बेनीघाट-आरुघाट लार्के सडक: ४२ किलोमिटर मार्ग खुल्यो
तनहुँ | चैत ६, २०८१

गोरखा: गोरखालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् ।
नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये ३६ किलोमिटरसम्म मोटर चल्न थालेको छ ।
चुमनुब्री गाउँपालिका–३ पेवासम्म मार्ग खनिएको छ । पाङसिङसम्म मोटर पुगेको छ । मार्ग खनेपछि बाटो सफा नगरेकाले बाँकी सात किलोमिटर खण्डमा गाडी चलाउन नसकिएको उहाँले बताउनुभयो ।
बेनीघाट, आरुघाट, लार्के सडकको एक सय ५४ किलोमिटरमध्ये हावाडाँडाबाट ९२ किलोमिटर सडकको काम नेपाली सेनाले गरेको हो ।
ठूला पहरा र कडा चट्टान भएकाले विस्फोटनको काम गर्न सडक विभागले सो खण्डको काम गर्ने जिम्मा सेनालाई दिएको हो ।
चीनको सीमा लार्के भन्ज्याङसम्मको एक सय ५४ किलोमिटर खण्डमध्ये बेनीघाटबाट हावाडाँडासम्मको ६२ किलोमिटरसम्मको काम भने गोरखा सडक योजना कार्यालयले गरेको हो । सेनाले मार्ग खोलेर गाडी चल्न सक्ने बनाएको दोभानसम्मको खण्ड पनि गोरखा सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ ।
सडक योजना कार्यालय र सेनाले निर्माण गरेको गरी जम्मा ९७ किमी खण्डमा सवारीसाधन चल्न थालेका छन् । बर्खाका बेला पनि सवारीसाधन आवागमन गर्न सजिलोका लागि नेपाली सेनाले माछीखोलामा बेलीब्रिज निर्माण गरेको सेनानी ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो आर्थिक वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट रु सात करोड विनियोजन भएको छ । विनियोजित बजेटअन्तर्गत गर्नुपर्ने काम लगभग सकिएको उहाँले बताउनुभयो ।
“दुई किलोमिटर ट्रयाक खन्ने काम अन्तिम चरणमा छ, यही चैतभित्र सकिन्छ”, सेनानी ढकालले भन्नुभयो, “यो वर्ष ट्रयाक खन्न रु सात करोड आएको थियो । त्यो बजेटले गर्नुपर्ने काम लगभग गरिसक्यौँ ।” यो वर्ष पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिर गरी चार खण्डमा ब्लाष्टिङ गरी ट्रयाक खोल्ने काम गरेको उहाँले बताउनुभयो ।
बेनीघाटबाट आरुघाट हुँदै आर्खेतसम्म सडक निर्माणको काम २०५२ सालमा सुरु भएको थियो । आर्थिक वर्ष २०६३÷६४ मा बेनीघाट आरुघाट लार्केभञ्ज्याङ सडक नामकरण गरिएको थियो ।
आव २०६६÷६७ मा मात्र उक्त सडक निर्माण सुरु भएको थियो । तर हावाडाँडाबाट एक किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर रहेकाले पाँच वर्षसम्म ट्रयाक खोल्ने काम अगाडि बढ्न सकेन ।
कठिन मानिएको ९२ किमी खण्डको काम गर्न सडक विभागले २०७४वैशाखमा नेपाली सेनालाई हस्तान्तरण गरेको हो । विसं २०७३ मङ्सिरमा मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि नेपाली सेनाले २०७४ वैशाखदेखि काम सुरु गरेको थियो ।
उक्त सडक धार्चे गाउँपालिकाको लापुबेँसी, माछाखोला, जगत हुँदै चुमनब्री गाउँपालिकाको सिर्दिबस, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनको सीमा लार्केभञ्ज्याङ जोडिने छ । उक्त सडकलाई उत्तरी गोरखाको लाइफ लाइनका रूपमा हेरिएको छ ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...