लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

दाङ | फागुन २०, २०८१

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी:   बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट सुरु गरिएको छ । 


मायादेवी मन्दिर परिसरमा पाँच सय जनालाई बौद्ध धर्मगुरूबाट पहेँलो चीवर प्रदान गरी श्रामणेर प्रबज्यामा सहभागी गराइएको हो ।


अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सह–आयोजनामा आज कूलपुत्र प्रबज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।


सङ्गनायक बोधीसेन महास्थवीर, अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थवीर धम्म शोभन, थाई धम्मदूतका फरा उपाझ्याए पभनासहित बौद्ध धर्म गुरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन् । 


समारोहलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउनुभयो । 


उहाँले शान्तिका लागि बुद्धको शिक्षा उपयोगी रहेको र यहाँको विकासका लागि थाइल्याण्ड सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो । 


समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भए पनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । 


उहाँले बुद्ध दर्शन समुदाय, व्यक्ति विशेष नभइ मानव जीवनका लागि भएकाले यसलाई जीवनमा लागू गर्न खोज्ने कार्यमा सहभागी भएकामा बधाइसमेत दिनुभयो ।


उपाध्यक्ष डा लामाले बुद्ध दर्शन मानव दर्शन भएको बताउँदै प्रबज्यामा रहेकाले जीवनको महत्वपूर्ण इतिहास दर्ज गराउन सफल भएको बताउनुभयो ।


अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु निग्रोधले बुद्धको शिक्षालाई व्यवहारमा लागू गराउनका लागि भिक्षु, लामा, गुरूको आवश्यकतापर्ने भएकाले त्यसैका लागि प्रबज्या कार्यक्रम राखिएको बताउनुभयो । 


उहाँले बुद्धजन्मभूमि लुम्बिनीमा भएको पाँच सय जनाको प्रबज्याले बुद्धको उपदेशलाई विश्वभर फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियम पालना गर्नुपर्नेछ । 


सामान्य अनुयायीले पञ्चशिल र अष्टशिलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामी चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ । 


भिक्षु बन्नका लागि भने दुई सय २७ वटा नियमहरू पालना गर्नुपर्ने हुन्छ । फागुन १४ गतेदेखि सुरू भएको प्रबज्यामा फागुन १६ गते ललितपुरस्थित अक्षेश्वर महाविहारमा केश मुन्डन गरेका थिए । 


आज पहेँलो चीवर लगाउन योग्य भएका श्रामणेरहरूले आफूहरूले पहेँलो चीवरण ग्रहण गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् । 


चीवर प्राप्त गरेका १२५० जनालाई पञ्चशिल, अष्टशिल र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराइने आयोजकले जनाएको छ । 


लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने  बताउनुभयो ।


सन् २०११ मा एक हजार, २०१५ मा एक हजार एक सय १२, सन् २०१९ मा एक हजार एक सय १९, सन् २०२३ मा पाँच र सन् २०२४ मा एक हजार दुई सय ५० जनालाई प्रबज्या गराइएको थियो । 


प्रबज्या कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य,  कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्रचार्य, राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथलगायतको उपस्थिति थियो । 


प्रबया सामाजिक नेपालको व्यवस्थापनमा प्रबज्यामा भएको कार्यक्रमअन्तर्गत बिहीबार भिक्षाटन, फागुन २४ गते लुम्बिनी उद्यानमा दीप प्रज्ज्वलन, चैत ३ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

लमजुङ:  प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ ।      गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त कक्षको उद्घाटन गर्दै ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेश फुटबल संघको आयोजनामा शनिबारदेखि पोखरामा क्याटगोरी–४ रेफ्री लाइसेन्स कोर्ष सुरु भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को मान्यताप्राप्त गण्डकीका जिल्लाहरुमा फुटबल रेफ्...

थप पढ्नुहोस्

काठमाडौं:  कुस्मास्थित द क्लिफमा नेपाल प्रहरीको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो)का प्रशिक्षार्थीले बञ्जी जम्प गरेका छन् ।  तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा...

थप पढ्नुहोस्