पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:  ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र/छात्रा क्रिकेट प्रतियोगिता अन्र्तगत छात्रतर्फ अम्मरसिंह तथा छात्रातर्फ भद्रकाली मावि विजयी भएका छन् ।    पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लब फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनलमा छात्रतर्फ अम्मरसिंहले बाराही माविलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।   पहिला व्याटिङ गरेको अम्मरसिंहले पुरा २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार पारेको थियो । अम्मरसिंहका सुमन पन्तले २९ रन जोडे । भद्रकालिका बलर अशोक रेग्मीले ४ तथा मनोज कार्कीले ३ विकेट लिए । जितका लागि १ सय २३ रनको लक्ष्य पछ्याएको बाराहीले ४६ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । अम्मरसिंहका सुदिप भट्टराईले ५ विकेट लिए ।   छात्रातर्फ भद्रकालीले कालिकालाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिला व्याटिङ गरेको कालिकाले ३५ रन बनाएको थियो । ३६ रनको चुनौती पछ्याएको भद्रकालीले ८ ओभरमा ९ विकेट गुमाउँदै विजयी लक्ष्य प्राप्त गर्‍यो  ।   भद्रकालिका श्रद्धा गुरुङ्गले ६ विकेट लिइन् । प्रतियोगितामा छात्रतर्फ अम्मरसिंहका सुदिप भट्टराई सर्वोत्कृष्ट खेलाडी बन्दा  बाराहीका अशोक रेग्मी उत्कृष्ट बलर र बाराहीकै मनोज कार्की उत्कृष्ट व्याट्स्म्यान भए । छात्रातर्फ अम्मरसिंहकी सजना खत्री सर्वोत्कृष्ट खेलाडी, श्रीकृष्ण माविका मंजली थापा उत्कृष्ट बलर तथा कालिकाकी रिया गुरुङ्ग वेष्ट व्याट्सउमन बनिन् ।   विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ्ग, किडासाका सिइओ जेनिस मिलर, नेपाल क्रिकेट संघका कार्यवाहक महासचिव प्रशान्त विक्रम मल्ल, केन्द्रिय सदस्य ऋषिराम गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु, स्पोर्टस फर अलका खड्क रानाभाट, आयोजक समितिका अध्यक्ष बविन कुँवर, कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुन लगायतले ट्रफि मेडल प्रमाणपत्र पुरस्कार वितरण गरेका थिए ।  

काठमाण्डौँ :      मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।    एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।        उहाँका अनुसार भैरहवा, दमक, वीरगन्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यु–१४, यू–१६ र यु–१८ क्रिकेट प्रतियोगिता हुनेछ । क्रिकेट यही असार २० गतेसम्म सञ्चालन हुनेछ । क्रिकेटको विजेताले रु ३० हजार पाउनेछ भने दोस्रो हुने टोलीले रु २० हजार हात पार्नेछ ।     त्यसैगरी खुला कलेजस्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म काठमाडौँमा र बुटवलमा असार ११ देखि १३ गतेसम्म हुनेछ । झापामा असार १८ गते रेस्लिङ प्रतियोगिता हुनेछ ।      बुटवल र काठमाडौँमा असार ११ देखि १६ गतेसम्म विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन गरिनेछ । यस्तै अन्तर कलेज उपत्यकास्तरीय बास्केटबल असार १५ देखि १७ गतेसम्म काठमाडौँमा हुनेछ ।   असार १७ र १८ गते राष्ट्रियस्तरको फूल कन्ट्याक्ट कराते काठमाडौँमा हुनेछ भने असार २० र २१ गते उपत्यकास्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुनेछ । यस्तै असार २२ गते काठमाडौँमा विभिन्न खेल विधाका प्रशिक्षक एवं व्यवस्थापकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

