घान्द्रुक पर्यटन महोत्सव सुरु

घान्द्रुकको मौलिकता  र संस्कृति जोगाउनु सबैको कर्तव्यः अध्यक्ष केसी

पाेखरा | चैत २७, २०८०

घान्द्रुक पर्यटन महोत्सव सुरु Photo: Prem Thapa

पोखरा:      कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ । 


सो महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए । 


‘अन्नपूर्ण गाउँपालिकाको ७ देखि ११ नम्बर वडा हामीले पर्यटकीय क्षेत्रको रुपमा अगाडि सारेका छौं, अध्यक्ष केसीले भने, ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा १०/११ मा पर्ने घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको केन्द्र हो । त्यसैले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो ।’


अध्यक्ष केसीले आफ्नो कार्यकालमा घान्द्रुक आउने सडक कालोपत्र गर्ने बताउँदै घान्द्रुकमा पर्यटकको बसाई लम्बाउने विषयमा केन्द्रित हुनुपर्ने बताए ।


‘हाम्रो कार्यकाल भित्र घान्द्रुकसम्म आउने सडक कालोपत्र गर्छौ । सडक कालोपत्र भएपछि पोखराबाट केही घण्टामै पर्यटक घान्द्रुक आउन सक्छन्, अध्यक्ष केसीले भने, ‘घान्द्रुक आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्बाउन स्थानीय सरकार, व्यवसायी र स्थानीयहरु त्यस विषयमा केन्द्रित हुनुपर्छ ।’


यस्तै अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक पर्यटकका लागि स्थापित भइसकेकाले चुनौतीसमेत थपिदै गएको बताए । 


‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि स्थापित भइसकेको छ । हिजोको घान्द्रुक र आजको घान्द्रुकमा परिवर्तन भएको छ, वडाध्यक्ष गुरुङले भने, ‘पर्यटकहरुका लागि स्थापित भइसकेको घान्द्रुकलाई जिवन्त राख्न घान्द्रुकको मौलिकता जोगाई राख्न सबैले हातेमालो गर्न आवश्यक छ ।’


उनले घान्द्रुकको ढुङ्गेली गाउँको संरक्षण गर्दै पर्यटकको बसाई लम्बाउन नयाँनयाँ कार्यक्रम र योजना अगाडि बढाउन आवश्यक रहेको धारणा राखे । 


कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरत गुरुङ, तमु प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ लगायतले बोलेका थिए । घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षता भएको उद्घाटन समारोहलाई लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए । 


बास्केटबल प्रतियोगितामा दाङको विजयी सुरुवात


महोत्सवको अवसरमा आयोजित खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा दाङले विजयी सुरुवात गरेको छ । 


दाङले घान्द्रुकलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै आर्मी र टाइम्सबीच भएको खेल भने वर्षाका कारण स्थगित भएको छ । 


महोत्सवका संयोजक अमृत लामा गुरुङका अनुसार उक्त खेल भोलि हुनेछ । सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बास्केटबलतर्फ कुल १२ टिमको सहभागिता रहेको छ ।


यस्तै बधबारदेखि नै भलिबल प्रतियोगितापनि सुरु हुनेछ । 


क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


¬पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच)  पुरस्कृत गरिनेछ । यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच)  पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।


यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 


यस्तै ठेलो प्रतियोगितातफै विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ । 


सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार सो महोत्सवमा आदिम कला केन्द्रले नृत्यहरु प्रस्तुत गर्नेछन् ।


महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट


घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिएको छ । 


कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आज चैत्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिएको अध्यक्ष विक्रम गुरुङले बताए । 


उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ ।


घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ । 


 

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्