फेवाताल सरसफाई : पहिलो दिन २ सय बढी ट्रक फोहोर सङ्कलन
पाेखरा | असोज २५, २०७९
पोखरा : पोखरा महानगरपालिकाको नेतृत्वमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा हजारौँ स्वयंसेवी अभियान्ताहरुले सक्रियता पूर्वक सहभागिता जनाएका छन् ।
विभिन्न ३३ स्थानबाट शुभारम्भ गरिएको यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार बढी अभियान्ताहरुले सक्रिय सहभागिता जनाएका हुन् । यो फेवाताल सरसफाइका क्रममा भएको नागरिक सहभागिता मध्ये अहिले सम्म कै सबैभन्दा धेरै हो ।
“सबै ठाउँमा हेर्दा ५ हजार बढीको सहभागिता रहेको देखिन्छ, प्रमुख धनराज आचार्यले भन्नुभयो, ‘सुरुमा ३५ ट्रक फोहोर जम्मा गर्न सकिन्छ कि भन्ने थियो, तर अन्तिमसम्म आइपुग्दा २ सय बढी ट्रक फोहोर सङ्कलन भएको छ ।” महाअभियानको पहिलो दिन २ सय बढी ट्रक जलकुम्भी झार लगायतको फोहोर फेवातालबाट बाहिर निकालिएको उहाँले बताउनुभयो । तालको करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार मङ्गलवार को अभियानका क्रममा निकालिएको छ ।
अभियानलाई निरन्तर गर्ने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडी बढ्ने उहाँले बताउनुभयो । “यो सुरुवात मात्र हो, यसलाई आगामी दिनमा निरन्तरता दिने सन्दर्भमा महानगरपालिकाले स्थायी संयन्त्र निर्माण गरेर अगाडी बढ्ने छ, उहाँले भन्नुभयो, यसमा स्थानीय पर्यटन व्यवसायी तथा होटेल व्यवसायीहरूको साथ सहयोग पनि जरुरी छ ।” तालको छेउमा ठुलो व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूको ताल संरक्षण तथा सरसफाइमा कम चासो देखिएको प्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गर्नुभयो । आफ्नो आसपासको क्षेत्रमा नियमित सरसफाइ गर्ने कार्यमा उनीहरूको ध्यानाकर्षण समेत गराउनुभयो ।
फेवाताल सफाइका लागि ल्याइएको मेसिनमा पटक पटक खराबी आएका कारण नियमित सञ्चालन गर्न नसकिएको भए पनि हाल भने त्यसलाई मर्मतसंभार गरी आजदेखि मेसिनको क्षमता अनुसार सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । ‘फेवाताल संरक्षण गर्नु तपाई हामी सबैको ड्युटी हो, प्रमुख आचार्यले भन्नुभयो ।’ पोखरा महानगरपालिका फेवातालको संरक्षण, विकास र प्रवर्द्धन प्रति प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनु भएको छ ।
मङ्गलवार सञ्चालन गरिएको फेवाताल सरसफाइ महाअभियानमा सहभागी आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू, सहकारी, बैङ्क तथा वित्तीय संस्थाहरू, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन सम्बद्ध सङ्घसंस्था, संचारकर्र्मी लगायत सम्पूर्ण सरोकारवालाहरूमा प्रमुख आचार्यले आभार सहित धन्यवाद ज्ञापन गर्नुभएको छ ।
सरसफाईका लागि फेवाड्याम, ड्यामसाईड पार्क, केदारेश्वर घाट १, २, फिस्टेल घाट १,२, अम्बोट घाट १,२, नयाँघाट, गौरी घाट १, २, बाराही घाट १, २, नेपाल ट्रष्ट, पाहारी घाट १, २, माछा सेक्सन १, २, फेवाघाट १, २, सुइमिङ्पुल हल्लनचोक १, २, क्याम्पीङ चोक १, २, खहरे घाट, बंगलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाट दुनाटपरी, क्यारोनोभा खपौदी र इन्द अफ दि लेक गरि ३३ वडा पोइन्टहरु निर्धारण गरिएको थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ । नेत्रविक्रम चन्दको नेतृत्वमा ...
काठमाडौं: नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...
कञ्चनपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...