म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

म्याग्दी | मंसिर ३, २०७९

म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

म्याग्दी:   म्याग्दीका सबै मतदानस्थल र केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगेर आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

   
म्याग्दी जिल्लाका ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको हो । निर्वाचनका लागि मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारी आ–आफ्नो स्थल र केन्द्र पुगेर सर्वदलीय बैठक सम्पन्न गरी निर्वाचनका लागि आवश्यक भौतिक पूर्वाधार र निर्वाचन आयोगले तोकेका सबै काम पूरा गरिसकेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो । “सबै मतदान केन्द्रमा टोली पुगिसकेको छ, मतदानस्थल निर्माणको काम र सर्वदलीय बैठकसमेत भइसकेको छ”, पौडेलले भन्नुभयो ।


जिल्लाभित्रका सबै मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा कुनै किसिमको समस्या नभएको बताइएको छ । म्याग्दी सदरमुकाम बेनीबाट २६ कोस टाढा धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा मतदान अधिकृत अमृत सुवेदीसहितका २० कर्मचारी पुगेका छन् भने धवलागिरि–४ मुदीको बगरस्थित कैलाश आधारभूत विद्यालयको मतदानस्थलमा समेत गिरीप्रसाद छन्त्यालको नेतृत्वमा १९ कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यी दुई मतदानस्थल सुरक्षा र भूगोलका हिसाबले जिल्लाकै सबैभन्दा संवेदनशील मतदानस्थल मानिन्छन् ।


गुर्जा र मुदीको बगर जिल्लाको सबैभन्दा विकटका मतदान केन्द्र भएकाले मतपेटिका ढुवानीमा समेत हेलिकोप्टरको माग गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल नौ सय ५२ कर्मचारी परिचालन गरिएको छ । छवटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार मतदाता छन् ।


मतदान केन्द्रमा स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबरम्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ६३ प्रकारका निर्वाचन सामग्री पर्याप्त रहेको गुर्जाका मतदान अधिकृत सुवेदीले बताउनुभयो ।


प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार छ सय ४८ मतदाता छन् । 

पोखरा:    अपाङ्ग महिला सशक्तिकरण केन्द्र, कास्कीले गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीलाई ६ बुँदे माग पत्र बुझाएका छन् ।  केन्द्रको टोलीले आइतबार मन्त्रालय ...

थप पढ्नुहोस्

जनकपुरधाम:    बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् ।  जनकपुरधाम उपमहनगरपालिको निर्देशन विपरीत आज नऔँ दिन पनि...

थप पढ्नुहोस्

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ । ...

थप पढ्नुहोस्