म्याग्दी:  मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धु...

काठमाडौं: गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गर्नुभएको छ ।      आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तपछिको जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।       सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रका लागि थप काम गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।      कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी सङ्गठन प्रमुखको महत्त्वपूर्ण र गरिमामय पदमा रही मुलुकका लागि पु(याएको योगदानको प्रशंसा गर्नुभयो ।      सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पदसम्मको यात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताउनुभयो ।       आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समयानुकूल आधुनिकिकरण, साङ्गठनिक सुदृढीकरण, विकास र स्तरोन्नतिका लागि नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त अभिभावकत्व, हौसला र मार्गनिर्देशनका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।       महानिरीक्षक कुँवर भोलिबाट सेवा निवृत्त हुन लाग्नुभएको छ ।

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प गरेको छ ।      ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विभिन्न प्रस्ताव पारित गर्दै नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।       “संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न हामी प्रतिबद्ध छौं,” बैठकपछि उहाँले भन्नुभयो । बैठकमा केही समय यता लोकतान्त्रिक गणतन्त्र र संविधान विरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।       “लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षको परिणति हो । विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरीत राजतन्त्र पटकपटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत भएपछि राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो”, पारित प्रस्तावमा भनिएको छ, “जनताको फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ ।”      पार्टीले लोकतन्त्र स्थापनापछिको छोटो समयमै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको उल्लेख गर्दै सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल र भूकम्पलगायत प्राकृतिक विपत्तिका बीचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवनस्तर, अन्तरराष्ट्रिय सम्बन्धलगायत क्षेत्रमा हासिल गरेको उपलब्धि महत्त्वपूर्ण भएको ठहर गरेको छ  ।      पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै विकसित समसामयिक राजनीतिक विषय तथा सरकारका कामका बारेमा जानकारी गराउनुभएको थियो । मुलुकको समसामयिक परिस्थिति र विकसित राजनीतिक घटनाक्रमका बारेमा सचिवालयका सदस्यहरूले बैठकमा आआफ्नो राय प्रस्तुत गर्नुभएको थियो ।       बैठकले लुम्बिनी प्रदेश कमिटीले थप गरेका २८ जनाको नाम अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । 

पोखरा:   कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघिय  विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास गरिएको छ ।  कोसेली घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा शिलान्यास गर्नुभएको हो । शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले हरित रोजगारी सृजनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।  फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण  भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक  सशक्तीकरण समेत हुने उहाँको विश्वास छ ।  ‘विभिन्न चरणमा हामीले पोखरा महानगरपालिकाका १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी आवश्यक तालिम तथा प्राविधिक दक्षता अभिवृद्धिको कार्यक्रम गरीसकेका छौँ, उहाँले भन्नुभयो, यसले सामुदायिक स्तरमा रोजगारी सृजना र चक्रीय आर्थिक प्रणालीमा जोडिने अवसर समेत प्रदान गर्नेछ ।’ विदेश पलायन भइरहेको युवा शक्ति र गृहिणी महिलाहरूका लागि समेत हरित रोजगारी सृजना महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।  ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, फोहोरबाट मोहोर पनि आर्जन हुनेछ ।’ नगर प्रमुख आचार्य भन्नुभयो । परियोजनाको पहिलो चरणमा ३ हजार बढी प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी सृजना हुने उहाँले बताउनुभयो ।  कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइका बिचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।  नेपालको पर्यटन राजधानी पोखरामा रिसाईकल र अपसाइकल मार्फत हरित रोजगारी सृजनाको नमुनाका रूपमा विकास गर्न यो परियोजना कोषेढुङ्गा साबित हुने कोङ्ले उल्लेख गर्नुभयो । ग्रिन जब क्रियसन संसारमा निकै प्रभावकारी परियोजनाका रूपमा अगाडी आएको उहाँले बताउनुभयो ।  संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने बताउनुभयो ।  उहाँका अनुसार यसले आरयू उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । परियोजना मार्फत ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गरी नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गरिने उहाँले बताउनुभयो ।  पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सृजनामा समेत यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।  कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन राजधानी पोखराका लागि परियोजना रोजगारी सृजनाको नयाँ प्रयोगका रूपमा प्रभावकारी हुने बताउनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले यो परियोजना पोखराका लागि रोजगारी सृजना, सिकाई प्रवर्द्धन र उत्पादनका हिसाबले महत्त्वपूर्ण हुने बताउनुभयो ।  परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०।८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् । १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाण्डौले पाएको छ ।  परियोजनाले नकुहिने फोहोर प्रशोधन सहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।  फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण मानिन्छ । हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । ३० अगस्ट २०२३ मा नगर प्रमुख आचार्य र कोइकाका उपप्रमुख युन यंग ली बिच सम्झौता भएको थियो । 