पोखरा:  हेमजा युनाइटेड क्लबको आयोजनामा जारी ‘छैटौं नेपाल आइस अन्तरराष्ट्रिय हेमजा गोल्डकप–२०७९’ को अन्तिम चारमा चर्च व्याइज क्लब प्रवेश गरेको छ ।    पोखरा महानगरपालिका २५ स्थित गौरी शंकर खेलमैदानमा आज भएको खेलमा कालिका स्पोर्टस् क्लब चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च व्याइज सेमिफाइनलमा प्रवेश गरेको हो ।   चर्च व्याइजको जीतमा आशिष चौधरीले खेलको ५३ औं मिनेटमा गोल गरे । अशोक खवासको लामो रिलिजलाई आफनो नियन्त्रणमा लिदै चौधरीले बललाई पोष्टको दिशा दिदै निर्णायक गोल गरेका थिए । उक्त निर्णायक गरेका चौधरी म्यान अफ द म्याचको ट्रफिसहित नगद रु ५ हजार प्राप्त गरे ।    अब चर्च व्याइजले सेमिफाइनलमा अफ्रिकन फुटबल टोली  र नेपाल सशत्र प्रहरी बलबीच हुने खेलको विजेता टोलीसँग आगामी ९ गते प्रतिस्पर्धा गर्नेछ ।   यसअघि उद्घाटन खेलमा ३–१ गोल अन्तरले वीरगञ्ज युनाइटेडलाई हराउदै आयोजक हेमजा युनाइटेड सेमिफाइनल प्रवेश गरिसकेको क्लबका सचिव सुनिल गायकले जानकारी दिए ।   उनका अनुसार तेस्रो खेल सोमबार खुमलटार क्लब र बाग्मती क्लब बीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरि अन्तिम क्वाटरफाइनल खेल मंगलबार अफ्रिकन टोली र नेपाल सशत्र प्रहरी बल एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।    प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।    यसैगरि सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि भोलि (सोमबार) निर्वाचन हुँदै छ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने निर्वाचनको सोही साँझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ ।   आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ-आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस्तै फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा छन् । तर उनिसँग कुनै पनि भोट नभएको बजारी अनुमान छ ।   चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।   २१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरु गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन् ।   जसमा ४८ मध्ये ४४ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन् । यसैगरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि एकएक मताधिकार पाएका छन् ।   चार वर्ष अघि भएको एन्फा निर्वाचनमा कर्मा र पंकज समूह नै ‘क्लिन स्विप’ गर्दै एन्फा हाक्न आएको थियो । तर दुबै समूह विभाजन हुँदै यसपटक एक अर्काविरुद्ध लड्दैछन् ।

पोखरा:  पोखरामा आज (शनिबार) देखि सुरु भएको छैटौं हेमजा गोल्डकपको उद्घाटन खेलमा जित निकाल्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।   हेमजा युनाइटेड क्लबको आयोजनामा पोखरा महानगरपालिका २५ हेम्जास्थित गौरी शंकर खेल मैदानमा आज भएको उदघाटन खेलमा वीरगञ्ज युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।   आयोजक टोली हेमजाको जितमा सुमन अर्यालले २ र कमल थापामगरले १ गोलको योगदान दिए । भने वीरगञ्जका लागि कृप चौधरीले सान्त्वना १ गोल फर्काए ।  उक्त खेलबाट हेमजा युनाइटेडका सुमन अर्याल म्यान अफ द म्याचबाट पुरस्कृत भए ।   खेलको ११ औं मिनेटमै सुमन अर्यालले गोल गर्दै आयोजक टोलीले अग्रता दिलाए । हेमजाले दबदबा राखेको खेलको ३६ औं मिनेटमा कमल थापामगरको गोलले अग्रताले दोब्बर बनायो । दोस्रो हाफको तेस्रो मिनेटमै सुमन अर्यालले आफ्नो व्यक्तिगत दोस्रो गोल गरे र टिमलाई ३–० को अन्तर बनाइदिए ।    ३ गोलले पछि परेको वीरगञ्जका लागि ८८ औं मिनेटमा कृप चौधरीले सान्त्वना गोल फर्काएका थिए । अब हेमजा युनाइटेडले सेमिफाईनलमा खुमलटार एफसी र बाग्मती एफसी बिचको विजेता टोलीसँग  आगामी ८ गते खेल्नेछ ।   असार ११ गतेसम्म सञ्चालन हुने ‘छैटौं नेपाल आइस अन्तरराष्ट्रिय हेमजा गोल्डकप–२०७९’ उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए ।    सो अवसरमा बोल्दै हेमजामा खेल पुर्वाधार विकासका लागि आवश्यक पहल गर्ने धारणा राखे । पोखरामा रगंशाला भन्दा बाहिरपनि ठुला प्रतियोगिता सम्भव भएको सन्देश शुभकामना गोल्डकपले दिएको बताउदै गोल्डकपलाई निरन्तरता दिन समेत आग्रह गरे ।    आगामी दिनमा उक्त प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजानका निम्ति महानगरले सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।    उक्त प्रतियोगितामा नेपाल  एपिएफ क्लब, चर्च व्याइज, अफ्रिकन टोली क्यामरुन, खुमलटार क्लब, कालिका स्पोर्ट्स चितवन, बाग्मती युवा क्लब, वीरगञ्ज युनाइटेड र आयोजक टिम हेम्जा युनाइटेडको सहभागिता रहेको छ ।  प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।    यसैगरि सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।    हेम्जामा क्लबले सञ्चालन गर्दै आएको फुटबल एकेडेमी संचालनार्थ प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।

