पोखरामा अनलाइन जुवासँगै ‘बेटिङ': ब्यूरोलाई थाहा छ तर ... !
पाेखरा | मंसिर १८, २०७९

शनिबार राति ब्राजिल र क्यामरुनबीचको खेल चलेपछि १ काे ३ पाउने अनुपातमा क्यामरुनको पक्षबाट बाजी थापेका करन जेड*ले जितेपछि आफुले बाजी थपेको रकमको तीन गुणा पैसा हात पारे । बाजी जितेपछि उनको सर्कलले थाहा नपाउँने कुरै भएन ।
साथीहरुलाई बिहानको कफी र ब्रेकफास्ट करन जेडले खुवाए । उनका साथीहरु ब्राजिलको स्वभाविक समर्थक भएकाले हारपछि बाजीको रकम गुमाए ।
उल्लेखित घटना अनलाइन बाजी थाप्नेहरुमध्येको एक प्रतिनिधि उदाहरणमात्र हो ।
हालै अष्ट्रेलियामा सम्पन्न टि–२० क्रिकेट विश्वकपमा पनि पोखरामा अनलाइन बेटिङ् चलेको थियो । जहाँ इ–वालेटमा रकम जम्मा गरेपछि बेटिङ् साइटमा गएर बाजी लगाउन सकिन्छ ।
सामान्यतयः कमजोर आँकिएका टिमको पक्षमा बाजी राख्नेलाई लगानीको दुई गुणादेखि बढी रकम दिने अफर राखिन्छ । न्यू मिडियाको व्यापकतासँगै पोखरामा पनि युवापुस्ता बेटिङ्मा दिनरात व्यस्त हुने गरेको पाइएको छ ।
जुवा वा बाजीको शैलीमा खेल्ने र खेलाइने अनलाइन बेटिङ् आधुनिक समाजभित्र दिनानुदिन झांगिदै गएपनि यसलाई सम्बन्धित निकायले भने नियन्त्रण गर्न असम्भवप्रायः देखिएको छ ।
अहिले अनलाइन बेटिङ्मा चलेका एप्समध्ये ‘वान एक्स बेट’ सबैभन्दा पपुलर छ । त्यस्तै, ‘बेट ३६५’, ‘पावबेट’, ‘एलभीबेट’लगायत रहेका छन् । जसमध्ये बेट ३६५ क्रिकेट बाजीमा बढी प्रयोग भएको छ भने वान एक्स बेट अनलाइन क्यासिनोमा प्रयोग भएको छ ।
यस विषयमा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले निरन्तर खोजबीन र निगरानी गरिरहेको जनाएपनि यसबारे काम गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्यूरोको रहेको बताउँदै साइबर ब्यूरो यथाशक्य सूचना जुटाएर सहयोग गर्ने भूमिकामा रहेको जनाएको छ ।
साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार विशेष सूचनाका आधारमा विशेष अपरेशनबाटमात्रै अनलाइन जुवाको सञ्जालमा पुग्न सकिने बताउँछन् । यस्ता गतिविधिमा संलग्नलाई आर्थिक अपराध ऐनमार्फत कारवाही गरिने रायले जनाए ।
यता, अनुसन्धान ब्यूरो भने हालै सम्पन्न क्रिकेट विश्वकपबाटै चनाखो रहेको बताउँछ । ‘भर्खरै सकिएको क्रिकेटको विश्वकपमा हामीले केही सफलता हात पा¥यौं’ अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता कमल थापा भन्छन् ‘अनलाइन बेटिङ् र जुवा विश्वभर चलिरहेको छ, नेपालमा पनि बढ्दो छ । स्रोत, साधनअनुसार काम गरिरहेका छौं ।’
प्रवक्ता थापाका अनुसार नेपालमा यस्ता एपहरु गैरकानुनी छन् । ब्यूरोले क्रिकेट विश्वकपमा सट्टेबाजीका गिरोहलाई पक्राउ गरी हाल अदालतमा मुद्दा चलाइरहेको छ । तरपनि प्रहरीको नेटवर्कमा कहाँ, कसले जुवा खेल्दैछ भन्ने जानकारी पाउन कठिन हुने थापा स्वीकार्छन् ।
थापा भन्छन्, ‘पोखरामात्र हैन, राजधानी र देशभर यतिबेला जुवा र राती फुटबलमा बेटिङ् हुन्छ, तर हामीभन्दा प्रविधि अघि छ, ट्रयाकिङ् गर्नु मुख्य चुनौती हो ।’ त्यसो त ब्यूरो चुपचाप भने नबसेको उनको दाबी छ । केही समय लागेपनि ब्यूरो मातहतका टोलीले सम्बन्धित निकायसँग समन्वय गरिरहेको र छिट्टै केही ठूलो समाचार आउन सक्ने थापाले बताए ।
यता, पोखरामा भइरहेको अनलाइन बेटिङ् र जुवाबारे जिल्ला प्रहरी कार्यालयको बनिबनाउ जवाफ छ । ‘पोखरामा पनि हुन्छ भन्ने सुनेका छौं’ जिप्रका कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का भन्छन् ‘चुनौति छ तर पनि हामी लागिरहेका छौं, यस्ता गैरकानुनी अनलाइन जुवा रोक्न हाम्रो प्रयास जारी छ ।’
हाल धेरथोर पैसा हुने युवा पुस्ता अनलाइन बेटिङ्को लतमा छन् भने धनाढ्य परिवारको केही सदस्य अनलाइन क्यासिनोमा व्यस्त छन् । पोखरामा केही समयअघि क्यासिनो बन्द भएपछि अहिले त्यहाँका नियमितमध्येका केही अनलाइन क्यासिनोमा जुवा खेल्ने गरेको स्रोतमार्फत जानकारी पाइएको छ ।
यस्ता अनलाइन जुवाडेहरुलाई विदेशी क्यासिनोले नेपालमै एजेन्ट राखेर खेलाइरहेको बताइन्छ । नेपालीलाई देशभित्रका क्यासिनोमा प्रवेश निषेध गरिएको र लुकिछिपी जान अहिले क्यासिनो नै बन्द भएकाले जुवाडेहरुलाई अनलाइन जुवा सबै कोणबाट सुरक्षित मानिएको छ ।
यससँगै रेष्टुरेन्टमा ग्राहकहरुले लगाउने बाजी पनि डरलाग्दो भएको पाइएको छ । राजधानीका नाम चलेका लाउञ्जमा फुबटल क्रेजीहरु मौखिकरुपमै बाजी राखेर रात बिताउने गरेका छन् ।
काठमाण्डौं नैकाप निवासी सुचना प्रविधि इन्जिनियरका अनुसार एकै व्यक्ति मौखिक र अनलाइन दुबै बेटिङ्मा पैसा लगाइरहेका हुन्छन् । उनी भन्छन्, ‘पोखरातिर कस्तो छ, यता (काठमाण्डौमा) भने भर्बल्ली र भर्चुअली दुबैमा जुवा चलिरहेको छ ।’
(* नाम परिवर्तन गरिएको ।)
पोखरा: ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबलतर्फ युके लण्डन र घाचोक उपाधिका लागि भिड्ने भएका छन् । ...
पोखरा: होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा पत्...
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद दिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई अनुसन्धान गर्न १२...