पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

काठमाडौँ  :   साफ यू(२० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ ।   भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि नेपालले दोस्रो हाफमा आक्रमण रणनीति बुन्दै जित पक्का गरेको हो । लगातार दोस्रो जित दर्ता गरेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।   खेलको २३ औं मिनेटमा मुहमेधु मुन्सिफले श्रीलंकालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । उनले अफसाइड ट्रयाप बिट गर्दै अघि बढाएको बल वन भर्सेस वनको स्थितिमा प्रहार गर्दा पोस्टमा लागेर बाहिरिएको थियो ।   खेलको २९ औं मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । कर्नरबाट आएको रिबाउन्डमा अजय चौधरीको शक्तिशाली प्रहार श्रीलंकाको डिफेन्डरलाई लाग्दै गोल भएको थियो । तर रेफ्रीले त्यसअघि नै रिबाउन्डमा जुध्ने क्रममा आशिष राईबाट फल भएको निर्णय दिए ।   ४४ औं मिनेटमा कप्तान आयुष घलानको लामो फ्रिकिकमा सुगम सुवालको हेडर पोस्टभन्दा थोरै बाहिर गयो । खेल दौरान कालिंगा रंगशालामा पटक पटक फ्लड लाइट बन्द हुँदा खेल रोकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि नेपालले मनग्य नकर्मीलाई दोस्रो हाफमा मैदान प्रवेश गराएको थियो ।   ५२ औं मिनेटमा मोहमद साहिलको हेडर पोस्टमा लागेर फर्कंदा नेपाल पछि पर्नबाट जोगियो । कप्तान थेसान थुस्मिकाको लामो थ्रो इनलाई साहिलले ६ यार्ड बक्सनजिकबाट फ्लिक हेडर गर्दा गोलरक्षक इश्वर गुरुङ बिट भएका थिए ।   खेलको ५९ औं मिनेटमा कप्तान आयुषले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । अभिषेक वाइबाको क्रसलाई गोलरक्षकले पन्च गरेपछि आएको बललाई आयुषले गोलमा परिणत गरेका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको पहिलो टचकै प्रहार गोल भएको थियो ।   अग्रता लिएको केही मिनेटमा नै नेपालले कृतिशको गोलमा अग्रता दोब्बर पार्यो आयुषकै पासमा कृतिशले दोस्रो गोल गरे । आयुषले पेनाल्टी क्षेत्र भित्रबाट दिएको लेअपलाई कृतिशले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट पहिलो टचमै टप कर्नरमा गोल गरेका थिए ।   खेलको ८४ औं मिनेटमा नेपालले ३-० को अग्रता लियो । सुगम सुवालको पासमा मनग्यले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गर्दै जित सुनिश्चित गरे । खेलको इन्ज्युरी समयमा गोलरक्षक इश्वर गुरुङले मुन्सिफको प्रहारलाई विफल पार्दै आफ्नो लगातार दोस्रो क्लिन सिट राखे ।

पोखरा ः   पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट फुटसलमा सम्पन्न पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ मा सन्देश मेमोरियल च्याम्पियन बनेको  छ ।    ‘स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड राहुल युनाइटेडले आयोजना गरेको फुटसल प्रतियोगितामा सन्देश मेमोरियलले ‘ट्वान्टी फाइभ के’ रत्नचोकलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।   च्याम्पियन बनेको सन्देश मेमोरियलले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार र उपविजेता बनेको ‘ट्वान्टी फाइभ के’ रत्नचोकले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार प्राप्त गरे ।   प्रतियोगिताबाट प्रनिल रानाभाट सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका रुपमा सैनिक एफसीका सुजन भण्डारी र उत्कृष्ट गोलरक्षक  सन्देश मेमोरियलका विजय गुुरुङ घोषित हुदैं क्रमशः २५ सय , २ हजार र २ हजारसहित ट्रफी प्रमाणपत्र हात पारे ।    