौचालय अहिले पनि सुचारु अवस्थामै छन्”, उहाँ भन्नुहुन्छ, “अहिले भएका सञ्चालनमै छन् बाँकी शौचालय आवश्यकताअनुसार नगरपालिकाले थप्न सक्छ ।” उहाँले अहिलेसम्म सर्वसाधारणलाई सार्वजानिक शौचालयमा शौच गर्न कठिनाइ नभएको दाबी गर्नुभयो । बुङ्गल नगरपालिकाको कार्यालयभन्दा १० मिटर टाढा सार्वजनिक शौचालय छ । नगरपालिकाकै लगानीमा बनेको उक्त शौचालयको वरिपरि भने झार उम्रिएर ढोकासमेत नदेखिने अवस्थामा छ । सिस्नोको झाडीले छोपिएको शौचालय वर्षौं पुरानोजस्तो देखिन्छ । नगरपालिका कार्यालयको छेउमै खोला पारिपट्टि शौचालय बनाएपछि जग्गा विवाद हुँदा प्रयोगविहीन भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख जयबहादुर धामीले अहिले नगरपालिकाले सार्वजनिक शौचालय नबनाएको र अब आवश्यकताअनुसार बनाउने जानकारी दिनुभयो । “अहिले हामीसँग सार्वजनिक शौचालय छैन । पहिले बनाएको शौचालय जग्गा विवाद हुँदा खासै प्रयोगमा आएन ।” उहाँले भन्नुभयो । शौचालय कहिलेकाहीँ त सर्वसाधारणले प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “यो शौचालय पनि पूर्णरुपमा बन्द भएको त होइन । कहिलेकाहीँ जो कोहीले पनि प्रयोग गर्छन् । अब आवश्यकताअनुसार सार्वजनिक ठाउँमा सार्वजनिक शौचालय बनाउँछौँ ।” नगरपालिकाका मुख्य–मुख्य ठाउँमा आवश्यकता अनुसार सार्वजनिक शौचालय बनाउने सोच बनाएको नगरप्रमुख धामीले जानकारी दिनुभयो । “बुङ्गलमा नयाँ जनप्रतिनिधि आइसकेपछि जनताको आवश्यकताअनुसार शौचालयमात्रै नभई हरेक काम गर्नेछौँ । अहिले पनि त्यसैका लागि लबिङ गरिरहेका छौँ ।” बुङ्गल र जयपृथ्वीमा मात्र नभई हरेक पालिकाका सहरमा कतै विद्यालयका शौचालय प्रयोग गर्ने त कतै खोलामा सर्वसाधारणले शौच गर्ने गरेका छन् । सरसफाइ गर्न राष्ट्रिय दिवस बझाङमा मात्रै नभई मुलुकका अधिकांश सहरमा व्यवस्थित शौचालयको सुविधा छैन । बाहिर निस्कन पर्दा एकफेर घरको शौचालयमा शौच गरेर जाने धेरैको बानी छ । सार्वजनिक शौचालयको अभावमा कतिपयले खाजा खाने बाहानामा होटलका शौचालय प्रयोग गर्ने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले सरसफाइ बढाउन तथा चेतना फैलाउन हरेक वर्ष शौचालय दिवस मनाउने गरेको छ । सन् २०३० सम्म दीर्घकालीन विकासको लक्ष्यमा पुग्न सङ्गठनले हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवससमेत मनाउने गरिन्छ । संसारका हरेक बासिन्दालाई सरसफाइका स्रोत र सुविधा पुर्याउन दिवस मनाउँदै आएको हो । नेपाललाई ०७६ असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिसकिएको छ तर शौचालय प्रयोग भने प्रभावकारीरूपमा हुन नसकेको सरोकारवाला बताउँछन् । नेपालमा हेर्ने हो भने अहिले पनि विकसित सहरमा समेत शौचालय प्रयोगपछि पानी हाल्नुपर्ने सूचना टाँस गरेका भेटिन्छन् । सार्वजनिक शौचालयमा मात्रै नभई होटलका शौचालयमा पनि त्यस्तै सूचना टाँस गरेका भेटिन्छन् । अहिले पनि पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देश लेखिनुले एउटा सभ्यता पातलिँदै गएको बुझिन्छ । सङ्गठनले अहिले पनि विश्वभर करिब अढाइ अर्ब मान्छेले शौचालय प्रयोग नगरेको तथ्याङ्क सार्वजनिक गरेको छ । सङ्गठनले गरेको सर्वेक्षणअनुसार विश्वभर करिब करिब १० जनामध्ये एक जनाले अझै पनि शौचालयमा शौच गर्ने विकल्प पाएको छैन । सङ्गठनका अनुसार विश्वमा दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर छन् । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौँको ज्यानसमेत जाने गरेको छ ।

