पोखरा: कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ ।  चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र...

पोखरा:     गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा (पौडेल)ले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन विहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक कामकारबाहीमा पूर्ण जिम्मेवार रहने बताउनुभयो ।  उहाँले भन्नुभयो – ‘प्रदेश सरकारलाई कानुनी सवालमा कहिँकतै चुक्न नदिई सजग गराउन मुख्य न्यायाधिवक्ताको भूमिका रहन्छ । कानुनको व्यवहारिक प्रयोगमा सुधार गर्दै जानुपर्ने विषयमा पनि राय प्रदान गर्नेमा विश्वस्त छु।’ कार्यक्रममा मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रुपमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी प्रावधान अनुसार गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यहरुको संक्षिप्त विवरण पनि प्रस्तुत गर्नुभयो । मुख्य न्यायाधिवक्ता शर्माले कार्यालयले प्रदेश सरकारलाई विभिन्न विधेयकहरुमा निर्माणमा सहयोग गरेको, स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी तालिमका साथै बाल सुधार गृह र कारगार निरिक्षण, कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । प्रदेश न्याय सेवा आयोग गठन र प्रदेश कानुन निर्माण भएपछि स्थानीय अदालत गठन हुने विषय संविधानले उल्लेख गरेको जनाउँदै उहाँले संघीयता खर्चिलो भएको भनिरहँदा स्थानीय स्तरमा अदालत पुग्दा झनै खर्चभार बढाउनेतर्फ सचेत रहनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेशलाई सशक्त बनाउनुपर्ने तर देशको व्ययभार घटाउन मुख्य न्यायाधिवक्ताहरुको भेलाबाट सरकारलाई सुझाव प्रदान गरिएको पनि बताउनुभयो । नेपालको संविधानको धारा १६० मा प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ ले मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त प्रतिवेदन प्रदेश सभा समक्ष पेश गर्न प्रदेश प्रमुख कार्यालयबाट मुख्यमन्त्री कार्यालयलाई पठाउनेछ । कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनुपर्ने सुधारको विवरण लगायत प्रतिवेदनमा उल्लेख गर्दछ ।

पोखरा:    लायन्स क्लब अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले पोखराको केदारेश्वर मन्दिर परिसर कोमागाने पार्कमा चौतारा निर्माण तथा वृक्षारोपण गरेको छ ।  बिहीबार आयोजित वृक्षारोपण कार्यक्रमको अवसरमा पारी क्लबले निर्माण गरेको चौतारा कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीलाई हस्तान्तरण गरियो । लायन्स क्लब ३२५ आई डिष्ट्रकका डिस्ट्रीक गभर्नर विनोद ढुंगानाले लायन्स क्लव अफ इन्फर्मेशन एण्ड टेक्नोलोजीद्धारा निर्माण गरेको चौतारा हस्तान्तरण गर्दै इन्फर्मेशन टेक्नोलोजीले नाम अनुसारको काम गरेको बताए ।   फेवाताल किनारमा रहेको कोमागाने पार्कमा निर्माण गरिएको चौताराले उक्त ठाउँमा घुम्न आउने पर्यटकलाई बिश्राम लिनका लागि सहज हुने र लायन्स क्लबले निकै मेहनतका साथ वृक्षारोपण गरी विरुवालाई हुर्काउन र संरक्षणका लागि समेत बारको ब्यवस्था गरेकोमा खुसी ब्यक्त गरे । सो अवसरमा बोल्दै कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले केदारेश्वर मन्दिर नजिकै रहेको कोमागाने पार्कमा लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले चौतारा निर्माण संगै ब्यवस्थित रुपमा गुल्महरका विरुवाहरु रोपी कोमागाने पार्कको सौन्दर्य बढाउने काम गरेकोमा धन्यवाद ब्यक्त गरे । सुुर्य पोख्रेलको संयोजकत्वमा सम्पन्न वृक्षारोपण कार्यक्रममा ३० वटा गुल्महरको बिरुवा रोपिएको थियो भने विरुवाको संरक्षणको लागि समेत बांसको बार लगाइएको थियो ।  सो अवसरमा कोमागाने पार्क ब्यवस्थापन समितिका सदस्य हेमराज पहारी, जोन चियर पर्सन मात्रिका पौडेल, रिजन चियर पर्सन कृष्ण कुमार श्रेष्ठ, क्लस्टर चिफ विष्णु श्रेष्ठ, डिष्ट्रिक कोडिनेटर प्रेम दाहाल, वातावरण प्रमुख डासिराम सापकोटा लगायतको उपस्थिती रहेको थियो । क्लबका अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष राबत तामाङ गोम्जाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका सचिव मुकेश अर्यालले गरेका थिए । 

