‘टेस्टेड’ बराल भर्सेज वैरागीः जसरी पनि जित्ने रणनीतिमा एमाले
कास्की | कात्तिक १३, २०७९
कास्कीः पौडेल थरका दामोदर वैरागीलाई नेकपा एमालेले गठबन्धनको चुनौती चिर्न सक्षम ठानेर पार्टीले कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको टिकट दिएको छ । एमालेको हिसाबकिताबमा वैरागीसँग गठबन्धनको जोड घटाउ बिगार्न सक्ने ताकत छ । सोही ताकतले उनलाई नेकपा माओवादी केन्द्रको भागमा परेको गठबन्धनको साझा उम्मेदवार रामजीप्रसाद बराललाई हराउनु पर्ने जिम्मेवारी छ ।
बराल प्रदेशका अर्थमन्त्री हुन् । उनले माओवादीबाट धेरै पटक अवसर पाइसकेका छन् । यता बराल भने नोटिस हुने गरेर केन्द्रीय सिनारियोमा आउँन बल्ल मौका पाउँदै छन् । बराल ‘टेस्टेड’ हुन् । अझ एमालेकै भोटबाट सत्ताको चास्नी चाखिसकेका बराल ‘भाग्यमानी’ सावित भएका छन् ।
यसअघि बराल एमालेकै भोटबाट प्रदेसभा (क)बाट निर्वाचित भएका हुन् । पछि पार्टी फुटेपछि उनले प्रदेश मन्त्रीमण्डलमा अर्थमन्त्रीको भूमिकामा रहे । मन्त्री हुँदा अंश र यातायात करमा अत्यधिक वृद्धि गरेपछि उनी अलोकप्रिय भए ।
बरालको साथमा हिजो एमालेको भोट थियो त आज नेपाली कांग्रेससहितका पार्टीको छ । जनाधार कम भएपनि घुमिघुमी सत्तामा पुग्न बराललाई दाउ लागिरहेको छ तर उनको दाउलाई माथ दिने ‘तुरुप’ लिएर वैरागी चुनावी खालमा छन् ।
कास्की प्रतिनिधिसभामा सबैभन्दा ‘टफ’ क्षेत्र हो ३ नम्बर । दुबैलाई जित्नुपर्ने दबाब छ । यही मेसोमा विश्लेषण गर्दै स्थानीय राजु क्षेत्री भन्छन् ‘एमालेलाई जसरी पनि जित्नु छ, केपी ओलीको प्रतिष्ठा जोडिएको क्षेत्र हो ३ नम्बर ।’
माओवादी द्वन्द्वका दौरान पक्राउ परी धादिङको गजुरी ब्यारेकमा राखिएका क्षेत्री त्यहाँबाट फरार हुन सफल भएपछि ‘जेल ब्रेकर’का नामले पनि चिनिन्छन् । उनै क्षेत्रीका अनुसार पहिलेको चुनावमा कम्युनिष्टहरु जसरी चुनाव प्रचारमा लागेका थिए, त्यस्तो अहिले यस क्षेत्रमा देखिएको छैन ।
‘गठबन्धनका कार्यकर्ताहरुमा सामुहिक भावना देखिएन’ क्षेत्री भन्छन् ‘कांग्रेस केही निष्क्रिय देखिएको छ भने समाजवादीको पुरा ध्यान कास्की – २ मा देखिएको छ ।’ स्वयं माओवादीमा पनि उर्जा नरहेको उनको ठम्याई छ ।
पुराना कार्यकर्ताहरु निराश रहेको र नयाँहरुको चुरिफुरी बढेकाले पनि हाल माओवादीको उर्जा नरहेको उनले टिप्पणी गरे । यद्यपि, एमालेका वैरागीको तुलनामा बराल जनताको नेता रहेको उनले प्रष्ट्याए ।
‘वैरागी पार्टीका नेता हुन् भने बराल द्वन्द्वको समयमा पनि जिल्दा नछाडी सक्रिय भए’ क्षेत्री भन्छन् ‘वैरागी जनस्तरमा भिज्न सकेका छैनन्, तैपनि दुइबीच ५०–५० को अवस्था छ ।’
यता, एमालेको निर्वाचन प्रचार सम्हालेका स्थानीय नेताका अनुसार ५ हजारले जित्ने अनुमान छ । उनले भने, ‘अन्नपूर्णमा कांग्रेसहरु बराललाई भोट दिने पक्षमा छैनन् भने माओवादीको मतदाता पहिलेभन्दा अहिले कम छन् ।’