पोखरा:  होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ को तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको जानकारी दिएको हो ।  महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवमा अवसरमा संघ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रचलित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने घोषणा गरे । यसैगरी संघले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा जाउँ है पोखरा अभियान सम्पन्न गरेको र पश्चिम नेपालमा पनि यस्तो अभियान छिटै संचालन गरिने जानकारी उनले गराए ।  जाउँ है पोखरा अभियान र फेवा नव वर्ष महोत्सव जस्ता कार्यक्रमकै कारण पोखरा आउने आन्तरिक पर्यटक हाल ४० प्रतिशत पुगेको तथ्यांक पनि उनले दिए । दुई दशक अघि यस्तो संख्या तीन प्रतिशत मात्र रहेको उनले स्मरण गराए । पोखराका होटलमा अहिले पाहुनाको समग्र अकुपेन्सी दर ४० प्रतिशत हाराहारी रहेको जानकारी पनि अध्यक्ष सुवेदीले गराए । भारतीय पर्यटकको संख्या पनि उल्लेख्य रहेको उनले बताए । पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यहाँको होटल क्षेत्रमा मात्र ५ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको संघको आंकलन छ ।   स्थानीय ड्यामसाइडदेखि खहरेसम्म सडकमा नै संचालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खाना भन्ने नारासहित यो महोत्सव हुन लागेको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।  रैथाने र परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र खेलकूदका कार्यक्रम, पर्यटक दौड, पप कन्सर्ट, कृषि र हस्तकलाका सामग्रीको प्रर्दशनी र लोकदोहोरीका कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहने छन् । पर्यटनको राजधानी पोखरामा पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा हुन लागेको यो महोत्सवले फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं वाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य पनि लिएको छ ।  अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ बर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउने र यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ ।  सांस्कृतिक झाँकीसहित अम्मटमा महोत्सवको उद्घाटन कार्यक्रम हुने छ । महोत्सवलाई पोखरा महानगरपालिका, होटल संघ नेपाल, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले सघाउने छन् । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले फेवा महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भनाई राखे ।  आयोजक संघको सल्लाहकार परिषद्का सदस्य एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले सकारात्मक माहोलले पर्यटनलाई अगाडि बढाउन मद्दत पुग्ने भनाई राखे । नेपाल पत्रकार महासंघ कास्कीका सभापति माधव वरालले पोखरा आउने पर्यटकको तथ्यांक राख्न सम्वन्धित संस्थालाई सुझाव दिए ।  

