‘१२ सय भोट’मा भिड्नेछन् अलग धारका दुई कम्युनिष्ट

कास्की | कात्तिक १२, २०७९

‘१२ सय भोट’मा भिड्नेछन् अलग धारका दुई कम्युनिष्ट

पोखराः ‘फुट्न नजान्ने कम्युनिष्ट हुँदैन’, नेपालका कम्युनिष्टहरुमाथि गरिएको कटाक्ष सही सावित हुँदै आएको छ । एउटै झण्डा र उस्तै मेनिफिस्टोमा रहेर साम्यवादको यात्रामा लागेका कम्युनिष्टहरु बाराम्बार फुट्नु कुनै नौलो होइन । द्वन्द्वकालमा नेकपा एकीकृत माओवादीलाई पृथकरुपमा हेरिएपनि अन्ततः संसदीय राजनीतिमा फर्किएपछि पनि टुट्ने र फुट्ने क्रम रोकिएको छैन । 

 

पछिल्लो समय घनिभूत एकताको उदाहरण बनेको एमाओवादी र नेकपा एमालेबीच  ०७८ को जेठबाट बाटो अलग भएपछि कान्छो कम्युनिष्ट पार्टीकारुपमा नेकपा एकीकृत समाजवादी जन्मिएपछि एक हिसाबले मुलुकमा कम्युनिष्ट शक्ति छिन्नभिन्न भयो । अझ भनौ, नेपाली राजनीतिमा एकमना सरकार चलाउन नसक्ने हविगतमा पुग्यो । 

 

यसैको परिणामस्वरुप आगामी चुनावमा माधव नेपाल नेतृत्वको नेकपा एस चुनावी मैदानमा छ । सत्ता गठबन्धनको नाम पाएको समीकरणबाट कास्की–२ मा एसका उम्मेदवार श्रीनाथ बराल मैदानमा छन् । 

 

उनै टुक्रिएका बरालसँग प्रतिष्पर्धामा छिन् एमालेकी विद्या भट्टराई । लोकप्रिय नेता रवीन्द्र अधिकारीको लिगेसीबाट कास्की भित्रिएर उपचुनाव जितेकी भट्टराइलाई हिजो सँगै हिँडेका बरालको चुनौति झेल्न परेको छ । 

 

एउटै घरबाट छिन्नभिन्न भएका दुई कम्युनिष्ट यतिबेला कास्कीको २ मा आमने–सामने भएका छन् । ‘चुनाव जित्नुहुन्छ ?’ भनेर सोध्दा दुबैको जवाफ ‘जित्ने’ छ । 

 

तर दुबैलाई ‘जित्न’ भने सहज छैन । पछिल्लो समय कार्यकर्ताभित्रको गुटबन्दी, मतदातामा देखिएको नैराश्यता र राजनीतिक चेतनाले दुबैलाई यसपटकको चुनाव जित्न फलामको च्युरा चपाउनु सरह छ । 

 

चुनावी नतीजा आंकलन गर्न पछिल्लो परिणामलाई विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसपछि उम्मेदवारको लोकप्रियता, उसको अध्ययन, कार्यक्षमता र उमेर पनि अहिले मापन गर्नुपर्ने विषयमा पर्छन् । यसभित्र उम्मेदवारले पार्टीभित्र गरेको योगदानलाई समेट्नु मात्र भुल हुनेछ । 
 

 

सर्सति हेर्दा उपचुनाव जितेकी, रविन्द्र अधिकारीको लिगेसी र पार्टीको गाउँ तहसम्म रहेको जनवर्गीय संगठनको आधार र स्थानीय निर्वाचनको आंकडाले भट्टराईलाई केही सजिलो बनाएको भान हुनसक्छ । त्यस्तै, स्थानीय निर्वाचनमा गठबन्धनले पाएको मत संघीय र प्रदेश निर्वाचनमा पनि निरन्तर नहुने विश्वास गर्न सकिन्छ । 