त्यस्तै, नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम बहादुर नेपाली एमालेमै फर्किएपछि ३ नम्बरमा समाजवादीको अवस्था नाजुक भएको छ । ‘एसको गाउँ कमिटी छ तर नाममात्रको’ उनले बताए । उक्त निष्क्रिय कमिटी पनि एमालेमै आउने उनको आंकलन छ ।
गठबन्धनका साझा उम्मेदवारका विरुद्ध यतिबेला एमाले र अन्य शक्तिहरु बरालको यौन काण्ड र अलोकप्रिय करबारे गोप्यरुपमा प्रचार गरिरहेको पाइएको छ । यसअघि उनै जेल ब्रेकर क्षेत्रीले पनि सामाजिक सञ्जालमा बरालको यौन काण्डबारे छताछुल्ल पारेका थिए । त्यसपछि सोही काण्डलाई एमाले वृत्तबाट फैलाउने कामसमेत भइरहेको छ ।
०७४ सालको निर्वाचनमा नेकपा एमालेका जगतबहादुर विश्वकर्माले नेपाली कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका थिए । त्यसबेला ३२ हजार ६९० मतले विश्वकर्माले जित्दा शर्माले २४ हजार ३०४ मत ल्याएका थिए । करिब ८ हजार ३ सय मतान्तर रहेको आंकडालाई विश्लेषण गर्दै एमालेका वैरागी अहिले ५ हजारको मतान्तरले चुनाव जित्ने योजनामा छन् ।
चुनावी रणनीति र प्रचार खर्चमा पार्टीको एकद्वार प्रणाली सक्रिय रहेकाले वैरागी हौसिएका छन् । यसको विपरित बराल र गठबन्धनले चुनावी खर्च कसले, कसरी गर्ने भन्नेमा अझै अन्यौल छ । ०७४ मा कांग्रेसका शर्माले जसरी चुनावी प्रचार गरेका थिए अहिले त्यस्तो छैन । यसको विपरित एमालेले प्रचार र खर्चमा कुनै कसर बाँकी नराख्ने क्षेत्रीको ठम्याइँ छ ।
यसैगरी, सहिद परिवारबाट ‘बागी’ उठेकी अनिता भुर्तेलले पनि बराललाई अप्ठेरो पारेकी छिन् । भुर्तेललाई नातागोता र सहानुभुतिको मत आउने छ । भुर्तेलप्रति उदार रहेका क्षेत्रीका अनुसार उनले करिब १२ सयको हाराहारीमा मत ल्याउने छिन् ।
हालैको स्थानीय तह निर्वाचनमा एमालेका अध्यक्षहरुले कूल २८ हजार ४३७ मत पाएका थिए । गठबन्धनले ३१ हजार ७०५ मत प्राप्त गरे । जसमध्ये माओवादीको २ हजार १६५ मत थियो भने समाजवादीको ७ सय ६ मत रहेको छ । यस आधारमा गठबन्धनका बरालको जित्ने सम्भावना देखिन्छ ।
तर प्रचारप्रसार र कार्यकर्ता खटाइलाई मध्यनजर गर्दा भने एमालेको भन्दा गठबन्धनको सक्रियता कम छ । तैपनि, युद्धस्तरमा खटेको एमाले भने कुनैपनि हिसाबले चुनाव जितेरै छाड्ने रणनीतिमा लागेको छ ।
कास्की ३ मा महानगरका ११ वडा र अन्नपूर्ण एवं माछापुच्छ्रे गाउँपालिका रहेका छन् ।
जुम्ला: यहाँका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् । कृषि विकास कार्यालयले शनिबार किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले ...
म्याग्दी: विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आउनुभएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त हुनुहुन्छ । जिल्लाको...
सिन्धुपाल्चोक: साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ ।&nb...