काठमाडौं:  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’को शुभारम्भ गर्दै मन्त्री खड्काले हिमतालको संरक्षण गर्न आगामी दिनमा सरकारले बजेटको व्यवस्था गर्ने बताउनुभयो ।  “हिमताल फुट्दाको जोखिमबाट उत्पन्न हुने अवस्था भयावह छ, यो फुटेपछि मानवीय क्षतिसँगै आयोजनाको समेत ठूलो क्षति हुने भएकाले यसलाई समयमै जोगाउनतफृ लाग्नुपर्छ,” मन्त्री खड्काले भन्नुभयो ।  उहाँले जलवायु परिवर्तन र विश्वमा भएको तीव्र औद्योगिकरणका कारण विश्वको तापक्रम बढ्दै जाँदा यसको असर नेपालका हिमालमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।  “हिमाल उत्पत्ति भएसँगै हिमताल बनेका छन्, प्राकृतिक हिमतालको संरक्षण गर्नु आजको आवश्यकता हो, हिमतालको संरक्षणका लागि आगामी वर्ष बजेटको व्यवस्था गछौँ,” उहाँले भन्नुभयो ।  मन्त्री खड्काले जलवायु परिवर्तनको बढ्दो प्रभाव, हिमनदीको घट्दो अवस्था तथा जल र मौसमको बदलिँदो स्वरूपलाई दृष्टिगत गर्दै सरकारले नीति निर्माणदेखि व्यवहारिक समाधान खोज्नेतर्फ विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । पानीको अधिकतम उपयोग र संरक्षण गर्नतर्फ सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।  “नेपालमा हिमालय पर्वत शृङ्खलाबाट उत्पन्न हुने नदी तथा हिमनदीले हाम्रो ऊर्जा, कृषि, पर्यटन र जैविक विविधताको आधार निर्माण गरेका छन्, यी जलस्रोत हाम्रो संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड हुन्, पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण हाम्रा हिमनदी खुम्चिँदै गएका छन्, यसले जलस्रोत व्यवस्थापन र भविष्यको जलसुरक्षासम्बन्धी गम्भीर चुनौती उत्पन्न गरेको छ,” मन्त्री खड्काले भन्नुभयो । जलस्रोत र मौसम विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । सरकारद्वारा हाल सञ्चालन भइरहेका विभिन्न जल तथा मौसमसम्बन्धी पूर्वानुमान प्रणालीलाई डिजिटल प्रविधिसँग समायोजन गर्दै प्रभावकारी आपत्कालीन व्यवस्थापन प्रणाली स्थापना गरिने उल्लेख गर्नुभयो ।  मन्त्री खड्काले स्वच्छ पानीको प्रवद्र्धन, मौसम पूर्वानुमान प्रणालीको सुदृढीकरण तथा जलस्रोतको दिगो व्यवस्थापनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सरकारले अघि बढाइरहेको स्पष्ट पार्नुभयो । सरकार दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकूलन रणनीति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । मन्त्री खड्काले जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालले छिमेकी देशसँग मिलेर काम गर्नसक्ने थुप्रै अवसर रहेको बताउनुभयो । उहाँले जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थासँग सहकार्य गरी नेपालका जलस्रोतको दिगो व्यवस्थापन तथा विकासलाई सुनिश्चित गर्न लाग्ने उल्लेख गर्नुभयो ।  जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधुप्रसाद भेटुवालले एक हप्तासम्म चल्ने नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहले पानी, जलवायु, मौसमलगायतका विषयमा जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।  उहाँले जल तथा मौसमसम्बन्धी अनुसन्धान, नीतिगत सुधार, प्रविधि हस्तान्तरण, तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  ‘हिमनदी संरक्षण, सबैका लागि समयमै पूर्वसूचना’ नाराका साथ मनाउन लागिएको उक्त सप्ताहमा नेपालका हिमनदी र जल तथा मौसमको बारेमा जनचेतना फैलाइने आयोगका सहसचिव जगदीश्वर कर्माचार्यले जानकारी दिनुभयो । उक्त सप्ताह यही चैत १० गतेसम्म चल्नेछ ।

काठमाडौं:  विद्यार्थीलाई नेतृत्व निर्माण गर्ने थलोको रुपमा चिनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभरिका अधिकांश क्याम्पसमा हुँदै छ ।  त्रिविले प्रत्येक दुई/दुई वर्षमा गर्ने स्ववियु निर्वाचन मङ्गलबार हुँदै छ । निर्वाचनका लागि विभिन्न राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन सहभागी हुँदैछन् ।  निर्वाचनका माध्यमबाट विद्यार्थीले वैचारिक नेतृत्व चयन गर्नेछन् । निर्वाचनमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिँदै छन् ।  स्ववियु निर्वाचनको तयारी पूरा भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन मिश्रित प्रणाली भएकाले दुई मतपत्र रहने छन् ।  प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित रुपमा हुनसकेको थिएन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन त्यसपछि २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेकमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो ।  त्यतिवेला नौ  आङ्गिक क्याम्पसमा निर्वाचन हुनसकेको थिएन । यसपटक भने १३ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । ती क्याम्पसमा पनि त्रिविले चाँडै निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ ।  अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले विद्यार्थी नेतृत्व निर्माण गर्ने थलोको रुपमा स्ववियु निर्वाचन रहेको बताउनुभयो । उहाँले विचारको विमर्श गरी विद्यार्थीलाई लोकतान्त्रिक प्रक्रियामा प्रवेश गराउने माध्यम स्ववियु निर्वाचन भएको  बताउनुभयो । “विद्यार्थीलाई राजनीतिमा लाग्न उत्प्ररेणा दिने माध्यम स्ववियु निर्वाचन हो”, उहाँले भन्नुभयो, “स्ववियु निर्वाचन मुलुकका लागि नेतृत्व स्थापित गर्दछ ।” स्ववियु शैक्षिक गुणस्तर कामय गर्न तथा सरकारको प्रतिपक्षका रुपमा काम गर्ने माध्यम बनेको उपाध्यक्ष घर्तीले बताउनुभयो ।  नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले राजनीतिक नेतृत्वको नर्सरीको रुपमा स्ववियु निर्वाचन भएको बताउनुभयो । “स्ववियु निर्वाचन लोकतान्त्रिक प्रक्रियामा सहभागी भएर विद्यार्थीमाझ नेतृत्व स्थापित गर्ने माध्यम हो,” उहाँले भन्नुभयो, “विद्यार्थीलाई राजनीतिक रुपमा स्थापित गराउने काम स्ववियु निर्वाचनले गर्दछ ।”  अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव रोशन थापामगरले मूलधारको राजनीतिमा प्रवेश गर्ने द्वारका रुपमा स्ववियु निर्वाचन रहेको बताउनुभयो । “क्याम्पस शिक्षा प्रदान गर्ने मात्र ठाउँ मात्र नभएर नेतृत्वको विकास गर्ने पनि  हो”, उहाँले भन्नुभयो– “अहिले नेतृत्वमा आउने विद्यार्थी भोली कुनै न कुनै रुपमा मुलुकको नेतृत्व गर्ने ठाउँमा पुग्छन् ।”  स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । त्रिविमा २०१८÷१९ सालदेखि प्रत्यक्ष प्रणालीबाट स्ववियु निर्वाचन भएको इतिहास रहेको निर्वाचन समितिका सदस्य सचिव अधिकारीले बताउनुभयो ।  विसं २०३० सम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुने गरेकामा २०३६ सालदेखि प्रत्येक दुई दुई वर्षको अन्तरालमा २०६५ सालसम्म प्रत्यक्ष प्रणाली अनुसार स्ववियु निर्वाचन भएको थियो ।  विसं २०७३ मा मिश्रित प्रणालीमा आधारित भएको स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको थियो । विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसपमा स्ववियु निर्वाचन तथा २०७९ सालमा ५०  आङ्गिक र ३०० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भएको समितिका सदस्य सचिव अधिकारीले बताउनुभयो ।  उहाँका अनुसार यस पटक ४७ आङ्गिक र २५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदै छ । स्ववियु निर्वाचनमा मतदान गर्न मङ्गलबार बिहान ८ देखि दिउँसो ४ बजेसम्मको समय तय गरिएको छ । 