 

यता, पहिलो पटक वा भनौं एकैपटक संघमा पुग्ने बाटो भेट्टाएका बरालको छवि पनि सादगी र इमान्दार पात्रको रहेको छ । बरालले हालसम्म पाएको अवसर भने जिल्ला विकास समितिको उपसभापतिमात्रै हो । एमालेमा रहँदा माधव नेपालको पक्ष लिएकैले पार्टीबाट सँधै ‘आउटसाइडर’जस्तो हुनुपरेको उनले बाराम्बार सुनाउँदै आएका छन् । 

 

स्थानीय चुनावमा कास्की अध्यक्ष धनराज आचार्यले मेयरमा जितेर महानगरमा धाक जमाएपछि त्यतिबेलैदेखि एसले गठबन्धनसँग कास्की २ माग्ने योजना बनाएको थियो । महानगरका धेरै वडा यही क्षेत्रमा पर्ने र स्थानीय निर्वाचनको मत परिणाम अनुसार ‘जित्न सक्ने’ आंकलन एसको रहेको छ । 

 

महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, र ३३ नम्बर वडा यस क्षेत्रमा रहेका छन् । जहाँ कांग्रेसले ६ वटा वडामा वडाध्यक्ष जितेको छ । यसैलाई आधार मानेर एसका उम्मेदवार बराल जित्ने दाबी गर्छन् । यद्यपि, उल्लेखित वडाबाट एसले पाएको मत भने २ हजार ५३ मात्र हो । जुन संख्या राप्रपाका वडाध्यक्षले पाएको भन्दा कम छ । 

 

एमालेले सबै वडाबाट २१ हजार बढी मत प्राप्त गरेको छ । यहाँ कांग्रेसले १९ हजार ८ र माओवादी केन्द्रले १ हजार १ सय ९८ मत पाएको थियो । यस तथ्यांकलाई हेर्दा गठबन्धनका बराल भन्दा एमालेकी भट्टराई करिब १२ सय मतले पछि छिन् । 

 

०७६ को मंसिरमा भएको उपनिर्वाचन जितेकी भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय मतले पराजित गरेकी थिइन् । तर त्यसबेला माओवादी पनि सँगै थियो । त्यस्तै, रविन्द्रको लोकप्रियताले पनि मतातन्तर बढाउन सघाएको मानिन्छ । 

 

खैर, यसपटक कसले जित्ला ? भन्ने प्रश्नको उत्तर खोज्न सजिलो छैन । कम्युनिष्ट पार्टीमा सँधै एउटैको समय र साथ नरहने बाराम्बारको घटनाक्रमले उजागर गरेको छ । स्थानीय चुनावमा मेयर आचार्यलाई ज–जसले मतदान गरे, त्यही आसमा एस रहेको छ । एसलाई उक्त मत जोगाउन चुनौती नै यस चुनावको चुनौती हो । 

 

यदि, मेयर आचार्यले आफ्नो चुनावमा जस्तै ‘वार रुम’ तयार पारे, र सोही अनुसारको व्यवस्थापन गर्न सके भने बरालको जीत लगभग पक्का छ । स्थानीय निर्वाचनलाई हेर्दा कांग्रेस र माओवादी केन्द्रका समर्थकहरु इमान्दार देखिएका छन् । हाल सत्ताको स्वाद चाखिरहेको गठबन्धन त्यहाँबाट बाहिरिन चाहँदैन । फलतः कास्की–२ बरालकै पोल्टामा जान सक्छ । 

 

तर, स्थानीय निर्वाचनकै मत परिणामलाई अहिले पनि आधार मान्न सकिँदैन । अहिले पनि एमालेलाई स्थानीय चुनावताका देखिएको गुटबन्दीले तर्साइरहेको छ । एमालेमा गुटबन्दी भित्र्याउने मेयर आचार्यको रणनीति थियो । जुन रणनीतिअनुरुप आचार्य सफल पनि भए । सोही रणनीति प्रतिनिधि सभाको चुनावमा पनि अपनाउन सकिन्छ भन्नेमा नत आचार्य विश्वस्त छन् न बराल यस्ता रणनीतिमा माहिर छन् । 

