कास्की: पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधि स्पाइरल ग्यालेक्सी मावि र विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ । पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा भएको फाइनल खेलमा छात्रतर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई स्पाइरल ग्यालेक्सी माविले २५–२३ ले हराउँदै च्याम्पियन बनेको हो । यस्तै छात्रातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो । छात्रतर्फ राष्ट्रिय मावि र छात्रातर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) तृतीय स्थान हाँसिल गरेको संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए । (छात्रतर्फको विजेता स्पाइरल ग्यालेक्सी) उनका अनुसार छात्रतर्फ उपाधि जितेको स्पाइरल ग्यालेक्सीले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे भने उपविजेता बनेको केफले नगद रु १२ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । यस्तै तृतीय बनेको राष्ट्रिय माविले नगद रु ८ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । छात्रातर्फ च्याम्पियन बनेको विन्ध्यश्वरीले नगद रु १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । (छात्रातर्फको विजेता विन्ध्यश्वरी आदर्श) यस्तै द्वित्तीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफले क्रमश नगद रु ८ हजार र ५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । सो प्रतियोगितामा छात्रतर्फ स्पाइरलका प्रवेश तिवारी र छात्रातर्फ विन्ध्यश्वरीकी साइना बुद्धचार्य सर्वाेत्कृष्ट खेलाडीका रुपमा ट्रफिद्वारा पुरस्कृत भइन् । यस्तै छात्रातर्फ हाइस्कोररका रुपमा विन्ध्यश्वरीकी प्रशंसा कार्की र छात्रतर्फ केफका विशेष धिताल ट्रफि र प्रमाणपत्रसहित पुरस्कृत भए । सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको थियो भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको थियो । राष्ट्रिय माविलाई रनिङ शिल्ड विद्यालयस्तरीय बास्केटबलमा छात्रातर्फ उपविजेता र छात्रतर्फ सान्त्वना स्थान हाँसिल गरेपनि राष्ट्रिय माविले रनिङ शिल्ड जितेको छ । राष्ट्रिय माविले १ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक जित्दै रनिङ शिल्ड जितेको हो । राष्ट्रिय माविले ५ किलोमिटर दौडमा छात्रतर्फ उमेश विक (स्वर्ण) र सोही स्कुलकै सन्देश राईले रजत पदक जितेको संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । उनका अनुसार कास्य पदक भने संस्कृत माविका आशिष सुनारले जिते । यस्तै छात्रतर्फ रत्न आधारभूतकी भिममाया गुरुङले स्वर्ण, केफकी वर्षा कुँवरले रजत र राष्ट्रिय माविकी भूमिका सुनारले कास्य पदक जितेकी थिइन् । उनीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, तथा पोखरा महानगरपालिकाका सल्लाहकार तेज गुरुङ, पोखरा महानगपालिका १ का वडाध्यक्ष साहारा प्रधान, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुम प्रसाद गुरुङ, पोखरा महानगरपालिका १ का जनप्रतिनिधिहरु, राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, आयोजक संस्थाका अध्यक्ष विष्णु गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: “हाम्रो सदिक्षाः युवालाई रोजगारी, बालबालिकालाई शिक्षा” भन्ने मुल नाराका साथ सञ्चालीत हाम्रो नयाँ अवसर सामुदायीक संस्था–(ओनो) नेपालले शनिबार कास्की र म्याग्दीमा छात्रवृत्ति वितरण गरेको छ । कन्या मावि पोखरा नदिपुरमा आयोजित कार्यक्रमा सामुदायिक विद्मालयमा अध्यनरत गरिब तथा जेहेनदार विद्मार्थीलाइ नगद तथा जिन्सीसहित छात्रवृत्ति प्रदान गरको हो । कार्यक्रममा कन्या मावि ,अम्बिका मावि ,भुमेश्वर मावि , फुम्रो खौ मावि, सरस्वती टीका, जनता आधारभुत साथै ज्ञानज्योतिका गरि सात विद्मालयका ४६ जना विद्मार्थीलाई अभिभावकको उपस्थितिमा छात्रवृत्ति प्रदान गरेको छ । कन्या मावि व्यवस्थापन समिति अध्यक्ष चिरञ्जिबी द्धवले छोटो समयमा कास्की, म्याग्दी ,लमजुङ्ग,चितवनमा क्षेत्र विस्तार गरि उल्लेखनीय कार्य गरेकामा विषेश धन्यवाद दिदै यस्ता परोपकारी संस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सल्लाहकार डिल्लिराम आर्चाय, कन्या मा.