ललितपुर:  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेकामा जोड दिनुभएको छ ।  ललितपुर उद्योग वाणिज्य सङ्घको आजा आयोजित ५८औँ स्थापना दिवसका अवसरमा उहाँले केन्द्रीय सरकारले सहकार्य र सहजीकरणका माध्यमबाट कानुनी समस्या समाधान गर्दै लगानीमैत्री वातावरण तयार गरेको बताउनुभयो । उहाँले सहकार्यका माध्यमबाट समृद्धि हासिलमा लाग्नुपर्नेमा जोड दिनुभयो ।  “रोजगारी सिर्जना, पूर्वाधार निर्माणको काम निजी क्षेत्रको हो, यसका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य अनिवार्य छ, ललितपुर महानगरले निजी क्षेत्रलाई गरेको प्रोत्साहन सराहनीय छ, प्रदेश सरकारसँग पनि सहकार्य गरेका छौँ”, अध्यक्ष ढकालले भन्नुभयो । उहाँले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्ने गरी कानुन आउने हल्लाले एक किसिमको त्रास सिर्जना गरेको थियोे भन्दै उद्योग वाणिज्य महासङ्घको प्रयासमा अहिले त्यो अवस्था समाधान भएको उल्लेख गर्नुभयो ।  “अहिले एउटा वातावरण तयार भएको छ, सरकारले कानुन परिवर्तन गरेर निजी क्षेत्रलाई प्रोत्साहन गरेको छ, अब कार्यविधि र नियमावली सही रुपमा छिटो भयो भने धेरै परिवर्तन हुन्छ, हामीसँग धेरै सम्भावना छन्, सूचना प्रविधिको क्षेत्रमा सम्भावना छ, पैसाको कारणबाट काम गर्न नसक्ने अवस्था हुँदैन”, उहाँले भन्नुभयो । उहाँले सकरात्मक सोचका साथ काम गरेर पुँजी परिचालन गर्दै विकास र समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई प्रभावकारी बनाउन आफू तत्पर रहेको बताउनुभयो । “हामी उद्योग वाणिज्य महासङ्घ र उद्योगी व्यवसायीबीच सहकार्य गर्न तत्पर छौँ, उद्योग वाणिज्य महासङ्घबाट बजेट निर्माणका समयमा छफलमा सहभागी हुनुहोस्, सँगै मिलेर काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।  नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले ललितपुर उद्योग वाणिज्य सङ्घबाट नेपाल उद्योग वाणिज्य महासङ्घमा सबै कार्यकालमा सक्रिय प्रतिनिधित्व रहेको बताउँदै ललितपुरको आर्थिक सामाजिक विकासमा मिलेर काम गर्न तत्पर रहेको धारणा राख्नुभयो ।  ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वराज बज्राचार्यले ललितपुरमा विदेशी लगानी भित्र्याउन अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले ललितपुर उद्योग वाणिज्य सङ्घको एप बनाउने तयारीमा रहेको जानकारी गराउँदै अर्थतन्त्रलाई चलायमान बनाउन ललितपुर महोत्सव गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।  कार्यक्रममा भाषा, साहित्य, कला, संस्कृति संरक्षण एवं सम्बद्र्धनमा योगदान पु¥याउनुहुने संस्कृतिविद् छत्रबहादुर कायस्थलाई रु २५ हजार र सम्मानपत्रसहित सम्मान गरिएको छ ।  विसं २०२३ चैत ४ गते स्थापना भएको ललितपुर उद्योग वाणिज्य सङ्घले ५८औँ स्थापना दिवसका अवसरमा पूर्वअध्यक्ष, पूर्वपदाधिकारीलगायतलाई सम्मान गरेको हो ।

