काठमाण्डौं ५ मा श्री गुरुङको उम्मेदवारीले ठूला दल तनावमा
काठमाडाैं | कात्तिक ३०, २०७९

पोखराः काठमाण्डौं क्षेत्र नम्बर ५ मा श्री गुरुङको उम्मेदवारी चर्चामा छ । यतिबेला प्रचारप्रसारमा जुटिरहेका श्री जित्ने आत्मविश्वासकासाथ घरदैलोमा छन् ।
उनको क्षेत्रमा नेकपा एमालेबाट इश्वर पोखरेल र नेपाली कांग्रेसबाट प्रदीप पौडेलको उम्मेदवारी रहेको छ । ठूला मानिएका दलको जति तडकभडकपूर्ण प्रचार छ त्यसको तुलनामा श्रीको शालीन र अर्थपूर्ण ।
पत्रकारितामा मास्टर्स डिग्री सकेर हाल पीएचडीमा लागेको श्री ‘इन्फ्लुअन्स अफ ब्लग इन पोलिटिक्स’ विषयमा अनुसन्धानरत छन् । देशमा रहेका सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ् गरी मुलुकलाई धनी बनाउन सकिने आधार प्रस्तुत गर्दै उनी मतदाताको विश्वास जितिरहेका छन् ।
ठूला दलले बाँडिरहेका ठूलै सपनालाई मतदाताले नपत्याएकाबेला श्री को एजेण्डा प्रभावकारी बनेको छ । पर्यटनलाई आर्थिक उपार्जनको बलियो माध्यम बनाउन सकिने प्रचार गरी युवा पुस्ताबाट देशले काँचुली फेर्नसक्ने उनको ‘लजिक’ छ ।
पर्यटन व्यवसायमा व्यस्त श्री सम्भावनाका बावजुद पनि मुलुकले फड्को मार्न नसकेपछि राजनीतिमा आएको बताउँछन् । ‘म पत्रकारिताको पनि विद्यार्थी हुँ, मैले देश, भूगोल र सम्भावना बुझेको छु’ उनले भने ‘देश बनाउँछु भनेर राजनीति गर्नेहरुले बुझ्न नसक्दा म राजनीतिमा आए ।’
यतिमात्र हैन युवाशक्ति विदेशिने लर्काे लागेपछि देश कमजोर बनेको उनको बुझाई छ । उनी भन्छन्, ‘विदेशिनेको तथ्यांक भयावह छ, २००८ देखि यता श्रम स्वीकृति लिएर ४० लाख नेपाली परदेशिए ।’
‘देश रेमिट्यान्सले चलाउन खोज्ने दल र नेता देखेर म कसरी चुप लागेर बस्न सक्छु’ श्री भन्छन् ‘त्यसपछि मलाई लाग्यो, हामी जहाँ छौं त्यहीबाट हस्तक्षेप गर्नुपर्छ ।’
पूर्वको संखुवासभामा जन्मिएर राजधानीमा कर्मथलो बनाएका ३९ वर्षीय श्री अब राष्ट्रिय राजनीतिमा लागेर देशलाई आत्मनिर्भर बनाउन कस्सिएको बताउँछन् ।
उनको चुनावी भेला कुनै बौद्धिक सेमिनारजस्तै लाग्छ । भेलामा सहभागी युवाहरु विश्वविद्यालयको प्रोजेक्ट वर्कमा केही नयाँ योजना बनाउन खटिए झैं लाग्छन् । श्री का कुरा सुनेपछि टोलटोलका युवाहरु भेला भई उनलाई जिताउँन रणनीति बनाउँन थालेका छन् ।
दिनानुदिन श्री को आकर्षण बढिरहेकाबेला ठूला दललाई तनाव छ । त्यो तनाव श्री ले जित्लान् भन्दा पनि कसको भोट काट्छन् भन्ने हो । यद्यपि, श्री कसैको भोट काट्न नभई स्वयं जित्न मैदानमा आएको बताउँछन् ।
‘नेपाल र दक्षिण एसियाभन्दा माथि उठेर हेर्नुहोस्, तपाइलाई आफ्नो शक्ति थाहा हुन्छ’ उनले भने ‘अमेरिका, बेलायत, नेदरल्याण्ड, क्यानडामा युवाले देश हाँकेका छन् ।
‘ठूला पार्टी र ठूला उम्मेदवारसँग भिड्दै हुनुहुन्छ, जितिन्छ ?’ भन्ने प्रश्नमा श्री भन्छन्, ‘म जित्न उठेको हैन, काठमाण्डौं र देशलाई जिताउन उठेको उम्मेदवार हुँ ।’ यहाँ नेताहरु मलाई जिताउनुहोस् भन्दै भोट मागिरहेका छन् तर जनताले ‘म जित्छु’ भनेर मतदान गर्नुपर्ने उनको भनाई छ ।
अन्त्यमा उनले थपे, ‘हामीले देशलाई चिनेर काम गर्न सकेनौं । सगरमाथा र बुद्धको ब्राण्डिङ् गर्न सकेनौं ।’
यस क्षेत्रबाटमात्रै १४ स्वतन्त्र उम्मेदवार छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...