कुल २६ समुहको सहभागिता रहेको फुटसल प्रतियोगितामा ‘ए’ डिभिजन खेलाडी टिममा समावेश गर्नपाउने व्यवस्था रहेको थियो ।   सोही अनुरुप हिमालयन शेर्पा क्लबका खेलाडी भिषण गुुरुङ र व्रिगेड व्यााइज क्लबका रन्दिप पौडेल र राष्ट्रिय फुटसल टिमका  किशोर गुुरुङ, रोशन छन्त्याल र विजय श्रेष्ठले विभिन्न टिमबाट सहभागिता जनाएका थिए ।    ७ जना राष्ट्रिय खेलाडीलाई सम्मान   फुटसल प्रतियोगिताको अवसरमा ७ जना राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ ।    राष्ट्रिय फुटबल टोलीका  सुमित श्रेष्ठ (हाल साफ च्यापियनसीप खेल्दै भारतमा), फुटसल टिमका गोल रक्षक विश्वास क्षेत्री र फुटबल तर्फका हिमालय शेर्पा क्लबका मान बहादुुर तामाङ, र त्रिदेव गुुरुङ, मनाङ मस्र्याङ्दी क्लबका विमल राना, राष्ट्रिय फुटबल टोलीका गोलरक्षक दिप कार्की र अजित भण्डारीलाई सम्मान गरेको हो ।    यसैबीच कार्यक्रममा आदर्श क्लबका ७ जना जुनियर ७ जना खेलाडीहरुलाई जर्सी र बुट सहयोग गरिएको थियो ।    प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई गण्डकी फुटसलका अध्यक्ष तथा नेपाल खेलकुद महासंघका सचिवालय सदस्य राजन गुुरुङ, भुतपूर्व आदर्श क्लबका क्या. बासुदेव गुुरुङ, चन्द्रधोज गुरुङ परिवार लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा:     ३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनमा व्यस्त देखिएको छ ।     खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोली तनहुँको शुक्लागण्डकी नगरपालिका–८, गणपतिस्थित खेलमैदानको अवलोकन गर्न पुगेको हो ।   शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक, स्थानीय क्लबका पदाधिकारीहरुको उपस्थितिमा मैदानको निरिक्षण गरेका हुन् । गणपति खेलमैदानलाई क्रिकेट लागि उपयुक्त हुन सक्ने प्रदेश खेलकुद परिषदका सदस्य गुुरुङले बताए ।    संयोजक गुरुङले उक्त मैदानलाई निर्माण गर्नुपर्ने बताउदै फास्ट ट्रयाकमा काम गर्न आग्रह गरे । उनले मैदान निर्माणका लागि थोरै समय रहेको उल्लेख गर्दै यथाशिघ्र काम सुरु गर्नुपर्नेमा जोड दिए ।  उनले लआगामी १५ गते राष्ट्रिय खेलकुद परिषद बैठक बस्ने बताउदै त्यसपछि थप टुङ्गो लाग्ने बताए । ‘बोर्डको मिटिङ १५  गते छ । त्यसमा हामीले निरिक्षण गरेका मैदानहरुको स्थितिको बारेमा रिपोर्टिङ गर्छाैं ।  त्यसपछि कहाँ के खेलाउने भन्ने निर्णय हुन्छ । क्रिकेट प्रतियोगिताको लागि यो मैदानमा सम्भावना छ ।’ गुरुङले भने ।   रङ्गशाला बनाउने लक्ष्य छ: मेयर पण्डित शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले गणपति खेलमैदानलाई रङ्गशालाको रुपमा विकास गर्ने बताए ।   बुधबार स्थलगत अवलोकनमा पुगको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितको खेलस्थल व्यवस्थापन उपसमितिको टोलीसँग बोल्दै नगरप्रमुख पण्डितले तत्काललाई क्रिकेटको लागि मैदान निर्माण गर्ने प्रतिवद्धता जनाए ।   उनले उक्त मैदानलाई रङ्गशालाको रुपमा विकास गर्नका लागि नगरपालिकाबाट ५० र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भएको बताए । ‘अहिले १ करोडको बजेट छ । यो मैदानलाई तत्काल क्रिकेटको लागि निर्माण गर्छाै त्यसपछि क्रमश  फुटबल र भलिबलको मैदानलाई पनि पूर्णता दिन्छौं, उनले भने, ‘ यदि मैदानहरु बन्यो भने जिल्लाको खेलकुद विकासमा सहयोग पुुग्छ ।’   