पोखरा:   गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए ।  ७८ औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूूतावास पेन्सन वितरण कार्यालय पोखराले विहिबार आयोजना गरेको स्वतन्त्रता दिवस समारोहलाई उदघाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।  “भारतको विकासमा नेपालको ठूलो योगदान छ । चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा, नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।”, उनले भने ।  नेपाल–भारत सम्बन्ध प्राचीन भएको बताउँदै उनले गौरवपूर्ण अतीतले भरिएको उल्लेख गरे । नेपालको भौगोलिक विशिष्टता तथा समान आर्थिक–सामाजिक परिवेशका कारण हिन्दुस्तानका प्रायः सबै राज्यसँग कुनै न कुनै प्रकारको सम्बन्ध भएको उनले बताए ।  मन्त्री थापाले नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी भएको बताए । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण भएको भनाई उनको छ ।  भारतले द्विपक्षीय सहयोग अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको सहयोगको मन्त्री थापाले प्रशंसा गरेका छन् ।  ७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा भारतको सफलता संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ । 

पोखरा:   ‘पर्यटकीय राजधानी पोखरा’ हल्लनचोकमा गामबेसी पोखरा रोधि क्लब सञ्चालनमा आएको छ ।  बैशाख २८ गतेदेखि नै सञ्चालन आएको गामबेसी पोखरा रोधि क्लबको औपचारिक शुभारम्भ भने भदौ १ गतेदेखि गर्न लागेको सञ्चालक नरबहादुर थापाले बताए ।  ‘पोखरा पाकृतिक सौन्दर्यताका साथै कला र सस्कृतिले भरिपूर्ण शहर हो, पोखराको लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षकको रुपमा पर्दछ’, थापाले भने, ‘पोखरा लेकसाइडमा आउने पर्यटकहरुलाई थप मनोरञ्जन दिन हामीले सामूहिक रुपमा हल्लचोकमा गामबेसी रोधि क्लब सञ्चालनमा ल्याएका छौं, भदौ १ गतेदेखि औपचारिक रुपमा शुभारम्भ समेत गर्दै छौं ।’   उनले औपचारिक शुभारम्भको अवसरमा भदौ १ देखि ८ गतेसम्म शुभारम्भ विशेष सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको बताए ।  शुभारम्भ विशेष सांगीतिक कार्यक्रममा भूमिका गिरी, जीवन दाहाल, श्याम राना, चिज गुरुङ, निञ्चल दवाडी, बबिता बानिया जेरी, अस्मिता डल्लाकोटी, माया गुरुङ, आशा विसी, रेशम निर्दोष, बालचन्द्र बराल, ईश्वरसिंह, सुमन थापा, इन्द्र गुरुङ, सीता परियार, गगनसिंह गुरुङ र ज्योति लोहनीको प्रस्तुति रहने छ ।  यस्तै गामबेसी पोखरा रोधि क्लबका नियमित कलाकारहरुको समेत प्रस्तुति रहने छ । लोक तथा दोहोरी गीतको माध्यमबाट उपस्थिति दर्शकलाई मनोरञ्जन दिँदै देश विदेशसम्म चिनाउनका लागि साथै पोखरा लगायत यस क्षेत्रका पर्यटकीय क्षेत्रको रुपमा विकास गराउनका लागि सहयोग पु¥याउने क्लबले जनाएको छ ।   

पोखरा:     पोखरामा २ दोहोरी साँझ र एक क्लबाट ७ जना बालिकाको उद्धार गरिएको छ ।  रात्रीकालिन व्यवसायमा बालिकालाई काममा लगाइएको अवस्थामा बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।  उनका अनुसार मंगलबार राति पोखराको चिप्लेढुङ्गास्थित गाउँ शहर दोहारी साँझबाट २ जना, साईनो साँझबाट २ जना र पोखरा–९ स्थित क्लब डी बाट ३ जना बालिकाका उद्धार गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपालबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिकाभित्र सञ्चालित रात्रीकालिन व्यवसायमा अनुगमन गर्दा काममा लगाइएको अवस्थामा बालिकाको उद्धार गरेको हो ।   

