कुश्माका सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन
पर्वत | फागुन २१, २०८१
पर्वत: पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन बनेका छन् ।
नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्रमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन् ।
नगरपालिकाले समयमा औषधि खरिद गर्न नसक्दा सर्वसाधारण सरकारले वितरण गर्ने ९८ किसिमका औषधि पाउनबाट वञ्चित बनेका हुन् ।
चालु आर्थिक वर्षका लागि औषधि खरिद गर्न नगरसभाबाट बजेट पारित भए पनि जनप्रतिनिधि र स्वास्थ्य सेवाका कर्मचारीको लापरबाहीका कारण आठ महिनासम्म औषधि खरिद हुन सकेको छैन ।
सर्वसाधारणलाई निःशुल्क वितरण गर्नुपर्ने औषधिको अभाव भएको चार महिना बितिसक्दा पनि खरिद गर्ने तयारी गरिएको छैन ।
औषधि खरिदका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त सशर्त रकम रु १६ लाख र नगरपालिकाको निशर्त रु आठ लाख गरी रु २४ लाख बजेट छ ।
बजेट अभावले नभर्ई खरिद प्रक्रिया ढिलो भएकाले औषधि अभाव भएको नगरपालिकाको स्वास्थ्य शाखाकी सिनियर अनमी दुर्गा सापकोटाले बताउनुभयो । विगतका वर्षहरूमा पनि औषधि अभाव र म्याद नाघेका औषधि भेटिने गरेको थियो ।
कुश्मा नगरपालिकाभित्रका १४ वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा उपचारका लागि आउने नागरिकले रित्तो हात फर्किनु परेको बताउँछन् ।
सामान्य रोगदेखि जटिल र दीर्घरोगी समेत निःशुल्क औषधि पाइने आशमा स्वास्थ्य संस्थामा आउने गरेकामा सेवाग्रही रित्तो हात फर्काउनुपरेको कुश्मा–१२ ठूलीपोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण सुवेदीले जानकारी दिनुभयो ।
वडा नं १४ मा रहेको आर्थर डाडाँखर्क स्वास्थ्यचौकीका प्रमुख चन्द्रकान्त गौतमले निःशुल्क उपलब्ध गराउनुपर्ने औषधि नहुँदा सर्वसाधारण बिरामीलाई रित्तो हात फर्काउनुपर्ने अवस्था आएको बताउनुभयो ।
निःशुल्क दिनुपर्ने औषधि नहुँदा समस्या भइरहेको गुनासो गर्दै उहाँले भन्नुभयो, “चार महिनासम्म पनि खरिद गरेर पठाउन नसक्नु नगरपालिकाको कमजोरी हो ।”
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले औषधि खरिदमा ढिलाइ भएकाले समयमा स्वास्थ्य संस्थामा पठाउन नसकिएको बताउनुभयो । उहाँले नगरसभा हुन ढिला भएकाले खरिद प्रक्रिया समेत लम्बिएको उल्लेख गर्नुभयो ।
“गत असार १० गते सम्पन्न हुनुपर्ने नगरसभा असोजको १० गते भयो, नगरसभा तीन महिनाले ढिलाइ हुँदा औषधि खरिद गर्न पनि ढिलाइ भएको हो”, शर्माले भन्नुभयो । अब एक महिनाभित्रमा सबै स्वास्थ्य संस्थामा औषधि पुर्याइने उहाँले जानकारी दिनुभयो ।
कुश्मा नगरपालिकामा नौ स्वास्थ्यचौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन आधारभूत स्वास्थ्य केन्द्र र चार सहरी स्वास्थ्य केन्द्र गरी १७ वटा स्वास्थ्य संस्था सञ्चालित छन् । यी स्वास्थ्य संस्थाबाट बर्सेनि खोप सेवा, गर्भवती परीक्षण, परिवार नियोजन, सुरक्षित गर्भपतनलगायत सेवा सञ्चालन हुँदै आएका छन् ।
यतिबेला मौसमी रुघाखोकी भाइरल ज्वरोको सङ्क्रमणका कारण बजार तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीको घुइँचो बढे पनि औषधिको अभावले प्रभावकारी सेवा दिन नसकिएको स्वास्थ्यकर्मीले बताएका छन् । सामान्य औषधि खरिदका लागि सर्वसाधारणलाई सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता छ ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

