काठमाडौं- निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन-२०७९ का लागि छपाइ भएका मतपत्र जिल्ला जिल्लामा पठाउन थालेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट लोड भई हिजो कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको छ । आज काठमाडौँबाट लामो दूरीमा पर्ने पूर्व र पश्चिमका गरी नौ जिल्लामा मतपत्र पठाइनेछ । वैशाख १२ गतेसम्म एक करोड ५४ लाख ८३ हजार (८० प्रतिशत) मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको छ । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । निर्वाचन सुरक्षा विषयक मुख्य प्रशिक्षक प्रशिक्षण निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि निर्वाचन सुरक्षा विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकार, गृहमन्त्रालय, रक्षा मन्त्रालय, चारवटै सुरक्षा निकाय, आयोगका कर्मचारी र साझेदार संस्था युएनडिपी, इएसपीका प्रतिनिधि सहभागी सो प्रशिक्षण कार्यक्रमको आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले शुभारम्भ गर्नुभयो । आयुक्त डा तुलाधरले शुभारम्भ कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीसहित उच्च अधिकारीको उपस्थिति थियो । प्रशिक्षणको दोस्रो सत्रमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचनसम्बन्धी कानूनी पक्ष, आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन कार्यक्रम र व्यवस्थापन, आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतदान र मतगणना विषयमा प्रशिक्षणमा प्रस्तुति र सहजीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणहरुमा स्थानीय तहको निर्वाचन कार्यक्रम, निर्वाचन कसुर तथा सजाय, आचारसंहिता, अनुगमन, पर्यवेक्षण, सामाजिक सञ्जाल अनुगमन, विवाद सुनुवाइ र निरुपण, मतपत्र छपाइ र ढुवानी, मतदान र मतगणना प्रक्रिया आदि विषय समाविष्ट गरिएको थियो । निर्वाचनका लागि आधिकारिक भाइबर ग्रुप निर्वाचनका लागि निर्वाचन आयोग, नेपाल र सामाजिक सञ्जाल भाइबरले आधिकारिकरूपमा आयोगको भाइबर ग्रुप औपचारिकरूपमा सुरु गरेको छ । आयोगले यस प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालालाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउनेछ । यस प्लेटफर्मको प्रयोग गरी निर्वाचनसम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सकिनेछ ।
फाइल तस्बिर काठमाडौं, वैशाख १३ गते । काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । काठमाडौं परिसरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुदीप गिरीले निकुञ्जस्थित तारेभीर क्षेत्रमा आगलागी भएको जानकारी दिनुभयो । उहाँका अनुसार आगलागी नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरीको टोली खटाइएको छ । आगो निभाउन हेलिकोप्टर प्रयोग गरिएको छ भने दमकल र ट्याङ्कर पनि परिचालन गरिएको छ । ‘‘सोमबार राति पनि तारेभीर क्षेत्रमा आगलागी भएको थियो । प्रहरी र सेनाको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।’’ उहाँले भन्नुभयो, ‘‘तर, फेरि आगो लागेको छ । बास्तीमा आगो नफलियोस् भन्ने छ । अहिले आगो कसरी नियन्त्रणमा लिने भनेर इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको छ ।’’ -गाेरखापत्रकाे सहयाेगमा
काठमाडौँ, १३ वैशाख (रासस) : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको हो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्ता आङबुहाङले महासङ्घको केन्द्रीय सदस्यबाट राजीनामा दिएर ताप्लेजुङको आठराई त्रिवेशी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । अर्घाखाँचीको सूर्याेदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगङ्गा–१० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सुदूरपश्चिमबाट कैलालीको जानकी गाउँपालिकाको उपाध्यक्षमा गीता चौधरीले उम्मेदवारी दिनुभएको छ । रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दीपायलमा विगत लामो समयदेखि कार्यरत पत्रकार सुनिता रावलले डोटीको शिखर नगरपालिकाकाको उपप्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । उहाँले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिनुभएको हो । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । उहाँले महासङ्घको साधारण सदस्यता त्यागेर उम्मेदवार बन्नुभएको हो । चौतारीका पूर्वउपाध्यक्ष वीरबहादुर गिरीले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्ष पदमा, म्याग्दीका संस्थापक सुरत केसी, बेनी नगरपालिकाको प्रमुख, काभ्रे जिल्लाका पूर्वाध्यक्ष कञ्चन अधिकारी पाँचखाल नगरपालिकाको प्रमुख, बाजुराका संस्थापक सदस्य अमर खड्का बाजुराको बढीमालिका नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । त्यसैगरी बाजुराकी पत्रकार नन्दा थापा उपप्रमुखमा, मोरङका पत्रकार भक्त राई सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष, गायत्री आचार्य मेलुङ गाउँपालिकाको उपाध्यक्ष र सकिल खान डुडुवा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । सप्तरी जिल्लाका चारजना पत्रकार पनि स्थानीय तहको निर्वाचनान होमिएका छन् । पत्रकार महासङ्घ मधेस प्रदेशका सचिव भोला पासवान जनता समाजवादी पार्टी नेपालका तर्फबाट सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ । महासङ्घका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने महासङ्घले जनाएको छ । तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीका तर्फबाट पत्रकार हेमशङ्कर सिंह, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजविराज–८ को वडाध्यक्षमा पत्रकार शतिश दत्त, पत्रकार महासङ्घ सप्तरीका सहसचिव चन्दनकुमार यादवले नेकपा (माओवादी केन्द्र) का तर्फबाट सोमवार उम्मेदवारी दिनुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न महासङ्घका महासचिव रोशन पुरीले आह्वान गर्नुभएको थियो । यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट कमलेश मण्डल महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरीले उम्मेदवारी दर्ता गराउनुभएको । यीलगायत विभिन्न जिल्लामा थुप्रै पत्रकारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनुभएको बताइएको छ । महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न सबै सदस्यहरूलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकूल काम नगर्नसमेत आह्वान गरिसकेको छ । महासङ्घले निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युब र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने जनाउँदै आएको छ । प्रेस काउन्सिल नेपालले जारी सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने, समाचारको गोप्य स्रोत खोल्न नहुने, निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने र विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत गर्न नहुनेलगायत १५ बुँदा पत्रकारले गर्न नहुने भनिएको छ ।
पोखरा: सवारी दुर्घटना पश्चात चालकलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका १९ का ४३ वर्षिय मिन बहादुर मगरलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई बताए । उनका अनुसार मगरले गत १० गते जिल्ला कास्की पोखरा महानगरपालिका ५ फिर्के पुलस्थित पोखरा बाग्लुङ सडक खण्डमा टिप्पर चालक बारा जिल्लाका नवराज कार्कीलाई कुटेका थिए । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडियोमा मिनबहादुरले चालकलाई निर्घाट कुटपिट गरेको प्रष्ट देखिन्छ । कुटाई खाएका टिप्पर चालककले आफुलाई बचाउन हारगुहार गर्दै भन्छन्, ‘दाई त्यसरी नहान्नु न । मलाई बचाउनुस न ।’ भन्दै विलौना गरेका छन् । त्यही समयमा कुटेका मिनबहादुरले छिटो उठा भन्दै हातपात गरिरहन्छन् । टिप्पर चालक आफैले नै बनाईदिने भन्दै नकुट्न आग्रह समेत गरिरहेको भाइरल भिडियोमा देखिन्छ । मिनबहादुरको मोटरसाइकल र टिप्पर एक आपसमा ठक्कर खाएपछि उक्त घटना भएको डिएसपी तिवारीले बताए । ‘भिडियो भाइरल नहुदै हामीले त्यतिखेरै नियन्त्रणमा लिएका हौ, डिएपसी तिवारीले भने, ‘म्याद पनि थपेर अनुसन्धान भैरहेको छ ।’ तिवारीका अनुसार पक्राउ परेका मगरलाई शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।
पोखराः निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन अपरान्हसम्म नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाको उपमेयरमा सुरेन्द्रमान बिजुक्छेको चर्चा चलेको थियो । बिजुक्छेको चर्चामात्र चलेन केही अनलाइनले उनी सिफारिश भइसकेको समाचारसमेत छाप्न भ्याए भने नेवार समुदायका बाहुल्यता भएको नगरभित्रका केही स्थानबाट सामुहिकरुपमा जुलुससहित आयोग जाने तयारीसमेत भएको थियो । तर स्वयं बिजुक्छे र अनलाइनहरुले सोचेजस्तो भएन । दिउँसो करिब २ बजेपछि एकाएक बिजुक्छेको नभई कोपिला रानाभाटाको नाम फाइनल भयो । कोपिला नेपाली कांग्रेस गण्डकी प्रदेशकी सहमहामन्त्री हुन् । गठबन्धनमार्फत चुनावी मैदानमा उत्रिएपछि मेयर नेकपा एसको भागमा परेको थियो । त्यसपछि उपमेयरमा कांग्रेसले उम्मेदवार चयन गर्न निकै दिन लगायो । यसबीचमा विभिन्न आकांक्षीको नाम चर्चामा आएपनि कांग्रेसका धेरै शुभचिन्तक एवं कार्यकर्ताले बिजुक्छे चयन भएको जानकारी पाएका थिए । तर उनको चर्चा केही घण्टामै सकिएको छ ।