वि प्रचार्य यम ब। बुढाथोकी, जानज्योतिका प्र.अ यम कार्की, फुम्रो खौ माविका शिक्षक खगराज भण्डारी साथै भुमेश्वर आ.वि माछापुच्छे« शि.अ.स.अध्यक्ष बसन्त अधिकारीले धारण राखेका थिए । विद्मार्थीको तर्फबाट कन्याका आरती तिलिजा,अम्विका बाट निश्चल रानामगर,भुमेश्वर आ.वि बाट यूनिका तामाङ्ग लगायतले ओनो परिवारलाई शिक्षाको यौ सुनौलो अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद दिएका थिए । संस्थाका अध्यक्ष देवीलाल शर्मा दाहालले आज पोखरामा ४६ र म्याग्दीको रितुङ्गा मा.वि, अमर मा.वि चिमखोला,जनसुन्दर आ.वि रघुगंगा, रघुगंगा आ.वि साथै जनसेवा आ।विमा गरि थप २५ विद्मार्थीलाई छात्रवृत्ति प्रदान गरेको स्पष्ट पार्दै लमजुङ र चितवनका विद्मार्थीलाइ छिटै प्रदान गर्ने तयारी रहेको उल्लेख गरे ।
कास्की: पशुपंछी प्रेमी समूह पोखराले शनिबार राष्ट्रिय पशुपंछी दिवस विविध कार्यक्रम गरी मनाएका छन् । पोखराको चिप्लेढुंगा नजिकै रहेको मानव अधिकार चोकको चौतारामा जम्मा भएर प्लेकार्ड प्रदर्शनी, पशुपंछीप्रति श्रद्धाञ्जली, दीप प्रज्वलन तथा मौनधारण गरी शान्तिपूर्ण कार्यक्रम तबरले कार्यक्रम सम्पन्न गरेका हुन् । पोखरामा पशुपंछीका लागि काम गर्ने व्यक्तिहरू मिलेर बनेको समूह उक्त समूहका सदस्यहरु भेला भएर पशुपंछी कल्याण, पशुपंछी अधिकारका विषयहरु समेटिएका प्ले कार्डहरू प्रदर्शनी गरे । कार्यक्रममा बिशेष गरी पशुपंछीप्रति हुने विभिन्न किसिमका हिंसा, अत्याचारको अन्त्य हुनुपर्ने, अमानवीय रूपमा पशुपंछी ढुवानी गर्न नहुने, अण्डा उत्पादन गर्ने कुखुरालाई खुला रूपमा बाँच्न दिनुपर्ने, मानव जस्तै पशुपंछीलाई पनि स्वतन्त्र रूपमा जीवन बिताउन पाउने अधिकार भएको जस्ता सन्देशहरू प्लेकार्डमा समावेश गरिएका थिए । विशेष गरेर पशुपंछी कल्याण र अधिकार सुनिश्चितताका लागि पाँच किसिमका स्वतन्त्रता सुनिश्चित हुनु जरूरी रहेको पशुप्रेमीहरुको भनाई रहेको थियो । यी पाँच बुँदाहरु निम्न छन्:- १) भोक, प्यास र कुपोषण हुन नदिने । २) डर, त्रास तथा तनावबाट मुक्त हुनुपर्ने । ३) भौतिक तथा शित तापजन्य असुविधाबाट सुरक्षित गर्ने। ४) दुःख, पीडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित गर्ने । ५) सामान्य व्यवहार अभिव्यक्त गर्न पाउने।
पोखरा: नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताउनुभएको छ । शनिबार पोखरामा नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याएपछि एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दावी गर्नुभयो । ‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापीत हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढंगले उठाउन सकिदैन’ उहाँले भन्नुभयो । देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्नेमा उहाँको जोड थियो । अहिलेको राजनीतिक समीकरण मिसन ८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेप मात्र भएको भन्दै एमाले कुनै मोर्चाको पक्षमा नरहेको समेत उहाँले खुलाउनुभयो । ‘हामी यतिबेला कुनै मोर्चाको पक्षमा छैनौं । यो समाजवादी मोर्चा, वामपन्थी एकता ठुला–ठुला कुरा गर्ने कामचाहीं अर्कै गर्ने, त्यसकारण हामीले भनेको के हो भने वामपन्थीको एकता भन्दा पनि कामपन्थी एकता चाहियो’ उहाँले प्रष्ट पार्नुभयो । कामको आधारमा अहिलेको समीकरणले दलहरुलाई नजिक ल्याउन भने सक्ने उहाँको भनाई छ । ‘कामको आधारमा एकता हुन्छ, सकारात्मक काम गर्नेहरु एकठाउँमा जम्मा हुन्छन्, सकारात्मक काम गर्न नसक्नेहरु अर्को ठाँउमा जम्मा हुन्छन्’ उहाँले थप्नुभयो । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले आगामी निर्वाचनमा तीनवटै तहमा एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभयो । अहिलेको समीकरण एमालेललाई निर्णायक तहमा पु¥याउने एउटा कदम मात्र भएको उहाँको भनाई थियो । उहाँले आगामी निर्वाचनमा पोखरा महानगरपालिका ३३ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो महानगरपालिका बनाउन चुनौती भएपनि एमाले बाहेक अरुले बनाउन सक्दैन, त्यसको लागि पुराना घटना विर्सेर अगाडि बढौं’ उहाँको आग्रह थियो । अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्नेछ ।
पोखरा: पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । यस्तै, अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए । चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभा जितप्रसाद द्वा चलचित्र पत्रकारिता २०८० अर्पण तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका मेयर धनराज आचार्यले पत्रकार नेपाललाई नगद ३५ हजार र सम्मान पत्र सहित पुरस्कृत गरे । पाल्पा जिल्लाको रिब्दीकोट–७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्व सहसचिव उनी हाल राजधानी र आदर्श समाज दैनिकमा कार्यरत् छन् । यसअघि सो पुरस्कारबाट श्रीराम सिग्देल, रेम विक र राजाराम पौडेल सम्मानित भएका थिए । यसअघि, २५ हजार रहेकोमा यसपालि पुरस्कार राशि १० हजार थप भएको हो । सो अवसरमा फिल्म क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पोखरा १० निवासी शेरचनलाई संघले सम्मान गरेको हो । २०४५ सालमै फिल्म निर्माणमा लागेका शेरचनका कन्यादान, तृष्णा, बादलपारि, दुनियाँ चलेका फिल्म हुन् । प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा फिल्म छायांकनका लागि खुला स्टुडियो भएको बताए । विशेष अतिथि चलचित्र पत्रकार संघ नेपाल अध्यक्ष समीर बलामीले संघका देशभर १५ शाखामध्ये कास्की सबैभन्दा सक्रिय रहेको बताए । साधारणसभाले सचिव सन्तोष बस्याल र कोषाध्यक्ष सुरक्षा श्रेष्ठको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । २०६० असार २२ सालमा स्थापना भएको संघ कास्कीमा हाल ५५ सदस्य छन् ।
पोखरा: गण्डकी प्रदेशमा यहि जेठ २१ र २२ गते श्रमाधान रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा हुन लागेको हो । मेलाको आवश्यक तयारी पुरा भएको छ । उक्त मेलाको संयोजन होटल संघ नेपाल ९हान० र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् । मेलाबारे जानकारी दिन श्रम तथा रोजगार कार्यालय पोखरामा आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव शारदा भण्डारीले तयारी अन्तिम चरणमा पुगेको बताइन । आन्तरिक रोजगारी प्रवर्द्वन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरुलाई एकद्वार प्रणालीबाट सम्वोधन गर्दै रोजगारीको लागि अनुकुल वातावरण सृजना गर्नु मेलाको उद्देश्य रहेको उनको भनाइ छ । मेलामा रोजगार दिने र रोजगारी खोज्नेहरुबीच प्रत्यक्ष भेट हुने र रोजगारी सिर्जनाको वातावरण उपलब्ध हुने उपसचिव भण्डारीले बताइन । श्रम तथा रोजगार कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले मेलाको तयारी अन्त्मि चरणमा पुगेको बताए । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेश निर्माणमा योगदान गर्ने उनको भनाइ छ । मेलामा रोजगारदाताहरुको सूचीकरण र रोजगारीका अबसरको पहिचान गरिने बताए । मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, बैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका कम्तिमा ३५ वटा स्टल तथा बुथहरु हुनेछन् । प्रदेश भित्रका ठूला सम्भावित रोजगारदाताको पहिचान गरेर सरकारी तर्फबाट ८ देखि १० वटा र निजी क्षेत्रका २० देखि २५ वटा स्टलहरु हुनेछन् । श्रम र रोजगारसँग सम्बन्धित कार्यशाला गोष्ठी तथा अन्तरकृया कार्यक्रम हुनेछन् । जसमा सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानून र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धि अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् । श्रमाधान रोजगारको संयोजक समेत रहेकी उपसचिव भण्डारीले मेलाले बाध्यात्मक वैदेशिक रोजगारी कम गर्न सहयोग पुग्ने बताइन । ‘मेलाले आजको भोली नै देशभित्र नै रोजगारी दिन्छ भन्ने होइन् । यो सुरुवात हो । यसले बाध्यताले वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाईको बाध्यता विस्तारै कम गर्ने सरकारको उद्देश्य हो । यो सुरुवात मात्रै हो,’ भण्डारीले भनिन । सीप र विकासलाई रोजगारदाता र रोजगार खोज्नेहरुसँग जोड्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । होटल संघ नेपाल कास्कीका अध्यक्ष हरी शर्मा गैरेले मेलाले कामदार खोजिरहेका नीजि क्षेत्रका लागि महत्वपूर्ण भएको बताए । श्रमाधान रोजगारमेलामा सहभागीहुन अनलाइन दर्ता प्रणाली मार्फत रोजगारदाता सुचीकरण हुन र रोजगारीको खोजीमा रहेका व्यक्तिले दर्ता गर्न सकिने व्यवस्था छ । साथै मेलाको भ्रमण गरी त्यही म्यानुअलमा र अनलाइनबाट समेत दर्ता गर्ने सकिने व्यवस्था रहेको छ ।
पोखरा: स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको भेट्रान्स (३५ वर्ष माथी) फुटसल प्रतियोगिताको उपाधि टेन टु इलाभेनले जितेको छ । अमरसिंह स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा आयोजक (स्वर्णिम एफसी) रातोलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै टेन टु इलाभेनले उपाधि जितेको हो । उपाधिसँगै टेन टु इलाभेनले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आयोजकले स्वर्णिम एफसीले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा टेन टु इलाभेनका चौ गुरुङ ट्रफि र नगद राशीसहित पुरस्कृत भए भने उत्कृष्ट गोलरक्षकका रुपमा आयोजकका मुन गुरुङ पुरस्कृत भए । विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिका १० का वडाध्यक्ष राजेश गुरुङ, क्लबका अध्यक्ष गोमेश गुरुङ, तथा प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए ।
कास्की: पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि मोहरियाटोलको विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ । पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा आज (शनिबार) भएको फाइनल खेलमा महिलातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो । सो प्रतियोगिताबाट करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) ले पोखरा आदर्शलाई हराउँदै तृतीय बनेको आयोजक संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए । उनका अनुसार उपाधिसँगै विन्ध्यश्वरीले नगद रु १२ हजारसहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वित्तीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफलाई क्रमश नगद रु १० हजार र ८ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए । उनका अनुसार आइतबार विहान समापन समारोहकाबीच पुरस्कार वितरण गरिनेछ । यसअघि विन्ध्यश्वरीले सेमिफाइनलमा करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने राष्ट्रिय माविले पोखरा आदर्शलाई