काठमाडौं: नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्यानोइङमा आठौँ भएका छन् । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार फाइनल चरणमा प्रवेश गरेका गणेश फाइनलमा पुगेका १० जनामध्ये आठौँ भएका हुन् । शनिबार नै भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा पुगेका थिए । क्यानोइङमा चीनका क्वान सिनले स्वर्ण, जापानका तानाका युकीले रजत र चाइनेज ताइपेइका उ साओले हसुनले कांस्य जिते । क्यानोइङमा १६ खेलाडीले भाग लिएका थिए ।
झापा: एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा हुनुहुन्थ्यो । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै हुनुहुन्थ्यो । हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो भएको सानो भुइँतले घरमा अनुजाको बुबा र आमा बस्नुहुन्छ । नजिकै जलथल जङ्गल छ । जहाँ अनुजाका बुबासहित गाउँलेहरु गाईभैँसी र बाख्रा चराउन जान्छन् । अधुरो हुलाकी राजमार्गबाट पाँच सय मिटर दक्षिण जङ्गलकै छेउमा खेतीपातीबाटै अनुजाको परिवारले जीवन धान्दै आएको छ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले ऐतिहासिक काँस्य पदक जितेको छ । मेनुका राजवंशीको नेतृत्वमा रहेको नेपाली कबड्डी टोलीमा अग्लो कदकी २५ वर्षीया अनुजा सशक्त खेलाडी हुन् । गत सोमबार बङ्गलादेशलाई पराजित गरेपछि नेपाली टोलीले मुलुकलाई एसियाली खेलकुदकै पहिलो पदक पक्का गरेको थियो । एसियाली खेलकुदको कबड्डी प्रतिस्पर्धामा नेपाली टोली पहिलोपटक सहभागी भएको हो । प्रतियोगितामा पदक दिलाउन अनुजाले प्रदर्शन गरेको खेल कौशलको चौतर्फी प्रशंसा भइरहेको छ । सानो घर, थोरै खेतीपाती र भैँसीपालनको परिवेशले अनुजा सङ्घर्ष गरेरै खेल जगत्मा गाउँबाट उदाएकी प्रतिभा हुन् भन्ने स्पष्ट झल्किन्छ । किसान परिवारमा जन्मिएकी अनुजा चार पाँच वर्षको हुँदा नै बुबा धनमान वैदेशिक रोजगारीमा जानुभयो । आमा र हजुरआमा ९बोजु०को ममतामा हुर्किएकी अनुजा सानैदेखि कबड्डी खेलप्रति आकर्षित थिइन् । अनुजाकी दिदी रोशनी वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रसमा गएकी छन् भने भाइ पनि विदेश जाने तयारीमा छन् । शुक्रबार दिउँसो हामी घर आएको खबर पाएपछि अनुजाका बुबा धनमान जङ्गलको चरनमै भैँसी छाडेर घर फर्किनुभयो । काठे बेराको भुइँतले घरका साँघुरा कोठामा खचाखच माल सामानसँगै अनुजाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाएका प्रमाणपत्र र जितेका पदक असरल्ल थिए । कोही पोखरा र काठमाडौँमा पाएका प्रमाणपत्र थिए भने कोही राजस्थान र मलेसियामा जितेका पदक थिए । अनुजाले पाएका पदक कोठाका भित्तामा टाँगिएका र कोही बाँसका कञ्चीमा बेरेर राखिएका थिए । “कबड्डी भनेपछि हुरुक्कै हुन्थी, भातै खान बिर्सिन्थी”, आमा तिलसरीले अनुजाको बाल्यकाल सम्झिँदै भन्नुभयो, “स्कुल गयो कबड्डी खेल्यो, घर आयो कबड्डी खेल्यो अनि बेलुका भयो छिमेकीका घरमा गएर पनि टिभीमा कबड्डी गेम नै हेरेको छ । अति भएपछि पढाइ बिग्रन्छ कि भन्ने चिन्ता थपियो । पढ्नमा मन लगा छोरी, यसरी खेलामा लागेर भविष्य बिग्रिन्छ भनेर कति सम्झायौँ । तर, उसले मानिन । कबड्डी खेल्न छाडिन ।” कबड्डी खेलेर देशको नाम संसारभर चिनाउने सङ्कल्प लिएर खेल क्षेत्रमा सानैदेखि समर्पित अनुजालाई कबड्डीमा डोहो¥याउने प्रशिक्षक