काठमाडौं:  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उहाँकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताउनुभएको छ ।  कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाउनुभएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गर्नुभएको छ ।      उहाँले भन्नुभयो, “यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौँ । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट सङ्कलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौँ ।”      उहाँ कप्तान सुब्बाको धर्मपिताका रुपमा परिचित हुनुहुन्छ । गत फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन सुरु भएको चलचित्रले तीन दिनमा रु दुई करोड सात लाखको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।  “प्रदर्शनकै दिनदेखि हामी काठमाडौँ उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौँ । चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ । चलचित्र हेर्नुभएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, यसकारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौँ”, वितरक श्रेष्ठले भन्नुभयो ।      उहाँले चलचित्र प्रदर्शनको चौथो दिन आइतबार र पाँचौँ दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्याङ्क आउँदो केही दिनमा सार्वजनिक गर्ने बताउनुभयो । कप्तान सुब्बा आफैँले अभिनय गरेका कारण दर्शक उहाँको सङ्घर्ष र सफलतासँग भावनात्मक रुपमा जोडिएको निर्देशक मिलन चाम्सले बताउनुभयो ।      “कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर चलचित्र निर्देशन गर्न सहमत भएको थिएँ । हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाउनु भयो । यो सफलताले आगामी दिनमा अन्य खेलाडीको कथामा चलचित्र निर्माण गर्न हौसला थपेको छ”, निर्देशक चाम्सले भन्नुभयो ।      चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गर्नुभएको छ । 

मकवानपुर:  मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीमार्फत कृषक आकर्षित भएका छन् । सो पालिकाले आव २०८१/८२ मा रैथाने बाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत रु ३५ लाख विनियोजन गरेको छ ।      दुई रोपनीभन्दा बढी जग्गामा कोदो, फापरजस्ता रैथाने जातका अन्नवालीको खेती गर्ने ४२४ कृषकलाई उत्पादनका आधारमा अधिकतम २७ हजार ८०० सम्म प्रोत्साहन रकम बाँडिएको पालिकाका कृषि शाखा प्रमुख उज्ज्वल राना मगरले जानकारी दिनुभयो ।  पालिकाका ४५१ जना कृषकले दुई हजार ५१० रोपनी जग्गामा कोदोखेती गर्न यस वर्ष निवदेन दिएका थिए । उक्त जग्गामा करिब २५५ मेट्रिक टन कोदो उत्पादन हुने पालिकाले जनाएको छ ।      समग्र गाउँपालिकाभरि पाँच हजार १३ रोपनी क्षेत्रफलमा कोदोखेती हुने र त्यसमा ५०९ मेट्रिक टनसम्म कोदो उत्पादन हुने अनुमान गरिएको कृषि शाखा प्रमुख राना मगरले जानकारी दिनुभयो । यसैगरी, भीमफेदी गाउँपालिकाले रैथाने बाली कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ५५ तोकेको छ ।      सो गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ देखि यो कार्यक्रम सुरु गरे पनि आर्थिक वर्ष २०८१/८२ बाट कृषि कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ बनाएर सञ्चालन गरेको हो ।   रैथाने खेतीबाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत चालु आवका लागि रु ३५ लाख विनियोजन गरेको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष हिदम लामाले यसबाट परम्परागत एवं रैथाने बालीका रुपमा परिचित कोदोखेतीको प्रवद्र्धन तथा व्यावसायिक उत्पादनमा सहयोग पुग्ने र स्थानीय किसानको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो ।