कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप

तनहुँ | कात्तिक १२, २०७९

कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप

 

तनहुँ । कोभिड–१९ को सङ्क्रमणले देशकै अवस्था प्रभावित हुँदा तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटनमा असर नपुग्ने कुरै भएन । कोभिड–१९ को सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्यो । 


    विदेशी त परको कुरा, स्वदेशी पर्यटक पनि बन्दीपुरमा देखिन मुस्किल परे । कोभिड–१९ को सङ्क्रमण घट्दै गएपछि स्वदेशी पर्यटक फाट्टफुट्ट बन्दीपुरमा देखिन थाले । पर्यटन व्यवसायबाटै गुजारा चलाउँदै आएका यहाँका व्यवसायीमा केही राहतको महशुस हुन थाल्यो ।


    बन्दीपुरको पर्यटन व्यवसाय पुनःपुरानै अवस्थामा फर्किने प्रयासमा छ । कोभिड–१९ पछि पहिलो पटक बन्दीपुरमा विदेशी तथा पर्यटकको चाप बढेको छ । तिहारको लामो बिदाका कारण बन्दीपुरमा कोभिडपछि पहिलो पटक पर्यटकको चाप बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउनुहुन्छ । 


    “बन्दीपुरमा विदेशी पर्यटक देख्न मुस्किल भइसकेको थियो, शुक्रबार मात्रै एक सय विदेशी पर्यटक बन्दीपुर आइपुगेका छन्”, प्रधानले भन्नुभयो, “स्वदेशी पर्यटकको आगमन पनि उल्लेख्य छ ।” विदेशी पर्यटकको सहभागितामा आज बन्दीपुरमा दौड प्रतियोगिता आयोजना हुँदैछ ।


    प्रधानका अनुसार शुक्रबार र शनिबार गरी बन्दीपुरमा पाँच हजारभन्दा बढी स्वदेशी पर्यटक आएका छन् । “तिहार र छठका कारण लामो बिदा परेकाले स्वदेशी पर्यटकमा घुम्ने संस्कृतिको विकास भएको छ”, उहाँले भन्नुभयो, “दसैँ बिदामा पनि स्वदेशी पर्यटकको बन्दीपुरमा आगमन भएको थियो ।”


    जाडो मौसम सुरु भएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल बढ्नेमा व्यवसायी आशावादी छन् । होटल व्यवसायी बसन्त पौडेलले अब बन्दीपुरमा पर्यटकको आगमन बढ्ने बताउनुभयो । यो मौसम विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउनेक्रम बढ्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । 


    बन्दीपुर आउने विदेशी पर्यटकमध्ये फ्रान्स, बेलायतका बढी छन् । चिनियाँ पर्यटक भने बन्दीपुरमा ठप्प छ । “पहिलापहिला बन्दीपुरमा सबैभन्दा बढी पर्यटक चिनियाँ हुन्थे, तर अहिले चिनियाँ पर्यटक ठप्प छन्, युरोपेली मुलुकका पर्यटक आउँछन्”, पौडेलले भन्नुभयो ।


    “नेपाल आएका पर्यटक पोखरा, सौराहालगायतका ठाउँसम्म घुम्न निस्किने र त्यही बेला बन्दीपुर भ्रमणका लागि आउने गरेका छन्,” उहाँले भन्नुभयो, “यहाँको रीतिरिवाज, रहनसहन देखेर उनीहरु मख्ख पर्छन् ।”


    सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रु, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । 


    भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । 

काठमाडौं:    चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकको राजस्व सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।  अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठक...

थप पढ्नुहोस्

काठमाडौं:     मुलुकमा सङ्घीयता लागु भएसँगै संविधानबाटै संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबीच अधिकार र कार्यजिम्मेवारीको बाँडफाँटअनुसार ३ वटा प्रदेशमा सडक सञ्जाल सुधार गर्ने कार्यको प्रारम्भ गर...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह तथा खड्ग प्रदान गर्नुभएको छ ।  नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रप...

थप पढ्नुहोस्