झापाकै रतिया राजवंशी हुनुहुन्छ । हाल भद्रपुर वडा नं ६ का वडाध्यक्ष रहनुभएका राजवंशी अखिल नेपाल कबड्डी सङ्घका कोशी प्रदेश अध्यक्ष र कबड्डीका पूर्वराष्ट्रिय प्रशिक्षक हुनुहुन्छ । “दश वर्षअघि गाउँका स्कुलतिर खेलाडी हुन लायक विद्यार्थीको खोजीमा निस्किएको थिएँ”, आफूले प्रशिक्षित गराएकी अनुजाले एसियाली खेलमा पदक जित्दा खुसी लागेको बताउँदै कबड्डी सङ्घका तत्कालीन प्रशिक्षक राजवंशी भन्नुहुन्छ, “जब म हल्दिबारीको पञ्चायत माविमा पुगेँ । अग्लो र बलिष्ठ कदकी छात्रालाई बोलाएर तिमीले अब कबड्डीको तालिम लिनुपर्छ भनेँ । तिनै छात्रा नै अहिलेकी अनुजा हुन् । मैले उनी भविष्यमा राष्ट्रकी होनहार प्रतिभा बन्ने छिन् भन्ने त्यतिबेलै कल्पना गरेको थिएँ । मेरो त्यो अनुमान अहिले साँचो ठहरियो ।” अनुजाले घरदेखि टाढा रहेको पञ्चायत मावि र लक्ष्मी माविबाट माध्यमिक तहको शिक्षा हासिल गरेकी थिइन् । उसबेला गाउँका अरु केटीहरु टाइसुटमा ठाँटिएर बोर्डिङ स्कुल पढ्थे । घरको आर्थिक अवस्था बलियो नहुँदा उनले पैदल धाएरै सरकारी विद्यालयमा पढ्छिन् । पढ्न र खेल्नबाहेक उनले गाईवस्तु पनि चराउनुपथ्र्यो, घाँस पनि काट्नु पथ्र्यो । “स्कुल धाउँथिन्, तर उनको मन र मस्तिष्क कबड्डी खेलतिरै एकोहोरिएको थियो”, अनुजाको पठनपाठनबारे पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद बन भन्नुहुन्छ, “उनको पढाइको स्तर सामान्य भए पनि कबड्डीमा रुचि भने अचम्मकै थियो । चारपाँच जना बलिया मान्छेलाई फाँड्न सक्ने उनको तागत थियो । कबड्डीका प्रशिक्षक राजवंशीले विद्यालयमै आएर उनलाई खेलाडी छनोट गर्नुभएको थियो । विद्यालयमै अरुसँगै नियमित तालिम पनि दिनुभएको थियो ।” आफ्नो विद्यालयमा पढेकी छात्राले अन्तर्राष्ट्रिय खेलकुदमा मुलुकको स्वभिमान उँचो बनाउँदै पदक जितेकोमा विद्यालयमा खुसीको माहोल छाएको उहाँले बताउनुभयो । “मैले पनि बङ्गलादेशसँगको खेल हेरेको थिएँ, साह्रै खुसी लाग्यो”, उहाँले भन्नुभयो । प्रअ बनका अनुसार अनुजाले स्कुलबाटै कबड्डी सिकेकी हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डीमै उनले पटक–पटक गोल्डमेडल जितेकी थिइन् । जिल्ला, प्रदेश हुँदै उनी राष्ट्रिय टोलीमा सामेल हुन पुगिन् । अहिले उनी नेपाली सेनाको विभागीय टिम आर्मी क्लबमा आबद्ध छन् । एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि अनुजाले घरकी बोजु ७२ वर्षीया मनमाया राईलाई फोनबाट आर्शिवाद मागेकी रहिछन् । जितेर आउनु भनेर आफूले आर्शिवाद दिएको मनमायाले बताउनुभयो । कबड्डीमा पदक जितेको खबर सुन्दा साह्रै खुसी लागेको बताउने मनमायाले अनुजा डेढ वर्षदेखि घर आउन नभ्याएकोमा भने बेखुसी व्यक्त गर्नुभयो । खेलमा बढी रुचि भएकी अनुजा सानो छँदा कबड्डीको प्रतिस्पर्धा हेर्न छिमेकीका घर गएर टिभी हेर्ने गर्थिन् । धेरै गाउँ हिँड्न थाली भनेर उनकै लागि भनेर आमा तिलसरीले आफ्नै घरमा टिभी किनेर ल्याउनुपरेको सुनाउनुभयो । “सबै गाउँलेले पनि खेलमा लागेर छोरी बिग्रिने भई भनेर डर देखाउँथे, हामी पनि कबड्डी खेलेर हातखुट्टा भाँचियो भने कसले पाल्छ नानी भनेर सम्झाउँथ्यौँ”, आमा तिलसरीले अनुजाको खेल अभिरुचिबारे सुनाउँदै भन्नुभयो, “खेल खेलेरै नाम कमाउँछु भन्थी । उनको सपना आज पूरा भएको छ । हामीले खेलबाट पनि संसारभरि चिनिन सकिने रहेछ भनेर बुझेका रहेनछौँ ।” नेपाली कबड्डी टोलीले चीनमा पदक जितेपछि अनुजाको खेलको फुटेज र अन्तर्वार्ता सञ्चारमाध्यममा छाएका थिए । पदक जितेको खबर पहिलोपल्ट अनुजाको भाइले बुबा धनमानलाई सुनाएका थिए भने गाउँलेले मोबाइलमा युट्युबमार्फत अनुजाको अन्तर्वार्ता देखाएका थिए । पछि टेलिभिजन र रेडियोमा पनि अनुजाको नाम सुन्दा गौरव लागेको धनमानले बताउनुभयो । “म रोजगारीका लागि विदेश गइहाले, उसलाई सानो छँदा आमा र बोजुले नै रेखदेख गरेँ”, अनुजाको खेल सफलताबारे बुबा धनमान भन्नुहुन्छ, “एसियाली खेलकुदमा पदक दिलाएर हाम्री छोरी अब सम्पूर्ण नेपालीकै प्यारी छोरी भएकी छिन् । यसमा हामी ज्यादै खुसी छौँ ।”
पोखरा: एट टु नाइन गाइजको आयोजनामा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न भएका छन । पोखरा १३ माछापोखरी खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा नेभरमिट एफसीले मसिना एफसीलाई २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा रामघाट गुम्बा ‘ए’ ले मन्थन एफसीलाई १–० गोले हरायो । तेस्रो खेलमा नमस्ते एफसीले वाकओभर पायो । प्रतिद्वन्द्वी एसएनएस बि–१३ ले खेलमा सहभागिता नजनाएपछि वाकओभर पाएको हो । चौथो खेलमा लामागाउँले संगम एफसीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको हो । पाचौं खेलमा नदिपुरले वाकओभर पायो । प्रतिद्वन्द्वी ढुङ्गेसाघु नाअएपछी वाकओभर पाएको हो । प्रतिस्पर्धात्मक बनेको छैटौं खेलमा गेमशालाले कमलपोखरीलाई टाइब्रेकरमा २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । सातौं खेलमा बि–१३ ले वाक ओभर पायो भण्डारढिकले सहभागिता नजनाएपछि वाकओभर पाएको हो । आठौं खेलमा म्याग्दी चोकले सनसेटलाई ४–१ गोल अन्तरले हरायो । नवौं खेलमा रामघाट गुम्बा ए ले वाकओभर पायो । बिएनएस रुद्र एफसीले सहभागीता नजनाएपछी रामघाटले वाकओभर पाएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको प्रतियोगिताको अन्तिम खेलमा रन्जन मेमोरियलले केआईइसी बुनलाई सडनडेथमा ४–३ गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछी खेल सडनडेथमा पुगेको थियो । प्रतियोगिता खेलाडीलाई आर्थिक सहयोग गर्नका लागि गरिएको हो । रग्बी खेलाडी यशोदा बोहोरालाई अर्थिक सहयोग गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए । यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । प्रतियोगिताबाट बचत भएको रकम यशोदालाई प्रदान गरिने गुरुङले बताए ।
काठमाडौं: चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ । चीनको हाङझाउमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा भारत बङ्गलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । बङ्गलादेशले दिएको ९७ रनको लक्ष्यलाई भारतले नौ दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि तिलक बर्माले अविजित ५५ रनको योगदान दिए । उनले २६ बल खेल्दै छ छक्का र दुई चौकाको मद्दतमा अविजित ५५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान रुतुराज गायकवाडले ४० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बङगलादेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि जाकेर अलिले सर्वाधिक २४ रनको योगदान दिए भने प्रभेज हास्साइन इमोनले २३ रन बनाए। त्यस्तै राकिबुल हसनले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ भारतका साइ किशोरले सर्वाधिक तीन विकेट लिए भने वास्ङिटन सुन्दरले दुई विकेट लिए । त्यस्तै, अरसदिप सिंह, तिलक बर्मा, रवि विस्नुइले समान एकरएक विकेट लिए । यसअघि क्वाटरफाइनल खेलमा भारत नेपाललाई २३ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
काठमाडौं: चीनमा जारी १९ औं एसियाली खेलकुद ९एसियाड०अन्तर्गत महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ। हाङ्गचौंको जिआओसान गुआली स्पोर्ट्स सेन्टरकोमा भएको सेमिफाइनलमा भारतसँग ६१/१७ ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको हो। समूह ‘बी’ मा इरानसँग पराजित हुनुअघिको खेलमा बंगालदेशलाई हराउँदै नेपालले अघिल्लो चरणको सम्भावना बनाएको थियो। समूह उपविजेता बनेसँगै नेपालको कास्य पदक पक्का भएको थियो। एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने दुई टिमलाई कास्य पदक दिने प्रावधान छ। पहिलो सहभागितामा नै महिला कबड्डी टोली पदक जित्न सफल भएको छ ।
पोखरा: “युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन एक वाकओभर तथा पाँच खेल सम्पन्न भए । प्रतियोगिताको उद्घाटन तथा पहिलो दिनको चौथो खेलमा माछापुच्छ«े त्रिशक्ति युनाइटेडले मिलनटोल एफसीलाई २–१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो दिन कुल ६ खेल सम्पन्न भए । प्रतियोगिताको पहिलो खेलमा भुजुङ एफसिले आयोजक एट टु नाइनलाई ४–० गोल अन्तरले पाखा लगायो । दोस्रो खेलमा कमलपोखरीले मालेपाटनलाई ४–० गोलले हरायो । तेस्रो खेलमा ए सेभेन ब्रदर्सले कटपा एफसीलाई ५–१ गोल अन्तरले पाखा लगायो । पाचौ खेलमा एनवाईसी यएरपोर्टले वाकओभर पायो । कुमागाने एफसीले सहभागिता नजनाएपछी वाक ओभर पाएको हो । पहिलो दिनको अत्यन्तै प्रतिस्पर्धात्मक बनेको अन्तिम खेलमा पसगाउले रबै एफसिलाई टाइब्रेकरमा ३–२ गोलले हराउन सफल भयो । निर्धारित २०–२० मिनेटको खेल १–१ गोलको बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका वडा १३ का वडा अध्यक्ष किरण बरालले प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडा १३ मा एक मात्र माछापोखरी खेलमैदान रहेको र यसलाई संरक्षण गर्न स्थानीय युवा तथा क्लबहरु लागिपरेको बताउदै खेल प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गरे । एट टु नाइनका उपाध्यक्ष तथा प्रतियोगिताका व्यवस्थापक धनराज तामाङले फुटसल खेल्दै जमघट भएको समुहले फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पोखरा: काठमाडौमा भोलिदेखि असोज २१ गतेसम्म सञ्चालन हुने बिरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने भएको छ । नेपाल गणतान्त्रिक खेलकुद महासंघले असोज १८ देखि २१ गतेसम्म सञ्चालन गर्ने बिरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता गण्डकीले खोमप्रसाद पाण्डे हरीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो । गण्डकी प्रदेश पुरुष भलिबलको टोली बाहिर रहेका ओपन स्पाइकर नवलपुरका घनश्याम चौधरीले टोलीमा पूनरागमन गरेका छन् । टोलीको कप्तानीमा खोमप्रसाद पाण्डे हरि, घनश्याम चौधरी, सुजन चोखाल, विवश आले मगर, हिमाल सुनारी मगर, रवि केसी, जीवन सुनार, इन्द वि.क, सरोज बर्देवा, सन्तोष रानामगर र टिम लिब्रोमा कुञ्जन शाही ठकुरी रहेका छन् । ढोरपाटन स्पोर्टस क्लब काठमाडौको खेलमैदानमा हुने प्रतियोगितामा गण्डकी प्रदेशसँगै दुई विभागीय क्लब नेपाल पुलिस क्लब, एपिएफ क्लब, नेपाल गणातान्त्रिक खेलकुद महासंघ, किङ्स क्लब काठमाडौं, न्युटन चिल्ड्रेन एकेडेमी, गलकोट स्पोर्टस क्लब र त्रिभुवन विश्वविद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र क्विकरले समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