पोखराः स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने दोस्रो दिन आजपनि गठबन्धनविरुद्ध नेपाली कांग्रेसका अर्का सदस्यले पनि वागी उम्मेदवार दर्ता गरेका छन् । नेपाली कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष एवं उदीयमान नेताकारुपमा कहलिएका ऋषि काफ्लेले कांग्रेस भएर रुखमा भोट हाल्न नपाएपछि वागी बनेको बताएका छन् । ‘गठबन्धनका नाममा कांग्रेसलाई रुख चिन्हमा मतदान गर्नै नपाउने बनाइयो’ काफ्लेले भने ‘पार्टीको सिद्धान्त र नीति विपरित कार्यकर्तालाई जान बाध्य पारिएकोमा उम्मेदवारी दिएको हुँ ।’ यसअघि आइतबार विमलबहादुर कार्कीले पनि मेयरमै वागी उम्मेदवारी दिएका छन् । दुबै उम्मेदवारले नाम फिर्ता नगर्ने बताएका छन् ।
पोखराः नेकपा एमालेले सोमबार बिहान बसेको बैठकमार्फत पोखरा महानगरपालिका अन्तरगत वडा अध्यक्षहरुको उम्मेदवार टुंग्याएको छ । वडा र सम्बन्धित उम्मेदवारहरुको नामावली यस प्रकार छ । वडा न १: सहारा प्रधान वडा न २: दिपक शाह वडा न ३ :बिष्णु शन्कर ख्वाजु वडा न ४: मदन मुल्मी वडा न ५ : बिष्णु बराल वडा न ६ : बिष्णु भट्टराई वडा न ७ : किशोर बराल वडा न ८ : रुद्र नाथ बराल वडा न ९ : प्रेम गुरुङ्ग वडा न १०: पवित्रा देवि गुरुङ्ग वडा न ११: मीन ब गुरुङ्ग वडा न १२ : देश भक्त केसि वडा न १३ : बसन्त बराल वडा न १४: ढोल ब गुरुङ्ग वडा न १५ : तोरण बानिया वडा न १६: राजेश गुरुङ्ग वडा न १७ : राधिका शाही योगि वडा न १८ : पुस्कल ब थापा वडा न १९: इमानराज पौडेल वडा न २०: गङ्गा ब केसि वडा न २१: दिपक सुवेदी वडा न २२: प्रकाश गुरुङ्ग वडा न २३ : शिवलाल पराजुली वडा न २४: रामचन्द्र थापा वडा न २५: तिर्थ ब थापा वडा न २६: सुर्य भण्डारी वडा न २७: सुर्य मणि लामिछाने वडा न २८: बैन ब गुरुङ्ग वडा न २९: श्री प्रसाद गुरुङ्ग वडा न ३०: सोमनाथ बास्तोला वडा न ३१ : चिरन्जिवी बन्जारा वडा न ३२: खेम पुन वडा न ३३: शिव प्रसाद आचार्य
पोखराः नेपाल कम्युनिष्ट पार्टी एमालेले पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार फेरबदल गरेको छ । यसअघि उक्त पदका लागि दीपक पौडेल सिफारिस भएका थिए । सामाजिक सञ्जालमा सुन चोरीको भिडियो भाइरल भएपछि एमालेले पौडेलको सट्टा कृष्ण थापालाइ उम्मेदवार बनाउने निर्णय गरेको हो । भाइरल भिडियोमा सुन पसलमा एक व्यक्तिले चोरी गरेको देखिन्छ । भिडियोमा चोरी गर्ने व्यक्ति पौडेल भएको भन्दै सामाजिक सञ्जालमा भाइरल छ । विभिन्न टिप्पणी हुदै आएपनि पौडेलले भने भिडियोमा देखिने व्यक्ति आफू नभएको भन्दै स्पष्टोक्ति दिदै आएका थिए । चोरी केसमा संलग्न व्यक्तिलाई मयेरको टिकट दिइएको भन्दै एक पक्षले असन्तुष्टी पोख्दै आएको थियो । अहिले टिकट पाएका कृष्ण थापा यसअघि २०५४ को निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थिए । उनी गण्डकी प्रदेश सभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य हुन् । यता उपमेयरमा भने मञ्जुदेवी गुरुङ नै यथावत रहेको एमाले कास्कीले जनाएको छ ।
आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनय सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनय दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको र केही स्थानीय तहको उम्मेवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेकाले उम्मेदवारको मनोनय दुई दिन राख्न राजनीतिक दल तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा आइतबार र सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम बनाएइको आयोगको प्रष्टीकरण छ । यही वैशाख ८ गते देशभरका स्थानीय तहका केन्द्र रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका थिए । कानूनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ । स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा वडाअध्यक्ष र वडा सदस्यले सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा उम्मेदवारको स्वघोषणा पेश गर्नुपर्नेछ । दलित महिला वडा सदस्यले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ । स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत रु एक हजार ५००, वडाध्यक्षले रु एक हजार र वडा सदस्यले रु ५०० धरौटी राख्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित, विपन्न तथा अल्पसङ्ख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । सोमबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ । मनोनयनसँग सम्बन्धित सम्पूर्ण कार्य सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने आयोगले जनाएको छ ।

