पोखरामा भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव
पाेखरा | मंसिर २१, २०८०
पोखरा: नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा बर्सेनि मनाउँदै आएको पर्वतीय महोत्सव शुक्रबारबाट पोखरामा सुरु हुँदैछ । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ५ दिनसम्म चल्ने महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस पनि हुने भएको छ । महोत्सवको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नेछन् ।
आयोजक नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारका अनुसार महोत्सवको पहिलो दिन शुक्रबार नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइनेछ । ‘गिद्धको महत्व र उपयोगिता देखाइनेबारे बालबालिकाले नै नाटकबाट प्रस्तुत गर्नेछन्,’ उनले भने ।
महोत्सवमा किम्फसँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र देखाइने सिन्दुराकारले जानकारी दिए । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुनेछन् ।
महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे पनि बहस हुने भएको छ । ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ ?’ शीर्षकमा डब्लुडब्लु एफका डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दिक्षितले वार्तालाप गर्नेछन् । उक्त बहस डिसेम्बर ११ मा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्वीर पनि प्रर्दशनमा राखिने आयोजकले जनाएको छ ।
महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ उनले भनिन् ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