स्याङ्जा: बडा दशैंको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका ६ टक्सारमा ‘प्रथम खुल्ला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ । ‘समाजका लागि युवा, युवाका लागि खेलकुद’ भन्ने मुल नारासहित माछापुच्छ्रे युवा क्लबले खुल्ला भलिबल र छेलो प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिता आगामी कार्तिक १ गतेदेखि ३ गतेसम्म संञ्चालन हुने छ । भलिबल प्रतियोगितातर्फ प्रथम हुने टोलीलाई रु ५० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी, दोस्रो हुने टोलीले रु ३० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीलाई रु ३ हजारले पुरस्कृत गरिने उनले बताए । यस्तै छेलोतर्फ प्रथम हुनेलाई ५ हजार सहित मेडल तथा प्रमाणपत्र र द्वितियलाई ३ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । खेलकुदको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गर्न र खेलकुद विकासको लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
चीन: १९औं एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ । समूह ‘बी’ अन्तर्गत हाङझाउस्थित साओशन गुआली स्पोर्ट्स सेन्टरमा बुधबार इरानले बङ्गलादेशलाई ५४–१६ ले हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेश गर्ने टोलीले कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ । महिला कबड्डीको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा बङ्गलादेशलाई ३७–२४ ले हराएको थियो । दोस्रो खेलमा भने मङ्गलबार नेपाल साविक विजेता इरानसँग ४३–१९ ले पराजित भएको थियो । लगातार दुई जितसँगै इरान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेश बाहिरिएको छ । नेपालले महिला कबड्डीलाई पहिलो पटक एसियाडमा सहभागी गराएको हो । जारी एसियाडमा अन्य खेलमा पदकको सम्भावना क्षिण बन्दै जाँदा महिला कबड्डीले नेपालको पदक खडेरीलाई टारेको छ । सेमिफाइन र फाइनलमा समेत राम्रो गर्न सके नेपालले महिला कबड्डीबाट कांस्यभन्दा माथिको पदक समेत हात पार्नेछ । सात टोली सहभागी एसियाड महिला कबड्डीमा समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनेज ताइपेइ र थाइल्यान्डले प्रतिस्पर्धा गरेका थिए । एसियाडमा नेपालबाट सहभागी २९ खेलमध्ये पदकको आशा गरिएको मार्सल आर्ट्स खेलहरु तेक्वान्दो, कराते, उशु, जुडो लगायतका खेलाडी पदकविहीन बनेको छ । नेपालले पदक आशा गरेको पुरुष क्रिकेटको सम्भवना पनि भारतसँग क्वार्टरफाइनलमा पराजित भएसँगै सकिएको छ । नेपालले अब कराते, डान्सिङ र कुस्तीका खेल खेल्न बाँकी छ । यि हुन् नेपाली महिला कबड्डी टोली मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडु, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जनाकुमारी थारु, कलावती पन्त, इशा राई, सुनीता थापा, नितु गुरुङ र मनमती विष्ट ।