पोखरा:  बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आयोजना गरेको दशौं आन्तरिक फुटसल प्रतियोगिताको उपाधि विशाल श्रेष्ठ नेतृत्वको टिमले जितेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार सम्पन्न फाइनल खेलमा सञ्जय बुढाथोकी नेतृत्वको टोलीलाई हराउलै श्रेष्ठको टिम च्याम्पियन बनेको हो ।   उपाधि जितेसँगै श्रेष्ठको टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १५ हजार प्राप्त गर्याे भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १० हजार हात पार्याे ।   उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीको रुपमा रोशन नेप्कुल पुरस्कृत भए ।   कुल ५ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका ४ का नवनिर्वार्चित वडा अध्यक्ष देवकृष्ण पराजुली, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष बालकृष्ण भण्डारी, बगर कल्याणकारी ब्यवसायी समितिका अध्यक्ष विष्णु वास्तोला, फेन्सी तथा रेडिमेड ब्यवसायी संघका अध्यक्ष राजु पौडेल तथा अग्रज व्यवसायीहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।   बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा संयोजक थमनसिंह गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव बुद्वी बहादुर कुावरले कार्यक्रम सञ्चालन गरेका थिए ।  

पोखरा:  पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा सिद्धार्थ मावि र भद्रकाली मावि विजयी भएका छन् ।   पहिलो खेलमा सिद्धार्थले शुक्रराज वलभद्र माविलाई ६ विकेटले पराजित गरेको थियो । अर्को खेलमा भद्रकालीले महेन्द्र माविमाथि ८ विकेटको जित निकाल्यो ।   पहिला व्याटिङ गरेको भद्रकालीले ६३ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । खेलमा १ ओभर बलिङ गर्दै ३ रन खर्चिएर ४ विकेट लिएका सिद्धार्थका शन्देस नेपाली म्यान अफ द म्याच भए ।   अर्को खेलमा पहिला व्याटिङ गरेको महेन्द्र माविले १५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन  मात्रै बनाउन सक्यो । प्रत्युत्तरमा भद्रकालीले ८.४ ओभरमै ६० रनको लक्ष्य भेटाएको थियो ।   भद्रकालीका असिम गुरुङ्गले १८ बलमा ६ चौकाको मद्धतमा २६ रन बनाए ।   बलिङतर्फ ३ ओभरमा २ मेडन सहित २ विकेट लिएका भद्रकालीका रविन गुरुङ्ग म्यान अफ द म्याच भएका थिए ।

