गण्डकीमा स्याउखेती विस्तार
काठमाडाैं | साउन ३२, २०८०
फाइल तस्बिर
गण्डकी: गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय ७२ रोपनी क्षेत्रमा स्याउखेती विस्तार गरिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
हिमाल पारिका जिल्ला मुस्ताङ र मनाङ स्याउका लागि उर्वर भूमि हुन् । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।
स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट तीन सय ९२ र शीतोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत एक सय ८० रोपनी क्षेत्रफलमा स्याउखेती विस्तार गरिएको उहाँको भनाइ छ । “मुख्यरुपमा मुस्ताङ र मनाङमा स्याउ खेतीलाई केन्द्रित गरिएको छ, अरू जिल्लाका उच्च पहाडी भेगमा पनि थोरैथोरै क्षेत्रमा स्याउखेती सुरु गरिएको छ”, प्रमुख रेग्मीले भन्नुभयो ।
गत आवमा स्याउखेती विस्तारतर्फ रु ११ करोड ५० लाख र शीतोष्ण फलफूल विस्तारमा रु छ करोड बजेट खर्च भएको निर्देशनालयले जनाएको छ । स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट मुस्ताङमा ५८ हजार आठ सय स्याउका बिरुवा वितरण गरिएको थियो ।
शीतोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत अन्य जिल्लामा २७ हजार स्याउका बिरुवा वितरण गरिएको प्रमुख रेग्मीले बताउनुभयो । शीतोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत १० हजार एक सय ओखरका बिरुवासमेत वितरण गरी थप पाँच सय पाँच रोपनीमा ओखर बगैँचा विस्तार भएको जनाइएको छ ।
विस्तार गरिएको स्याउ खेतीबाट प्रतिकिलो रु एक सय ५० का दरले वार्षिक झन्डै रु १७ करोड ३७ लाख बराबरको स्याउ उत्पादन हुने निर्देशनालयको अनुमान छ । औसतमा १० प्रतिशत बोट मरे पनि बाँकी बोटले वर्षमा १५ किलो उत्पादन दिँदा वार्षिक एक हजार एक सय ८५ मेट्रिकटन स्याउ उत्पादन हुने जनाइएको छ ।
स्याउका लागि मुस्ताङमा एक सय टन क्षमताका दुई चिस्यान केन्द्र पनि निर्माण गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कृषि अधिकृत हरिप्रसाद न्यौपानेले बताउनुभयो । थासाङ गाउँपालिकाको टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फामा चिस्यान केन्द्र निर्माण गरिएको हो ।
अधिकृत न्यौपानेका अनुसार लोमान्थाङ गाउँपालिकाबाहेक मुस्ताङका चारै गाउँपालिकामा उच्च घनत्वमा आधारित स्याउखेती विस्तार गरिएको हो । “किसानले बिरुवामा ७५ प्रतिशत र खेती व्यवस्थापनमा ५० प्रतिशत अनुदान पाएका छन्”, उहाँले भन्नुभयो, “उच्च घनत्वको आधुनिक प्रविधिको स्याउखेतीतर्फ किसानको आकर्षण बढ्दो छ, बर्सेनि मुस्ताङमा स्याउको क्षेत्रफल बढिरहेको छ ।”
रैथाने जातभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिँगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न पनि सजिलो हुने उहाँको भनाइ छ । छिटो र धेरै उत्पादन दिने भएपछि उक्त प्रविधिको स्याउखेतीतर्फ किसान आकर्षित भएका हुन् ।
उक्त प्रविधिको स्याउखेती सातरआठ वर्षअघि मात्र नेपाल भित्रिएको थियो । गण्डकी प्रदेशमा सुरुमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको थियो । रासस
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

