सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ: उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडाैं | बैशाख २९, २०८१
काठमाडौं: उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ ।
परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताउनुभयो ।
“सुशासनका लागि कानुन र प्रशासनिक विधि चाहिन्छ, कानुनको शासन स्थापित गर्नैपर्छ, तर कानुन र राज्य संयन्त्रद्वारा मात्रै पनि धेरै विषय हल गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “राज्य संयन्त्रका जिम्मेवार व्यक्ति तथा आम नागरिक राष्ट्रप्रति इमान्दार होउन्, कानुन र प्रशासन मात्रै लगाउनुपर्ने नहोस्, आफैँले राम्रो आचरण अपनाउने अवस्था आओस्, यति हुन सकेमा मात्र भ्रष्टाचार, अनियमितता न्यूनीकरण भएर सुशासन कायम हुन्छ ।”
समाज तथा व्यक्तिको मनमा रहेको नकारात्मकता हटाउन वैज्ञानिक र प्रामाणिक विधिका रुपमा योगध्यान रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले योगध्यानलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल योगध्यानको उद्गम थलो र उपयुक्त वातावरणका रुपमा रहेको जनाउँदै उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत योगध्यानको महत्व तथा यसका प्रभावका बारेमा विशेष योजना ल्याइने बताउनुभयो ।
योगध्यान स्वजागरणको वैज्ञानिक विधि भएको र आफूले विगत लामो समयदेखि योग तथा ध्यानको अभ्यास गर्दै आइरहेको र त्यसबाट लाभसमेत लिइरहेकोसमेत उहाँ जानकारी गराउनुभयो । यसअघि आफू गृहमन्त्री हुँदा मन्त्रालय र मातहतका निकायमा नियमित रुपमा योगध्यानको अभ्यास हुने गरेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबाट सकारात्मक नतिजा हासिल भएको उदाहरण सुनाउनुभयो ।
ध्यान विज्ञान कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, मन्त्रालयका वरिष्ठ कर्मचारी, रादहानी विभाग र कन्सुलर सेवा विभागलगायत निकायका करिब एक सय कर्मचारीको सहभागिता छ । कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक रमेश नेपाल, एलपी भानु शर्माले प्रशिक्षण दिने कार्यक्रम छ ।
काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन वर्षदेखि शहिद स्मारक ‘ए’ डिभिलन लिग नगरेपछि खेलबिहीन बनेका फुटबल खेलाडीले बिहीबार एन्फा मुख्यालयमा धर्ना दिएका छन् । राष्ट्रिय टोली...
काठमाडौं: अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको छ । आन्तरिक राजस्व विभागले अब स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहबाटै जारी गर्न सकिने व्यवस्था मिलाइएको जनाएको हो । अहिलेसम्म करदाता से...
बर्दिया: मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुत...

