घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माणमा ढिलाइ, फिल्डमा पुगे मन्त्री केसी

पाेखरा | मंसिर २१, २०८१

घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माणमा ढिलाइ, फिल्डमा पुगे मन्त्री केसी

पोखरा: गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी लमजुङमा ठेकेदारले निर्माणमा ढिलाइ गरेको सडकको निरीक्षणमा पुगेका छन् । 

मन्त्री केसी बिहीबार क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षणमा पुगेका हुन् ।


मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्याङ्कन तथा अन्य पू्र्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियाँसहितको टोली फिल्डमा पुगेको हो । 


मन्त्री केसीले निर्माण कम्पनीका प्रतिनिधिलाई बागलुङपानी–भुजुङ सडकखण्डको काम छिटो सक्न निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिले चैतसम्म काम सक्ने जवाफ दिए ।


बागलुङपानीबाट भुजुङसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का कान्छाराम–नाना जेभीले विसं २०७६ असोज २९ मा ३४ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएको थियो । 


यो सडक स्तरोन्नतिको लागि पूर्वाधार विकास कार्यालयअन्तर्गत बजेट परेको थियो । घलेगाउँसम्म १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म सात किलोमिटर सडक ग्राभेल गर्ने सम्झौता थियो । 


सम्झौताअनुसार ०७८ असोज २९ गतेभित्र काम सक्नुपर्ने हो । तर कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरण गर्न लकडाउन भएपछि काम हुन सकेन ।


लकडाउन खुलेपछि ०७९ असोज २८ गतेसम्म काम सक्न पहिलोपटक म्याद थपिएको थियो । दोस्रोपटक २०८१ साल असोज २९ गतेभित्र काम सक्ने भनेर म्याद थप भएको थियो । तर, दोस्रोपटक म्याद थप्दा पनि काम हुन सकेन । 


निर्माण कम्पनीले फेरि ६ महिना थप म्याद मागेको छ । निर्माण कम्पनीले चैतसम्म काम सक्ने भनेपछि मन्त्री केसीले अन्तिमपटक म्याद थप गर्ने÷नगर्ने विषयमा छलफलपछि निर्णय गर्ने बताए । 


क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यबहादुर गुरुङले घले गाउँ र भुजुङ पुग्ने सडकको काममा ढिलाइ हुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको बताए । 


त्यसैले सडक निर्माणको काम छिटो सक्न पहल गरिदिन मन्त्री केसीलाई आग्रह गरे । गाउँपालिकाको केन्द्र जोड्ने सडक बनाउनुपर्ने भएकाले बजेट विनियोजन गरिदिन उनको आग्रह थियो ।


पुमा भीरको पहिरो नियन्त्रण गर्नका लागि पोखरा फर्केपछि पहल गर्ने मन्त्री केसीले बताए । साथै मन्त्री केसीले करापुटार–डडुवा–साल्मेभञ्ज्याङ–मालिङ सडक (साल्मेभञ्ज्याङदेखि मालिङ खण्ड)को पनि अनुगमन गरे ।
 

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।   अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।   सेन्टकमका अनुसार ...

थप पढ्नुहोस्

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्