पोखरा:   पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कमा सादा पोशाकका प्रहरी हौं भन्दै सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले २ जनालाई प्रक्राउ गरेको छ ।  बागलुङ बसपार्कमा सादा पोशाकको प्रहरी हौं भन्दै सर्वसाधारण नागरिकहरुलाई दुःख हैरानी दिएको आरोपमा पोखरा १७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र माछापुच्छ«े गाउँपालिका घर भएका २६वर्षीय सरोज थापालाई प्रहरीले प्रक्राउ गरेको हो ।  उनीहरुले सादा पोशाकका प्रहरी हौं भन्दै सर्वसाधारण नागरिकहरुलाई दुःख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुली गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको आरोपमा साउन २७ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।  उनका अनुसार प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रहरीलाई समेत अभद्र व्यवहार गरेको बताए ।  पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहारको मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   पाोखराको पुरानो टुडिखेलमा हुने एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।   यही भदौ १ गतेदेखि ६ गतेसम्म पोखरा १ पुरानो टुंडिखेलमा हुने प्रतियोगिताको तिब्र पारिएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।   उनका अनुसार सो प्रतियोगिताको  विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए । उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने   उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् ।   यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् ।

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।       नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २९औँ साधारणसभा एवम् १३औँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका कानुनी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।       पर्यटनको राजधानी घोषणाले पोखराको पर्यटनको ‘ब्रान्डिङ’ हुँदा यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने उनले उल्लेख गरे ।  गण्डकी प्रदेशमा खेल पर्यटनसँगै धार्मिक पर्यटनमा जोड दिइएको उनले बताए । सरकारले मनाङ र मुस्ताङमा हाई अल्टिच्युड खेलमैदान निर्माण गर्न लागेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।  पोखराको पर्यटन प्रवर्द्धन गर्न चाँडै सातवटै प्रदेशका पर्यटनमन्त्री तथा सङ्घीय पर्यटनमन्त्रीसहित सम्मेलनको तयारीमा सरकार रहेको उनको भनाई छ ।       प्रदेशसभा सदस्य प्रकाश बरालले पर्यटनलाई उद्योगका रूपमा विकास गर्नु जरुरी भएको धारणा राखे । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले स्वदेश र विदेशमा पोखरासहित समग्र देशको पर्यटन प्रवर्द्धन गर्न नाट्टा सक्रिय रहेको जानकारी दिए ।       नाट्टाका केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटनमा गण्डकी प्रदेशको योगदान महत्वपूर्ण रहेको बताए। पर्यटकको बसाई लम्ब्याउने किसिमका पूर्वाधारसँगै गतिवधि बढाउनुुपर्नेमा उनले जोड दिए ।  पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको समृद्धि पर्यटनबाट सम्भव हुने बताए । अधिवेशनमा सहभागी नाट्टाका सातै प्रदेशका अध्यक्षहरूले सरकारको पर्यटनमैत्री नीति राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् । 