पराजित गरेर फाइनल पुगेको थियो । पुरुषतर्फको फाइनल आइतबार हुने प्रतिकुल मौसमका कारण पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । अब उक्त खेल आइतबार विहान ८ बजे हुने संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । फाइनल खेलका लागि करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) र स्पाइरल ग्यालेक्सी मावि भिड्ने छन् । यसअघि सेमिफाइनलमा केफले राष्ट्रिय मावि र स्पाइरल ले पोखरा आदर्शलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा राष्ट्रिय मावि पोखरा आदर्शलाई पराजित गर्दै तृतीय बनेको छ । विजेता टिमले नगद रु १५ हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । यस्तै सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । गुरुङका अनुसार सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको छ भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।
पोखरा: पोखरा महानगरपालिकाको नगर युवा परिषद्ले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि एक दिवसीय सचेतनामूलक कार्यक्रम गरेको छ । सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे १५० युवालाई अभिमुखीकरण कार्यक्रम गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो । सूचना प्रवाहमा सामाजिक सञ्जालको ठुलो योगदान भए पनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवाहरूसँगै चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले बताउनुभयो । सामाजिक सञ्जालको बढ्दो प्रभावका बिच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महत्त्वपूर्ण हुने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । ‘सामाजिक सञ्जालको प्रभावका दिनानुदिन बढ्दो छ, आचार्यले भन्नुभयो, यो मानव जीवनको अपरिहार्य अवयव जस्तो बनिसकेको छ, तर यसको सदुपयोगीता र सकारात्मक प्रभावका विषयमा भने चर्चा गर्न आवश्यक छ ।’ सामाजिक सञ्जालको दुरुपयोग हुँदा सिङ्गो समाजमा नकारात्मक प्रभाव र भ्रमहरू सृजना हुने भएकाले सचेत रहन आवश्यक रहेको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल नयाँ सिकाइ र नवप्रवर्तनका लागि पाठशाला भएको उल्लेख गर्दै उहाँले यसलाई समयमा नै चिन्न र जान्न सके जीवनमा सकारात्मक ऊर्जा र सफलताहरू प्राप्त गर्न सकिनेमा जोड दिनुभयो । कतिपय अवस्थामा यसलाई अपराधको अर्को सजिलो हतियारका रूपमा समेत लिने गरेको पाइएको भन्दै उहाँले राज्यको तहबाट नियमन गर्न जरुरी रहेको बताउनुभयो । ‘सामाजिक सञ्जालको व्यवस्थित र मर्यादित सञ्चालनका लागि नियमन जरुरी छ ।’ उहाँले भन्नुभयो । विना कारण कतिपय व्यक्ति वा समुहरु सामाजिक सञ्जालको सिकार हुनु परेको भन्दै उहाँले यसको दुरुपयोग रोक्नुपर्ने बताउनुभयो । ‘यो आधुनिक मानिसका लागि नयाँ जीवन बन्न पुगेको छ । यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने हो भने यो २१ औँ शताब्दीका मानिसहरूका लागि वरदान नै हो । हिजोको जस्तो कठिनताको विकल्पका रूपमा विकसित सामाजिक सञ्जालको उपयोग सकारात्मक, रचनात्मक र विवेकपूर्ण तवरले गर्नुपर्दछ ।’ नगर प्रमुख आचार्यले भन्नुभयो । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले युवाहरूको मानसिकता र दृष्टिकोण निर्माणमा सामाजिक सञ्जालको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । युवाहरू इन्फरमेसन र डिसइन्फर्मेसनबाट बचाउन निकै चुनौतीपूर्ण रहेको बताउँदै उहाँले यसको आवश्यक ज्ञान तथा जानकारीका लागि यस प्रकारको कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मा र आइटीका जानकार विश्वराज पौडेलले सामाजिक सञ्जाल प्रयोगबारे युवाहरूसँग चर्चा परिचर्चा र परिसंवाद गर्नुभएको छ ।