गुरुङ नेतृत्वको टोली गत ४ दिनदेखि सम्भावित खेलस्थल अवलोकनमा निकै व्यस्त हुदै आएको छ । आज तनहुँ पुगेको टोली भोली (बिहिबार) स्याङ्जाको वालिङ मैदानको निरिक्षणका लागि पुग्ने छ । भने शुक्रबार म्याग्दीको यात्रामा निस्कने कार्यक्रम तय गरेको छ ।    यसअघि सो टोलीले टोलीले यसअघि पोखरा महानगरपालिका १७ दोविल्लास्थित सहारा एकेडेमीको खेलमैदान, पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान तथा माछापुच्छे« गाउँपालिका ४ स्थित महेन्द्र माविको खेलमैदानको स्थलगत अवलोकन गरिसकेको छ ।    आजै  (बुधबार) पोखरा २७ भण्डारढिकस्थित फुटबल मैदान र माछापुच्छे« क्रिकेट क्लबको खेलमैदान लगायतको निरिक्षण गरेको थियो ।    आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल मध्ये २ खेल काठमाडौं, ३४ खेल पोखरामा सञ्चालन  हुने र २ वटा खेल प्रदर्शन गर्ने राखेपले जनाएको छ । 

 काठमाडौँ:    नेपालले साफ यू २० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।   भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले  एक एक गोल गरे । माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो ।   कप्तान आयुष घलानको फ्रि,किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे । दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो ।   खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए  ।  खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस चुकेनन् ।   त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए । त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो । माल्दिभ्सले पनि केहि अवसरलाई खेर फालेको थियो । जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।   च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।   शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । 

पोखरा:   ३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनका लागि गोष्टेघाट पुगेको छ ।   खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोलीले पोखरा १९ स्थित गोष्टेघाट खेलमैदानको स्थलगत अवलोकन गरेको हो ।   पोखरा महानगरपालिका १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, गोष्टेघाट खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भण्डारी, स्थानीय क्लबका पदाधिकारीहरुको उपस्थितिमा मैदानको निरिक्षण गरे । सो अवसरमा बोल्दै खेलस्थल व्यवस्थापन समितिका संयोजक गुरुङले उक्त मैदान हक्की र महिला फुटबलको लागि उपयुक्त हुने प्रतिक्रिया दिए ।    संयोजक गुरुङले आगामी १५ गते राष्ट्रिय खेलकुद परिषद बैठक बस्ने बताउदै त्यसपछि थप टुङ्गो लाग्ने बताए । ‘यही १५ गते बोर्डको मिटिङ छ । त्यसमा धेरै कुराहरु प्रष्ट हुन्छ । अहिले हामीले प्रारम्भिक रुपमा खेलमैदानहरु हेरिरहेका छौं । त्यसपछि कहाँ के खेलाउने भन्ने निर्णय हुन्छ । यो मैदानमा हक्की वा महिना फुटबलको सम्भावना छ ।’ गुरुङले भने ।   उनले ३७ खेल मध्ये २ खेल काठमाडौं हुने बताउदै ३५ खेल गण्डकी प्रदेशमै आयोजना गरिने जानकारी दिए । उनका अनुसार पूर्वाधारका कारणले सुटिङ र स्विमिङ काठमाडौंमा सञ्चालन गरिनेछ ।    गुरुङले सम्भवभएसम्म गण्डकी प्रदेशको ११ वटै जिल्लामा प्रतियोगिता आयोजना गरिने बताए । ‘पूर्वाधारहरु के कस्तो छ । त्यो हेरेर हामीले खेल खेलाउने हो । भन्न त सम्भव भएसम्म सबै जिल्लामा खेलाउने भनेका छौं तर यातायात र अन्य कारणले गर्दा केही चुनौती छ, उनले भने, ‘त्यसैले प्राय खेलहरु पोखरा र आसपासमै हुन्छ । हामीले यो भन्दा पहिले सहारा एकेडेमी र हेम्जाको गौरीशंकर खेलमैदान हेरिसकेका छौं । कहाँ के उचित हुन्छ । त्यही गर्ने हो ।’   फुटबल प्रतियोगिता गराउने स्थानीयको चाहना   गोष्टेघाट खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले सो मैदान फुटबल प्रतियोगिताको लागि उपयुक्त हुने बताए ।   उनले सरकारी तथा नीजिस्तरबाट करिब ६ करोड लागतमा सो मैदान निर्माण गरिएको बताउदै ७ हजार दर्शक क्षमतासहितको भिआइपी प्यारापिट रहेको बताए । ‘हाम्रो यो ग्राउण्डमा फुटबल प्रतियोगिता गर्न एकदमै उचित छ, उनले भने, ‘त्यसको लागि हामी तपाइहरुसँग समन्वय गर्न तयार छौं ।’ यसैगरि एन्फा कास्कीका सचिवसमेत रहेका गोष्टेघाट खेल मैदान व्यवस्थापन समितिका सचिव बुद्धि खत्रीले उक्त मैदान निर्माणको काम अन्तिम चरणमा रहेको बताए ।    उनका अुनसार भिआइपी प्यारापिट तथा चेन्जिङ भवनको संरचना खडा गरिएको छ । ‘संरचनाहरु सबै बनिसकेको छ । मैदान पनि अन्र्तराष्ट्रिय मापडण्ड अनुसार नै बनाएका छौ र यसमा ७ हजार दर्शकको क्ष्मता रहेको छ, उनले भने, ‘अब फिनिसिङको काम मात्रै बाँकी छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको फुटबल यहाँ खेलाउने हो भने हामी समन्वय गर्न तयार नै छौं ।’   उनले फुटबल खेल आयोजना गर्ने उद्देश्यसहित निर्माण गरिएको मैदानमा फुटबल नै आयोजना गर्ने स्थानीको इच्छा रहेको बताए । ‘यो मैदान फुटबल खेलाउनकै लागि भनेर बनाइएको हो, उनले भने, ‘त्यसैले स्थानीयको पनि यहाँ नवौं राष्ट्रिय प्रतियोगिताको फुटबल नै होस् भन्ने चाहना छ ।’   खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोलीले यसअघि पोखरा महानगरपालिका १७ दोविल्लास्थित सहारा एकेडेमीको खेलमैदान, पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान तथा माछापुच्छे्र गाउँपालिका ४ स्थित महेन्द्र माविको खेलमैदानको स्थलगत अवलोकन गरिसकेको छ ।   यद्यपी सम्भाव्यता अध्ययन गरेपनि कुन मैदानमा कुन खेल आयोजना गर्ने भन्ने आधिकारिक निर्णय भने आगामी १५ गते हुने बैठकपश्चात हुने बताइएको छ ।   आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३७ खेल मध्ये २ काठमाडौं र बाँकी ३५ खेल पोखरामा सञ्चालन गर्ने लक्ष्यसहित विभिन्न उपसमिति तयारीमा लागिरहेको छ ।

काठमाडौं:  नेपाल र माल्दिभ्सबीचको खेल आज हुदै छ । नेपाली युवा टोलीले आज साफ यू–२० च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको हो ।   नेपाल र माल्दिभ्सबीचको खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । पछिल्लो संस्करणको उपाधि भारतले जितेको थियो ।   प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउन्ड रोबिन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुने बताइएको छ ।   टोलीमा को को छन् ? गोलकिपर – ईश्वर गुरुङ्ग, उनेश चौधरी, जियारथ शेख । डिफेन्डर – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा । मिडफिल्डर – दिपेश गुरुङ्ग, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ्ग, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान । फरवार्ड – दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी ।