 

यसर्थ, यसपटक एमालेमा झाँगिदै गएको आत्मविश्वास, एकता र समर्पण गठबन्धनलाई तगारो बन्न सक्छ । चारैतिरबाट गरिएको प्रहारविरुद्ध कार्यकर्ता पंक्ति यस क्षेत्रमा एक ढिक्का भएको छ । उम्मेदवार सिफारिश र टिकट वितरणमा कुनै पनि विमति नहुनु, आचार्यको झैं कूटनीति बरालमा नहुनु, कांग्रेस र माओवादी केन्द्रबाटै धेरथोर भोट आउने सम्भावना हुनुलगायतलाई एमाले एवं भट्टराइलाई जीताउने आधार हुन् । 

 

यद्यपि, यस क्षेत्रमा स्थानीय निर्वाचनमा देखिएको सोही १२ सय मतमा जसले ‘खेल्न’ सक्छ, जीत उसैको हुने निश्चित छ । गठबन्धनले यही ‘१२ सय मत’लाई आफ्नो पक्षमा राखिराख्न र यही मतलाई बढी भन्दा बढी चोर्नमा एमालेले सकेको शक्ति खर्च गर्नमा यसपटकको ‘टक्कर’ केन्द्रित हुनेछ । 

 

महादेवको ‘वरदान’

५ दशक लामो नेपाली कांग्रेसको राजनीति, तरुण दलको अध्यक्ष, जिल्ला विकास समितिको सभापति र पर्यटन राज्यमन्त्रीको बायोडाटा भएका महादेव गुरुङ् यसपटक प्रतिनिधिसभा सदस्यतर्फ बागी उम्मेदवारको परिचयमा छन् । त्यसो त ०७० सालमा पनि टिकट पाएका महादेवले हार व्यहोरेका थिए । 

 

कास्की ३ का महादेव यसपटक क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा होमिएका छन् । मैदानमा रहेका महादेवबाट सिधा खतरा सत्ता गठबन्धनलाई नै छ । पुराना र लडाकु नेताको छवि बनाएका महादेव २ नम्बरमा आएर चुनावमा उठेदेखि नै गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराललाई टाउको दुखाई बनेका छन् । 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै अटेर गरेका महादेवलाई फकाउन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि नलागेका होइनन्, तर उनको पनि केही जोर नचलेपछि यसको फाइदा एमालेलाई नै हुने निश्चित छ । 

 

त्यस्तै, यस क्षेत्रमा एसले भाग पाएपछि नेपाली कांग्रेसले पनि बराललाई जिताउन खासै चासो नलिएको अनुमान गर्न सकिन्छ । पुतली चिन्ह लिएर चुनावमा होमिएका महादेव जित्ने तयारीसाथ घरदैंलोमा व्यस्त छन् । 

 

उनलाई कांग्रेसकै कार्यकर्ताहरुको भित्री साथ छ । साथै, ५० वर्ष कटेका कांग्रेसीहरुले महादेवलाई नै भोट हाल्ने निश्चितप्रायः छ । यसरी कांग्रेसको भोट महादेवलाई गयो भने यसको ‘वरदान’ एमालेकी विद्या भट्टराईलाई नै लाग्नेछ । 

 

महादेवले पुराना कांग्रेसको भोटसँगै त्यही १२ सय भोट नै काट्ने सम्भावना रहेकाले यही मतले नै कसैलाई हराउन वा जिताउन ल्याकत राख्दछ । 

दमौली:    नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताउनुभएको छ ।  तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भा...

थप पढ्नुहोस्

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवर...

थप पढ्नुहोस्