पोखरा:  हेमजा युनाइटेडको आयोजनामा हुने ‘छैटौं नेपाल आइस अन्र्तरराष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।   आगामी असारको ४ देखि ११ गतेसम्म हेम्जाको गौरीशंकर खेल मैदानमा हुने उक्त गोल्डकपको सबै तयारी पुरा भएको आज (बिहिबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।   प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र वीरगञ्ज युनाइटेड भिड्ने क्लबका अध्यक्ष इन्द्र बहादुर कुँवरले बताए । उनका अनुसार दोस्रो खेल चर्च व्याइज एफसी र कालिका स्पोर्टस् एकेडेमी ५ गते दिनको १ बजे हुनेछ । त्यसैगरी तेस्रो खेल ६ गते खुमलटार युवा क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।   क्वाटरफाइनलको अन्तिम खेल ७ गते फुटबल क्लब डाउला र विभागीय टोली सशत्र प्रहरी बलको एपिएफबीच प्रतिस्पर्धा हुनेछ । कुल ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६ लाख प्रदान गरिने अध्यक्ष कुँवरले बताए । उनका अनुसार उपविजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ३ लाख हात पार्नेछ ।    यसैगरि प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीले ट्रफीसहित ५० हजार प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर, डिफेण्डर र उदीयमान खेलाडीले ट्रफीसहित नगद रु २० हजारबाट पुरस्कृत हुनेछ भने सर्वाधिक गोलकर्ताले नगद रु २५ हजार प्राप्त गर्नेछ । र प्रतियोगिताको प्रत्येक खेलबाट एक खेलाडी म्यान अफ द म्याच घोषित हुदै जहनी ५ हजार र ट्रफी प्राप्त गर्नेछन् ।    प्रवेश शुल्कः सयदेखि ३ सयसम्म   पोखरा महानगरपालिका २५ हेमजास्थित गौरीशंकर खेलमैदानमा एक हप्ता सञ्चालन हुने प्रतियोगितामा प्रवेश शुल्क निर्धारण गरिएको छ ।  मोफसलका प्रतिष्ठत क्लब र ए डिभिजन क्लबको सहभागिता रहेको सो प्रतियोगिताको महत्वलाई मध्यनजर गर्दै आयोजकले सिमित प्रवेश शुल्क निर्धारण गरेको कार्यक्रम संयोजक इन्द्र प्रसाद त्रिपाठीले जानकारी दिए । उनका अनुसार उक्त गोल्डकपमा कुल ७ खेल सम्पन्न हुनेछ ।   संयोजक त्रिपाठीले पहिलो चरणको ४ वटा क्वाटरफाइनलको लागि प्रवेश शुल्क १ सय निर्धारण गरिएको बताए । त्रिपाठीका अनुसार सेमीफाइनलका खेलमा टिकदर २ सय निर्धारण गरिएिको छ भने फाइनल खेलमा ३ सय रुपैया तोकिएको छ ।    उक्त गोल्डकप सम्पन्न गर्नका लागि नेपाल आइसले मुख्य प्रायोजन गरेको आयोजकले जनाएको छ ।     खेलकुदसँगै सामाजिक काममा ‘हेमजा युनाइटेड क्लब’   यही वर्ष सम्पन्न कास्की लिग च्याम्पियन हेमजा युनाइटेड क्लबले खेलकुदसँगै सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका खेल्दै आएको छ ।    २०७० सालमा स्थापना भएको क्लबले सामाजिक उत्तरदायीत्व वहन गर्ने उद्देश्यसहित विभिन्न सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको क्लबका अध्यक्ष इन्द्र बहादुर कुँवरले बताए ।   उनले सबैभन्दा पहिले संस्थाको आफ्नै भवन निर्माण गरेको जानकारी दिए । उनका अनुसार छैटौं संस्करणसम्म आइपुग्दा खेलमैदानको स्तारोन्नती, हेमजाको याम्दीदेखि मिलनचोकको सडकखण्डमा ट्राफिक सचेताको साइनबोर्ड जडान सम्पन्न गरेको छ ।    यसैगरि युवा लक्षित नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रम, रक्तदान कार्यक्रम, राहात वितरण, सरसफाई तथा गाँजा फडानी, बालबालिकाहरुका लागि ग्रासरुट प्रशिक्षण तथा विभिन्न खेलकुद प्रतियोगिताहरुमा आर्थिक लगायतका सहयोग गरिसकेको छ ।    आगामी दिनमा समाज रुपान्तरणका लागि सकरात्मक र रचनात्मक कार्यक्रम निरन्तर आयोजना गर्दै जाने अध्यक्ष कुँवरले बताएका थिए ।  

काठमाण्डौँः     युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएका सुवास शाहीलाई आज नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको छ ।        मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शाहीलाई अध्यक्ष र कल्पना दियाकोटीलाई सदस्य पदमा मनोनीत गर्ने निर्णय  गरेको थियो । कार्यक्रममा मन्त्री गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान नेपाली खेलकुदकै ‘ड्रिम प्रोजेक्ट’ भएकाले राम्रोसँग जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो ।      उहाँले यस रङ्गशाला निर्माणका लागि सबै राजनीतिक दलहरुका साथ र सहयोग लिन अध्यक्ष शाहीलाई सुझाव दिँदै प्रदेश सरकारलाई उक्त रङ्गशाला निर्माणका लागि उपयुक्त रकम छुट्याउन आग्रहसमेत गरेको बताउनुभयो ।        त्यस्तै अध्यक्ष सुवास शाहीले निर्धारित समयमा रङ्गशाला र खेलग्राम निर्माणको कार्य सम्पन्न गराउन आफू दिनरात मेहनत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कार्य पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।        राष्ट्रिय प्राथमिकताको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु गर्नका लागि सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९ जारी गरेको थियो ।