पोखरा:  छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको समिक्षा कार्यक्रम कास्कीको धम्पुसमा सम्पन्न भएको छ ।   समिक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन् । अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको भएपनि निरन्तरतामा चुनौती भने रहेको उनीहरुको भनाई छ ।   कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अवार्ड निरन्तरतामा चुनौती देखिएपनि अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको बताए । आगामी दिनका अवार्ड कार्यक्रमलाई भव्य बनाउन मञ्चमा आवद्ध सम्पूर्ण सदस्यबिच एकताको भावना हुनुपर्नेमा उनको जोड थियो ।   मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरीले अवार्ड सम्पन्न गर्न सूरुवातका संस्करणमा गाह्रो भएपनि अब भने सजिलो हुँदै गएको दावी गरे । मञ्चले गर्ने कार्यक्रम प्रदेशका सबै पालिकामा पु¥याउन सके आर्थिक रुपमा मञ्चलाई सजिलो हुने उनको भनाई थियो ।   मञ्चका सल्लाहकार रञ्जन अधिकारीले अवार्ड कार्यक्रम थप आर्कषक बनाउन पर्याप्त तयारी हुनुपर्ने बताए । काम गर्ने क्रममा जस र अपजस दुवै हुने भन्दै सबै मिलेर काम गरेको खण्डमा कार्यक्रमको आर्कषक बढ्ने भनाई राखे । खेलाडी छनोट समितिका सह–संयोजक तथा अवार्ड कार्यक्रमका संस्थापक सन्देश श्रेष्ठले छोटो समयमा पनि उत्कृष्ट कार्यक्रम सहित अवार्ड सम्पन्न भएको भन्दै खुशी व्यक्त गरे । बजेटको सुनिश्चितता नहुँदा समस्या भएपनि आगामी वर्ष सहज हुने उनको विश्वास थियो । अवार्ड कार्यक्रम ब्राण्ड बनिसकेको भएपनि अब यसलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा उनको जोड थियो ।   नेपाल पत्रकार मञ्च गण्डकीका महासचिव गोविन्द सुवेदीले विटगत पत्रकारितामा खेलकुद पत्रकार मञ्च गण्डकी गौरव गर्न लायक संस्था भएको बताए । मञ्चले गरेका राम्रो कामको सिको अरु संस्थाले पनि गर्नुपर्ने उनले बताए । समिक्षा कार्यक्रमको आयोजना गरेर मञ्चले सातौं सस्करणको अवार्ड कार्यक्रमको तयारी सुरु गरेको भन्दै उनले प्रशंसा गरे ।   नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताए । उद्धेश्य अनुसारनै अवार्ड कार्यक्रम अगाडि बढिरहेको उनले बताए । कार्यक्रम गर्दा केही कमिकमजोरी हुने भएकोले त्यस्ता कमजोरी सुर्धादै जानुपर्नेमा उनको जोड थियो । अवार्ड कार्यक्रमको निरन्तरतामा चुनौती भने भएको उनले प्रष्ट पारे ।   मञ्चका अध्यक्ष दीननाथ बरालले बजेटको सुनिश्चितता नहुँदा नहुँदै पनि कार्यक्रम आयोजना गर्नु चुनौतीपूर्ण भएको बताए । यति हुँदाहुँदै पनि सबैको साथ सर्पोटका कारण अवार्ड कार्यक्रम सफल भएको उनको भनाई थियो । बजेटको सुनिश्चिचता भइसकेकोले अबको वर्ष भने सहज हुने उनको विश्वास छ ।    यो वर्ष विभिन्न कारणले असार मसान्तमा अवार्ड कार्यक्रम सम्पन्न गर्नुपरेपनि आगामी वर्षको सातौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड भने बैशाख महिनामा आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए । समिक्षा कार्यक्रममा प्राप्त सुझाबलाई ध्यान दिएर आगामी कार्यक्रमलाई थप परिमार्जित परिस्कृत गरिने उनले जनाए । अवार्ड कार्यक्रमलाई भव्य बनाउन सघाउने सबैलाई उनले आभार व्यक्त गरे ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर, कार्यसमिति सदस्यहरु राजु गिरी, नारायण शाही, दीपक राज मुल्मी सहित मञ्चमा आवद्ध पत्रकारहरु दीपक परियार, गणेश बराल, रोसन अधिकारी, गौरव त्रिपाठी, रोहितराज पराजुली, दीपक गोदार, इन्द्र पौडेल लगायतले स्पोर्टस् अवार्डसँग सम्बन्धित विभिन्न पक्षको बारेमा आफ्नो भनाई तथा सुझाब राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव राजाराम पौडेलले गरेका थिए । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