पोखरा:    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले विभिन्न क्षेत्रका ६ जना युवालाई सम्मान गरेको छ ।   पोखरामा सोमबार आयोजित कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान अवार्ड दिएर सम्मान गरिएको हो ।   सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार,फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् ।   सम्मानित भएका करण बर्दियाका हुन् भने बाँकी पाँच जना कास्कीसहित गण्डकी प्रदेशको भूगोलमै जन्मे–हुर्केका यहीँ कर्म गरिरहेकाहरु हुन् ।   युवालाई उत्प्रेरित गर्नुपर्छ भन्ने उद्देश्यले विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरिएको कार्यक्रम संयोजल एवं एमाले जिल्ला सचिव दर्शन लामाले बताए ।     गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टी स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरुङ, पार्टी जिल्ला इन्चार्ज कृष्णबहादुर थापा, अध्यक्ष बैनबहादुर अधिकारी, कास्की कांग्रेस सचिव भानु ढकाल, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष पूर्ण लामालगायतले सम्मानितलाई ट्रफी हस्तान्तरण गरे ।   १) डा. विकास गौचन   सम्मानितमध्ये मुस्ताङमा जन्मिएका डा. विकास गौचन २०७७ साल पुसदेखि गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशक छन् ।   कोभिड–१९ महामारीको समयमा पाँच वर्षका लागि उनी उक्त अस्पतालको जिम्मेवारीमा आएका थिए ।    सन् २००९ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण गरेका गौचनले अछामको बयलपाटा अस्पतालमा मेडिकल डाइरेक्टर भएर करिब ९ वर्ष काम गरेका छन् ।   डाक्टर गौचन प्राइभेट प्राक्टिस नगर्ने डाक्टरहरूमध्ये एक हुन् ।    २) सलाेमी गुरूङ   नेपाल आइडलको फस्ट रनरअप सलोमी गुरूङको जन्म घर लमजुङको क्व्होलासोथार गाउँपालिका ७, कुमलुङ भएपनि उनको बाल्यकाल पोखरामै बित्यो ।   पोखरा चाउथे बस्ने सलोमी संगीतको कुनै औपचारिक कक्षाबिनै नेपाल आइडलको स्टेजसम्म पुगेकी थिइन् ।   नेपाल आइडलमा सहभागी हुनुअघि उनी पोखराकै एउटा मन्टेश्वरीमा पढाउँथिन् ।   संगीत क्षेत्रमा लागिरहन ऊर्जा मिलोस् भन्ने उद्देश्यले उनलाई सम्मान गरेर हौसला थपेको सचिव लामाले जानकारी दिए ।   ३) अरुणा शाही   म्याग्दी घर भएकी अरुणा शाही २०७६ सालबाट राष्ट्रिय महिला भलिबल टोलीको कप्तान छिन् ।   उनको भलिबल यात्राको टर्निङ पोइन्ट भने पोखरा हो । पोखराकै ज्ञानुबाबा स्कुलले उनमा भलिबलको सम्भावना देखेर पोखरा ल्याएको थियो ।   गण्डकी प्रदेश भलिबलको उर्बर भूमि भएको र खेलाडीलाई सम्मान गरेर हौसला थप्ने उद्देश्यले अरूणालाई सम्मान गरिएको हो ।   ४) अधिवक्ता कुञ्जनी परियार   अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ महिला र दलित समुदायको अधिकार स्थापित गर्न संघर्षरत छिन् ।   नागरिकता नहुँदा बाल्यकालमा पढ्न नै संघर्ष व्यहोरेकी कुञ्जनीलाई उनको संघर्ष र हिम्मतको कदर गरेर सम्मान गरिएको हो ।   जाजरकोटका नवराज विकसहित ६ जनालाई लखेटी–लखेटी हत्या गरिएको घटनाका बारेमा उहाँले वाकलतमार्फत पीडितलाई न्याय दिलाउन सफल भएकी थिइन् ।   त्यसबाहेक पोखराकै एक वडाअध्यक्षले एउटी महिला वडा सदस्यमाथि गरेको विभेदविरुद्ध न्याय दिलाउन उनी सक्रिय थिइन् ।   शुष्मा रञ्जित   शुष्मा रञ्जित इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आइ.एस.एम.टी)को क्याम्पस कोओर्डिनेटर हुन् ।   पोखरा विश्वविद्यालयबाट सन् २०१६ मा एम.बी.ए उत्तीर्ण गरेकी रञ्जितले प्रारम्भिकदेखि उच्च शिक्षसम्म पोखरामै अध्ययन गरिन् ।   पोखरा रानीपौवा निवासी रञ्जितलाई पोखरामै हुर्किएर, पोखरामै आफ्नो सीप शैक्षिक क्षेत्रमा खर्च गरिरहेकोमा त्यसको कदर गर्दै सम्मान गरिएको हो ।   ६) करण परियार   रियालिटी शो नेपाल आइडलको सिजन ५ का विजेता करण परियार बर्दियामा जन्मिएका हुन् ।   संघर्षशील जीवनबाट आएका करणले असाधारण गायन क्षमताले धेरैको मन जितेका छन् । नेपाल आइडलको विजेता बनेसँगै गायन क्षेत्रमा सक्रिय भइरहनुपर्ने दबाबपूर्ण चुनौती करणलाई थपिएको छ ।   जादुमय स्वरका धनी करणलाई नेपाल आइडल बनेपछि २५ लाख रुपैयाँ नगदसहितको पुरस्कार पाएका थिए ।   कार्यक्रममा निवर्तमान मुख्यमन्त्री अधिकारीले आफ्नो युवावस्थाको राजनीतिक गतिविधि सम्झिए ।   गण्डकी विश्वविद्यालयका डिन कपिल अधिकारीले युवा र विज्ञान विषयमा, सीए दीपक भुर्तेलले पोखराको विकासको सम्भावना, अधिवक्ता कुञ्जनी परियारले आफ्नो न्यायिक यात्रामा केन्द्रीत भएर धारणा राखेका थिए ।   कार्यक्रममा पोखरेली युवाहरुको ब्याण्ड दि रिफ रिभाइबलले सांगीतिक प्रस्तुति राखेको र मोटिभेस्नल स्पिकर रोहित मल्लले मोटिभेसन गराएका थिए ।