पोखरा:  पोखरा रंगशाला भित्र रहेको मिडिया सेन्टर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार एक समारोहका बिच उक्त मिडिया सेन्टर संचालन तथा व्यवस्थापनको लागि नेपाल खेलकुद पत्रकार मंच गण्डकीलाई हस्तान्तरण गरिएको हो ।   मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण गरेका हुन् ।   मिडिया सेन्टरको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी ग्रहण गर्दै मञ्चका अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित हुने गरी हस्तान्तरण भएको उक्त मिडिया सेन्टरका कम्पुटर, ल्याप्टप सहितका जिन्सि सामाग्रिको उचित संरक्षण गर्ने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रिपोटिङ गर्न पूग्ने संचारकर्मीहरुको लागि मिडिया सेन्टर चुस्त दुरुस्त अवस्थामा राख्ने उनको भनाइ थियो ।     मञ्चलाई मिडिया सेन्टर हस्तान्तरण गर्न सहयोग पुराउने राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ सहितका अन्य खेलकुदकर्मी तथा मञ्चका पूर्व अध्यक्ष समेत रहेका मिडिया सेन्टर व्यबस्थापन समितिका अध्यक्ष पाठकप्रति आभार व्यक्त गरे ।   मिडिया सेन्टरमा रहेका जिन्सि सामाग्रि चुस्त दुरुस्त बनाउदै पोखरा रंगशालामा कुनै पनि जिल्ला तथा प्रदेश, राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगिता हुँदा मिडिया सेन्टरको कार्यालय खुल्ला रहने मञ्चले जनाएको छ ।   उक्त मिडिया सेन्टरमा ११ थान डेल ब्राण्डको कम्युटर, २ थान ल्यापटप, स्टिल दराज इएक थान, १२ थान कम्पुटर टेवल, २ थान कार्यालय टेवल, एक सेट साउण्ड सिस्टम, ठुलो प्रिटर मेसिन एक थान, ६५ इन्चको एक थान टिभि, एक थान प्राजेक्टर लगायतका संचार सामाग्रि रहेको मञ्चका सचिव शशिकुमार पौडेलले जनाए ।   मिडिया सेन्टर हस्तान्तरण समारोहमा क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख योगी, कार्यालयका नायब सुब्बा डिबी नेपाली, इन्जिनियर अनिल अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशि कुमार पौडेल, सदस्य सुर्दशन रन्जित, राजु गिरी, नारायण शाही, दीपक मुल्मी लगायतको सहभागिता रहेको मञ्चका महासचिव राजाराम पौडेलले बताए ।   मञ्चले गत असार १८ गते पोखरामा छेटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड सम्पन्न गरेको थियो । मञ्चले अब छिट्टै खेलकुद सम्बन्धि तालिम समेत आयोजना गर्ने भएको महासचिव पौडेलले जनाए ।

पोखरा:   पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट फुटसलमा पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ हुने भएको छ ।    आगामी १० र ११ गते स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड राहुल युनाइटेडले ‘फाइभ ए साइड फुटसल प्रतियोगिता’ आयोजना गरिने खेल संयोजक राहुल गुरुङले जानकारी दिए ।   उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३० हजार हात पार्नेछ ।    यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडीले ट्रफीसहित २ हजार ५ सय,  र सर्बाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकले जनही २ हजार प्राप्त गर्नेछ ।    दुई दिन सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टिमले चाहेको खण्डमा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजनका एक जना खेलाडीलाई समावेश गर्न पाइने बताइएको छ । उक्त प्रतियोगिताको दर्ता शुल्क नगद रु ४ हजार निर्धारण गरिएको आयोजकले जनाएको  छ ।